ह्वाइट हाउसमा ट्रम्पको दोस्रो दुर्व्यवहार: दक्षिण अफ्रिकाका राष्ट्रपतिमाथी लगाए ‘नरसंहार’ को आरोप
अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्ध सुधार्ने उद्देश्यले ह्वाइट हाउस भ्रमणमा रहेका रामाफोसासामु ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको हत्या र 'उत्पीडन' भइरहेको भन्ने दाबीसहित असहज प्रश्न तेर्साए ।

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो पाहुनामाथि मिडियाकै अगाडि दुर्व्यवहार गरेका छन । राष्ट्रपति ट्रम्पको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाबीच बुधवार भएको भेटवार्ता सौहार्दपूर्ण रहन सकेन ।
अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्ध सुधार्ने उद्देश्यले ह्वाइट हाउस भ्रमणमा रहेका रामाफोसासामु ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको हत्या र ‘उत्पीडन’ भइरहेको भन्ने दाबीसहित असहज प्रश्न तेर्साए । उनले प्रत्यक्ष पत्रकार सम्मेलनमा दक्षिण अफ्रिकामा ‘गोरा नरसंहार’ भइरहेको भन्ने व्यापक रूपमा खण्डित दाबीहरू प्रस्तुत गर्दै रामाफोसालाई चकित पारे।
ट्रम्पले एउटा भिडियो देखाए, जसमा दक्षिण अफ्रिकाका प्रमुख विपक्षी नेता जुलियस मालेमाले “बोर (अफ्रिकी मूलका गोरा) लाई गोली हान, किसानलाई गोली हान” भनेर गाएको आवाज सुनिएको थियो। त्यसपछि क्रसहरूको खेत देखाइएको थियो, जसलाई अमेरिकी राष्ट्रपतिले तस्विरमाथि बोल्दै गोरा किसानहरूको चिहान स्थल भएको दाबी गरे। उनले रामाफोसालाई दक्षिण अफ्रिकामा गोरामाथि आक्रमण भएको भन्ने समाचारहरूको प्रिन्ट-आउटहरू दिए। ट्रम्पले दक्षिण अफ्रिकामा गोराहरूको ‘नरसंहार’ भइरहेको भन्ने व्यापक रूपमा खण्डित दाबीहरूमा आफ्नो अतिथिबाट ‘स्पष्टीकरण’ खोज्ने बताए। ट्रम्पले यो भिडियो दक्षिण अफ्रिकाको कुन ठाउँमा खिचिएको हो भनेर आफूलाई थाहा नभएको बताए। वास्तवमा, ती क्रसहरू वास्तविक चिहान नभई, २०२० मा क्वाजुलु-नाताल प्रान्तमा एक किसान दम्पतीको हत्यापछि भएको प्रदर्शनबाट लिइएको देखिन्छ।
जवाफमा रामाफोसाले ट्रम्पको दाबीहरूको खण्डन गर्दै ‘नरसंहारको अफवाह नफैलाउन’ र ‘नभएको झुटो कुरा नगर्न’ भने। उनले अमेरिकी राष्ट्रपतिलाई दक्षिण अफ्रिकामा सबै जातजातिका मानिसहरू हिंसाबाट पीडित भएको र धेरैजसो काला जातिका मानिसहरू पीडित रहेको स्पष्ट पारे। “दक्षिण अफ्रिकामा सबै जातजातिका मानिसहरू हिंसाबाट पीडित छन्, जसमा अधिकांश अश्वेत रहेका छन्। त्यहाँ केवल गोरा मानिसहरू मात्र पीडित छैनन्,” रामाफोसाले भने।
रामाफोसाले आफूलाई संयमित राख्दै ट्रम्पको दाबी अस्वीकार गरे। उनले आफूले पहिले कहिल्यै यस्तो भिडियो नदेखेको र यसको आधिकारिकताको जाँचबुझ गर्ने बताए। यद्यपि, उनले आफ्नो देशमा अपराध अत्याधिक रहेको स्वीकार गरे तर गोरालाई मात्र लक्षित गरिएको कुरा अस्वीकार गरे।
प्रतिनिधिमण्डलका गोरा सदस्यहरू,गल्फर अर्नी एल्स र रेटिफ गुसेन, र दक्षिण अफ्रिकाका सबैभन्दा धनी व्यक्ति जोहान रूपर्ट तर्फ संकेत गर्दे रामाफोसाले भने, “यदि नरसंहार भएको भए, यी तीन सज्जनहरू यहाँ हुने थिएनन्।”
रामाफोसाले स्वीकार गरे कि देशमा “आपराधिक गतिविधि” छ र “आपराधिक गतिविधिबाट मारिने मानिसहरू गोरा मात्र होइनन्, उनीहरूमध्ये धेरैजसो काला मानिसहरू हुन्।”
दक्षिण अफ्रिकाले जातीय आधारमा अपराधका तथ्याङ्कहरू जारी गर्दैन, तर नवीनतम तथ्याङ्कहरूले अक्टोबरदेखि डिसेम्बर २०२४ सम्म देशमा करिब १०,००० मानिसहरूको हत्या भएको देखाउँछ। यीमध्ये १२ जना फार्म आक्रमणमा मारिएका थिए, र १२ जनामध्ये एक जना किसान थिए, जबकि पाँच जना फार्ममा बस्नेहरू र चार जना कर्मचारीहरू थिए, जो काला भएको सम्भावना बढी छ।
एक पत्रकारले गोरा किसानहरूले दक्षिण अफ्रिका छोडेमा के हुन्छ भनेर सोध्दा, रामाफोसाले प्रश्नलाई आफ्ना गोरा कृषि मन्त्री जोन स्टिनहुइसेनतर्फ मोडे, जसले अधिकांश किसानहरू बस्न चाहेको बताए। तर ट्रम्पले रामाफोसामाथि लगातार प्रहार गरिरहे । ट्रम्प रोकिएनन्, उनले समाचार लेखहरू देखाएर ‘हत्यामाथि हत्या भइरहेको’ बताए। रामाफोसाले छोटो भिडियोले दक्षिण अफ्रिकाको समग्र चित्र प्रस्तुत नहुने भन्दै आफ्नो सरकारको नीति जुनसुकै प्रकारको हिंसा अन्त्य गर्ने रहेको बताए।
ट्रम्पले आफ्नो पाहुनामाथि मिडियाकै अगाडि दुर्व्यवहार गरेको यो दोस्रो घटना हो । यसअघि गत फेब्रुअरी २८ मा ओभल अफिसमै मिडियाहरूका अगाडि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की माथी अपमानपूर्ण व्यवहार गरेका थिए ।
What's Your Reaction?






