सिंगापुर आश्चर्यः बहुदलीय व्यवस्थामा एउटै पार्टी निरन्तर ६६ वर्षदेखि सत्तामा

एकदलीय प्रणालीमा कुनै दल लामो समय सत्तामा हुनु अस्वाभाविक होइन । जस्तो कि चिनियाँ कम्युनिस्ट पार्टी त्यहाँ सन् १९४९ यता ७६ वर्षदेखि निरन्तर सत्तामा छ । तर, बहुदलीय व्यवस्थामा भने राजनीतिक दलले यस्तो अवसर बिरलै पाउँछन् । बहुदलीय लोकतन्त्रमा निश्चित अवधिपछि राजनीतिक दलको भूमिका परिवर्तन हुने सम्भावना हुन्छ । सत्तामा भएका प्रतिपक्षमा धकेलिन सक्दछन्, प्रतिपक्षमा […]

May 22, 2025 - 05:17
 0
सिंगापुर आश्चर्यः बहुदलीय व्यवस्थामा एउटै पार्टी निरन्तर ६६ वर्षदेखि सत्तामा

एकदलीय प्रणालीमा कुनै दल लामो समय सत्तामा हुनु अस्वाभाविक होइन । जस्तो कि चिनियाँ कम्युनिस्ट पार्टी त्यहाँ सन् १९४९ यता ७६ वर्षदेखि निरन्तर सत्तामा छ ।

तर, बहुदलीय व्यवस्थामा भने राजनीतिक दलले यस्तो अवसर बिरलै पाउँछन् । बहुदलीय लोकतन्त्रमा निश्चित अवधिपछि राजनीतिक दलको भूमिका परिवर्तन हुने सम्भावना हुन्छ । सत्तामा भएका प्रतिपक्षमा धकेलिन सक्दछन्, प्रतिपक्षमा भएका सत्तामा पुग्न सक्दछन् । नयाँनयाँ दलको निर्माण र विकास हुन सक्दछ ।

बहुदलीय लोकतन्त्रमा कुनै एउटा दल दशकौँ निर्वाचन जितेर सत्तामा कायम रहनु लगभग असम्भव हो । तर, त्यस्तै एउटा आश्चर्यजनक अपवाद बनेको छ– सिंगापुरको पिपुल्स एक्सन पार्टी ( पाप ) ।

यो पार्टी सन् १९५९ यता ६६ वर्षदेखि निरन्तर देशको सत्तामा छ । यो पार्टीविरुद्ध करिब ७ दशकमा पनि ‘एन्टी–इन्कम्बेन्सी’ सिर्जना भएको छैन ।

पापले भर्खरै सम्पन्न आमनिर्वाचनमा फेरि बहुमत हासिल गरेको छ । मे ३ मा भएको पछिल्लो संसदीय निर्वाचनमा पापले संसद्का ९७ मध्ये ८७ सिट हात पारेको हो । पार्टीले अघिल्लो आमनिर्वाचनमाभन्दा ४ सिट बढाएको हो । साथै, लोकप्रिय मतमा समेत ४.३५ प्रतिशतको वृद्धि गरेको छ ।

सन् २०२१ को चुनावमा ६१.२३ प्रतिशत मतसहित ८३ सिट जितेका थियो । यसपटक ६५.५७ प्रतिशत मत पायो ।

सिंगापुरको प्रमुख विपक्षी दल वर्कस पार्टी १४.९९ प्रतिशत मतका साथ १२ सिटमा सीमित भयो । यो विश्व राजनीतिकै दूर्लभ उदाहरण हो ।

पापको गठन ७० वर्षअघि सन् १९५४ मा भएको थियो । यसका संस्थापक नेता थिए– लि क्वान यु । लिले सिंगापुरी राजनीतिमा एउटा यस्तो मोड दिए कि उनलाई ‘आधुनिक सिंगापुरका संस्थापक पिता’ भन्न थालियो । लि क्वान युले सानो र गरिब नगर–राज्यलाई आफ्नै जीवनकालमा संसारकै धनी देशमध्ये एक, उनकै शब्दमा ‘तेस्रोबाट पहिलो विश्व’ मा पुर्‍याए ।

कुनै देश केही दशकमै संसारकै गरिबमध्येबाट उठेर सबैभन्दा धनी हुन सक्छ भन्ने अनौठो उदाहरण बन्यो सिंगापुर ।

