ओली, देउवा, दाहाल महोदय ! यस्तो चालाले कहिलेसम्म धानिएला देश ?

आज पनि देशको मुख्य समस्या ‘राजावादी’ हैनन् । यी त हाउगुजी हुन्, दुईचार दिन हल्ला गर्छन्, आफैँ सेलाउँछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दलतन्त्र र नेता राजको असक्षमताबाट कसरी र कहिले मुक्ति पाउने ?

Apr 10, 2025 - 09:08
 0
ओली, देउवा, दाहाल महोदय ! यस्तो चालाले कहिलेसम्म धानिएला देश ?

चौथो पटकका तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली !
पाँच पटकका भूतपूर्व तथा छैटौँ पटकका भावी प्रधानमन्त्री शेरबहादुर देउवा !
तीन पटकका भूतपूर्व, वर्तमान प्रमुख प्रतिपक्षी नेता तथा चौथोपटक प्रधानमन्त्रीका आकाङ्क्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ !

तपाईंहरूको रुचि र प्रचलन अनुरूपको अभिवादन– लाल सलाम, जय नेपाल, क्रान्तिकारी सलाम । मेरो रुचि र छनोटको अभिवादन पनि स्वीकार गर्नु होला– जय नागरिक, जय नागरिकतन्त्र

मलाई थाहा छ– तपाईंहरूलाई एउटै डालोमा यसरी राखेर सम्बोधन गरेको फिटिक्कै मन पर्दैन । तपाईंहरूलाई एकअर्को भन्दा फरक, असल र ‘स्तरीय छु’, एक अर्कोभन्दा ‘राम्रो नेता हुँ’ भन्ने लाग्छ । हाम्रो पार्टी, विचार, सवाल, आन्दोलन र इतिहास फरक छ, ‘एउटै डालोमा किन राख्न पर्‍यो’ भन्ने लाग्छ । बारम्बारका चुनावी गठबन्धन, सहकार्य, सत्ता साझेदारी, भागबन्डा, आलोपालो ‘राजनीतिक बाध्यता’ हुन्, अन्यथा ‘हाम्रो व्यक्तित्व र योगदान फरक हो’ भन्ने लाग्छ ।

एमालेलाई लाग्छ– काङ्ग्रेसले भन्नलाई मात्र ‘प्रजातान्त्रिक समाजवाद’ भन्ने हो । व्यवहारमा नवउदारवादी, दलाल पुँजीवादी दल हो । माओवादी उग्रवामपन्थी अवसरवादी पार्टी हो, जनयुद्ध अनावश्यक हिंसा थियो ।

काङ्ग्रेसलाई लाग्छ– एमाले र माओवादी दुवै पृष्ठभूमिले साम्यवादी, वर्तमानमा विश्व परिवेश र ऐतिहासिक बाध्यताले बहुदलीय संसदीय लोकतन्त्र मान्न थालेका अलोकतान्त्रिक दल हुन् । बीसौँ शताब्दीका कम्युनिष्टजस्तो यिनले अब लोकतन्त्रलाई हानी गर्न सक्दैनन् । तसर्थ, यिनीहरूसँग मिलिजुली ‘भागशान्ति जय नेपाल’ गर्न कुनै समस्या छैन ।

माओवादीलाई लाग्छ– एमालेको ‘जनताको बहुदलीय जनवाद’ कम्युनिष्ट विचारबाट विचलित र स्खलित भएको प्रमाण हो । एमाले संशोधनवादी कम्युनिष्ट हो, आफू खाँटी क्रान्तिकारी कम्युनिष्ट र काङ्ग्रेस एमालेले भनेजस्तै नवउदारवादी तथा दलाल पुँजीवादी दल हो ।

तपाईंहरूको दाबी हुन्छ, मनभित्र नभए पनि कम्तीमा ओठमा, शब्दमा– दल मात्रै हैन, मूल नेताको व्यक्तित्व पनि फरक छ ।

ओलीलाई लाग्छ– देउवा र दाहालभन्दा गतिलो छु । वाचाल छु । धाराप्रवाह बोल्न सक्छु । मान्छेलाई बोलीले नै लठ्याउन, जनमतको एउटा ठूलो हिस्सालाई प्रभावित गर्न सक्छु । गुटबन्दीमा खेल्न र जित्न सक्छु । प्रचण्डले कब्जा गर्न लाग्दा पार्टी जोगाएँ । माधव नेपाल–झलनाथ खनाललाई तह लगाएँ । पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीको राजनीतिक तथा सङ्गठनात्मक विरासत कब्जा गर्न सकेँ । यो सानो चतुर्‍याइ हो ?

