दशरथ रङ्गशालाको विकल्प भनिएको च्यासल मैदानको बिजोग : छैन दीर्घकालीन योजना

काठमाडौं । कुनैबेला दशरथ रङ्गशालाको विकल्पका रूपमा प्रचार गरिएको च्यासल खेल मैदान अहिले बगरजस्तै देखिन्छ । गएको असोजमा रङ्गशालाको मुख्य प्रवेशद्वारबाट पसेको बाढीले हराभरा मैदान हिलाम्य मात्रै बनेन निकास नहुँदा फोहोरसहितको पानी जमेर घाँस मैदानमा समेत क्षति पुग्यो । प्यारापिटमुनिका चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम र मिडिया सेन्टरको अवस्था पनि उस्तै बिजोग छ । मैदानमा […]

Feb 12, 2025 - 06:58
 0
दशरथ रङ्गशालाको विकल्प भनिएको च्यासल मैदानको बिजोग : छैन दीर्घकालीन योजना

काठमाडौं । कुनैबेला दशरथ रङ्गशालाको विकल्पका रूपमा प्रचार गरिएको च्यासल खेल मैदान अहिले बगरजस्तै देखिन्छ ।

गएको असोजमा रङ्गशालाको मुख्य प्रवेशद्वारबाट पसेको बाढीले हराभरा मैदान हिलाम्य मात्रै बनेन निकास नहुँदा फोहोरसहितको पानी जमेर घाँस मैदानमा समेत क्षति पुग्यो । प्यारापिटमुनिका चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम र मिडिया सेन्टरको अवस्था पनि उस्तै बिजोग छ । मैदानमा विद्युत् नहुँदा नजिकैको निजी कारखानाबाट मागेर काम चलाउनु पर्ने अवस्था छ ।

बाढीले क्षतिग्रस्त बनाएको चार महिनासम्म कसैले नदेखेपछि च्यासल युथ क्लबले केही महिनाअघि सरसफाइ सुरु गर्‍यो । खेलमैदानको हाल मर्मत सुरु त भएको छ तर, बजेट अभावमा कहिले पूरा हुने हो अझै टुङ्गो छैन । 

फाइल फोटो

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशरथ रङ्गशालाको विकल्पका रुपमा च्यासल खेल मैदानलाई स्तरोन्नति गर्ने भनेर २०७६ सालमा  २८ करोड रुपैयाँ खर्च गरेको थियो । तर, हरेक वर्ष आउने बाढीको चपेटामा पर्ने यो मैदानको दीर्घकालीन संरक्षण त टाढाको कुरा अहिले २ करोड रकम नभएर मर्मतसमेत हुन सकेको छैन । 

“पछिल्लो निरीक्षणअनुसार मैदानका पूर्वाधार मर्मतसम्भारका निम्ति तत्काल २ करोड रुपैयाँ आवश्यक देखिएको” बताउँछन्, राखेप पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर पूर्ण सुन्दास

खेल हुँदा सबैले खोज्ने, संरक्षणमा छैन ध्यान

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश व्यञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भइरहेको बताउँछन् । मैदान मर्मतमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र सरकारी निकाय कसैले पनि चासो नदेखाउँदा च्यासलको भविष्य नै सङ्कटमा पर्ने हो कि भन्ने उनको चिन्ता छ ।

“च्यासलको लागि एन्फा मौन छ । एन्फाले नदेखेको मैदान रहेछ । खेल हुँदा मात्र चाहिने । अरु बेला नदेख्ने रहेछ,”  क्लबका अध्यक्ष व्यञ्जनकारको गुनासो छ ।

बाढीले क्षति पुर्‍याएको पाँच महिना पुग्नै लाग्दा पनि कसैले ध्यान नदिएपछि च्यासल युथ क्लबले आफ्नै खर्चबाट मर्मत अघि बढाइरहेको तर, सरोकारवाला निकायलाई गुहार्दा पनि सुनुवाइ नभएको उनी बताउँछन् ।

“यो विषयमा कुनै कुरा अगाडि बढेको छैन । एन्फालाई मैले बाढी आयो, क्षति भयो भनेर रिपोर्ट गरेँ । कोषाध्यक्ष, सहायक अरुणमान जोशीलाई पनि देखाएँ । सीईओ इन्द्रमानलाई पनि देखाएँ । उहाँहरूले मात्र बोलेर त भएन,” उनले नेपालभ्युजसँग भने, “गर्नुपर्ने त महासचिव र अध्यक्षले नै हो । उहाँहरूले नदेखेपछि के गर्ने ।”

एन्फाका प्रवक्ता सुरेश साह आफूले बेवास्ता गरेको नभइ दीर्घकालीन समाधान खोजिरहेको बताउँछन् ।