सिंगापुरलाई आज विश्वभरि ‘सफलताको कथा’ को एक प्रमुख घटना–अध्ययनको विषय नै बनाइन्छ । सन् २०२३ यता सिंगापुर कतार र लक्जेम्बर्गलाई उछिन्दै संसारकै सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देश बन्न पुगेको छ । विश्व बैंकका अनुसार सन् २०२५ मा सिंगापुरको प्रतिव्यक्ति आए संसारकै सबैभन्दा धेरै १,४१, ५०० डलर हुनेछ ।

सिंगापुरले केही दशकमै यति धेरै उन्नति गर्ला भन्ने विश्वास स्वयं लि क्वान युलाई थिएन । यथार्थमा लि सिंगापुरको अस्तित्व संकटको अनुभूति गर्थे । सिंगापुरजस्तो सानो राज्य भिन्नै देश बनेर टिक्न सक्दैन भन्ने उनलाई लाग्थ्यो । तसर्थ, सन् १९५९ को चुनाव जितेपछि उनले सिंगापुरलाई मलेसियामा गाभेका थिए ।

यति सानो ‘नगर–राज्य’ भिन्नै ‘देश’ बन्न र ‘राष्ट्र’ का रूपमा विकास गर्न गाह्रो हुन्छ भन्ने सोचले गर्दा सन् १९६३ मा सिंगापुरलाई ‘मले संघ’ मा गाभिदिए ।

सिंगापुरको क्षेत्रफल ७३५.७ वर्गकिमी छ । जो नेपालका अधिकांश जिल्लाको आधाभन्दा कम हो । तर, मलेसियाका मूलधार राजनीतिज्ञले सिंगापुरको विलयलाई खासै महत्त्व दिएनन् । लि क्वान युको पार्टी ‘पाप’ मलेसियाभरि चुनाव लड्न र देशकै नेतृत्व गर्न चाहन्थ्यो । क्वालाम्पुरको राजनीतिले लि क्वान युको चाहनालाई कुठाराघात गर्‍यो ।

अर्कोतिर सिंगापुरी जनताले मलेसियाको अपमान सहन चाहेनन् । सानै सही भिन्नै देश बन्न सकिन्छ भन्ने ‘नवराष्ट्रवादी’ भावना सिंगापुरी जनतामा बढ्दै गयो ।

त्यो बेलाको विवादको चुरो कुराबारे लि क्वान युले भन्ने गर्थे–‘उनीहरू ‘मले मलेसिया’ बनाउन चाहन्थे, हामी ‘मेलेसियन मलेसिया’ बनाउन चाहन्थ्यौँ’ ।

‘मले मलेसिया’ को अर्थ मले जातीको वर्चस्व  भएको मलेसिया थियो । तर, सिंगापुरमा मले होइन, चिनियाँ मूलका मानिसको संख्या धेरै थियो । सिंगापुरमा मले करिब १५ प्रतिशत मात्र थिए र चिनियाँ मूलका सिंगापुरी करिब ७० प्रतिशत ।

‘मेलेसियन मलेसिया’ को अर्थ हुन्थ्यो– जातीय तथा नश्लीय वर्चस्व नभएर नागरिक भावनामा आधारित मलेसिया ।

लि क्वान यु मलेसियाको नेतृत्व चिनियाँ र तमिल मूलका नागरिकले पनि गर्न सक्दछन् भन्ने विश्वास र दाबी गर्थे । तर, मले राजनीतिज्ञलाई यो कुरा स्वीकार थिएन ।

संसारको राजनीतिमा यो देखिन्छ कि जब देशको कुनै भाग छुट्टिन खोज्छ, त्यसलाई पृथकतावाद भनिन्छ र विद्रोह दमन गरेर भए पनि सँगै राख्न खोजिन्छ । तर, सिंगापुरको हकमा ठीक उल्टो भयो । स्वयं मलेसियाले नै सिंगापुरलाई ‘मले संघ’ बाट निस्कन आग्रह गर्‍यो । सन् १९६३–१९६५ सम्म ३ वर्ष सिंगापुर मलेसियाको अंग बनेको थियो ।

