चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

दशैं जस्ता चाडपर्वमा मनलाग्दी खाने, पिउने गरिन्छ । अरूको कुरा छाडौं, स्वास्थ्यप्रति सजगहरू पनि भनिरहेका हुन्छन्( ‘चाडपर्वमा त मस्त खाने हो, रम्ने हो ।’ यसको नतिजा चाहिं चाडपर्व सकिएलगत्तै देखिन थाल्छ । शरीरको तौल बढ्छ, मधुमेहले च्याप्छ, कोलेस्टेरोलले दुःख दिन्छ । तब उनीहरू भन्न थाल्छन्, ‘अब के गर्ने होला ?’ चाडपर्वमा लापरबाही चाडपर्वमा शरीरले भन्दा [...] The post चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? appeared first on Jhapa Online.

Mar 5, 2025 - 08:45
 0
चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?


दशैं जस्ता चाडपर्वमा मनलाग्दी खाने, पिउने गरिन्छ । अरूको कुरा छाडौं, स्वास्थ्यप्रति सजगहरू पनि भनिरहेका हुन्छन्( ‘चाडपर्वमा त मस्त खाने हो, रम्ने हो ।’

यसको नतिजा चाहिं चाडपर्व सकिएलगत्तै देखिन थाल्छ । शरीरको तौल बढ्छ, मधुमेहले च्याप्छ, कोलेस्टेरोलले दुःख दिन्छ । तब उनीहरू भन्न थाल्छन्, ‘अब के गर्ने होला ?’

चाडपर्वमा लापरबाही

चाडपर्वमा शरीरले भन्दा पनि मनले खाइदिन्छौं । मन लागेर खान्छौं, मन राख्नका लागि खान्छौं । घरमा मीठो मसिनो खानेकुरा पाक्न थालेपछि हामी मन थाम्न सक्दैनौं, मस्त खाइदिन्छौं । आफन्त, इष्टमित्रकहाँ गइन्छ । त्यहाँ हाम्रो स्वागतार्थ खानेकुरा दिइन्छ । पाहुनालाई हार्दिकतासाथ पस्किएको खानेकुरा त्यसै पन्छाउन सक्दैनौं । पेट टम्म भरिए पनि मन राख्नकै लागि खाइदिन्छौं । त्यसमाथि( मासु, पनिर, तारेको, भुटेको, मसालेदार खानेकुरा । यस्तो खानालाई शरीरले कसरी थेग्न सक्छ ?

अनि बढ्छ मोटोपन

दशैं जस्ता चाडपर्वमा मीठो मसिनो खाँदै बस्ने, तासको खालमा जम्ने, मासु(मदिरा खाने चलन व्यापक छ । कोही तासको खालमा बस्छन्, कोही रमझम गर्न थाल्छन् । खाँदै, बस्दै गर्दा शरीरमा जम्मा भएको अतिरिक्त क्यालोरी खर्च हुन पाउँदैन ।
बिहान उठेदेखि राति अबेरसम्म खाने गरिन्छ । हाम्रो शरीरलाई राति अबेर खानेकुरा पचाउन गाह्रो हुन्छ । अर्कोतिर निद्राको तालमेल मिल्दैन । अत्यधिक खानाको सोझो असर भनेको पेटमा पर्छ । पेटले त्यसलाई पचाउन सक्दैन र बोसोको रूपमा संग्रहित गर्छ ।

बोसो लाग्दै गएपछि तौल बढ्ने नै भयो । तौल बढेसँगै चिन्ता पनि बढ्छ । किनभने शरीरको अनियन्त्रित तौलले अरू समस्याहरू पनि ल्याउँछ । जस्तो मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल आदि । धेरैले अनुभव गरेको हुनुपर्छ, दशैंपछि प्रायः चार(पाँच केजी तौल बढ्छ ।

दशैंमा सबैभन्दा बढी समस्या दीर्घ रोग भएकाहरूका लागि हुन्छ । युरिक एसिड, मधुमेह, रक्तचाप र कोलेस्टेरोलका बिरामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने भनेको मोटोपना, खानपान, निद्रा र औषधि हो ।
दशैंको माहोलको रमझम र घुमफिरले गर्दा यी सबै कुरामा सन्तुलन मिल्दैन । अत्यधिक मासुको साथै मदिरा पनि खाने हो भने त यी दीर्घरोगले मुटुमा समस्या गराई हृदयघात भई तत्काल अस्पताल लैजानुपर्ने हुनसक्छ ।

