बैंकको तलब खाएर मन्त्रीको सेवा, नबिलको नाम, मन्त्रीको काम ! (भिडियो ब्रिफिङ)

काठमाडौँ । नबिल बैंक, ब्राण्ड नै काफी छ । अहिले पनि फण्डामेन्टल रुपमा बलियो बैंक कुनै छ भने त्यसमा आउने नाम नै नबिल हो । केहि समय अगाडीको जस्तो ’त्यो नबिल’ नभए पनि अहिले पनि बैंकहरुमध्ये राम्रो चलेको बैंकमा नबिलको नाम अगाडी आउँछ । बैंकमा जागिर गर्न चाहाने जो कोहिको सपना आज पनि उही छ, […]

Feb 12, 2025 - 02:27
 0
बैंकको तलब खाएर मन्त्रीको सेवा, नबिलको नाम, मन्त्रीको काम ! (भिडियो ब्रिफिङ)

काठमाडौँ । नबिल बैंक, ब्राण्ड नै काफी छ । अहिले पनि फण्डामेन्टल रुपमा बलियो बैंक कुनै छ भने त्यसमा आउने नाम नै नबिल हो । केहि समय अगाडीको जस्तो ’त्यो नबिल’ नभए पनि अहिले पनि बैंकहरुमध्ये राम्रो चलेको बैंकमा नबिलको नाम अगाडी आउँछ । बैंकमा जागिर गर्न चाहाने जो कोहिको सपना आज पनि उही छ, पाएसम्म राष्ट्र बैंकमा जागिर खाने, राष्ट्र बैंक नपाए सरकारी बैंकमा जागिर खाने, प्राइभेट नै खान परेपछि नबिलसम्म पुग्न पाए हुन्थ्यो भन्ने धेरै बैंकरलाई छ । बलियो ब्राण्ड, गज्जबको तलव सुविधा, तलवभन्दा अझ बढी गज्जबको बोनस, काममा अरु बैंकभन्दा कम प्रेसर । नबिलको ब्राण्ड यति गज्जबको छ कि, धेरैवटा प्राइभेट संस्थाहरुमा हाकिमले भन्ने गर्छन्- ‘बरु तलवचाहिं नबिलजसरी दिउँला, कामचाहिँ एनआईसी एशिया जसरी पेलिएरै गर्नुपर्छ ।’ अझ गाउँघरतिर त झन् नबिल बैंकमा काम गर्नेहरुको शान त्यहाँका वडाअध्यक्षको भन्दा कम छैन । नेपाली काँग्रेसको भागमा गभर्नर परे गभर्नर पद पड्काउने सुर कसेर लागेका, नेपाल बैंकर्स संघका अध्यक्षसमेत भईसकेका, दुई चार थान समस्या त बायाँ हातैले चलाउन माहिर ज्ञानेन्द्र ढुंगाना बैंकमा सीइओ छन् । नेपाली बैंकिङमै मनोज ज्ञवाली जतिको टेक्निकल्ली बुझेका सायदै बैंकर होलान्, उनी सिनियर डेपुटी सीइओ छन् । हाकिम भनेपछि सकेसम्म अनुहार नै नदेखाउने, टिकटकबाट करोड कमाएको सेलिब्रेटी भन्दा पनि बढी भाउ खोज्ने चलन नबिलमा छैन । र त शान छ नबिलको जागिरमा आज पनि ।

हो, नबिलमा समस्या नभएका होइनन् । पछिल्लो समय नबिल बैंकका कष्टमरहरुले पाउने सेवा पहिलाको जस्तो चुस्त छैन, बैंकबाट ऋण लिँदा बैंकले दिएको तनाव र भोगेको हण्डरका गुनासा सामाजिक संजालमा छरपष्ट छन् । नबिलभित्रैका एकाध कर्मचारीहरु बैङ्क ह्याकरलाई नै उछिन्नेगरी बैंकको रकम हिनामिनामा जोडिएका छन् । नेपाल बंगलादेश बैंकलाई अक्वायर गरेपछि पोष्ट मर्जरका लफडा जीवित छन् । बेला बेला नबिलको आँगनमा कर्मचारीको आन्दोलन भईरहन्छ, अहिले पनि नेपाल बंगलादेश बैंकबाट आएका कर्मचारीहरुले नबिलमा काम गरेको अनुभव गर्न पाएका छैनन् । गलामा झुण्डिएको आफ्नै कार्ड हेरेर ए, म त नेपाल बंगलादेश बैंक होइन, नबिलको पो कर्मचारी हुँ भन्ने स्थिति छ । बेला बेला बैंकमा लुटपाटका घटना बाहिर आउँछन्, बेलाबेला कर्मचारीका पीडा विद्रोहसम्म पुग्छ । यति हुँदा पनि काम गर्नेहरुका लागि नबिल बैंक ब्राण्डमात्र होइन, एउटा शानसमेत छ । टार्गेटको प्रेसर, कामको तनाव कुन बैंकमा हुँदैन र ? बैंकिङ नै गर्नेहरुका लागि अहिले राष्ट्र बैंकपछाडीको काइदाको जागिर नबिल नै हुनुपर्छ ।

