वाचा बिर्सनेहरूका नाममा

हामीलाई यस्तो संरचना र कानुन चाहियो, जहाँ दलहरूले (उम्मेदवारले) मतदातालाई दिएको धोकाधडीको हिसाबकिताब होस् र दोषीलाई राज्यले दण्डित गरोस् । यस्तो होस् की, वाचा र प्रतिबद्धताको अवहेलना एक अपराधको रुपमा परिभाषित होस् । 

Mar 13, 2025 - 08:26
 0
वाचा बिर्सनेहरूका नाममा

पछिल्लो निर्वाचन भएको पनि दुई वर्षभन्दा बढी बितिसक्यो । संविधान आएको त झन दश वर्ष हुन लाग्यो । यी वर्षहरू अपार सम्भावना, अवसर र आशाका वर्ष हुनुपर्ने थियो । तर, भयो निराशा, उकुसमुकुस र अराजकताका वर्ष । यी वर्षहरू लोकतन्त्र निर्माणका ऐतिहासिक वर्षहरू हुनुपर्ने थियो । तर, भए नेतातन्त्र हुर्काउने अँध्यारा र उच्चाटलाग्दा वर्षहरू ।

यी यसकारण उकुसमुकुसपूर्ण रहे कि दलहरूले आफ्नै दस्तावेज, आन्दोलन र निर्वाचनमा गरेका वाचाहरू बिर्सिए र त्यहीबाट लोकतन्त्र बदनाम हुँदै गयो । त्यसपछि भयो के ? आम नागरिकले आफू ठगिएको अनुभूति गरे । लोकतन्त्र सङ्कुचित भयो र आयो नेताराज । जसले हाम्रा स्वर्णीम सपनाहरू भत्कायो । नेतालाई शत्ता, शक्ति र सम्पत्ति मिल्यो, नागरिकलाई हातलाग्यो फगत वाचा, प्रतिबद्धता र आश्वासनको रित्तो थाली ।

चुनावमा भोको मतदाताले नेतालाई भन्यो – हजुर मेरो पेट खाली छ ।

नेताले शाही अन्दाजमा मुस्कुराउँदै भन्यो– ठीक छ हामीलाई भोट हाल, आजन्म खान पाउछौ ।

वृद्ध आमाले आँशु चुहाउँदै नेतासामु बिन्ती गरिन्– हजुर आङ्गमा नयाँ लुगा नपरेको धेरै भयो ।

नेताले भन्यो– लौ दुःखी महिला तिमीलाई नयाँ फरिया पक्का भयो, बदलामा मलाई भोट हाल ।

जब नेता चुनावको धपेडीमा थियो त्यति नै बेला कसैले मसिनो स्वरमा भन्यो – हजुर, म सुकुम्बासी हुँ ।

नेताले मुस्कुराउँदै भन्यो – मलाई भेट देऊ तिमीलाई लालपुर्जा दिन्छु ।

एउटा निर्धो किसानले झुपडीको दैलो खोलेर हात जोड्दै भन्यो – ख्वामित म किसान हुँ, तर खेत छैन ।

नेताले हौसिँदै भन्यो – हाम्रो पार्टीलाई भेट देऊ, तिमीलाई खेत पक्का ।

एउटा सहरियाले भन्यो – नेताज्यू, धुलो र धूवाँले सहर बस्नै नसकिने भयो ।

नेताले छाती तन्काएर भन्यो– मलाई भोट हाल म देशलाई स्विट्जरल्याण्ड बनाइदिन्छु ।’

नेताको चर्को भाषण सुनिसकेपछि एक बेरोजगार युवक बोल्यो – हजुर जागिर छैन, बेरोजगार छु ।

नेताले चार हात उफ्रँदै भन्यो – वर्षमा दश लाख नयाँ रोजगारी खोल्छु, आउ हाम्रो मोर्चामा ।

तर, यी सबै आश्वासनहरू बने झुटका पुलिन्दा । प्रत्येक पटक (आन्दोलननिर्वाचनमा) नेताहरूले नागरिकलाई आश्वासन बाँड्दै गए । कसैले भने घरघरमा ग्यास, पानीजहाज, रेल, रोजगारी । कसैले भने समावेशीकरण, समाजवाद र साम्यवाद । कसैले लोकतन्त्र र पुँजीवाद । कसैले मधेस जिन्दावाद, कसैले भने पहाड जिन्दावाद । त्यही बीचमा एकजना नयाँ जादुगर राजनीतिको भिडमा आयो र भन्यो – “आउ साथीहरू नयाँ सङ्कल्प गरौँ र भनौँ, नो नट अगेन ।”

