भिडिओ: युवा विदेश गएपछि मलामीको अभाव, महिलाले काँध हालेपछि चारजनाले उठाए शव

यो कठिन घडीमा एक महिला मनमाया अधिकारीले हिम्मत देखाइन् । गाउँकै हिम्मतिली महिला बन्दै मनमायाले शव बोक्न अघि सरिन् । बल्ल चार जना भएपछि शव उठाउन सम्भव भयो ।

Sep 3, 2024 - 12:01
 0
भिडिओ: युवा विदेश गएपछि मलामीको अभाव, महिलाले काँध हालेपछि चारजनाले उठाए शव

काठमाडौं । आइतबार सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा तोश्रामखोला गाउँकी ६५ वर्षीया कृष्णमाया पहाडीको निधन भयो । गाउँभरि खबर फैलाइयो । मलामी जुटाउने प्रयास गरियो ।

अधिकांश युवा विदेश गएका थिए, केही काठमाडौंमा अवसरको खोजीमा थिए । गाउँमा रहेका ज्येष्ठ नागरिक, महिला र केटाकेटी मात्र थिए ।

तर, शव काँध हाल्न सक्ने युवा भेटिएनन् । शव बोक्न सक्ने मानिसको अभावले गर्दा केही घण्टासम्म शव उठाउन सकिएन ।

अन्तमा जम्मा तीन पुरुष मात्र उपस्थित भए । तर, समस्या झन् गम्भीर थियो । दाहसंस्कारको लागि लैजानुपर्ने घाट टाढा थियो । लामो बाटोमा शव बोक्ने मान्छेले काँध फेर्नुपर्ने स्थिति थियो । तीन जनाले मात्र डेढ घण्टा लामो यात्रामा शवलाई बोक्न असम्भव थियो ।

शव आफ्नै कुल वंशका १३ दिने दाजुभाइले बोक्नुपर्ने धार्मिक परम्पराको तर्क अघि सारियो । यदि कुल वंशका मानिस उपलब्ध थिएनन् भने मृतकको थर वा समुदाय मिल्नेले बोक्नुपर्ने चर्चा भयो । तर, पहाडी ब्राह्मण समुदायका मानिस तीन जनाभन्दा बढी उपस्थित हुन सकेनन् ।

अरू समुदायका मानिस मलामी हुन्छन् तर, शव बोक्न वा छुन नमिल्ने परम्पराको स्मरण भयो । यो तर्क जातीय छुवाछुतको मनसायको थिएन । मात्र चलिआएको संस्कृति र मृत्यु संस्कार परम्परा अनुसार थियो । तर, यही संस्कार मान्दा संकट आइलागेकोथियो ।

पहाडी अथात्, ब्राह्मण समुदायका मानिस तीनजनाबाट माथि भेटिएनन् । घाट टाढा भएकाले शव बोकेर पुर्‍याउन चाहिने सहयोगी हातहरूको कमी थियो ।

यो कठिन घडीमा एक महिला मनमाया अधिकारीले हिम्मत देखाइन् । गाउँकै हिम्मतिली महिला बन्दै मनमायाले शव बोक्न अघि सरिन् । बल्ल चार जना भएपछि शव उठाउन सम्भव भयो । मनमाया मृतककै समुदायकी थिइन् ।

कृष्णमायाको छोरा, वडाध्यक्ष, वडाध्यक्षका भाइ तोयानाथ र मनमायाले डेढ घण्टा लगाएर शवलाई वाक्सुखोलामा रहेको घाटसम्म पु–याए । गाउँभरका अरू मानिसहरू पछिपछि मलामी थिए । अन्तमा दाहसंस्कार गरियो ।

तीनपाटन गाउँमा चार सयभन्दा बढी घरधुरी रहेको भए पनि ७० घरमा मात्र बसोबास छ । तीमध्ये पनि क्षेत्री–ब्राह्मणका केवल ८ घर मात्र छन्, जसका पुरुषहरू प्रायः विदेश वा काठमाडौंमा बसोबास गर्छन् ।

फलस्वरूप शव बोक्न आफ्नै समुदायका मानिस पाउन मुस्किल हुने अवस्था सिर्जना भएको वडाध्यक्ष युवराज पहाडी बताउँछन् ।

वडाध्यक्ष पहाडीले भन्छन् ‘युवा विदेशतिर छन् । मर्दापर्दा काँध हाल्ने मान्छे छैनन् । मृत्यु संस्कारका केही नियमहरू समयअनुसार परिवर्तन गर्नुपर्ने देखियो ।’

यो घटनाले गहिरो सामाजिक समस्या उजागर गर्यो‍ । केही संस्कार र परम्पराले शव उठ्न नसक्ने अवस्था ल्यायो । गाउँलेहरूले यो घटना पछि मृत्यु संस्कारका केही नियमहरूका बारेमा गम्भीर पुनर्विचार गर्नुपर्ने समय आएको महसुस गरिरहेका छन् ।

उनीहरु भन्छन्, ‘पहिला गाउँमा जुनसुकै जात समुदायका मानिस घेरै हुन्थे । अहिले सबै घटेका छन् । गाउँ बिस्तारै रित्तिँदै गएकाले हाम्रा संस्कारका नियमहरू समय परिस्थिति अनुसार परिमार्जन गर्नुपर्ने देखिन्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register