अझ बैंकका सिनियर कर्मचारी भएपछिको रमाइलो छुट्टै छ । बैंकका डेपुटी जीएम आदर्श बजगाईंलाई दिनभर सेयर कारोबार गरेर बस्न छुट छ । त्यो पनि आम सेयर लगानीकर्ताले जसरी फ्याट्ट पैसा तिर्नुपर्दैन । नबिल स्टक डिलर नामको आफ्नै कम्पनी छ, एक डेढ करोड पैसा उधारो राखिरहे हुन्छ, जुन बेला तिरे पनि हुन्छ । ब्रोकरमा आफ्नै चेलाहरु छन्, केहि परे धितोपत्र बोर्डमै आफ्नै क्लासमेट छन् । हुन त बजगाईं सार्है सन्तोकी मान्छे पनि हुन् । आफुले स्याण्डर्ड चार्टर्ड छोड्दा सिभिल बैंकबाट त्यहि पोष्टमा गएको साथी सोहि बैंकको डेपुटी सीइओ हुँदा पनि आफु नबिलमा डिजीएम नै भईरहँदा पनि उनलाई केहि कुराको चिन्ता छैन । जागिर छँदै छ, तलव आईहाल्छ । एक्स्ट्रा इन्कम सेयर बजारमा भईहाल्छ, बैंकले दिनभर कारोबार गर्न पनि दिएकै छ, उधारोको छुट पनि आफुले लिएकै छ ।

सिनियर डेपुटी सीइओ सुजित शाक्यलाई नै हेरौं न । उनलाई बैंकले खासै अफ्ट्यारो काम नै दिंदैन । उनले पाएका थुप्रै भूमिकाहरुबाट उनलाई फुर्सद दिईएको छ । तनाव जति कि सीइओले लिन्छन्, कि अर्का सिनियर डेपुटी सीइओले । काम बढी हुँदा भन्दा नपाउँदा तनाव लिनेहरुको बीचमा उनको जागिरको रमाइलो बेग्लै छ । अफिस आयो, प्रेसर छैन, पद सिनियर डेपुटी सीइओ भनेकै छ । सीइओ पाउँछु भन्ने आस पनि छैन, काम नगरेर बैंकले निकाल्देला भन्ने त्रास पनि छैन । गज्जबको जागिर खाइएकै छ, तलव र बोनस पचाइएकै छ ।

अव यतिका धेरै भूमिका बाँध्नुको पछाडी भन्न खोजेको कुराचाहिं यहि हो, अव यस्तो गज्जबको जागिर पाए तपाईं खानुहुन्न होला र ? नबिलको जागिर, ठ्याक्कै समयमा तलव, रिसाएकी श्रीमती पनि मायालु बन्ने गरी आउने गज्जबको बोनस, भनेको बेला बिदा, अरु सुविधा त छँदै छ । हो, कर्मचारीलाई सुविधा दिनु राम्रो हो, तर सुविधाका नाममा कन्फ्लिट अफ इन्ट्रेष्ट हुनेगरी काम गर्नु भने गलत हुन्छ । त्यसरी कसैलाई सुविधा दिनु पनि गलत हुन्छ, लिनु पनि गलत हुन्छ । किनकि प्रचार गरिएजस्तो नबिल कुनै व्यापारिक घरानाको मात्र बैंक होइन, यो त पब्लिक कम्पनी हो, जनताको बैंक हो ।

