भारतको उन्नतिसँगै पश्चिमा देशमा ईर्ष्या

यदि नोभेम्बरमा हुने चुनावमा कमला गोपालन ह्यारिस अमेरिकाको राष्ट्रपति निर्वाचित भइन् भने निश्चित छ कि पश्चिमाले अझै बढी यस्ता ईर्ष्यालु टिप्पणी गर्नेछन् ।

Aug 30, 2024 - 09:39
 0
भारतको उन्नतिसँगै पश्चिमा देशमा ईर्ष्या

पश्चिममा भारतीयको प्रभाव दिन प्रतिदिन बढ्दै गइरहेको छ । एक तमिल वैज्ञानिक डा. श्यामला गोपालनकी छोरी कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई टक्कर दिइरहेकी छन् ।

ट्रम्पका उपराष्ट्रपति उम्मेदवार जेडी भान्सकी पत्नी उषा चिलकुरीका मातापिता भारतको आन्ध्र प्रदेशका हुन् । अजय बंगा विश्व बैंकको अध्यक्षमा चुनिने पहिलो भारतीय भएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषकी उपप्रबन्ध निर्देशक गीता गोपीनाथ भारतीय नै हुन् । उनी छिट्टै यो संस्थाको शीर्ष पदमा पुग्दैछन् ।

अमेरिकाका ५०० भन्दा बढी कम्पनीका सीईओ भारतीय मूलका छन् । जस्तो कि गूगलका सुन्दर पिचाई, माइक्रोसफ्टकी सत्या नडेला, एडोबीका शन्तनु नारायण, आईबीएमका अरविन्द कृष्णा आदि ।

अमेरिकामा भारतीय सबैभन्दा धनी जनसाङ्ख्यिक समूहमा पर्दछ । उनीहरूको प्रतिव्यक्ति वार्षिक औसत आय १ लाख २० हजार डलरभन्दा धेरै हुन्छ । यो चिनियाँ, श्वेत अमेरिकी र यहुदीको भन्दा पनि धेरै हो ।

जब कुनै समुदायले यति ठूलो राजनीतिक, वैज्ञानिक तथा व्यावसायिक सफलता हासिल गर्दछ भने स्वाभाविक रूपमा त्यसप्रति ईर्ष्या पनि उत्पन्न हुन्छ ।

हालैको एक प्रतिवेदनअनुसार भारतको चन्द्रयान ३ ले चन्द्रमाको प्रारम्भिक सतह पग्लिँदै गरेको माग्मा हो भन्ने पुष्टि गर्‍यो, यसले वैज्ञानिक जगत्‌मा हलचल मच्चियो ।

वासिङटन पोस्ट्ले चन्द्रायान ३ बारे एक प्रमुख समाचार प्रकाशित गर्‍यो, यो गत वर्ष चन्द्रमाको दक्षिणी ध्रुवमा रोबर उतार्ने पहिलो वैश्विक मिसन बन्यो ।

बेलायतको प्रमुख विज्ञान पत्रिका नेचरले गत हप्ता प्रज्ञान रोबरद्वारा सङ्कलन गरिएका डाटाको विश्लेषण गर्ने प्राज्ञिक कार्यपत्र प्रकाशित गरेको छ । तर, वासिङटन पोस्ट्ले समाचारमुनि अनेक नश्लवादी टिप्पणी गरिए । भारतजस्तो गरिब देशले चन्द्रयानजस्तो काममा किन पैसा खर्च गरेको भनेर प्रश्न उठाइयो ।

यदि नोभेम्बरमा हुने चुनावमा कमला गोपालन ह्यारिस अमेरिकाको राष्ट्रपति निर्वाचित भइन् भने निश्चित छ कि पश्चिमाले अझै बढी यस्ता ईर्ष्यालु टिप्पणी गर्नेछन् ।

एक अमेरिकी पाठकले यस्तो टिप्पणी गरे, “भारतमा हजारौं मानिस बेघरबार छन् । फुटपाथमा सुत्छन् । पुलमुनि बस्छन् । तिनको सरकार भने चन्द्रमामा माग्मा खोज्न पैसा खन्याउँदैछ ।”