देउवालाई लाग्छ– ओली र दाहालभन्दा शालिन छु, कम्तीमा कम त बोल्छु । कम्तीमा धेर बोलेर मानिसलाई अनावश्यक रूपमा झर्को लगाएको छैन । कत्रो धैर्यता र सङ्घर्षले काङ्ग्रेसजस्तो पार्टीको सभापति भएँ । ओली र प्रचण्डजस्तो धेरै अधैर्य र अर्कोको चर्को आलोचना गर्ने बानी छैन । पाँचपटक प्रधानमन्त्री भइसकेँ । छैटौँ पटक हुँदैछु । एकबारको जुनीमा यो भन्दा ठूलो पराक्रम कसले के गरेको छ ?

दाहाललाई लाग्छ– ओली र देउवाभन्दा बढी गतिशील र क्रान्तिकारी हुँ । त्यत्रो ठूलो, भीषण र जोखिमपूर्ण जनयुद्धको नेतृत्व गरेँ । नेपालका कम्युनिष्टहरू शसस्त्र सङ्घर्षको गफ मात्रै गर्थे, मैले व्यवहारमै गरेर देखाएँ । गिरिजाप्रसाद कोइरालाजस्तो उच्च कदको नेतासँग हाराहारीको हैसियतमा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेँ । देशलाई संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएँ । मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, लेखराज भट्ट, विप्लव, आहुति, टोपबहादुर, गोपाल किराती आदि अनेकले छोडेर हिँडे, तैपनि पार्टी जोगाई रहेको छु, मलाई ओली र देउवासँग तुलना गर्दिने ? सबै उस्तै हुन् भन्दिने ?

तपाईंहरूका यस्ता दाबी आआफ्नो ठाउँमा ठीकै होलान् तर, त्यसले नागरिक बुझाइमा भने कुनै भिन्नता ल्याउँदैन । जनताको आँखामा तपाईंहरू उस्तैउस्तै मात्र हैन, एउटैजस्तो हो । विचार, सोच, चरित्र र व्यवहार एउटै र उस्तै भएका पार्टी, उस्तै भएका नेता ।

तपाईंहरूको पार्टी, राजनीति र राज्य चलाउने कार्यशैली, तरिका वा अन्तर्वस्तुमा नागरिकले कुनै भिन्नता महसूस गरेका छैनन् । तपाईंहरूको शासनकालमा देशका समष्टिगत सूचकमा कुनै तात्त्विक भिन्नता आएको छैन । देशको राजनीति, राजनीतिक संस्कृति, भौतिक पूर्वाधार तथा आर्थिक विकासक्रम, सुशासन सूचक, सङ्घीयता, समावेशिता र सामाजिक न्यायको कार्यान्वयन, समाजिक सुधार स्तर, समग्र लोकतन्त्रको गुणस्तरमा चाहेर पनि कुनै भिन्नता महसूस गर्न सकिँदैन ।

यसो भनिरहँदा तपाईंहरूका हिजोका वैचारिक पृष्ठभूमि र ऐतिहासिक भिन्नतालाई मैले बेवास्ता गरिरहेको छैन । आजको कुरा गर्दैछु । कम्तिमा नेपालको संविधान–२०७२ जारी हुने आधार बनेको १६ बुँदे सम्झौता र त्यसयताको राजनीतिक सोच, सवाल, चरित्र र व्यवहारमा कुनै तात्त्विक भिन्नता देखिन्न । त्यस अघिको कुरा अर्कै थियो ।

किनकि, तपाईंहरूको पार्टी, राजनीति र राज्य चलाउने कार्यशैली, तरिका वा अन्तर्वस्तुमा नागरिकले कुनै भिन्नता महसूस गरेका छैनन् । तपाईंहरूको शासनकालमा देशका समष्टिगत सूचकमा कुनै तात्त्विक भिन्नता आएको छैन । देशको राजनीति, राजनीतिक संस्कृति, भौतिक पूर्वाधार तथा आर्थिक विकासक्रम, सुशासन सूचक, सङ्घीयता, समावेशिता र सामाजिक न्यायको कार्यान्वयन, समाजिक सुधार स्तर, समग्र लोकतन्त्रको गुणस्तरमा चाहेर पनि कुनै भिन्नता महसूस गर्न सकिँदैन ।

