एमाले नेतासम्बन्धी बालेनको चर्चित स्ट्याटस किन भयो डिलिट ?

एमाले कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि फेसबुकले डिलिट गरेको बालेन निकटकाको तर्क छ । एमालेका कार्यकर्ताहरू भने बालेनले गलत लेखेको र साइबर मुद्दा हाल्ने चेतावनीपछि उनी आफैँले पोस्ट डिलिट गरेको तर्क गरेका छन् ।

Sep 3, 2024 - 07:29
 0
एमाले नेतासम्बन्धी बालेनको चर्चित स्ट्याटस किन भयो डिलिट ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सत्तारुढ दल एमाले नेताविरुद्ध लेखेको पोस्ट डिलिट भएको छ । १८ हजार कमेन्ट आएको सो पोस्ट अहिले फेसबुकमा छैन ।

बालेनले दुई दिनअघि एउटा स्ट्याटस लेख्दै एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको आरोप लगाइएको पोस्ट अहिले हटेको छ । प्रदेश सांसद शर्माको तस्बिर सहित राखेको स्ट्याटस किन र कसरी डिलिट भयो त ? भन्ने चासो छ ।

उक्त स्ट्याटसको एमाले कार्यकर्ताले प्रतिवाद गरेका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका छन् ।

एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले अर्को लामो स्ट्याटस लेखे । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् ।

सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआमा नभेटेको, उनीमाथि कुटपिट गरिएको, अत्यधिक श्रम गराइएको अवस्थामा महानगरले उद्धार गरेको उनको भनाइ छ ।

उच्च अदालतको अन्तिम फैसलाले शर्मामाथि अनुसन्धान गर्ने बाटो खोलेको बालेनले बताएका छन् ।

बालेनले लेखेका छन्, ‘प्रधानमन्त्री खडक प्रसाद ओलीज्यू तपाईँ आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’

मेयर साहका यी दुवै स्ट्याटस तत्कालै भाइरल भएका थिए । हजारौँले लाइक कमेन्ट र सेयर गरे । तर, अघिल्लो स्ट्याटस भने एकाएक उनको टाइमलाइनबाट गायब भएको छ ।

प्रदेश सांसद शर्माको तस्बिर सहित राखेको स्ट्याटस किन र कसरी डिलिट भयो त ? बालेन निकट स्रोतका अनुसार यो स्ट्याटसलाई फेसबुकले नै डिलिट गरिदिएको हो ।

एमाले कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि फेसबुकले डिलिट गरेको बालेन निकटकाको तर्क छ । एमालेका कार्यकर्ताहरू भने बालेनले गलत लेखेको र साइबर मुद्दा हाल्ने चेतावनीपछि उनी आफैँले पोस्ट डिलिट गरेको तर्क गरेका छन् ।

बालेनले यही स्ट्याटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाबाट भने स्ट्याटस हटेको छैन । यसैले बालेनले फेसबुकमा मात्र डिलिट गरेको उनीहरूको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register