तीनकुने घटनामा घाइते भएकाहरू भन्छन् – प्रहरीले ज्यादती नै गर्‍यो

निर्दोष आम नागरिक, जसलाई यी राजनीतिक घटनाक्रमसँग कुनै लेनदेन थिएन, उनीहरू पनि घाइते भएका छन् । कोही राजावादी आन्दोलनमा सक्रिय सहभागी थिए भने कोही आन्दोलन हेर्न जाँदा घाइते भए ।

Apr 2, 2025 - 11:13
 0
तीनकुने घटनामा घाइते भएकाहरू भन्छन् – प्रहरीले ज्यादती नै गर्‍यो

काठमाडौं राजावादीको प्रदर्शनमा घाइते भएका ६ जना केएमसी अस्पतालको प्लाष्टिक सर्जरी विभागको बेडमा लडिरहेका छन् । उनीहरू प्रदर्शनमा भएका हिंसात्मक घटनाका लागि सरकारलाई दोष दिइरहेका छन् । 

केएमसी अस्पतालको प्लाष्टिक सर्जरी विभागभित्र छिर्ने बित्तिकै भेटिए, २२ वर्षिय विशाल निरौला । छेउमा एक महिलाले उनलाई रेखदेख गरिरहेकी थिइन् । चैत १५ गते भएको राजावादी प्रदर्शनमा विशाल घाइते भएका रहेछन् । सोलुखुम्बु घर भएका विशाल पढ्नको लागि काठमाडौंको चावहिलमा बस्दै आएका रहेछन् । उनले बीबीएस दोस्रो वर्ष पढ्दै गरेको सुनाए । उनी त्यो दिन भक्तपुरबाट फर्किँदै थिए । तर, हुलमुलमा परेर घाइते हुनुपर्‍यो ।

घाइते विशाल निरौला

‘म आन्दोलनमा गएको हैन, भक्तपुरबाट बसमा चढेर चावहिल फर्किँदै थिएँ, कोटेश्वरबाट गाडी चल्न दिएको रहेनछ । म गाडीबाट ओर्लिएर हिँड्दै थिए, त्यहीँ समयमा गोली चलिरहेको थाहा पाएर भाग्दै गर्दा हातको औँलामा रबरको गोली लाग्यो,’ उनले सुनाए ।

प्रहरीले हानेको गोली हातको औँला र देब्रे पट्टीको कोखामा लागेको उनले सुनाए ।

रेखदेख गर्दै बसेकी आमा कमला सरकारप्रति आक्रोशित छन् । ‘प्रहरीलाई गोली हान्न कसले अनुमति दियो ?’ उनको प्रश्न थियो । 

विशालभन्दा ठीक अगाडिको बेडमा पनि अर्का घाइते टोलाएर बसिरहेका थिए । छेउमा श्रीमती उनका औषधि सम्हाल्दै थिइन् । धुम्बाराहीका कुमार चन्द राणा भने खाँटी राजावादी रहेछन् । ४७ वर्षका उनी ६ वर्षसम्म मलेसिया बसेर नेपाल फर्किएका रहेछन् । चैत १५ गते उनी राजावादीको आन्दोलनमा सहभागी भएका रहेछन् ।

घाइते कुमार चन्द राणा

‘यो देशमा राजा फिर्ता ल्याउन जे पनि गर्न तयार छु । मलाई लाग्छ राजा आएपछि मात्र देशमा समृद्धि आउँछ । युवाहरू रोजगारी नपाएर खाडी जानुपरेको छ । देशमा बस्ने अवस्था नै छैन,’ उनी भन्छन् । प्रदर्शनका क्रममा रबरको गोली उनलाई देब्रे खुट्टाको घुँडा, तिघ्रा र ढाडमा लाग्यो ।

उनकी श्रीमती मनिता राणाले श्रीमानको घाउसमेत हेर्न सकेकी छैनन् । ३ वटा रबर गोलीले कुमारको शरीरको तीन ठाउँमा ठूला-ठूला चोट पुर्‍याएको छ ।