पार्टीको कुरा गर्दा– अन्तरपार्टी लोकतन्त्रको हालत हविगत उस्तै छ । नेतृत्वको केन्द्रीकरण र सर्वेसर्वा अभ्यास उस्तै छ । आफ्नै पार्टीका समर्थकलाई समेत झर्को लाग्ने लामो नेतृत्वकाल, ‘जेरेन्टोक्रेसी’ उस्तै छ । महाधिवेशनमा गुटबन्दी गर्ने र चुनावमा टिकट बाँड्ने तरिका उस्तै छ । पार्टी सञ्चालन र चुनाव खर्चका लागि राज्य स्रोत र अर्थतन्त्रको दोहन गर्ने प्रवृत्ति उस्तै छ । आर्थिक पारदर्शिता र जीवनस्तर उस्तै छ ।

राजनीतिको कुरा गर्दा तपाईंहरूको गठबन्धन बनाउने भत्काउने, सरकार बनाउने, टिकाउने र ढाल्न खोज्ने तरिका उस्तै छ । लोकतन्त्रका मान्यता, अन्तर्राष्ट्रिय प्रचलन र निर्वाचनको जनादेश विपरीत हुने कार्य गर्ने, गराउन प्रवृत्ति उस्तै छ । चुनावमा भने जति सिट र सरकारमा प्रधानमन्त्री-मन्त्री पद पाए जो जससँग जुनकुनै बेला मिल्ने, नपाए तुरुन्तै फुट्ने र एकअर्कालाई मुखमा आएजति गाली गर्ने प्रचलन उस्तै छ ।

सरकार र राज्य सञ्चालन गर्ने तरिकामा पनि प्रष्ट भिन्नता अनुभूत हुँदैन । न त व्यवहारमा परिणाम भिन्न देखिन्छ । तपाईंहरू जो प्रधानमन्त्री भएर सरकार चलाए पनि अति दलीयकरण, कुशासन र भ्रष्टाचार उस्तै हुन्छ । देशको बजेट संरचना उस्तै हुन्छ । अकासिँदो चालु खर्च, बढ्दो वित्तीय खर्चको भार र न्यून पुँजीगत खर्चको स्थिति उस्तै छ । बढ्दो सार्वजनिक ऋण भार उस्तै हुन्छ । कर्मचारीतन्त्रको कार्यसम्पादन क्षमता र कार्यशैली उस्तै हुन्छ ।

विकास र अर्थतन्त्रको वृद्धि दर उस्तै हुन्छ । अर्थतन्त्रको पुनर्संरचनाका लागि कसैको प्रधानमन्त्रीकालमा कुनै गतिलो नीतिगत ‘डिपार्चर’ छैन । ट्रान्सपरेन्सीको वार्षिक प्रतिवेदनमा देशले पाउने अङ्क र स्थान उस्तै छ ।

पार्टीमा अति केन्द्रीकरण, राजनीतिमा अवसरवाद र राज्य सञ्चालनमा तदर्थवाद तपाईंहरूको साझा चरित्र हो । अनि फरक के भयो त ? कहाँनेर छ त ? जनताको सरोकारको विषयमा कार्यशैली र परिणाम उस्तै भएपछि भिन्नताको दाबीले कति अर्थ राख्छ ?

अझ एमाले र माओवादी, ओली र प्रचण्ड त एउटै भारुण्डे चराको दुईवटा टाउको जस्तै मात्र लाग्छन् । नेकपा– २००६ सालमा जन्मिएको भारुण्डे चरा थियो । एमाले र माओवादी त्यसका मुख्य दुई ठूला टाउका । मिथकको भारुण्डेका दुईवटा टाउका थिए । नेकपा नामको भारुण्डेका करिब २ दर्जन टाउका होलान् । त्यसमध्ये तपाईंहरू चाहिँ दुई मुख्य टाउका । देउवा महोदय भने भारुण्डे नै त हैन, त्यसको मीतजस्तो

कम्युनिष्ट जनमत र कार्यकर्ताको सङ्ख्या बढाएर मात्रै देशले कुनै उपलब्धि हासिल गर्थ्यो, तपाईंहरूको भाषामा समाजवादी क्रान्ति हुन्थ्यो, समाजवाद आउँथ्यो भने आइसक्नु पर्थ्यो । कुरा त्यसो पनि हैन रैछ । जनताले शाब्दिक दाबी हैन, अब चरित्र, व्यवहार र परिणाम हेर्छन् । त्यस अर्थमा नागरिकलाई तपाईंहरू एउटै ड्याङको मूला, एउटै बास्केटका आँप, एउटै बोराका आलु जस्तो लाग्दछ । यहाँ यस्तै थुप्रै उखान जोडेर तपाईंहरूको समानता र साझापनको चित्रण गर्न सकिन्छ । यस्ता थुप्रै उखान छन् नेपाली समाजमा । जस्तो कि एउटै मूलको पानी, एउटै जुवामा नारिएका गोरू, एउटै खालका जुवाडे, एउटै हाटका हाटेरु, एउटै काठमा खटिया आदि । यिमध्ये कुनै एउटा उखान नै काफी होला ।

