नेपाललाई नमस्ते भनेका सर्वोत्कृष्ट गोलकिपर बुफोनको विवाददेखि कीर्तिमानसम्म

काठमाडौं । इटालीका घाघडान गोलकिपर हुन्, जियोनलिओजी बुफोन । १३ वर्षको उमेरमा फुटबल करियर सुरुवात गरेका उनले ४० वर्षमा उनले अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम  लिए । सन्यास लिनुअघि उनले भनेका थिए, “इटालीका लागि यदि कोही गोलकिपर भएनन् भने ८० वर्षको उमेरमा पनि मलाई बोलाउँदा हुन्छ । म आफूलाई तन्दुरुस्त राख्दै मैदानमा उत्रिनेछु ।” फुटबल इतिहास र […]

Feb 28, 2025 - 09:55
 0
नेपाललाई नमस्ते भनेका सर्वोत्कृष्ट गोलकिपर बुफोनको विवाददेखि कीर्तिमानसम्म

काठमाडौं । इटालीका घाघडान गोलकिपर हुन्, जियोनलिओजी बुफोन । १३ वर्षको उमेरमा फुटबल करियर सुरुवात गरेका उनले ४० वर्षमा उनले अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम  लिए ।

सन्यास लिनुअघि उनले भनेका थिए, “इटालीका लागि यदि कोही गोलकिपर भएनन् भने ८० वर्षको उमेरमा पनि मलाई बोलाउँदा हुन्छ । म आफूलाई तन्दुरुस्त राख्दै मैदानमा उत्रिनेछु ।”

फुटबल इतिहास र तथ्याङ्कबारेको अन्तर्राष्ट्रिय सङ्घ (International Federation of Football History & Statistics, IFFHS) ले उनलाई २१औं शताब्दीकै उत्कृष्ट गोलकिपर भनेको छ ।  अन्तर्राष्ट्रिय फुटलबाट सन्याससँगै फूर्सदमा रहेका बुफोन केपी ओली कपको फाइनल हेर्न नेपाल आउँदैछन् । बुफोनको परिवार नै इटालीको खेल क्षेत्रसँग जोडिएको छ । बुफोनको रेकर्ड र उनको जीवन निकै रोचक छ ।

बुफोन इटालीको टस्क्यानीमा सन् १९७८ को जनवरी २८ मा जन्मिएका थिए । उनको परिवार नै इटालीका खेल क्षेत्रमा थियो । बुबा एड्रआनो भारत्तोलनमा थिए । आमा मारिया स्टेला डिस्क थ्रोअर र उनका दुई दिदी भेरोनिका र ग्युअनडालिना इटालियन भलिबल टोलीमा थिए ।

१३ वर्षको उमेरमा उनले मिडफल्डरका रूपमा पार्माबाट खेलेका थिए । सन् १९९५ सम्म उनी मिडफिल्डरकै रूपमा रहे । त्यसपछि उनले आफ्नो भूमिका परिवर्तन गर्दै गोलकिपर बने ।

पार्माबाट गोलकिपरका रूपमा उनले दुई सयभन्दा बढी खेल खेलेका थिए । पार्माबाट उनले ‘सिरी ए गोलकिपर अफ द इयर’को उपाधि दुईपटक पाए । यस्तै, २३ वर्षमुनिका खेलाडीहरूलाई युरोपमा दिइने ‘ब्राभो अवार्ड’ पनि  उनले पाएका थिए ।

कीर्तिमानी रकममा बिक्री, अवार्डको लर्को

सन् २००१ मा बुफोनलाई युभेन्टसले कीर्तिमानी रकम खर्चेर क्लबमा भित्र्याएको थियो । मार्सेले लिप्पीले व्यवस्थापन सम्हालेसँगै बुफोनलाई ५१ मिलियन पाउन्ड खर्च गरेर क्लबमा भित्र्याएका थिए ।

क्लबमा भित्रिएको केही समयमै उनी नम्बर वान गोलकिपर बने । ३४ वटा म्याचमा उनले २२ गोल मात्रै खाएका थिए । पहिलो सिजनको अन्त्यतिर क्लबले उनलाई ‘सिरी ए गोलकिपर अफ द इयर’बाट सम्मानित गर्‍यो । यो अवार्डबाट उनी तेस्रोपटक सम्मानित भएका थिए ।

क्लबमा भित्रिएको दोस्रो सिजनमा युभेन्टसलाई उनले  UEFA Champions League को फाइनलमा पुर्‍याउन मद्दत गरे  । दुर्भाग्य मिलानसँगको फाइनलमा पेनाल्टी सुटमा युभेन्टस पराजित हुन पुग्यो । दोस्रो सिजनको अन्त्यमा उनी चौथोपटक सिरी ए गोलकिपर अफ द इयर अवार्डबाट सम्मानित भए ।

उनी IFFHS गोलकिपर अफ द इयरबाट पनि सम्मानित भए । यस्तै, उनले UEFA उत्कृष्ट गोलकिपर अवार्ड पनि पाए ।  तेस्रो सिजनको अन्त्यमा आइपुग्दा  उनले तीनवटै उपाधि फेरि पाएका थिए ।

सट्टेबाजी विवाद

सन् २००४ मा युभेन्टसको व्यवस्थापन फ्याबियो क्यापिलोले सम्हाले ।  इटालियन राष्ट्रिय टोली कमाण्ड लिपीले सम्हाले । सन् २००४ मा छैठौंपटक बुफोनले ‘सिरी ए गोलकिपर अफ द इयर’ अवार्ड पाए ।