घाइतेमध्येका एक हुन्, ५६ वर्षीय विकास गौतम । काभ्रे घर भएका उनी अहिले बानेश्वरको जागृतीनगरमा आफ्ना एक छोरी र श्रीमतीसँगै बस्छन् । उनकी एक छोरी केही महिनाअघि मात्रै अस्ट्रेलिया गएकी रहेछिन् । उनी गाडी चलाउने काम गर्दा रहेछन् । चैत १५ गते उनी आन्दोलनको क्रममा घरमा आगो लागेको थाहा पाएपछि हेर्न गएको बताउँछन् । 

घाइते विकास गौतम

उनी भन्छन्,’घरमा आगो लागेको थाहा पाएपछि हेर्न गएका थियौँ । तीनकुनेको पेट्रोल पम्प नजिकै विस्तारै हिँड्दै थियौँ । झन्डै ३० जना जति प्रहरी थिए उनीहरूले केही गरेनन् । रूखमुनि लुकेर बसिरहेका ५ जना प्रहरीले ताकी ताकी रबरको गोली हाने । मेरो खुट्टामा एउटा रबर गोली पिँडुला छेँडेर गयो र एउटा गोली त्यही अड्कियो ।’ 

प्रदर्शनमा प्रहरीले ज्यादती गरेको भन्दै उनले प्रश्न गरे, ‘के यो देशमा मान्छे सडकमा हिँड्न पनि नपाउने हो ?’

उनलाई ५४ वर्षीया श्रीमतीले हेरचाह गरिरहेकी छिन् । उनी श्रीमानको राम्रो उपचार होस् भन्ने चाहन्छिन् । दिनभरि ड्राइभिङ गरेर खाने उनी ५ दिन देखि अस्पतालमै बस्नुपरेको छ ।

डाक्टरले निको भयो घर जानु भनेमा १ सेकेन्ड पनि अस्पतालमा नबस्ने उनले सुनाए । उनलाई अर्को पिर छ, अस्पतालको बिलको । बेड चार्ज सुनिल शर्माले फ्रि गरिदिए पनि औषधिको बिल कसले तिर्ने हो भन्ने उनलाई पिर छ । सरकारले घाइतेको सबै उपचार नि:शुल्क गर्ने भनेपनि उनलाई विश्वास छैन ।

अर्का घाइते ३५ वर्षका रुद्र कार्की काउन्टरमा टिकट काट्ने काम गर्छन् । अस्पतालमा बसेको ५ दिन भइसकेको छ । उनलाई आफ्नोभन्दा पनि घर र जागिरको चिन्ता छ । सिन्धुली घर भएका उनी बानेश्वर आफ्नी बहिनी ज्वाइँसँग बस्ने रहेछन् । चैत १५ मा भएको आन्दोलन हेर्न भनेर उनी र एक जना साथीसँगै सिनामङ्गलतिर पुगेका रहेछन् । तर, प्रहरीले लखेटेपछि भाग्ने क्रममा राजावादीले बालेको अलकत्रामा परेर उनको हात जलेको छ । उनीसँगै साथी पनि बलिरहेको अलकत्रामा परे । उनका साथी अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् ।

घाइते रुद्र कार्की

अहिले उनलाई भिनाजुले रेखदेख गरिरहेका छन् । कमाउन गएका श्रीमान आन्दोलनमा घाइते भएपछि श्रीमती रेनुकालाई दिनरात निद्रा नलागेको उनले बताए । ‘यो समयमा पनि सँगै हुन नपाउँदा उनलाई चिन्ताले पिरोलेको छ,’ रुद्र सुनाउँछन् । उनी कसैको पक्षमा छैनन्, न राजावादीको न त सरकारको पक्षमा । जो आए पनि उनी चाहन्छन् त केवल शान्ति सुरक्षा र रोजगारी । सरकार जोसुकैको होस् उनलाई कुनै चासो छैन तर, उनी देशमा शान्ति सुरक्षा भएको देख्न चाहन्छन् ।