पुरुषमा बढी समस्या

दशैंमा सबैभन्दा बढी समस्या तुलनात्मक रूपमा पुरुषमा देखिन्छ । किनकि महिलाहरू पकाउने, पूजापाठ, सरसफाइकै लागि पनि भान्छा, कोठा र आँगनमा काम नै गरेर पनि शारीरिक अभ्यास भइरहेको हुन्छ । तर, पुरुषको हकमा भने तास खेल्न बसेपछि एकठाउँमै बसिरहने, त्यही ठाउँमा खानपान गरिरहने र खाइरहँदा कति खाएको पनि हेक्का नहुने हुँदा ढाड दुख्ने, मोटोपन बढ्ने, अनिद्रा, अपचको समस्या बढ्छ ।

के गर्ने ?

सम्भव भएसम्म खानपानमा नियन्त्रण गर्ने

चाडपर्वमा मिठाई र तारेको, पोलेको खानेकुरा खाए पनि मात्रा घटाउनुपर्छ । त्यसको लागि मासुका परिकारसँगै ताजा फलफूल, सलाद, हरियो सागसब्जी र प्रोटिनयुक्त वस्तुहरू पनि प्लेटमा राख्नुपर्छ । र, खानेकुरा खाँदा हरियो सागसब्जी र फलफूलबाट सुरु गर्नुपर्छ । यसरी सुरु गरेमा भारी खानेकुरा खाने भोक पनि हराउँछ । र, मासुको मात्रा पनि कम खाइन्छ । मासुभन्दा बढी फाइबरयुक्त खानेकुराले खाएको मासु जस्ता परिकार पचाउन पनि मद्दत गर्छ ।

सानो प्लेटमा खाना राख्ने र विस्तारै खाने

सानो प्लेटमा खाना खाँदा खानाको मात्रा स्वतः घट्छ । सानो प्लेटमा लिएर चपाई चपाई विस्तारै खाने गरेमा पनि अनावश्यक खानबाट बचिन्छ । एकपटक हालेपछि थप्ने बानी पनि कम गर्ने प्रयास गर्नुपर्छ ।

प्रशस्त पानी पिउने

प्रशस्त पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । जसले भोक पनि कम लाग्छ । खाना खाएको ३० मिनेट अगाडि वा ४० मिनेटपछि पानी पिउने बानी बसाल्नुपर्छ । यसले मेटाबोलिजमलाई चुस्त राख्ने मात्र होइन, कम खान पनि मद्दत गर्नेछ ।

शारीरिक गतिविधि

सबैभन्दा बढी व्यायाम आवश्यक पर्ने भनेकै दशैं जस्तो लामो चाडपर्वमा हो । यो समयमा जीम तथा योगा हलहरू बन्द छन् भनेर ढुक्कले बस्नुहुँदैन ।
घरमै पनि १५ देखि २० मिनेट व्यायाम गर्नु पनि फाइदाजनक हुन्छ । घरमा पाहुना छन् वा माहोल मिल्दैन भने बिहानपख वा बेलुकीको समय व्यायाम तथा हिंडडुल गर्न सकिन्छ ।

समयमा खाना खाने

चाडपर्वमा हामी प्रायः खानाको नियमित समय बिर्सन्छौं । अनियमित समयमा खाना खाँदा मेटाबोलिजममा नकारात्मक असर पर्ने र तौल बढ्ने सम्भावना पनि बढ्छ ।
त्यसैले, दिनमा दुई पटक खाना खाने र त्यसबीचमा हल्का खाजा लिन सकिन्छ । मासुका परिकारहरू बेलुकाभन्दा बिहान खानु उचित हुन्छ । बेलुका हल्का खानेकुरा खाने र खाएको तीन घण्टा पछि सुत्नु उचित हुन्छ ।

पर्याप्त निद्रा

निद्राको कमी पनि तौल बढ्नुको प्रमुख कारण हुनसक्छ । चाडपर्वमा भोजभतेर र अन्य गतिविधिका कारण निद्रा कम हुन्छ, जसले शरीरको ऊर्जा घटाउँछ र मेटाबोलिजममा पनि असर गर्छ । चाडपर्व होस् वा सामान्य दिन, दैनिक ७ देखि ८ घण्टा सुत्ने प्रयास गर्नुपर्छ ।सम्झना सुब्बा, फिटनेस ट्रेनर

The post चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register