चुनावी सभा, चोकमा हुने छलफल र रोड सोमा नेताहरूले भने कि हामीलाई जिताऊ, भ्रष्टाचारको अन्त्य हाम्रो पहिलो प्राथमिकता हो । हामी शिक्षा र स्वास्थ्य सुलभ गर्छौँ । मूल्यवृद्धि रोक्छौँ र साधारण मान्छेलाई देशको मालिक बनाउछौँ । हामी वृद्ध भत्ता बढाउँछौँ । हामी गरिब, किसान र मजदुरलाई हेर्छौँ । हामी समावेशीकरणका माध्यमबाट सबैलाई स्वाभिमान र समृद्धि दिन्छौँ ।

नेताका फूलबुट्टे कुरा सुनेपछि लोकलाई लाग्यो – “अब पक्कै सुदिन आउँछन् र देश रामराज्य बन्छ ।” कुरा चुनावको मात्र होइन, कुरा राजनीतिक दस्तावेज र आन्दोलनको पनि हो । जहाँ नेताहरूले अनेक फूलबुट्टे सपनाहरू बाँडे । परिणाम उनीहरूले आन्दोलन जिते, भोट जिते र जिते सत्ता । तर, मतदातालाई जे दिन्छु भनेर वाचा गरे, त्यो कहिल्यै दिएनन् । दिए – फगत फोस्रो आश्वासन ।

धोकाधडीको सिलसिला

नेपालमा बितेका झण्डै ७० वर्षदेखि निर्वाचन भइरहेको छ । स्थानीय निर्वाचनको इतिहास त अझ यो भन्दा लामो छ । तर, प्रत्येक निर्वाचनमा भोट हाल्नेहरू हारिरहेका छन् र भोट पाउनेहरू जितिरहेका छन् । भोट हाल्नेहरू हार्ने र भोट पाउनेहरूले रजगज गर्ने हाम्रो राजनीतिमा दोष कहाँ छ ?

कतिपय सरकारवादी साथीहरू भन्छन् काम हुँदैछ । कहाँ हुँदैछ काम ? राणा शासनको अन्त्य पछिका ७० वर्षमा जनतासँग गरेका वाचाहरू कहाँ पूरा भए ? लौ ठीक छ, मानौँ कि बीचमा ३० वर्ष पञ्चायत आयो र त्यसले विकास र समृद्धिको गति रोक्यो । तर, बाँकी ४० वर्षमा चै के भयो ?

आशावादी साथीहरू भन्छन्, “१० वर्ष जनयुद्धमा गयो । ठीक छ, लौ त्यो पनि मानौँ । ४० वर्षमा १० वर्ष त्यसरी नै बिते । बाँकी ३० वर्षमा के भयो ? के ३० वर्ष छोटो समय हो ?”

बितेका ३० वर्षमा भारत, चीन, थाइल्याण्ड, मलेसिया, सिङ्गापुरका विकास अनुभवहरू हेर्ने हो भने त्यो समय कति मूल्यवान थियो, थाहा हुन्छ । बितेका १० वर्षमा सिक्किम र बिहारकै अनुभवहरूले पनि हामीलाई समयको बोध गराउँछ । तर, हामीले बितेका ३० वर्षलाई अनेक बाहनामा बर्बाद गर्‍यौँ । परिणाम, हामी बालुवाको आँधीमा लरबराइ रह्यौँ र हाम्रा छिमेकीहरू विकासको शिखर चढ्दै गए ।

हेरौँ, त अहिले पनि हामीसँग एउटा राम्रो विश्वविद्यालय छैन । एउटा राम्रो अस्पताल छैन । एउटा राम्रो सडक छैन । एउटा राम्रो रङ्गशाला छैन । एउटा राम्रो पार्क छैन । एउटा राम्रो म्युजियम छैन । एउटा राम्रो उद्योग छैन । भोक उही छ, रोग उही छ, बेरोजगारी उस्तै छ । दुःख उही छ र सुखका सपनाहरू उस्तै छन् । मात्र भ्रष्टाचार बढ्दैछ र बढ्दैछ नेतातन्त्र । विचार गरौँ त के यी तथ्यहरू भित्र हामीले भोगेका धोका र विश्वासघातका कथाहरू छैनन् ?