२ मिनेटको गल्तीले अर्का घाइते २२ वर्षीय आशिष बोहराले बीबीए पाँचौँ सेमेस्टरको परीक्षासमेत दिन पाएनन् । बैतडी घर भएका उनी बानेश्वरमा बुवा, आमा, र दिदीसँगै बस्ने गरेका छन् । 

उनी भन्छन्, ‘कामबाट साथीलाई घर पुर्‍याएर फर्किँदै थिएँ, जडीबुटी र लोकन्थली जोड्ने पुलमा बाइक रोकेर के भएको रहेछ भनेर हेर्दै थिएँ । प्रहरी र मबीचको दूरी धेरै नै थियो । प्रहरीले जडिबुटी साइडबाट गोली हानेको रहेछ मलाई एक्कासी फिल भयो । गोली लागेको ५ मिनेटसम्म मलाई केही थाहा भएन एक जनाले तिम्रो पछाडि प्वाल परेको छ भन्दा बल्ल गोली लागेको भनेर थाहा भयो ।”

उनलाई कम्मरभन्दा मुनि गोली लागेको छ । गोली लागेपछि पनि आफैँ एम्बुलेन्समा चढेर केएमसी अस्पतालमा पुगेको उनले बताए । शुक्रबार घाइते भएका उनले आइतबार दिन नपाएको परीक्षाका लागि अब ६ महिना कुर्नुपर्ने बताए । अहिले भने उनी थलिएका छन् । 

गोली लागेको भाग

“ट्वाइलेट जानको लागि निकै गाह्रो हुन्छ, ४ जनाले उठाउनुपर्छ । परिवारलाई निकै पीडा भएको छ । सुत्न पनि देब्रे साइड कि घोप्टो पर्नुपर्छ । अहिले बुवाले हेरचाह गरिरहनु भएको छ । आन्दोलनकारीले मान्छे नमार्नु पर्ने थियो र प्रहरीले गोली चलाएर गल्ती गर्‍यो,’ उनी थप्छन् ।

उनको सपना देशमै केही गर्छु भन्ने थियो र अझै पनि छ तर, बढेको अशान्ति र अस्थिरताले उनलाई क्रमशः निराशातर्फ धकेल्दै छ । उनी भन्छन्, ‘देशमै केही गर्छु भन्ने सपना थियो तर यस्तै भयो भने म पनि विदेश जान्छु । देशमा बस्ने वातावरण पनि रहेनछ दुख लाग्छ ।’

दुर्गा प्रसाईंको कारण जनताले दुख पाएको उनले बताए । “प्रसाईंले आफ्नो फाइदाको लागि गर्दै होलान् जे काम पनि तर हामीलाई पो दु:ख भयो,” उनी बताउँछन् । चैत १५ गतेको घटनामा उनी सरकार र राजावादी दुइटैलाई जिम्मेवार ठान्दछन् ।

यी सबै घाइतेको आआफ्नै पीडा र वेदना छ । कोही निर्दोष आम नागरिक, जसलाई यी राजनीतिक घटनाक्रमसँग कुनै लेनदेन थिएन, उनीहरू पनि घाइते भएका छन् । कोही राजावादी आन्दोलनमा सक्रिय सहभागी थिए भने कोही आन्दोलन हेर्न जाँदा घाइते भए । यी सबै घाइतेको चाहना देशमा शान्ति, सुरक्षा र स्थिरता हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार हाल १३ जना घाइतेको केएमसी अस्पताल, सिभिल अस्पताल, बीएन्डबी अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । 

उनकाअनुसार चैत १५ गते राजावादी र प्रहरीबीच भएको झडपमा ५४ जना प्रहरी र ५४ जना आन्दोलनकारी गरी कुल १०८ जना घाइते भएका थिए । तीमध्ये २० जना प्रदर्शनकारीलाई गोली र गोलीको छर्रा लागेको छ ।

हाल ५४ जना प्रहरी र ४१ प्रदर्शनकारी उपचारपछि डिस्चार्ज भइसकेका छन् । घाइते मध्ये गोली लागेकी रेविका क्षेत्रीको अवस्था जटिल रहेको प्रवक्ता बोहराले जानकारी दिए । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register