युभेन्ट्ससँगको पाँचौं सिजनमा मिलानका मिडफिल्डर काकासँग ठोक्किन पुग्दा बुफोन घाइते भए । पाखुराको शल्यक्रिया सकेर केही महिनाको आरामपछि उनी मैदानमा फेरि देखिए । दुर्भाग्य दोस्रोपटक उनी घाइते हुन पुगे । यसका बावजुद उनी सिरी ए गोलकिपरबाट सातौं पटक र IFFHS गोलकिपर अफ द इयरबाट तेस्रो पटक सम्मानित भए ।

सन् २००६ मा बुफोनसहित इटालीका धेरै खेलाडीलाई गैरकानुनी सट्टेबाजको आरोप लाग्यो । उक्त आरोपलाई अस्वीकार गर्दै उनले आफूमाथि छानबिनको माग गरे । छानबिनपछि उनी निर्दोष ठहरिए ।

यो प्रकरणमा निर्दोष साबित भएसँगै उनलाई इटालियन राष्ट्रिय टोलीमा भित्र्याउने क्रम सुरु भयो । चौथोपटक विश्वविजेता बन्ने सपनामा उनको कौशल सहयोगी हुने अपेक्षासहित बुफोनलाई राष्ट्रिय टोलीमा सामेल गरिएको थियो ।  पाँचौं सिजनको अन्त्यतिर युभेन्टस रेलिगेसनमा पर्‍यो । बुफोनलाई फेरि क्लबमा भित्र्याउने हल्ला चलेको थियो । उक्त हल्ला भ्रममात्रै भएको बुफनले बताउने गरेका थिए ।

पछि उनी सन् २०१२ सम्मका लागि क्लबमा अनुबन्ध भए । क्लब फुटबलमा फर्किएसँगै उनी अस्वस्थ हुन थाले । उनलाई कहिले ढाड त कहिले मांसपेशीका समस्याले सताउन थाल्यो । सन् २००८ देखि २००९ सम्म बुफन छायामा परेका थिए । उनको स्थान अलेक्सजेण्डर मेनिग्गरले लिए । राम्रो प्रदर्शन गरे पनि युभेन्टसले नतिजा निकाल्न सकेन । नतिजा निकाल्न नसकेपछि  बुफोन निराश थिए ।

सन् २०१२ मा बुफोन युभेन्टसको क्याप्टेन भए । उनले क्लबको प्रदर्शनमा सुधार ल्याए पनि नतिजा दिन भने सकेका थिएनन् ।  यो विषयमा उनले व्यवस्थापनसँग छलफल गरे । सन् २०१३ सम्म सम्झौता गर्दै पछि उनलाई सन् २०१५ सम्म क्लबमा अनुबन्धको सम्झौता भयो ।

जनवरी २०१३ मा बुफनले नवौं पटक सिरी ए गोलकिपर अफ द इयर पाएर र्कीर्तिमान राखे । सन् २००६ मा फिफा विश्वविजेताका सदस्य थिए, बुफोन । उनले ५ वटा खेलमा कुनै पनि गोल हुन नदिएर रेकर्ड राखेका छन् । यसलाई फुटबलको भाषामा Clean Sheet भनिन्छ । उनको करियरमा Clean Sheet को कुल सङ्ख्या ६ रहेको छ ।

सन् २००६ मा  बलोन डी ओर अवार्डको नोमिनेसनमा उनी इटालियन कप्तान क्यानाभरोपछि दोस्रो स्थानमा परेका थिए । फिफा वर्ल्ड प्लेअर अफ द इयरमा उनी आठौं स्थानमा परेका थिए । उनलाई इटालीको मात्रै नभएर विश्वकै सर्वोत्कृष्ट गोलकिपरको रूपमा चिनिन्छ । मैदानमा साहस, शक्ति र प्रहार रोक्ने कौशलका कारण उनी निकै चर्चित बने ।

विश्वकपको छनोटबाटै इटाली बाहिरिँदा सन्यास

IFFHS ले उनलाई २१औं शताब्दीकै उत्कृष्ट गोलकिपर घोषित गरेको छ । खेलाडीको व्यक्तित्व र खेल कौशलको मूल्याङ्कन गर्दै गोल्डेन फुट अवार्ड प्रदान गरिन्छ  । यो अवार्ड पाउने पहिलो खेलाडी हुन् बुफोन ।  उनले उत्कृष्ट फिफा गोलकिपर अवार्ड पनि पाएका छन् ।

सन् २०१७ मा द बेस्ट फिफा मेन्स प्लेयर अवार्डका लागि उनी चौथो स्थानमा परेका थिए । सन् २०१७ मा बुफन इटालियन राष्ट्रिय टोलीको क्याप्टेन थिए । त्यसका प्रशिक्षक थिए जियान पेयरो भेन्चुरा ।

६० वर्षको इतिहासमा सन् २०१८ म पहिलोपटक इटाली विश्वकप छनोटको चरणबाटै बाहिरियो । इटालीले फिफा विश्वकप भने चारपटक जितिसकेको छ । इटाली  छनौट चरणबाटै बाहिरिएपछि नै  बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । सन् २०२३ मा व्यवसायिक खेल जीवनबाट पनि विश्राम लिए ।

केपी ओली कप फाइनलका लागि नेपाल आउन लागेका बुफोनले भिडियो सन्देशमार्फत नेपालीमै भनेका छन्- ‘नमस्ते सबै जनालाई ।’

यसपछि अङ्ग्रेजी सम्बोधन गर्दै उनले भनेका छन्- ‘केपी ओली कप हेर्नका लागि म प्रमुख अतिथिका रूपमा आउँदैछु । सबैलाई भेटौँला ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register