छोरीलाई जवाफ दिन मेडिकल काउन्सिल धाउँदै सुवास

काठमाडौं । तीन महिना भयो सुवास पराजुलीको जीवनबाट निद्रा खोसिएको । उनको जीवनमा यतिखेर छटपटी छ । मनभरी पीडा र दिमागमा कयौं अनुत्तरीत प्रश्न छन् । सबचिज ठीकठाक भएको हुँदो हो भने सुवास श्रीमती मनितासँगै छोरीको स्याहार गरिरहेका हुन्थे । सबचिज बिथोलियो । यतिखेर उनीसँग तीन महिनाकी छोरी त छिन्, तर छोरीलाई दूध खुवाउन आमा […]

Mar 5, 2025 - 14:56
 0
छोरीलाई जवाफ दिन मेडिकल काउन्सिल धाउँदै सुवास

काठमाडौं । तीन महिना भयो सुवास पराजुलीको जीवनबाट निद्रा खोसिएको । उनको जीवनमा यतिखेर छटपटी छ । मनभरी पीडा र दिमागमा कयौं अनुत्तरीत प्रश्न छन् ।

सबचिज ठीकठाक भएको हुँदो हो भने सुवास श्रीमती मनितासँगै छोरीको स्याहार गरिरहेका हुन्थे । सबचिज बिथोलियो । यतिखेर उनीसँग तीन महिनाकी छोरी त छिन्, तर छोरीलाई दूध खुवाउन आमा छैनन् ।

२५ मङ्सिर-

सुवास पराजुली गर्भवती श्रीमतीको नियमित चेकजाँचका लागि एभरेष्ट अस्पताल जाने तयारीमा थिए । पराजुली दम्पती एभरेष्ट अस्पताल र सिनामङ्गलको काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टर ज्योत्सना शर्मासँग नियमित निगरानीमा थिए ।

२५ मङ्सिरमा बाथरुम छिरेकी मनिताको माथिल्लो पेट दुख्न थाल्यो । दुःखाइ असह्य भएपछि पराजुली दम्पती अस्पताल जान तयार भए । तर, उनीहरुले नियमित चेकजाँच गराईरहेकी डा. शर्मा कहाँ छिन् ? एभरेष्ट की केएमसी ?

थाहा पाउन उनीहरुले डा. शर्मालाई तारन्तार फोन गरे । शर्माको फोन उठेन । फोन नउठेपछि पराजुलीकी श्रीमतीले, “डाक्टर, प्लिज मलाई एकदम गाह्रो भयो,” भनेर म्यासेज गरिन् ।

यति हुँदा हुँदै पराजुली दम्पती सिनामङ्गलको केएमसी अस्पताल पुगे । पराजुली दम्पती केएमसी पुग्ने बित्तिकै डा. शर्माले फोन गरेर एभरेष्ट अस्पताल बोलाइन् । “पहिलेदेखि नै उहाँलाई देखाइरहेको हुनाले हामी बानेश्वरको एभरेष्ट अस्पताल आयौंँ,” पराजुली सुनाउँछन् ।

पराजुली दम्पती २ बजेर १५ मिनेटमा एभरेष्ट अस्पतालको इमर्जेन्सी वार्डमा पुगे । इमर्जेन्सीमा चेकजाँच सुरु भयो । “इमर्जेन्सीमा अल्ट्रा साउण्ड, ईसीजी, ईको गरे,” पराजुली सुनाउँछन्, “बच्चा ठीक छ । गर्भमा अलिकता पानी कम छ भनियो ।”

यस अगाडिका नियमित जाँचमा नै गर्भमा बच्चा उल्टो बसेको भनिएको थियो । यहीकारण पराजुली दम्पती अप्रेसन गरेर बच्चा निकाल्नेमा लगभग पक्का थिए ।

इमर्जेन्सीको चेकजाँचपछि मनितालाई माथिल्लो तल्लाको १०८ नम्बर कोठामा लगियो । करिब साढे चार बजेतिर डा. शर्मा आइपुगिन् । “तर, डाक्टर आउनु अगाडि नै अपरेशनका लागि सबै तयारी गरिएको रहेछ,” पराजुली सुनाउँछन्, “हामीलाई केही जानकारी नै दिएनन् ।”