करारनामाको कुरा

भन्नुपर्दैन कि निर्वाचन आफैँमा एउटा करारनामा हो । मतदाता र उम्मेदवार (पार्टी) बीचको करारनामा । नेताले विकास दिने, मतदाताले भोट । नेताले न्याय दिने, मतदाताले भोट । नेताले अधिकार दिने, मतदाताले आफ्नो सार्वभौम शक्ति ।

यसरी हेर्दा, हरेक चुनाव आफैँमा उम्मेदवार र मतदाता बीचका करारनामा (लेनदेन) हुन् । यस्तो करारनामा जहाँ पार्टी (उम्मेदवार) ले मतदातालाई केही दिने वाचा गर्दछन् र बदलामा मतदाताले उनीहरूलाई (पार्टी) भोट हाल्छन् । तर, के यस्तो करारनामा पूरा गर्न पार्टीहरू कहिल्यै इमानदार देखिए ? देखिएनन् । नेताहरूले सधैँ ठगे । दर्जनौँ पटक चुनाव भए र दर्जनौँ पटक वाचा तोडिए । अर्थात्, मात्र वाचाहरू फेरिँदै गए र मतदाताहरू ठगिँदै गए । त्यसैले त भन्न सकिन्छ कि नेपाली राजनीतिमा वाचाहरूको हेराफेरी र मतदातामाथिको धोकाधडी बितेका ७० वर्षदेखि चलिरहेको छ ।

इतिहासभित्र चियाउँदा देखिन्छ, लगभग २००७ सालदेखि नै हाम्रा दलहरूले भन्ने गरेको यही हो ‘हामीलाई विश्वास गर’ । सबैभन्दा पहिले नेताहरूले भने, राणा शासन यो देशको भाग्य र भविष्यको बाधक हो । राणा शासन ढालौँ, त्यसपछि उज्यालो आउँछ । कुरा ठीकै थियो, त्यसैले राणा शासन ढालियो । तर, उज्यालो आएन, बरु आयो पञ्चायत । अँध्यारो र कालो पञ्चायत ।

त्यसपछि नेताहरूले भने, “पञ्चायतले जनताका सपनाहरूको हत्या गरेको छ । आउ सबै मिलेर पञ्चायत फालौँ र उज्यालो ल्याउँ । हामीले मान्यौँ र पञ्चायत फालियो । प्रजातन्त्र आयो तर, सँगै आयो अस्थिरता, द्वन्द्व र मारकाट । त्यसपछि भनियो, प्रजातन्त्रले हामीलाई पुगेन । आउ गणतन्त्र ल्याऊँ । हामी जनताले मान्यौँ र लड्यौँ कठिन लडाइँ । अनेक मान्छेहरू मारिए । जेल, नेल र प्रवासन भयो । अनवरत सङ्घर्ष । परिणाम, सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो । तर, त्यति गर्दा पनि सुशासन, समृद्धि र न्याय आएन । नेताहरूले वाचा भुले र लोकतन्त्रको बदलामा आयो नेतातन्त्र ।

हामीले नेताहरूका सबै कुरा मान्यौँ, तर नेताहरूले हाम्रो कुरा कहिल्यै मानेनन् । हामीले नेतालाई विश्वास गर्यौं, तर उनीहरूले हाम्रो विश्वासको कहिल्यै सम्मान गरेनन् । हाम्रो विश्वासलाई उनीहरूले कमजोरी ठाने, भ्रष्टाचार र कुशासनको विशाल भारी बोकाइ दिए ।

सोचौँ त एमालेले हिजो के भन्यो र आज के गर्‍यो ? न त सुसंस्कृत र सभ्य राजनीति, न त समाजवादी सरकार । फगत व्यक्तिको स्तुति र अहङ्कार । यही कुरा काङ्ग्रेसमा पनि लागू हुन्छ । काङ्ग्रेसले हिजो के भन्यो र अहिले के गर्दैछ ? माओवादीहर”ले हिजो सशस्त्र आन्दोलनमा गरेका वाचाहर” के थिए र अहिले उनीहरू कहाँ छन् ? १७ हजार मान्छेको मृत्युसँग साटिएको उनीहरूको वाचा कहाँ पुग्यो ?

कुरा काङ्ग्रेस, एमाले र माओवादीको मात्र हैन, अरुको पनि आउँछ । हिजो मधेस मुक्तिको आन्दोलन चर्काउनेहरूले सरकारमा गएर मधेसलाई के गरे ? वैकल्पिक राजनीतिको अपिल गर्दै उदाएकाहरूले चुनावमा के भने र व्यवहारमा के गरे ? अस्ति हैन, ‘नो नट अगेन’ भनेको ? कसरी त्यो विद्रोहको शङ्खनाद ‘अगेन एण्ड अगेन’ मा पतन भयो र सत्ताको चास्नीमा डुब्यो ?

