लन्डन ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मे ४ तारिख

लन्डन- बुद्ध फाउन्डेसन यूकेको आयोजनामा बेलायतमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यसपटक आगामी मे पहिलो साता हुने भएको छ। २५६९ औं बुद्धजयन्तीको अवसरमा मे ४ तारिख आइतबार लन्डनको ट्राफल्गर स्क्वायरमा कार्यक्रम तय भएको हो। गत वर्ष मर्मतसम्भार कार्यका कारण उपलब्ध नभएको ट्राफल्गर स्क्वायरको भेन्यू यसपटक भने ‘बुकिङ कन्फर्म’ भइसकेको फाउन्डेसनले जनाएको छ। सन् २०१६ मा […]

Feb 25, 2025 - 19:08
 0
लन्डन ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मे ४ तारिख

फाइल तस्विर: विगतमा ट्राफल्गर स्क्वायरको बुद्धजयन्ती

लन्डन- बुद्ध फाउन्डेसन यूकेको आयोजनामा बेलायतमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यसपटक आगामी मे पहिलो साता हुने भएको छ।

२५६९ औं बुद्धजयन्तीको अवसरमा मे ४ तारिख आइतबार लन्डनको ट्राफल्गर स्क्वायरमा कार्यक्रम तय भएको हो।

गत वर्ष मर्मतसम्भार कार्यका कारण उपलब्ध नभएको ट्राफल्गर स्क्वायरको भेन्यू यसपटक भने ‘बुकिङ कन्फर्म’ भइसकेको फाउन्डेसनले जनाएको छ।

सन् २०१६ मा लन्डनको पार्लियामेन्ट स्क्वायरबाट शुरु भएको बुद्धजयन्ती कार्यक्रम त्यसपछिका वर्षमा ट्राफल्गर स्क्वायर हुंदै आएकोमा गत वर्ष मर्मतसम्भारका कारण भेन्यू नमिलेपछि वुल्लीच आर्सनलमा गरिएको थियो।

बुद्धजयन्ती कार्यक्रममा सधैंजस्तै लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनएलगायतको सहकार्य रहनेछ।

आयोजक फाउन्डेसनले बुद्धजयन्ती कार्यक्रम सफल बनाउन आवश्यक तयारी शुरु गरिसकेको छ । फाउन्डेसनले यस वर्षको कार्यक्रम संयोजक उपाध्यक्ष सुशील प्रजापतिलाई तोकेको छ।

अपरान्ह ३ देखि साँझ ६ बजेसम्म कार्यक्रम निर्धारित छ । कार्यक्रम संयोजक एवम फाउन्डेसन उपाध्यक्ष सुशील प्रजापतिले यस वर्षको कार्यक्रममा प्रमुख आकर्षण बौद्ध दर्शनसंग सम्बन्धित विभिन्न कलात्मक प्रस्तुतिहरु रहने नेपालीलिंकलाई जानकारी दिए।

सो अवसरमा बज्रयोगिनी, कुमारी, मञ्जुश्रीलगायतका मौलिक नृत्यहरु साथै गीतसंगीत, भजनहरु प्रस्तुत गरिनेछ। त्यस्तै, बौद्ध धर्मगुरुबाट प्रवचन र ‘मेडिटेसन’ बारे सचेतना फैलाउने उद्धेश्यले छोटो ‘मेडिटेसन सेसन’ समेत सञ्चालन हुनेछ । कार्यक्रमको अन्त्यमा विश्व शान्तिको कामना गर्दै सामूहिक दीप प्रज्वलन गरिनेछ।

कार्यक्रम स्थल ट्राफल्गर स्क्वायरलाई लन्डनको मुटु मान्ने गरिएको छ । जहाँ दैनिक रुपमै संसारभरबाट आएका हजारौं मानिसको ओहोरदोहोर हुने गर्छ।

कार्यक्रमस्थलमा लुम्बिनी र समग्र नेपालको पर्यटन प्रवर्द्धनात्मक प्रचार सामग्रीहरु पनि प्रदर्शन र वितरण गरिने जनाइएको छ।

आयोजक फाउन्डेसनका महासचिव डा सुरजमणि पौडेलले कार्यक्रममा बेलायती सांसदहरुदेखि विभिन्न स्थानीय निकायका मेयर, काउन्सिलरहरु, बेलायतस्थित विभिन्न बौद्ध गुम्बा र संघसंस्थाका प्रतिनिधिलाई अतिथिका रुपमा आमन्त्रण गरिने जनाए । लन्डन दूतावासको समन्वयमा विभिन्न देशका बेलायतस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि निम्त्याइंदैछ।

फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठले बुद्धजयन्ती कार्यक्रममा सहयोग र सहभागिताका लागि बेलायतस्थित सबै नेपाली संघसंस्था र सिंगो नेपाली समुदायलाई आव्हान गरेका छन्।

‘लन्डनमा आयोजना हुने बुद्धयन्ती कार्यक्रमबाट बौद्ध दर्शनको विश्वव्यापी प्रचारप्रसारका साथै बुद्धको जन्मस्थल लुम्बिनी र सिंगो नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ भन्ने हाम्रो विश्वास छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सिंगो नेपालको लागि राष्ट्रिय महत्व र हामी सबै नेपालीको पहिचान तथा गौरवसंग जोडिएको विषय भएकाले यो कार्यक्रम सफल पार्न बेलायतवासी सबै नेपालीबाट साथ, सहयोग र सहभागिता रहनेछ भन्ने आशा हामीले राखेका छौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register