अपरेशन गरेर बच्चा निकालियो । साढे पाँच बजेतिर सुवास र उनको परिवारले बच्चा र आमालाई हेर्न पाए । पराजुलीले मनितालाई भेट्दा उनले बिहानको दुःखाइ अझै कम नभएको सुनाइन् ।

“जुन दुःखाइका कारण हामी अस्पताल आएका थियौँ त्यो निको भएको थिएन,” पराजुली सुनाउँछन्, “दुःखाइ हटाउने औषधी चलाइरहेका छौँ, डाक्टरले विस्तारै कम हुन्छ भने ।”

डाक्टरले नै विस्तारै निको हुन्छ भनेपछि पराजुली दम्पती ढुक्क भए । सुवास बाहिर निस्कन खोज्दा मनिताले रोकिन् । “कतै नजानु है यतै बस्नु, मेरो टाउको सुम्सुम्याइदिनुन्’ भन्दै मनिताले सुवासलाई रोकिन् ।

केहीबेरसम्म सुवासले मनिताको टाउको सुम्सुम्याए । बा–आमा भएको खुशी साँटे ।

करिब ७ बजेतिर मनिता अनियन्त्रित रुपमा काँप्न थालिन् । मेडिकलको भाषामा यस्तो अवस्थालाई ‘सिजर’(Seizure) भन्ने गरिन्छ । सिजर प्रायः टाउकोमा चोट, सङ्क्रमण, वा स्नायुसम्बन्धी समस्याले हुने गर्छ । मनिता बरबराउन थालेपछि स्वास्थ्यकर्मीले सुवासलाई बोलाए ।

यतिञ्जेलसम्म मनितालाई अर्के बेडमा राखिएको थियो । सुवासलाई डाक्टरले सुनाए, “हामीले म्याग्नेसियम सल्फेट चलाएका छौँ ।”

सुवासले सोधे, “मेरो बिरामी बेहोस भाको हो ?”

“होइन धेरै चलेको भएर साइलेन्ट गराउन मेडिसिन दिएको,” डाक्टरले जवाफ दिए ।

त्यसपछि डाक्टरले सुवासलाई सचेत गराए, “सिजर भनेको मृगि जस्तै हो । एकैछिनमा ठीक हुन्छ धेरै भयो भने माथि आईसीयूमा लिनुपर्छ ।”

‘सिजर’ के कारणले हुन्छ ? डाक्टरले सुवासलाई बताएनन् । उनी भन्छन्, “डाक्टरले भनेपछि त मान्नै पर्‍यो ।”

रातको १० बजेसम्म पनि मनिताको स्वास्थ्य अवस्था निकै खराब भइसकेछ । स्वास्थ्यकर्मीहरु मनितालाई आईसीयूमा लिने तयारी गर्न थाले । “मनितालाई कोठाबाट बाहिर निकाल्दै रहेछन्,” सुवास भन्छन्, “मनितालाई बाहिर निकाल्न लागेको देखेपछि मैले सोधेँ, कहाँ लैजान लागेको ?”

‘आईसीयूमा’ स्वास्थ्यकर्मीले जवाफ फर्काए ।

सुवास रिसाए, “हामीलाई भन्नु पर्दैन, खबर गर्नु पर्दैन, के भएर लान थालेको ?’ स्वास्थ्यकर्मीले जवाफ फर्काएनन् । मनितालाई आईसीयूमा लगियो ।

२६ मङ्सिर –

बिहानै सुवास आईसीयूमा गए मनितालाई भेट्न । मनितालाई देख्ने बित्तिकै सुवासले सोधे, “के भयो तिम्रो मुख एकदम सुख्खा छ ?”

“पानी पनि खान दिएको छैनन्,” मनिताले भनिन् ।

अनि सुवासले मनितालाई सुम्सुम्याए । “उसको हात, खुट्टा, जिउ, गाला सबै चिसो थियो, मलाई डर लाग्यो,” सुवास सुनाउँछन्, “किन यस्तो चिसो भएको भनेर नर्सलाई सोधे ।”

“उहाँले रातभर ब्ल्याङकेट फालेको फाल्यै गर्नुभयो,” नर्सले भनिन्, “त्यही भएर चिसो भयो ।”

यो कुराकानी नसकिदैँ नर्सले आईसीयू कोठामा हिटर ल्याएर जोडिन् । यसपछि पालैपालो सुवासका बा, आमा मनितालाई भेट्न गए ।