अव विषयबस्तुतर्फ लागौं । नबिल बैंकमा एक सिनियर कर्मचारी छन्, जसको नाम हो अमित श्रेष्ठ । उनी नबिल बैंकमा जागिरे हुन्, तर उनको अहिलेको काम भनेको नबिलमा काम गरेर नबिललाई राम्रो बनाउने भन्दा पनि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सल्लाह दिने हो । यो समाचार तयार गर्दाका बखत पनि श्रेष्ठ नबिल बैंककै जागिरे हुन् तर उनी यतिबेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगै ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गरेका छन् । बैंकमा तलका कर्मचारीले घरमा छोरी बिरामी छ भन्दा पनि बिदा लिन त्यति सजिलो छैन । तर श्रेष्ठले भने उर्जामन्त्रीको काम पर्ने बित्तिकै बिदा पाईहाल्छन् । श्रेष्ठ अहिले नबिलको कुर्सीमा बसेर काम गरिरहनुपर्ने थियो । तर उर्जामन्त्रीको सल्लाहकार बनेका उनी भारतको राजधानी नयाँदिल्लीमा यही माघ २९ देखि सञ्चालन हुन लागेको ऊर्जा सप्ताहमा भाग लिन मन्त्री खड्कासँगै पुगेका छन् । क्या गज्जब है ! यता मन्त्रीसँग हिड्यो, मन्त्री पनि खुसी, उता तलब पाक्यो, आफु पनि खुसी ।

अझ कुरा यतिमा सिमित छैन, अहिले नबिल बैंकभित्र चर्चा यस्तोसम्म छ कि उर्जामन्त्री खड्काका सल्लाहकार बनेका श्रेष्ठ उर्जामन्त्रीलाई सल्लाह दिने काम होइन, उर्जा व्यापारी, बैंक र मन्त्रालयबीच बिचौलियाको काम गर्छन् । उर्जामन्त्री खड्का कतिको विवादमा परिरहन्छन् त्यता तिर आज नलागौं होला । कुलमान हटाउने महाअभियानमा लागेको एउटा समूहले रुचाएका मन्त्रीका पनि सल्लाहकार भनेपछि अमित श्रेष्ठ कतिसम्म चतुर खेलाडी होलान् भन्नु अनुमान सहजै लगाउन सकिन्छ ।

तर, यहाँ कुरा को कसको सल्लाहकार भन्दा पनि कन्फ्लिट अफ इन्ट्रेष्ट अर्थात स्वार्थको द्वन्दको छ । नबिल बैंकले विभिन्न हाइड्रोमा लगानी गरेको छ । हाइड्रोपावर कम्पनीहरुको नियामक विद्युत नियमन आयोगको मात्र होइन नेपाल विद्युत प्राधिकरणको पनि तालुकदार मन्त्रालय उर्जा जलासोर्ट तथा सिचाइ मन्त्रालय नै हो । यसको सिधा अर्थ हो, अमित श्रेष्ठ सल्लाहकार पदमा स्वार्थको द्वन्द हुनेगरी बसेका छन् । यतिमात्र होइन, अहिले कुलमान जसरी पनि ठुलो विद्युत बक्यौता नतिर्नेहरुलाई तिराउनुपर्ने लाइनमा छन् भने मन्त्री खड्का त्यसको ठिक विपरित छन् । अनि कतिपय विद्युतको पैसा नतिर्ने ती कम्पनीहरुको नबिल बैंकमै पनि ऋण हुनसक्छ । अर्थात आफ्ना क्लाइन्टलाई भलो हुनेगरी सल्लाहकारले सल्लाह दिन मिलेपछि यो स्वार्थको द्वन्द भएन र ? अझ अहिले त बैंकमा डिपोजिटको हाहाकार छैन । केहि समय अगाडीको जस्तो डिपोजिटको हाहाकार भयो भने, उनले उर्जा मन्त्रालयमा काम पर्ने जो कोहिलाई पनि नबिलमै पैसा राख्न दबाब नदेलान् भन्न सकिन्छ र ? त्यतिमात्र होइन, नबिलको ऋण नतिर्नेहरुमध्ये कतिपय व्यक्ति उर्जामन्त्रीकै मान्छे परेछन् भने त्यहाँ सल्लाहकार पदमाथि दबाब दिइन्न र ?

यति मात्रै पनि होइन, तलव खाने नबिल बैंकको, नबिल बैंक अर्थात सर्वसाधारण जनताको, अनि सल्लाहकारका नाममा पछि लाग्ने मन्त्रीको ? अझ खोतल्दै जाने हो भने त उनको सल्लाहकार पदको कनेक्सन केहि विवादित व्यापारीहरुले पोलिसीमा हान्न खोजेको तथ्यसम्म पुग्छ । अनि नबिल बैंकको तलव खाएर राजनीति गर्ने ? यो त हदै भएन र ?