“हामीले च्यासल मैदानलाई बेवास्ता गरेको होइन । भौतिक संरचनाको संरक्षण गर्न दिगो समाधान चाहिएको छ,” प्रवक्ता साहले भने, “च्यासल रङ्गशालाको महत्त्व र समस्या बुझेकै कारण तत्काल लगानी मात्रै गर्नुभन्दा पनि दीर्घकालीन समाधान खोजिरहेका हौँ ।”

एन्फाले मात्रै होइन राखेपलाई अनुरोध गर्दासमेत वास्ता नगरेपछि आफैँले सकेजति पहल थालेको क्लबका अध्यक्ष व्यञ्जनकार बताउँछन् । राखेपसँग १० लाख माग गरेको तर, हालसम्म निर्णय नभएको उनको भनाइ छ ।

“आजको दिनसम्म पनि राखेप मौन छ । हामीले यसरी लापरबाही तरिकाले छाड्न सकेनौँ । त्यही भएर हामी आफैँ मर्मतमा लाग्यौँ, ” उनले भने, “राखेपमा सबै प्रक्रिया पूरा गरेका छौँ । फाइल सबै तयार छ । फाइल सदस्य सचिवको सचिवालयमा छ । फाइल थन्केको एक महिना भइसक्यो तर, सदर भएको छैन ।”

राखेपको एउटा अफिस च्यासलमै छ । सोही अफिसको मातहतबाट क्लबले पत्र पठाएको थियो । प्रक्रिया पूरा गर्नुपर्ने भन्दै राखेपले सुरुमा निवेदनमा तोक लगायो, त्यसपछि इस्टमेट पनि भयो । तर, एक महिना भइसक्यो काम अघि बढेको छैन ।

राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ च्यासल रङ्गशालाको मर्मतका लागि प्रक्रिया अघि बढाए पनि अर्थमन्त्रालयको काम बाँकी रहेको बताउँछन् । “च्यासल मैदानको मर्मतबारे प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया अघि बढेको छ,” उनले भने, “अर्थ मन्त्रालयतर्फको काम बाँकी छ ।”

मैदानको मर्मत अड्किएकोले ‘बी’ डिभिजनलगायत आगामी खेलको तयारीमै समस्या परेको छ । “अब खेल सुरु हुँदैछन् । एन्फामा यू–१६ को खेल भइरहेको छ । चाइनिज टोलीसँग मैत्रीपूर्ण खेल हुँदैछ । महिलाको ‘फोर नेसन्स कप’ हुँदैछ । फाल्गुन २५ गते ‘बी’ डिभिजन लिग क्लब गर्ने भनिरहेको छ,” व्यञ्जनकारको प्रश्न छ, “खोइ त अभ्यास गर्नलाई मैदान ?”

च्यासल रङ्गशाला ललितपुर महानगरपालिका–९ स्थित मनोहरा खोलाको किनारमा छ । उक्त वडाबाट भने आफूहरूले सहयोग पाइरहेको व्यञ्जनकारले जानकारी दिए । स्थानीय सरोकारवाला सबैको सहयोगमा मात्रै यसको दीर्घकालीन संरक्षण सम्भव हुने उनी बताउँछन् ।

ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन “अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्ने” बताउँछन् ।

समस्याले थिचिएको मैदान

च्यासल खेल मैदानलाई यो वर्षको बाढीले मात्रै असर गरेको होइन । हरेक वर्ष आउने बाढीले यसलाई केही न केही क्षति पुर्‍याएकै हुन्छ । यसअघि २०७९ सालको फागुनमा यसको उद्घाटन हुनुअघि साउन महिनामा आएको बाढीबाट मैदान तहसनहस भएको थियो । जसका कारण अनुमानित लागत नै बढेको थियो ।

त्यसबाहेक महानगरले निर्माण गरिरहेको मनोहरा खोलाको करिडोर र बाटोका कारण पनि च्यासलले लामो समयदेखि समस्या भोग्नु परिरहेको छ ।

क्लबका अध्यक्ष व्यञ्जनकारकाअनुसार अहिले भएको बाटोलाई पैदल यात्रीलाई हिँड्नका लागि मात्रै छाडेर अघि बढ्ने विषयमा पनि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग छलफल भएको थियो । तर, करिडोर आवश्यक पर्ने हुँदा त्यसको विकल्प के हुने भन्ने अझै निस्किएको छैन ।

बाढीले बगर बनेको च्यासल मैदान 

अहिले क्लबले एक पटकमा दुईवटा गाडी मात्रै पास हुने गरी मैदानलाई जोगाउने प्रस्ताव अघि सारेको छ । तर, विकास समितिले त्यसको जवाफ दिएको छैन ।