यो देशको दुर्भाग्य नै यही भयो– तपाईंहरूसँग रचनात्मक प्रतिस्पर्धा गर्ने सोच, आँट, दूरदृष्टि, हेउ र लुर भएको नेता वा दल अर्को कुनै भएन अहिलेसम्म । जसले तपाईंहरूलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक र नैतिक चुनौती पनि देओस्, प्रतिस्थापन गर्ने प्रयत्न पनि गरोस् र सँगसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि दृढतापूर्वक उभियोस् ।

यसो भन्दा तपाईंहरूलाई मनमनै झोक चल्ला । हामी तीन मात्रै किन ? माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले चाहिँ के फरक र राम्रो गरे ? उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई बीचमा के त्यस्तो गुणस्तरको भिन्नता छ ? अझ अहिले थपिएका कथित नयाँ– रवि लामिछाने, रेशम चौधरी, सिके राउत, यी चाहिँ तात्त्विक रूपमा भिन्न र गुणात्मक चरित्रका छन् त ? निसन्देह छैनन् । धेरै मानक र अर्थमा यी पनि उस्तैउस्तै लाग्छन् । तर, यिनको चर्चा अहिले त्यति जरुरी छैन, जति तपाईंहरूको छ । यिनले चलाइरहेका पार्टी समग्रमा भिन्नै, मौलिक हैनन् । यी तपाईंहरूकै ‘सेटलाइट पार्टी’ हुन् । धेरथोर तपाईंहरूकै चरित्र र प्रवृत्तिको विस्तार भएको हो यिनमा ।

तपाईंहरू ओली, देउवा र प्रचण्ड । यी हुन नसकेका ओली, देउवा र प्रचण्ड । यिनका आदर्श नै तपाईंहरू हो । यी तपाईंहरू जत्तिकै शक्तिशाली हुन चाहन्छन् । नसकेपछि तपाईंहरूसँग रिसाएजस्तो गर्छन । तपाईंहरूकै मुख ताकेर बसेका हुन्छन् यी । तपाईंहरूले चुनावी गठबन्धन र तालमेलमा सामेल गरेर दुईचार सिट दिनु भो, विचरा ! खुशीले फुरुङ्ग पर्छन् । सरकारमा सामेल गरेर मन्त्री दिनु भो भने जयगान गर्न थाल्छन् । चुनावी गठबन्धनमा लिनु भएन, सरकारमा मन्त्री दिनु भएन भने दुखी र खिन्न हुन्छन्, दुईचार गाली र आलोचना गरेर चित्त बुझाउँछन् । यी अरु के गर्न सक्दछन् ?

खासमा यिनको तपाईंहरूसँग विरोध, आलोचना वा सङ्घर्ष गर्ने हेउ वा लुर नै छैन । प्रत्यक्ष, परोक्ष तपाईंहरूकै कृपा पात्र हुन् । अहिले यिनको चर्चा किन जरुरी छैन भने न देश बिग्रनुको मूल जिम्मेवार यी हुन् न सपार्न चाहेर केही गर्नसक्ने हैसियतमा छन् ।

तपाईंहरू खालमा दाउ जमाएर गजधम्म बसेको मूल जुवाडे हो । यी च्याँखे मात्र हुन् । खेलको गुणस्तर च्याँखेले हैन, जुवाडेले निर्धारण गर्छन् ।

यो देशको दुर्भाग्य नै यही भयो– तपाईंहरूसँग रचनात्मक प्रतिस्पर्धा गर्ने सोच, आँट, दूरदृष्टि, हेउ र लुर भएको नेता वा दल अर्को कुनै भएन अहिलेसम्म । जसले तपाईंहरूलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक र नैतिक चुनौती पनि देओस्, प्रतिस्थापन गर्ने प्रयत्न पनि गरोस् र सँगसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि दृढतापूर्वक उभियोस् । लोकतन्त्रलाई अझ सघन, उन्नत र मजबुत बनाओस् ।

