नदी सफाइका क्रममा मूर्ति भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी सरसफाइका क्रममा विष्णुमती नदी खण्डमा मूर्ति भेटेको छ । सो नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णयसमेत गरिएको महानगरले जनाएको छ । महानगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार स्थानीयले दाबी गरेको स्थानको मूर्ति हो कि होइन भन्नेबारे पुरातत्व विभागबाट अध्ययन गरेर […]

Mar 16, 2025 - 14:20
 0
नदी सफाइका क्रममा मूर्ति भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी सरसफाइका क्रममा विष्णुमती नदी खण्डमा मूर्ति भेटेको छ । सो नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णयसमेत गरिएको महानगरले जनाएको छ ।

महानगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार स्थानीयले दाबी गरेको स्थानको मूर्ति हो कि होइन भन्नेबारे पुरातत्व विभागबाट अध्ययन गरेर पेस गर्ने तयारी रहेको छ । स्थानीय र सम्पदा अभियन्ताहरूले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) हो भनेर दाबी गरेका छन् । यो दाबीपछि भेटिएको मूर्ति पूर्ववत् स्थानमा फर्काउन सकियोस् भनेर अध्ययन थालिएको महानगरले जनाएको छ ।

महानगरका सम्पदा सल्लाहकार यादवलाल कायस्थले पनि उक्त मूर्ति कालीमाटी पुलबाट ज्ञानतीर्थतर्फ विष्णुमती नदी किनारामा भएको भीममुक्तेश्वर मन्दिरको भएको दाबी गरे । विसं २०७८ चैत २४ गते मूर्ति हराएपछि खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिएको उनले बताए । कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायब निरीक्षक लेखबहादुर मगरले पनि कायस्थको भनाइलाई पुष्टि गरे ।

पूर्ववत् स्थानमा मूर्ति राख्नका लागि यो स्थान पहिचान गर्नुपर्ने बताइएको छ । सम्बन्ध भएका निकायसँगको छलफलपछि पुरातत्व विभागले अध्ययन गर्ने, अध्ययनले देखाएको अवस्थापछि थप प्रक्रिया अगाडि बढाउने विषयमा साझा धारणा रहने पनि महानगरले जनाएको छ ।

महानगरपालिकाले सञ्चालन गरेको नदी सरसफाइ स्वर्णिम योजनाअन्तर्गत विष्णुमती नदीमा डोजर लगाएर सफाइ गर्ने क्रममा गत फागुन २४ गते शनिबार बिहान उक्त मूर्ती भेट्टाइएको थियो । नदी भित्रबाट निकालिएको मूर्ति धोइपखाली गरेर अहिले महानगर प्रहरी बलको कार्यालयमा राखिएको छ । कार्यक्रमका सम्पर्क व्यक्ति सानुमैया महर्जनका अनुसार कालीमाटी पुल र ज्ञानतीर्थ बीचको नदी खण्डमा फोहरसँग पुरिएको अवस्थामा मूर्ति निकालिएको हो ।

लामो समय पानीमा रहेकाले मूर्तिको आकार पूर्ण भए पनि सूक्ष्म कला र अङ्गहरूको आकृति भने बिग्रिएको अवस्थामा रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register