यसमा अमित श्रेष्ठको तर्क र दाबी अर्कै छ । उनी आफु सेवा सुविधा नलिनेगरी मन्त्रालयमा बसेको दाबी गर्छन् ।

हो, अव यहाँ दुई कुरा आउँछन्, बैंकजस्तो एक एक रुपैयाँ हिसाब गरेर बस्ने ठाउँमा काम गरेको मान्छेले विना तलव सुविधा किन काम गर्छ ? केहि पाइन्न भने को कसको पछी लाग्छ ? यतिसम्म त जसले पनि बुझ्छ, कि उनी तलव नलिने भनेर होइन, दोहोरो तलव लिंदा विवादमा परिन्छ भनेर त्यहाँ सल्लाहकारका रुपमा पुगेका हुन् । अनि तलव सुविधा केहि नपाए, किन उनी मन्त्रीको पछी लागेका छन् त ? यसको सिधा जवाफ छ, मन्त्रीको पछि लाग्दा हुने लाभ अर्कै छ, चर्कै छ । उनी आफुले जानेको विषयमा मन्त्रालयमा योगदान दिन बसेको तर्क दिन्छन् । तर नबिलको तलव खाएर, मन्त्रीज्यूको पछी लागेर तपाईंले दिने योगदान के हो ? जनताले बुझेका छैनन् र ?

अर्कोतर्फ यहाँ नबिलजस्तो ब्राण्डले पनि नैतिकता गुमाएको छ । तलव आफु दिने अनि काम गर्न अरुको दिने । आज श्रेष्ठ उर्जामन्त्रीको सल्लाहकार भए, भोलि कुनै दिन विनोद चौधरी मन्त्री होलान्,म अनि अर्का कर्मचारी त्यता सल्लाहकार होलान् । अहिले सांसद रहेका चौधरी कुनै दिन फ्याट्टै प्रधानमन्त्री नबन्लान् भन्न सकिन्न । अनि त्यो बेला एक एक मन्त्रीका सल्लाहकार भएर नबिलको टिम नै उता जाने ? अनि बैंकचाहिं कसले चलाउने ? अनि सेयरधनीले के पाउने ? यो विषयमा नबिल नेतृत्व गम्भीर हुनुपर्दैन र ?

अमित श्रेष्ठ सर, तपाईं विज्ञ हुनुहोला मानियो, विज्ञ नभई नबिलको त्यो लेभलको जागिरमा पक्कै हुनुहुन्न होला मानियो । तर तपाईंले जे गर्नुभएको छ, त्यो गलत छ । देशका लागि केहि गर्छु, आफुले जानेको कुराले केहि परिवर्तन ल्याउँछु भन्ने हो भने कि चुनाव लड्नुस, कि उर्जामन्त्रीज्यूकै झोले बन्नु, तपाईंको इक्षा । तर राजनीति नै गर्ने हो भने नबिलको जागिर त्याग्नुस्, र राजनीतिमै लाग्नुस् । सकेसम्म मन्त्रीलाई देखाएर ठुलो भाग खान खोज्ने, नसके नबिलको तलवमात्र खाने काम नगर्नुस् । किनकि नबिल तपाईंको पार्ट टाइम गर्ने थलो होइन, ठुलो संख्यामा सेयरधनी र ग्राहकको भरोसाको केन्द्र हो । आम सर्वसाधारणलाई तपाईं र तपाईंका आसेपासे बनेर केहि फाइदा हुन्न, जति फाइदा नबिल बन्दा हुन्छ । नबिलले लाभांश दिन्छ, तपाईंले दिने लिने लाभका अंशहरु कहाँ कहाँ पुग्छन् त्यो नेपाली जनताले बुझेका छन् ।

नबिलले खाता खोल्दासमेत राजनीतिमा कोहि ठुलो मान्छे आफन्त छ ? भनेर सोध्छ । राजनीतिज्ञ, पुलिस, वकिल र पत्रकारलाई सकेसम्म ऋण नदिउँ भन्छ । अनि अरुका लागि यस्तो अघोसित नियम बनाउने बैंकले आफ्नै कर्मचारीलाईचाहिं मन्त्रीको पछि लाग्न पठाउने ? यो जे भयो, गलत भयो ।

अमित सरलाई आम सर्वसाधारण र नबिलका शुभचिन्तकको मात्र होइन हाम्रो पनि आग्रह छ, कि नबिल छोडीदिनुस्, कि मन्त्रीज्यूको झोला समाउन । तपाईंले मन्त्रीको पछि लागेर के के पाउनुभयो, कसलाई के के दिलाउनुभयो, त्यसको हिसाब जनताले एक दिन जरुर माग्छन् । त्यो बेला पनि नबिल ब्राण्डमा दाग लगाउने अधिकार तपाईंलाई कसैले दिएको छैन । चेतना भया । (भिडियो)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register