यदि एउटा यस्तो दल त्यो सानै भए पनि आशाको किरण हुन सक्थ्यो । गत आम चुनावमा रास्वपा त्यस्तै आशाको किरण होला कि भनेर मतदाताले रुचीपूर्वक हेरे । तर, त्यो पनि तपाईंहरूको पुरानो सिन्डिकेटको नयाँ र जुनियर पार्टनर मात्र सावित भयो । त्यसले अहिले छोटो अवधिमै चरम नैतिक सङ्कटको सामना गर्दैछ ।

राष्ट्रिय राजनीतिमा त त्यस्तो समूह, दल र व्यक्तित्व भएन नै, स्वयं तपाईंहरूको पार्टीभित्र पनि भएन । पार्टीको सङ्गठन, संस्कृति र चरित्र नै यस्तो बनाई दिनु भयो कि तपाईंहरूको पार्टी भित्रबाट कुनै त्यस्तो नयाँ पात्र, आशाको सानो किरण जन्मिने सम्भावना नै रहेन । थोरै सम्भावना यदाकदा काङ्ग्रेसमा युवा महामन्त्रीद्वयको हुन्छ । एमाले र माओवादीमा त यतिको सम्भावना पनि देखिन्न ।

थाहा छ– यस्तो बुझाइप्रति माओवादी र कमरेड प्रचण्डको ठूलो बिमति हुन्छ । माओवादीले पर्याप्त जनसमर्थन, भोट र सिट नपाएको, काङ्ग्रेस–एमाले ठूलो पार्टी भइदिएका कारण यस्तो भएको, माओवादीले काम गर्ने पर्याप्त अवसर नै नपाएको तर्क अघि सारिन्छ ।

यो बुझ्न जरुरी छ कि तपाईंहरूको सिट सङ्ख्यामा वा भोट अनुपातको भिन्नताले पनि कुनै अर्थ राखेको छैन । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी अनेक ऐतिहासिक संयोग र कारणले पहिलो दल भएकै हो । पहिलो संविधान सभा असफल भएकै हो । रुक्माङ्गत कटवालजस्तो अनावश्यक प्रकरणको दलदलमा फसेर माओवादीले छोटो अवधिमा सरकार छोड्न परेकै हो ।

दोस्रो संविधान सभामा तुलनात्मक रूपमा कमजोर भए पनि माओवादीको सहमति बिना नयाँ संविधान बनेको हैन । २०६३ सालको अन्तरिम संसददेखि अहिलेसम्मको १८ वर्षमा माओवादी सत्ताबाहिर बसेको समय नै कति होला ?

अहिले माओवादी काङ्ग्रेस र एमालेभन्दा केही सानो छ । तर, देशका लागि केही राम्रो गर्ने हो भने ३ दल मिल्दा संवैधानिक सुधारका लागि चाहिने दुईतिहाइ सहजै जुट्छ । देशलाई साँच्चै सुधार जरुरी छ भन्ने अनुभूति हो भने त्यसो गर्न कसले रोकेको छ ?

चुनावी गठबन्धन र सत्ता साझेदारी गर्दा मिल्न हुने, अग्रगामी संवैधानिक सुधारका लागि मिल्न नहुने भन्ने छ ?

निर्वाचन परिणामले तेस्रो दल भए पनि माओवादीको राजनीतिक ‘स्ट्रेन्थ’ अहिले पनि जस्ताको त्यस्तै छ । अहिले पनि माओवादी प्रमुख प्रतिपक्षी दल छ । विपक्षी दलको नेतृत्व गर्छ । राष्ट्रिय सभामा निर्णायक पकड राख्छ । माओवादीको साथ, सहयोग र समर्थन बिना काङ्ग्रेस–एमाले मात्र राष्ट्रिय महत्त्वका ठूला निर्णय लिन सामर्थ्यवान छैनन् । के यो सत्य हैन ?

उनीहरूले योसम्म उद्घोष गरे कि ति एक्काईसौँ शताब्दी, उत्तरआधुनिकतावाद, उन्नत सूचनाप्रविधि र एआईको युगमा लोकतन्त्रलाई समाप्त पार्ने र निरङ्कुश राजतन्त्र फर्काउने आत्मविश्वास राख्छन् । त्यसका लागि चैत्र १५ गतेको जस्तो हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने दुस्साहस गर्न सक्छन् । यिनमा यस्तो आँट कहाँबाट आयो होला ? कहिल्यै निधार खुम्च्याएर सोच्नु भएको छ ?

