रामकुमारीलाई रमाइलो लागिरहेको छ…

काठमाडौं । रामकुमारी झाँक्री राजनीतिमा चासो राख्ने युवाहरूका ‘आइकन’ हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रामकुमारी आन्दोलनले जन्माएको नेता हुन् । पार्टीभित्र सशक्त काम गर्दै आएकी रामकुमारी यहाँसम्म आइपुग्दा भने निरीह बन्न पुगेकी छन् । माधवकुमार नेपालले नेकपा (एमाले) फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा एकीकृत समाजवादीकै कित्तामा उभिएकी रामकुमारी संस्थापक सचिव हुन् । तर, […]

Aug 30, 2024 - 13:16
 0
रामकुमारीलाई रमाइलो लागिरहेको छ…

काठमाडौं । रामकुमारी झाँक्री राजनीतिमा चासो राख्ने युवाहरूका ‘आइकन’ हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रामकुमारी आन्दोलनले जन्माएको नेता हुन् ।

पार्टीभित्र सशक्त काम गर्दै आएकी रामकुमारी यहाँसम्म आइपुग्दा भने निरीह बन्न पुगेकी छन् । माधवकुमार नेपालले नेकपा (एमाले) फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा एकीकृत समाजवादीकै कित्तामा उभिएकी रामकुमारी संस्थापक सचिव हुन् ।

तर, अहिले आएर पार्टीको पदाधिकारी टिमभित्र अटाइनन् । भर्खरै सम्पन्न पार्टीको आन्तरिक निर्वाचनमा उनी पराजित हुन पुगिन् । यद्यपि पोलिटब्यूरो सदस्य भने उनले जितेकी छन् ।

उनी अध्यक्ष माधवकुमार नेपालकै सल्लाहमा उपापध्यक्ष पदको उम्मेदवार बनेकी थिइन् । तर, हारिन् पनि उनै अध्यक्ष माधवकै ‘प्लान’अनुसार । मतदान जारी रहँदा माधवको टिमले कसलाई जिताउने र कसलाई नजिताउने भनेर नाम-सूचीसहित सर्कुलर नै जारी गरेको थियो । जहाँ रामकुमारीको नाम थिएन ।

फलत: रामकुमारी भारी मतान्तरका साथ जयन्तीदेवी राईसँग हारिन् । यद्यपि जयन्तीदेवी राई योग्य नेता हुन् । लामो राजनीतिक पृष्ठभूमि भएको राई अहिले राष्ट्रियसभाको संसदीय समितिको सभापतिसमेत हुन् ।

तर, चर्चा जित्ने जयन्तीदेवीको भन्दा हार्ने रामकुमारीको भयो । उपाध्यक्ष हार्दा उनलाई के महसुस भइरहेको छ ? अब के गर्छिन् ? यो रामकुमारीलाई चिन्ने र अलिलि उनका पृष्ठभूमि जान्ने हरेकलाई लागिरहेको छ ।

धेरैलाई त लागेको छ कि अब रामकुमारी एमाले फिर्छिन् । तर, उनी अब पार्टीमै पाएको जिम्मेवारी वहन गरेर बस्ने निर्णयमा छिन् । उनी भन्छिन्, “पहिले त जिम्मेवारी पनि थिएन, त्यसैले निष्क्रियजस्तो भएँ । अबचाहिँ पोलिटब्यूरो सदस्यका रूपमा जे जिम्मेवारी आउँछ, त्यो जिम्मेवारी निभाएर पार्टीमै बस्छु ।”

जगदिश खरेलको ‘हट सिट’मा अतिथि बनेर पुगेकी उनलाई प्रश्न सोधिन्छ— अध्यक्ष माधव नेपालको रोजाइमा पर्नुभएन, किन ? अब के गर्नुहुन्छ ?

उनको जवाफ छ, “त्यो उहाँ (माधवकुमार नेपाल) लाई नै सोध्नुपर्छ तर, मलाई रमाइलै लागिरहेको छ । पार्टीमै काम गरेर बस्छु अब ।”

तर, एउटा कुरामा चाहिँ उनी विश्वस्त छिन् कि दशौं महाधिवेशनकै बेला निर्वाचन भइदिएको भए रामकुमारी पक्का जित्थिन् । उनको ठोकुवा छ, “त्यसबेला निर्वाचन भएको हुन्थ्यो भने त मैले जिन्थेँ । मेरो धेरै राम्रो हुन्थ्यो । तर, केही छैन पार्टीको पोलिटब्यूरो छु होला, त्यहाँ प्राप्त हुने काम गर्छु ।”

तर, उनी एमालेमा नफर्किने बताउँछिन् । “एमाले फर्किने त एजेन्डा नै छैन । गए पनि म एकजना मात्रैचाहिँ जान्नँ,” उनी भन्छिन् ।

तर, केहीगरी पार्टी अरु पार्टीसँगको ध्रुवीकरणमा गयो भने एकीकृत समाजवादीका बहुमत नेता एमालेमै फर्किने उनी बताउँछिन् । “समाजवादी मोर्चाको नाममा वा माओवादीसँग एकता गर्ने भनेर ध्रुवीकरणतिर गयो भनेचाहिँ धेरै नेताहरू एमालेमै फर्किन्छन्,” उनले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register