करिब ११ बजेतिर अस्पताल पुगेकी डाक्टर शर्माले मनिताको रक्तचाप बिहान ६ बजेदेखि कम भएको सुनाइन् । सुवास भन्छन्, “पहिला हाइ थियो । बिहान ६ बजेबाट डाउन भयो हामीले मेडिसिन रोक्यौ र, उ(मनिता) अलिकता बर्बराई रहेको छ – भनेर डाक्टरले भने ।”

यतिखेरै सुवासले मनितालाई फेरि भेटे ।

“मलाइ एकदम झ्याउ भइसक्यो,” मनिताले मसिनो स्वरमा भनिन् ।

“त्यसो नभन यहाँ औषधी, उपचार चलिरहेको छ । निको हुन्छ । आत्तिनु पर्दैन,” सुवासले ढाडस दिए । र, यो नै सुवासको मनितासँगको अन्तिम संवाद भयो ।

एकातिर श्रीमती आईसीयूमा अर्कोतिर भर्खर जन्मेको बच्चा एनआईसीयूमा । तनाव र धपेडीले सुवासका नौनाडी गलिसकेका थिए । तैपनि उनी श्रीमतीलाई ढाडस दिइरहेका थिए ।

करिब साढे १२ बजेतिर स्वास्थ्यकर्मीले सुवासलाई रगतको जोहो गर्न भने । सुवासले दुईजना रक्तदाता पनि तयार गरे । उनी भन्छन्, “दुई जना बोलाए एकजनाले रगत दिँदै थिए, रगतको कागजमा के मिलेन भनेर मलाई माथि आईसीयूमा पठाए ।”

आईसीयूमा पुग्दा सुवास छाँगाबाट खसे जस्तै भए । उनले देखे, “मनितालाई त सीपीआर दिँदै रहेछन् ।” मुटु वा फोक्सले काम गर्न बन्द गरेमा आपत्‌कालीन अवस्थामा गरिने उपचार प्रक्रिया हो सीपीआर (Cardio pulmonary Resuscitation) ।

सीपीआरपछि स्वास्थ्यकर्मीले सुवासलाई भने, “एक्कासी मुटु बन्द भएर सिपिआर दिनुपर्यो अहिले रिभाईभ भयो अब केएमसी लानुपर्छ ।”

केएमसी लानको लागि भनेर सुवासलाई एम्बुलेन्सको १५ सय रुपैयाँ पनि तिर्न पठाइयो । उनी पैसा तिरेर फर्किदा आईसीयूमा स्वास्थ्यकर्मीको बाक्लै भिड जम्मा भइसकेको थियो । स्वास्थ्यकर्मीको भिड देखेर सुवास पनि अताल्लिए । आईसीयूमा डाक्टरले सुवासलाई सोधे, “तपाईंको मेडिसिटि वा ग्राण्डीसीटिमा रिसिभ गर्ने मान्छे छ ।”

सुवासले भने, “छैन कोही छैन ।” यसपछि सुवासले मनितालाई मेडिसिटि लाने निधो गरे । मनितालाई मेडिसिटि लग्ने र एभरेष्टको कागजी प्रक्रिया पूरा गर्न भनेर उनी तल ओर्लिए । उनी तल नपुग्दै उनलाई फेरि बोलाइयो ।

उनलाई माथि बोलाएर भनियो, “सबैभन्दा बेस्ट ह्याम्स रहेछ, त्यहाँ भेन्टिलेटर सहितको एम्बुलेन्स छ र त्यहाँको रेस्क्यु टिम नै आएर लिएर जान्छ ।”

सुवाससँग ‘हुन्छ’ भन्नुबाहेक अर्को विकल्प थिएन ।

सबै कागजी प्रक्रिया प”रा गरेर मनितालाई ह्याम्स अस्पताल पुर्‍याउँदा २७ मङ्सिर भइसकेको थियो ।

ह्याम्स अस्पतालमा मनितालाई भेन्टिलेटरमै राखेर उपचार सुरु भयो ।

तर, पुस २ को साँझ ७ बजेर ५ मिनेटमा मनितालाई डाक्टरले ‘मृत’ घोषित गरे ।

“एभरेष्ट अस्पतालमै मल्टिपल अर्गान फेल भइसकेको रहेछ,” सुवासले यो जानकारी पनि ह्याम्स अस्पताल पुगेपछि पाए ।