जसै पश्चिमा देशमा भारतको महत्त्व बढ्दै छ, भारतविरुद्धका प्रतिक्रिया पनि बढेको सङ्केत मिल्न थालेको छ ।

हालै कोलकातामा एक युवा महिला चिकित्सकमाथि दुष्कर्म र हत्या भयो । त्यसपछि भारतलाई ‘संसारको बलात्कार राजधानी’ भन्ने पोस्ट्हरू सामाजिक मिडियामा भरिए । ती यो तथ्यबाट अनभिज्ञ थिए कि अमेरिका र युरोपमा यस्ता दुष्कर्मका घटना भारतको तुलनामा निकै धेरै हुन्छन् तर, तिनको यस प्रकारको प्रचार हुँदैन ।

अमेरिकामा मात्र हैन, बेलायतमा पनि भारतविरुद्ध यस्ता थुप्रै प्रतिक्रिया तीव्र हुँदै गएका छन् । यहाँनेर स्मरणीय छ कि भारतले सन् २०२२ देखि जिडिपीमा बेलायतलाई उछिनेको छ ।

सन् १९४७ मा स्वतन्त्रताको समयमा भारत बेलायती अर्थतन्त्रको एक अंश मात्र थियो । यससँग तुलना गर्दा यो भारतको निकै ठूलो उपलब्धि हो । अमेरिकामा जस्तै बेलायतमा पनि भारतीय मूलको जनसाङ्ख्यिक समूहको औसत वार्षिक आय अन्य कुनै समुदायको भन्दा धेरै छ ।

सदिऔंदेखि पश्चिमा मिडियामा एक श्वेत वर्चस्ववादी भाष्य पेश गरिँदै आएको छ । उनीहरू भारतको उन्नति स्वीकार गर्न सक्दैनन् । विगतमा बेलायतको उपनिवेश रहेको एक देश कसरी यति धेरै अगाडि बढ्न सक्छ भनेर सोच्दछन् ।

सन् १९५० को दशकमा त यस्तो भाष्य मुख्यधाराको हिस्सा थियो । पश्चिमा देशलाई रङ्गभेदी शासन व्यवस्था भएको दक्षिण अफ्रिकसँग व्यापार गर्न वा खेल खेल्न कुनै आपत्ति थिएन ।

सन् १९६० को दशकसम्म पनि कतिपय अमेरिकी राज्यहरूमा अश्वेत अमेरिकीलाई श्वेत अमेरिकी पस्ने रेष्टुराँमा जाने अनुमति थिएन । तिनका बालबालिकालाई गोराका बालबालिका रहेको स्कूलमा समेत पढ्न दिइँदैनथ्यो ।

जबकि तथ्यले यो भन्छ कि पश्चिमको उन्नति उपनिवेशहरूबाट गरिएको कर असुली र २५० वर्षभन्दा बढीसम्म अफ्रिकीलाई दास बनाएर आर्जन गरिएको सम्पति हो । पश्चिममा आज पनि बाँकी विश्वप्रति एक प्रकारको नस्लवादी चिन्तन बाँकी छ ।

भारतले सन् १७५० मा विश्वको जिडिपीमा २४ प्रतिशतको योगदान गर्दथ्यो । तर, सन् १९४७ ताका यो घटेर ३ प्रतिशतमा सीमित भएको थियो । कतिपय पश्चिमा इतिहासकार यो तथ्यलाई लुकाउन वा बेवास्ता गर्न चाहन्छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी गीता गोपीनाथले गत हप्ता यो पुष्टि गरिन् कि भारतको अर्थतन्त्र सन् २०२७ सम्ममा विश्वको तेस्रो ठूलो बन्ने छ ।

यसले पनि भारत विरोधी प्रतिक्रियालाई जन्म दिएको छ । यदि नोभेम्बरमा हुने चुनावमा कमला गोपालन ह्यारिस अमेरिकाको राष्ट्रपति निर्वाचित भइन् भने निश्चित छ कि पश्चिमाले अझै बढी यस्ता ईर्ष्यालु टिप्पणी गर्नेछन् ।

(भाष्कर हिन्दीबाट) 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register