सन् १९६५ अगस्ट ७ मा मलेसियाको संसद्‌बाट ‘सिंगापुरको स्वतन्त्रता सम्झौता’ अनुमोदित भयो । आफ्नो पार्टीका १५ सांसदसहित लि क्वान यु रुदै संसद् भवनबाट निस्किए ।

तर, दुई दिनभित्रै उनले ‘माइन्ड–मेकअप’ गरिसकेका थिए । अगस्ट ९ को पत्रकार सम्मेलनमा उनले भने–‘स्थिति चिन्ताजनक हो । तर, हामीले आत्मविश्वास गुमाएका छैनौैँ ।’

पत्रकारले लि क्वान युलाई सोधेका थिए–‘सिंगापुरजस्ता देशको अर्थतन्त्रको ढाँचा के हुन्छ ? तपाईं कस्तो आर्थिक नीति अपनाउनु हुन्छ ?’

लि क्वान युको जवाफ हुन्थ्यो–‘त्यो मलाई थाहा छैन, मलाई यति थाहा छ कि सिंगापुरलाई सफल बनाउनुको अर्को विकल्प छैन । सिंगापुर जुन दिन सफल देश हुनेछ, अर्थशास्त्रमा एक नयाँ ढाँचा थपिनेछ– सिंगापुर अर्थतशास्त्र ।’

सिंगापुरको आर्थिक विकास र प्रतिव्यक्ति आय प्रतिदशक दोब्बर हुँदै गयो । सन् १९९० को दशकमै सिंगापुरलाई ‘प्रथम विश्वको देश’ मान्न थालिएको थियो ।

लि क्वान युले ‘फ्रम द थर्ड वर्ल्ड टु फर्स्ट  द सिंगापुर स्टोरीः १९६५–२०००’ नै लेखे ।

यति लामो शासन अवधिमा पिपुल्स एक्सन पार्टीले देशका लागि जम्मा ४ जना मात्र प्रधानमन्त्री दिएको छ । ‘संस्थापक पिता’ लि क्वान यु आफैँ ८ पटक करिब ३२ वर्ष प्रधानामन्त्री भए । सन् १९९० मा प्रधानमन्त्री पदबाट हटेपछि पनि उनलाई ‘मन्त्रिपरिषद्को मेन्टर’ पद दिइएको थियो ।

सन् १९९० देखि सन् २००४ सम्म गोह चोक तोङ १४ वर्ष प्रधानमन्त्री रहे । ‘मेन्टर’ पिता लि र उदयीमान छोरा लि हिसिन ल्योङको भूमिकाको कारण तोङको कार्यकालमा पनि लि परिवारको वर्चश्व थियो ।

तेस्रो प्रधानमन्त्री हिसिन ल्योङ लिका छोरा थिए । उनी करिब २० वर्ष प्रधानमन्त्री बने ।

सिंगापुरको राजनीति यसपटकको चुनावबाट पहिलोपटक ‘लि परिवार’ को नेतृत्त्व वा प्रभावबाट बाहिर आएको छ । नयाँ प्रधानमन्त्री लरेन्स वोङलाई सन् २०२४ को मेमा सत्ता हस्तान्तरण गरिएको थियो । त्यसअघि उनी सन् २०२१ देखि अर्थमन्त्री थिए ।

नयाँ र युवा प्रधानमन्त्री वोङ सिंगापुरको नयाँ नेताका रूपमा अनुमोदित हुन्छन्, हुँदैनन् वा कतिको जोडदार समर्थन पाउँछन् भन्ने नै यसपटकको निर्वाचनको मुख्य मुद्दा थियो ।

भारी बहुमत र मत वृद्धिसहित सिंगापुरले आफ्नो नयाँ नेतालाई अनुमोदित गरेको छ । आगामी ५ वर्षका लागि वोङले कार्यकाल पूरा गर्दा ‘पाप’ ७ दशकभन्दा लामो भइसकेको हुनेछ ।

राजनीतिक दल लोकप्रिय हुन धेरै लप्पनछप्पन र भाषणबाजी होइन– नागरिक आवश्यकता र आकांक्षा पूरा गर्न सक्ने क्षमता चाहिने रहेछ ।

यसो हुन सके बहुदलीय लोकतन्त्रमै पनि एउटै दल दशकौं शासनमा रहन सक्दो रहेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register