मनिताको मृत्युपछि सुवासको जीवन बिथोलिएको छ । ह्याम्स अस्पतालमा उनले एभरेष्ट अस्पतलामा भएको सम्पूर्ण जाँचको रिर्पोट पाए । ती रिर्पोटमा देखिएका कुरा र उपचारमा संलग्न स्वास्थ्यकर्मीको टोलीले आफूलाई जानकारी नगराएको सुवासको दाबी छ ।

अस्पतालको परिक्षण र उपचार विवरणमा मितिमा बारम्बार गल्ति गरिएको र केरमेट गरिएको देखिन्छ । मङ्सिर २६ गतेको राति नै मनितालाई ह्याम्स रिफर गरेको भएपनि एभरेष्ट अस्पतालको विवरणमा भने मङ्सिर २८ गतेसम्म मनिताको औषधोपचार गरिएको लेखिएको छ ।

मङ्सिर २५मा अस्पताल पुगे लगत्तै २ बजेर ४१ मा गरिएको परीक्षणमा नै मनिताको लिभरमा गम्भिर समस्या देखिएको रिर्पोटले देखाउँछ । “तर, मलाई अस्पताल र डाक्टर कसैले केही भनेनन्,” सुवास भन्छन्, “अल्ट्रा साउण्ड परिक्षणको रिर्पोटमा सबैचिज कम्प्युटर प्रिन्ट छ भने, बच्चाको घाँटीमा शाल बेरिएको कुरा हातले लेखिएको छ । यो कुरा पनि हामीलाई भनिएन ।”

अस्पतालको विवरणमा यस्ता प्रशस्तै त्रुटि भेटिन्छन् । अस्पतालको विवरणले आईसीयूमा राखेपछि मनितालाई रगत चढाएको देखाउँछ । सुवास भन्छन्, “रगत जम्मा गर्ने बेलामा नै मनितालाई सीपीआर दिइएको थियो । रगतका लागि अस्पतालमा राखेको पैसा नै फिर्ता पाइसकेको छु मैले । तर, अस्पतालको रिर्पोटमा भने रगत दिएको लेखेका छन् ।”

यी सबै विवरणमा सुवासलाई शंका लाग्यो । अनि उनले एभरेष्ट अस्पतालसँग मनिताको उपचारमा प्रयोग भएका औषधि, उपचार प्रक्रिया र उपचारमा सामेल भएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीका विवरण माग गर्दै पत्र लेखे ।

जवाफमा डा. ज्योत्सना शर्माले एउटा सानो पत्र दिइन् । पत्रमा डा. शर्माले मनिता पहिल्यैदेखि उच्च रक्तचापको रोगी भएको र अस्पताल भर्ना हुँदा पनि रक्तचाप उच्च रहेको लेखेकी छिन् ।

“उहाँको अवस्था र आवश्यक पर्ने उपचारलाई ध्यानमा राख्दै, हामीले तुरुन्तै रक्तचाप नियन्त्रण गर्ने औषधि Antihypertensive medication) प्रदान गर्यौं र प्रि–एक्लेम्प्सिया (Preeclampsia) को गम्भीर अवस्थाका कारण आपत्‌कालीन सिजेरियन सेक्सन (Emergency C–section गर्ने निर्णय गर्यौं ।”

यसका बावजुद पनि मनिताको रक्तचाप नियन्त्रण नभएको शर्माले पत्रमा लेखेकी छिन् ।

“अपरेशनको केही समयपछि, उहाँमा एक्लेम्प्सिया (Eclampsia) का लक्षणहरू देखिन थाल्यो । यसकारण हामीले म्याग्नेसियम सल्फेटको लोडिङ डोज  (Loading Dose of Magnesium Sulfate) दिनुपर्‍यो,’ यसपछि थप निगरानीका लागि आईसीयूमा राखिएको शर्माले लेखेकी छिन् ।

पत्रमा शर्माले मनितालाई सिजर भएको कुरा उल्लेख गरेकी छैनन् । आईसीयूमा पनि रक्तचाप एकछिन कम भएपनि उच्च नै रहेको शर्माले लेखेकी छिन् ।

यसपछिको परिक्षणमा मनिताको कलेजोमा समस्या देखिएको शर्माले भनेकी छिन् । शर्माको पत्रमा लेखिएको छ,”पुनः गरिएको रक्त परीक्षणमा कलेजोको कार्य बिग्रिएको (Deranged Liver Function Tests) र असामान्य रक्त मापदण्ड (Abnormal Blood Parameters) देखियो, जसले HELLP Syndrome सँगै तीव्र कलेजो फेल (Acute Liver Failure) को सङ्केत गर्‍यो ।”

