राणाकालीन दरबार 'नारायण भवन' को अस्तित्व मेटिँदै

May 25, 2023 - 02:10
 0
राणाकालीन दरबार 'नारायण भवन' को अस्तित्व मेटिँदै
राणाकालीन दरबार 'नारायण भवन' को अस्तित्व मेटिँदै

काठमाडाैं । ललितपुरको जावलाखेलमा जुद्ध शमशेरले उनका कान्छा छोरा नारायण शमशेरका लागि निर्माण गरेको राणाकालीन दरबार संरचना नारायण भवन जीर्ण बन्दै गएको छ। 

२०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको उक्त भवनमा अहिले बोटबिरूवा उम्रेका छन्। अबको दिनमा नारायण भवनको भविष्य के हुने हो कसैलाई थाहा छैन। 

भूकम्पका कारण राणाकालीन दरबार संरचना नारायण भवनको पूर्वतिरको भाग पूरै भत्केको छ। छाना भत्किन लागेको छ। पीपल, उत्तिसलगायतका बिरूवा उम्रेर र भवनको अस्तित्व हराउँदै गएको छ। ऐतिहासिक दरबार संरचनाको पुनर्निर्माणका लागि कुनै पनि जिम्मेवारी निकायबाट पहल भएको छैन।

पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्राचार गरे पनि नारायण भवन पुनर्निर्माणका लागि पहल नभएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापन अधिकृत उदय खनालले बताए।

'नारायण भवन एउटा ऐतिहासिक संरचना हो। यसको संरक्षण गर्ने राज्यको जिम्मेवारी हो। तर राज्यले संरक्षण र पुनर्निर्माणमा चासो देखाएको छैन,' उनले भने, 'यस्ता प्रकारका ऐतिहासिक संरचना आफ्नै आँखाअगाडि भत्किएको देख्दा दुःख लाग्छ।'

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका एक कर्मचारीका अनुसार नारायण भवनमा २०५१ सालदेखि महिला विकास प्रशिक्षण केन्द्रको कार्यालय थियो। केन्द्रको कार्यालय त्यहाँबाट अर्को ठाउँमा सरेपछि राष्ट्रिय पञ्जीकरण विभागको कार्यालय त्यहाँ आयो। २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि पञ्जीकरण विभाग पनि त्यहाँबाट अर्को ठाउँमा सर्‍यो।

नारायण भवनअन्तर्गतको १६ रोपनी १४ आनामा फैलिएको जग्गा हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा छ। नारायण भवन, स्टिल टावर र त्यहाँ छेवमै रहेको नर्सरीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले भाडामा दिएको छ।

२०७६ चैत ५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको निर्णयअनुसार प्रतिष्ठानको स्वामित्वमा रहेको महिला विकास प्रशिक्षण केन्द्रको भवन, चमेना गृह र प्रशिक्षण हल तालिम परियोजनका लागि मात्र प्रदेश सुशासन केन्द्रलाई हस्तान्तरण गरेको सूचना अधिकारी कृष्णप्रसाद भट्टराईले जानकारी दिए।

उनले भने, 'बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय पनि छ। तर त्यो विषयमा हामीलाई जानकारी छैन।'प्रतिष्ठानका एक कर्मचारीका अनुसार यो भवनमा धेरै महँगा काठ थिए। अरू महँगा सामान पनि थिए। तर उचित संरक्षण नगर्दा ती सबै हराउँदै गइरहेका छन्। राज्यले यस्ता इतिहास बोकेका दरबार संरचनालाई संरक्षण तथा पुनर्निर्माणको पहल गर्नुपर्ने भए पनि अझैसम्म केही नभएको गुनासो उनले गरे।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1