यति भूमिका बाँधेर प्रसङ्ग कहाँ जोड्न खोजको हो भने– गणतन्त्र आएको १७ वर्षपछि राजावादी पो ‘हामी विकल्प हौँ’ भन्न थाले । करिब एक शताब्दी लामो सङ्घर्षबाट नागरिकले स्थापित गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’लाई जिस्काउन थाले । उनीहरूले योसम्म उद्घोष गरे कि ति एक्काईसौँ शताब्दी, उत्तरआधुनिकतावाद, उन्नत सूचनाप्रविधि र एआईको युगमा लोकतन्त्रलाई समाप्त पार्ने र निरङ्कुश राजतन्त्र फर्काउने आत्मविश्वास राख्छन् । त्यसका लागि चैत्र १५ गतेको जस्तो हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने दुस्साहस गर्न सक्छन् । यिनमा यस्तो आँट कहाँबाट आयो होला ? कहिल्यै निधार खुम्च्याएर सोच्नु भएको छ ?

हिजो एकपटक गणतान्त्रिक आन्दोलनमा लागिसकेको वा गणतन्त्र स्वीकार गरिसकेको जनमतको एउटा हिस्सा आज किन राजावादीप्रति सहानुभूति राख्ने वा तटस्थता अपनाउनेजस्तो मनोदशामा पुगेको होला ? के तपाईंहरूको दिमाग यो प्रश्नले कहिल्यै रन्थनिँदैन ?

राजावादी दबाब गणतान्त्रिक दलहरूको आत्मसमीक्षा, पुनरावलोकन र नयाँ सङ्कल्पको अवसर बन्नु पर्ने हो । अहिले सडकबाटै राजावादीलाई प्रतिकार गरिहाल्नु पर्ने अवस्था हैन । मुख्यतः दल र राज्यको चरित्र सुधार गर्नुपर्ने हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको तुलना राणा शासन, पञ्चायत र राजतन्त्रसँग गर्ने कि विश्व प्रगतिको स्तरसँग ?

धेरै जरुरी छैन । एउटा मात्र उदाहरण दिउँ– राजावादीलाई गणना गराउन तपाईंहरू भन्ने गर्नु हुन्छ– हिजो प्रतिव्यक्ति आय १८२ थियो आज करिब १४०० डलर पुग्यो, के यो गणतन्त्रको उपलब्धि हैन ? तर, यहाँनेर तुलना त विश्वको औसत प्रतिव्यक्ति आय १४ हजार डलरसँग पो हुनुपर्ने थियो होला ? २०४६ साल यताको ३५ वर्षमा वा गणतन्त्र यताको १७ वर्षमा हुनुपर्ने आर्थिक प्रगति यत्ति नै हो ?

प्रतिवर्ष ५० डलरले बढ्ने हाम्रो प्रतिव्यक्ति आयले विश्व औसत भेट्न २६० वर्ष लाग्नेछ । त्यतिखेरसम्म विश्व कहाँ पुग्ला भनेर कहिले सोच्नु भएको छ ? विश्वको औसत प्रतिव्यक्ति आय २० वर्षभित्र भेट्ने हो भने हामीलाई प्रतिवर्ष ६५० डलरको वृद्धि चाहिन्छ, के यस्तो हिसाब कहिल्यै गरेर हेर्नु भएको छ ? यो कसरी सम्भव होला, भनेर सोच्नु भएको छ ? 

यो भन्नै पर्ने हुन्छ कि आज पनि देशको मुख्य समस्या ‘राजावादी’ हैनन् । यी त हाउगुजी हुन्, दुईचार दिन हल्ला गर्छन्, आफैँ सेलाउँछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दलतन्त्र र नेता राजको असक्षमताबाट कसरी र कहिले मुक्ति पाउने ? विश्व विकासस्तरको आकाङ्क्षाबाट नेपाली मात्र सधैँ विमुख रहन सक्छन् ? के नेपाल सधैँ कूशासित, गरिब र अल्पविकसित रहन अभिशप्‍त मुलुक हो ? यसको समाधान खोज्न पर्दैन कसैले ?

ओली, देउवा, दाहाल महोदय ! यस्तो चालाले कतिञ्जेल धानिएला देश ? तपाईंहरूको कार्यस्तरबाट न सन्तुष्ट हुनसक्ने न प्रतिस्थापन गर्नसक्ने बडो अनौठो अक्करे भीरमा अड्केको छ देश । यसको समाधान कहिल्यै नखोज्ने ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register