च्यासलको मैदान एन्फाले नगरपालिकासँग जग्गा लिजमा लिएको निर्माण गरेको हो । करिब ४ करोडभन्दा बढी लगानी गरेर एन्फाले फुटबल प्रोजेक्ट बनाएपछि रङ्गशालाको रूपमा विकास गर्न राखेपले पनि त्यसमा खर्च गरेको थियो ।

मैदानको संरचनामा नै समस्या भएकाले वर्षेनी हुने डुबानको असर भोग्नु परेको छ । यहाँको मुख्य समस्या भनेको काठमाडौंतर्फको बाटोको उचाइ धेरै र ललितपुरतर्फको बाटोको उचाइ कम छ । आजभन्दा १५–२० वर्ष अगाडिको हिसाबले संरचना बनेको छ । जबकि पछिल्लो २ वर्षको सर्भेअनुसार मनोहरा खोला बढेर आउँदा १५ फिट माथिसम्म पानी आएको भेटिन्छ । त्यसो हुँदा च्यासल रङ्गशालाको तल्लो तल्लाका संरचना पूरै डुब्ने गरेका छन् ।

“वार्षिक करिब १५ देखि २० लाख रुपैयाँ फर्निचर तथा अन्य सामग्रीको लागि खर्च हुने गर्छ । कुनै ठोस योजनाबिना त्यहाँ लगानी गरेर कुनै औचित्य देखिँदैन,” एन्फाका प्रवक्ता साह भन्छन् । समस्या समाधानका लागि ललितपुर महानगरपालिका, राखेप र एन्फाले नयाँ तरिकाबाट दीगो योजना लिएर अघि बढे मात्रै समाधान निस्कने उनको भनाइ छ ।

राखेप सदस्य सचिव घिसिङ कोरिडोरको मापदण्ड र मैदानको संरचनाबारे पटक-पटक उत्पन्न हुने विवादबारे आफूहरूले मात्र गरेर नहुने बताउँछन् । “थप अन्य सरकारी, सरोकारवाला तथा सम्बन्धित निकायसँग पनि समन्वय गर्न आवश्यक पर्छ । त्यसको लागि अध्ययन गर्दैछौँ,” घिसिङको भनाइ छ । यद्यपि, यस प्रक्रियाको लागि कति समय लाग्छ भन्ने विषयमा अहिले नै केही भन्न नसकिने उनी बताउँछन् ।

बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक नारायणप्रसाद भण्डारी च्यासलको अवस्थाबारे अध्ययन भइरहेको बताउँछन् । “दिगो व्यवस्थापनबारे हामीले अध्ययन गरेका छौँ । अब स्थानीय निकाय र खेलकुद परिषद्‌सँग समन्वय गरेर अगाडि बढ्ने छौँ,” उनले नेपालभ्युजसँग भने ।

मैदानलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा बागमती कार्ययोजना बनेको र त्यसले बाढीको प्रकोप न्यूनीकरण गर्ने उनको दाबी छ । “पूरै शहरमा नभई नदीको किनारमा मात्र पुग्ने असरलाई न्यूनीकरण गर्न खोलाको बहावलाई कम गर्न सकिने उपाय पनि योजनामा समेटेका छौँ,” उनले भने ।

च्यासल मैदानलाई एन्फाले २०५९ सालमा टेक्निकल सेन्टरको रूपमा प्रयोगमा ल्याएको थियो । विसं २०७२ को भूकम्पले दशरथ रङ्गशाला क्षतिग्रस्त भएको थियो । यसपश्चात च्यासल मैदानलाई रङ्गशालाको विकल्पको रूपमा निर्माण गर्न सुरु गरिएको थियो ।

राखेपको बजेटमा २०७४ सालदेखि रङ्गशालाको स्तरोन्नतिको काम सुरु भएको थियो । २ वर्षमा सकिने भने पनि ५ वर्षमा रङ्गशालाको निर्माण कार्य सकिएको थियो । मनोहरा करिडोरको मापदण्डका कारण नक्सामा पटक-पटक परिवर्तन गर्दा र वर्षेनी आउने बाढीका कारण म्याद थप्दै निर्माण कार्य ढिला भएको थियो ।

गणेश थापा एन्फा अध्यक्ष हुँदा नेपालमा ३ वटा गोल्ड प्रोजेक्ट आएका थिए । जसमा धरान, बुटवल र च्यासल थिए । तर, अहिले यसैमध्येको मुख्य मैदान भने लगभग अलपत्र बनेको छ । अहिले च्यासल मैदानकै भविष्य अन्योलमा देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register