चाहे आन्दोलनमा होस्, चाहे निर्वाचनमा नागरिकले कहिल्यै वाचा तोडेनन् । नेताहरूले जे भने, नागरिकले त्यही गरे । तर, नेताहरूले सुशासन भने र दिए भ्रष्टाचार । लोकतन्त्र भने र दिए नेतातन्त्र । समावेशीकरण भनेर ल्याए आफ्नै विचौलिया । नेपाली राजनीतिमा नेताहरूले पटकपटक वाचा तोडे । र, नागरिक ठगिँदै गए ।

यसरी हामीलाई लामो समयदेखि राजाले ठगे, दलले ठगे र नेताले ठगे । सबैभन्दा धेरै लोकतन्त्र स्वयं ठगियो र नेताराज झाँगिदै गयो । यो क्षमाहीन अन्याय हो । यो मतदाता र नागरिकमाथि राजनीतिक दल र उमेदवारले गरेको राजनीतिक, नैतिक र कानुनी अपराध हो । अर्थात् ठगी हो ।

प्रश्न आउँछ, के यो राजनीतिक अपराधका लागि दल र नेताहरूले सजाय भोग्नु पर्दैन ? के यो विश्वासघातका लागि नेताहरू न्यायको कठघरामा उभिन पर्दैन ? आज जसका कारण लोकतन्त्र बदनाम हुँदैछ र शहीदको अपमान गरिँदैछ, के यो सबै बदमासीका लागि नेताहरूले पश्चाताप गर्न पर्दैन ?

स्पष्ट छ, यो ठगी राजनीतिक र नैतिक दण्डको भागी त छ नै, यस्तो प्रवृत्तिको कानुनी उपचारसमेत आवश्यक छ । अन्यथा हाम्रो मुलुकमा झाँगिदै गएको राजनीतिक विश्वासघातले ठूलो क्षति गर्ने छ र ढिलो भएपछि पछुताउनुको कुनै अर्थ रहने छैन ।

वाचाहरूको अनुगमन

प्रश्न आउँछ, त्यसोभए अब के गर्ने होला ? यसमा गर्नुपर्ने तीनवटा कुरा छन् । पहिलो राजनीतिक कुरा छ । दोस्रो नैतिक कुरा छ । तेस्रो कानुनी कुरा छ । 

राजनीतिक कुरा के भने अब वाचामा प्रतिबद्ध नहुने नेताहरूलाई राजनीतिबाटै बिदा गर्नुपर्छ । यसका लागि राजनीतिक रूपमा नेतातन्त्रको विरुद्ध उभिनुपर्छ र लोकतन्त्रलाई सुदृढ गर्नुपर्छ । अर्थात हिजो नारायणहिटीको राजा फालियो, अब दलहरू भित्रका राजा फाल्नुपर्छ । र, गणतन्त्रलाई साँच्चैको गणतन्त्र बनाउनुपर्छ ।

दोस्रो, वाचा र प्रतिबद्धतामा कमजोर नेताहरूलाई नैतिक प्रश्नले घेर्नुपर्छ । उनीहरूलाई सबैखाले चुनावमा हराउनु पर्छ । र, मतदातासँगका वाचा तोडेकोमा ग्लानि बोध गराउनुपर्छ । जनस्तरबाट उनीहरूलाई बहिष्कार गर्नुपर्छ र जनताले नै राजनीतिका लागि अयोग्य घोषणा गर्नुपर्छ ।

तेस्रो, वाचा र प्रतिबद्धता तोड्ने नेतालाई कानुनी सजायको भागी बनाउनुपर्छ । यसका लागि हामीलाई यस्तो संरचना र निर्वाचन कानुन चाहिन्छ, जसले वाचाहरूको अनुगमन गरोस् । यदि दल र उम्मेदवारले मतदातालाई ठगेको देखिएमा उजुरी गर्न सकियोस् । र, त्यो अपराधका लागि उनीहरूलाई राजनीतिक र नैतिक मात्र नभइ कानुनी सजाय दिन सकियोस् ।

अर्थात् हामीलाई यस्तो संरचना र कानुन चाहियो, जहाँ दलहरूले (उम्मेदवारले) मतदातालाई दिएको धोकाधडीको हिसाबकिताब होस् र दोषीलाई राज्यले दण्डित गरोस् । यस्तो होस् की, वाचा र प्रतिबद्धताको अवहेलना एक अपराधको रुपमा परिभाषित होस् । 

नेताको सबैभन्दा ठूलो गुण हो, आफ्नो वाचाप्रतिको इमान्दारिता । वाचाप्रतिको प्रतिबद्धता । यदि नेताहरू आफ्नै वाचामा इमानदार भएनन् भने, यो अपराध हुन्छ । यो बेइमानी हुन्छ । र, यो अपराधका लागि नेता र दलहरूलाई दण्डित गर्नैपर्छ ।

dahal.keshab@gmail.com

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register