डा. शर्माले मनितालाई HELLP Syndrome भएको चाल बल्ल पाइन् । तर, चिकित्सककाअनुसार गर्भवती महिलाको माथिल्लो पेट (कलेजो भएको ठाउँ) मा दुखाई हुनु भनेकै HELLP Syndrome को प्रारम्भिक संकेत हो । मनिता यही दुःखाइका कारण अस्पताल आएकी थिइन् । मनिताका श्रीमान सुवासले भनेअनुसार अप्रेसन गरेर बच्चा निकालिसक्दा पनि उनकोे दुःखाइ कम भएको थिएन ।

र, यही HELLP Syndrome का कारण मनिताको मुटुको चाल रोकियो । जसका कारण उनलाई सीपीआर दिनुपर्ने अवस्था आयो ।

HELLP Syndrome का विभिन्न कारण मध्ये उच्च रक्तचाप प्रमुख हो । डा. ज्योत्सना शर्मालाई मनिताको उच्च रक्तचापको अवस्थाबारे पहिले नै जानकारी थियो । यही समस्याले कलेजो, किड्नी, मुटु र फोक्सो जस्ता अंगहरुलाई फेल गर्ने गर्छ ।

चिकित्सककाअनुसार HELLP Syndrome को अवस्थामा माथिल्लो पेट(कलेजो भएको स्थान)को दुखाइ, टाउको दुखाइ, थकान वा कमजोरी, आँखामा धमिलो देखिनु, उच्च रक्तचाप, हातगोडा वा अनुहार सुन्निनु, नाक वा गिजाबाट रगत बग्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् ।

यी मध्ये मनितालाइ तीन वटा लक्षण देखिएका थिए । पहिलो माथिल्लो पेटको दुखाइ, दोस्रो उच्च रक्तचाप र तेस्रो टाउको दुखाइ । एभरेष्ट अस्पतालको इमर्जेन्सी विवरणमा मनिताको टाउको दुखाइबारे पनि उल्लेख छ ।

मनिताको यो अवस्था जानकार हुँदा हुँदै पनि उपचारमा लापरवाही गरेको र बिरामीका परिवारका सदस्यलाई सबै जानकारी नगराएको भन्दै सुवासले मेडिकल काउन्सिलमा उजुरी दिएका छन् । सुवासले स्वास्थ्य मन्त्रालयमा पनि यस विषयमा निवेदन दिएका छन् ।

यही विषयमा बुझ्न भनेर नेपालभ्युजले डा. ज्योत्सना शर्मालाई सम्पर्क गरेको थियो । डा. शर्माले आफू उपत्यका बाहिर रहेको बताउँदै यस विषयमा केही दिनपछि मात्र कुराकानी गर्ने बताइन् ।

काउन्सिलका रजिष्ट्रार तथा प्रवक्ता डाक्टर सतिदेश देवले काउन्सिलले विज्ञहरुको टोली खटाएर यो प्रकरणमा जाँच गरिरहेको बताए । उनले भने, “यसमा विज्ञहरुको टोलीले काम गरिरहेको छ, उपचारमा संलग्न चिकिसत्कको बयान लिईसक्यौं । र, विज्ञहरुको टोलीले जाँच गरिरहेको छ ।”

यता सुवासलाई भने यही कुराले पिरोलिरहन्छ । उनी कहिले मेडिकल काउन्सील धाउँछन त कहिले स्वास्थ्य मन्त्रालय त कहिले विज्ञ चिकित्स समक्ष । “दिनभरी यसैका लागि दौडिन्छु, राती छोरीलाई देख्छु र मनमा यही कुरा मात्र आउँछ अनि निदाउन सक्दिन्,” उनी सुस्केरा हाल्छन्, “भोलि छोरीले–आमालाई के भएको थियो ?’ भनेर सोध्दा मैले के जवाफ दिने ?”

उनको प्रश्न सरल छ, “मनिता शर्माको उपचारमा के गर्नेपथ्र्यो र के गरियो ?,” उनी भन्छन्, “मैले मेरो बिरामीलाई के उपचार गरियो, किन गरियो र के गरिनुपथ्र्यो भनेर जान्न पाउनुपर्छ ।” र, उनी अहिले यही जान्नका लागि सङ्घर्ष गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register