गाउँदेखि प्रहरी प्रधान कार्यालयसम्मको यात्रा,प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ

Sep 5, 2025 - 06:07
 0
गाउँदेखि प्रहरी प्रधान कार्यालयसम्मको यात्रा,प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ

काठमाडौं ।

तेह्रथुमको मोराहाङ गाउँका सादगीपूर्ण परिवारमा जन्मनुभएका लिम्बूको छोरा चन्द्रकुबेर खापुङ अब नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नुभएको छ । बिहीबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दज्र्यानी चिह्नबाट सुशोभित गर्नुभएको थियो ।

गृहसचिव दुवाडीले प्रहरी महानिरीक्षक खापुङको कार्यक्षमता, निष्ठा र व्यावसायिकतालाई उच्च मूल्यांकन गर्दै आम नागरिकमा सुरक्षा प्रत्याभूति दिलाउन उहाँको नेतृत्व महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । ‘समाजमा न्याय, शान्ति र सुशासन कायम राख्न कुशल, सक्षम र गतिशील प्रहरी आवश्यक छ’ –उहाँले भन्नुभयो ।

प्रहरी महानिरीक्षक खापुङले कार्यक्रममा नेपाल प्रहरीको सर्वोच्च जिम्मेवारी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्था र राष्ट्रको हितमा समर्पित भएर निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरी पद व्यक्तिमात्र होइन, संस्था हो । यसलाई सफल बनाउनु नै मेरो पहिलो प्राथमिकता हो, उहाँले सम्बोधनका क्रममा भन्नुभयो ।

२०५२ मा प्रहरी निरीक्षक पदबाट शुरूवात गर्नु भएका खापुङले जिल्लास्तरदेखि प्रधान कार्यालयसम्मका विभिन्न जिम्मेवारी कुशलतापूर्वक निभाउँदै सशस्त्र प्रहरी गण, जिल्ला प्रहरी कार्यालय र अनुसन्धान विभागमा नेतृत्व प्रस्तुत गर्नुभएको थियो । मास्टर अफ आर्ट इन जेन्डर स्टडिजसहित १४ वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय तालिम प्राप्त उहाँले अपराध अनुसन्धान, मानवश्रोत विकास र संगठनात्मक व्यवस्थापनमा विशेष दक्षता हासिल गर्नुभएको छ ।

उहाँको कार्यकालमा नेपाल प्रहरी निष्पक्ष, पारदर्शी र नागरिकमैत्री संगठनको रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । साइबर अपराध, वित्तीय अपराध, लागुऔषध र अन्य जटिल सामाजिक अपराधसँग जुध्न दक्ष जनशक्ति र प्रविधिको उच्चतम प्रयोगमा उहाँ जोड दिनुहुन्छ । प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्दै योग्यतामा आधारित वृत्तिविकास सुनिश्चित गर्ने उहाँको प्राथमिकता छ ।

बिहीबारको समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षक, वरिष्ठ अधिकृत र जवानहरूको उपस्थितिमा खापुङले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी वृक्षरोपण पनि गर्नुभयो, जसले उहाँको सेवा भावना र संगठनप्रति समर्पणलाई उजागर गरेको छ । गाउँका सादगीपूर्ण परिवारदेखि नेपाल प्रहरी प्रधान कार्यालयको सर्वोच्च नेतृत्वसम्मको यात्रा तय गरेका प्रहरी महानिरीक्षक खापुङको कथा केवल प्रेरणादायीमात्र होइन, समर्पण, दक्षता र सामूहिक नेतृत्वको उत्कृष्ट उदाहरण पनि बनेको छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register