हिरासतमा रहेका दुर्गा प्रसाईंको फेसबुक लगातार अपडेट, दिइरन्छन् व्यवस्था ढाल्ने धम्की

काठमाडौं । दुर्गा प्रसाईं यतिखेर प्रहरी हिरासतमा छन् । गत वर्ष १५ चैतमा तिनकुनेमा भएको हिंसात्मक घटनाको आरोपमा उनी प्रहरी हिरासतमा छन् । प्रसाईंं हिरासतमा भए पनि उनको फेसबुक भने निरन्तर अपडेट भइरहेको हुन्छ । ‘दुर्गा प्रसाईंं’ र ‘दुर्गा प्रसाईंं महाअभियान संस्थापक सचिवालय’ नामका पेजबाट प्रसाईंंका भनाइहरू पोस्ट भइरहेका छन् । प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, […]

Jun 1, 2025 - 13:40
 0
हिरासतमा रहेका दुर्गा प्रसाईंको फेसबुक लगातार अपडेट, दिइरन्छन् व्यवस्था ढाल्ने धम्की

काठमाडौं । दुर्गा प्रसाईं यतिखेर प्रहरी हिरासतमा छन् । गत वर्ष १५ चैतमा तिनकुनेमा भएको हिंसात्मक घटनाको आरोपमा उनी प्रहरी हिरासतमा छन् ।

प्रसाईंं हिरासतमा भए पनि उनको फेसबुक भने निरन्तर अपडेट भइरहेको हुन्छ । ‘दुर्गा प्रसाईंं’‘दुर्गा प्रसाईंं महाअभियान संस्थापक सचिवालय’ नामका पेजबाट प्रसाईंंका भनाइहरू पोस्ट भइरहेका छन् । प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामको संगठन चलाउँछन् । उनी २०७९ देखि यही नाममा कहिले लघुवित्तको ऋण नतिर्न उर्दी जारी गर्छन् त कहिले राजा फर्काउने आन्दोलन ।

‘दुर्गा प्रसाईंं महाअभियान संस्थापक सचिवालय’ नामको पेजमा ‘प्रसाईंंमाथि राज्यले प्रतिसोध साँधेको, प्रसाईंंलाई रिहा गर्नुपर्ने’ माग राखिएका विषयहरू पोस्ट भइरहेकाछन् ।

आजै(१८ जेठ)को बिहान पौने ९ बजे पनि अन्यायका पक्षमा आवाज उठाउन र लड्न प्रसाईंंले गरेको आह्वान पोस्ट गरिएको छ । यी पेजमा प्रसाईंंका भर्ना स्वकीय सचिवको सहयोगमा पोस्ट गर्ने गरिएको बताइन्छ ।  १४ जेठमा प्रसाईंंको पेजमा ‘म चाँडै फर्किन्छु’ भन्दै लामो पोस्ट गरिएको छ । ‘नेपालमा शान्ति होस् भनेर म राजा र धर्म खोजिरहेको छु,’ भन्दै प्रसाईंले आफू चाँडैं रिहा हुन लागेको दाबी गरेका छन् ।

१३ वैशाखमा प्रसाईंंको फेसबुक पेजमा प्रसाईंंको नामबाट एउटा विज्ञप्ति पोस्ट भएको छ । नयाँ वर्षको शुभकामना दिदैं प्रसाईंंले आफूले हिम्मत नहारेको दावी विज्ञप्तिमा गरेका छन् । उनले लेखेका छन, ‘मक्किई सकेको यो कथित लोकतन्त्र/गणतन्त्रको ठुटोरूपी ढल्नै लागेको व्यवस्थालाई एक धक्का अझै दिउँ भन्ने आह्वानका साथ अघि बढ्न म आग्रह गर्दछु ।’ यही विज्ञप्तिमा उनले आफू प्रहरी हिरासतमा कठिन परिस्थतिबाट गुज्रिरहेको पनि दावी गरेका छन् ।

१३ जेठमा उनले प्रधानमन्त्रीप्रति र गणतन्त्रप्रति कटाक्ष गर्दै स्टाटस लेखेकाछन् । उनले लेखेकाछन, ‘गणे–तन्त्रवादी उखानेको रेलमा राष्ट्रवादीहरू जेलमा ! वाह रे तेरो …..तन्त्र !’

हिरासतमा रहेर पनि फेसबुक पेजबाट प्रसाईंंले सक्रियता देखाएको यो पहिलोपटक होइन । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको दाबी गर्दै फेसबुकमा नक्कली कागजात सार्वजनिक गरेपछि गत वर्ष ४ मंसिरमा दुर्गा प्रसाईंं पक्राउ परे ।

पक्राउ परेको पाँच दिनपछि ९ मंसिरमा प्रसाईंंले आफू जुन अभियोगमा पक्राउ परेका थिए त्यही अभियोगबारे लेखे । फेसबुकमा प्रसाईंंले केपी ओलीको कम्बोडियामा लगानी देखाउने कथित कागजात सही भएको दाबी गर्दै पोस्ट गरे । त्यतिखेर उनले आफूमाथि अनुसन्धान गरिरहेका तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र प्रहरी उपरीक्षक होबिन्द्र बोगटीविरुद्ध राज्यद्रोहको मुद्दा लिएर अदालत जाने धम्की दिएका थिए । उनले आफूलाई ‘नक्कली मुद्दामा फसाइएको’ दावी गर्दै फेसबुकमा पोस्ट गरेका थिए ।

प्रसाईंं हिरासतभित्र रहँदा उनको फेसबुक पेजमा स्वकीय सचिवको नाममा प्रसाईंंको भनाइ पोस्ट भइरहेको देखिन्छ ।

फेसबुकको विवरणअनुसार, ‘दुर्गा प्रसाईंं महाअभियान संस्थापक सचिवालय’ नामको फेसबुक पेज १५ भदौ २०८० मा खोलिएको हो । उनको फेसबुक पेज नेपालबाट एक जनाले मात्र चलाउँछन् । त्यसैगरी दुर्गा प्रसाईंं नामको फेसबुक आईडी १५ भदौं २०८० मा बनाइएको देखिन्छ र यो फेसबुक पनि नेपालबाट एकजनाले चलाउने गरेको फेसबुकको विवरणमा देखिन्छ ।

सामान्यतः अभियुक्तले घटनाको प्रमाण लुकाउन र मेटाउन नसकोस्, अभियुक्त भाग्न नपाओस् र थप असुरक्षा नहोस् भनेर हिरासतमा राख्ने गरिन्छ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार हिरासतमा रहेका व्यक्तिले फेसबुक त परै जाओस् मोबाइलसमेत चलाउन पाउँदैन् । तर, प्रसाईंं भने हिरासतभित्रैबाट फेसबुकमार्फत आफूमाथि लागेका अभियोग नकार्दै राजनीतिक वयानबाजी गरिरहन्छन् ।

प्रसाईंमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहोराका अनुसार अदालतको आदेशबाट थुनामुक्त भएका प्रसाईंंका सहयोगीले प्रसाईंंको फेसबुक चलाएका हुन सक्छन् । उनले भने, ‘केही दिनअगाडि प्रसाईंंका केही समर्थक, बडिगार्ड छुटेका थिए, तिनले चलाए होलान् ।’

१३ जेठमा दुर्गा प्रसाईंंका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाल अदालको आदेशमा रिहा भएका थिए । उनीहरूविरुद्ध मुद्धा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै काठमाडौं जिल्ला अदालतले रिहा गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहोराका अनुसार रिहा भएका खड्का र धिमालले नै प्रसाईंंको नामको फेसबुकबाट अपडेट गराएका हुन सक्छन् ।

तर, खड्का र धिमाल हिरासतमा हुँदा पनि प्रसाईंंको फेसबुकमा पोस्ट भइरहन्थ्यो । प्रसाईंंको नाममा उनका स्वकीय सचिवले पोस्ट गर्ने गर्छन् । तर, प्रसाईंंको फेसबुकमा स्वकीय सचिवको नाम कहिले माधव कल्पित, कहिले विनन्जय थापा लेखिएको हुन्छ ।

अनुसन्धान प्रभावित पार्ने र अनुसन्धानमा रहेको विषयमाथि समाजमा धारणा बनाउने गरी हिरासतमा रहेको व्यक्तिको सामाजिक सञ्जालमा केही पोस्ट भएमा यही विषयमाथि कारबाही गरिनुपर्ने बताउँछन साइवर कानुनका विज्ञ तथा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल ।

उनी भन्छन्, ‘हिरासतमा रहेको व्यक्तिले हिरासतबाटै वा बाहिरबाट कसैले उसको सामाजिक सञ्जालमा अनुसन्धान भइरहेको विषयमा केही पोस्ट भएको पाइएमा त्यसैअनुसार थप कारबाही गर्नुपर्छ ।’ व्यक्ति हिरासतमा भए पनि उसको सामाजिक सञ्जालमा अनुसन्धान भइरहेको विषयमा लगातार पोस्ट हुने चलन बढेको हुँदा अब प्रहरीले अभियुक्तको सामाजिक सञ्जाल पनि नियन्त्रणमा लिनुपर्ने खरेलको धारणा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register