रास्वपा नेतृको उजुरीका आधारमा पक्राउ पर्दै दुर्गा प्रसाईं, के हो कसूर ?

वारेन्ट जारी भएको २४ घण्टा बित्दा पनि प्रसाईं पक्राउ परेको छैनन् । संविधान दिवसको दिन भएकाले उनलाई पक्राउ नगरिएको स्रोतको भनाइ छ ।

Sep 19, 2024 - 13:36
 0
रास्वपा नेतृको उजुरीका आधारमा पक्राउ पर्दै दुर्गा प्रसाईं, के हो कसूर ?

काठमाडौं । भाइरलम्यान तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले निगरानी बढाएको छ ।

साइबर अपराध गरेको कसूरमा काठमाडौं जिल्ला अदालतले बुधबार प्रसाईंसहित ३ युट्यूबरलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि उनीहरूलाई पक्राउ गर्ने तयारी गरिएको छ ।

वारेन्ट जारी भएको २४ घण्टा बित्दा पनि प्रहरीले पक्राउ भने गरेको छैन । संविधान दिवसको दिन भएकाले प्रसाईंलाई झ पक्राउ नगरिएको स्रोतको भनाइ छ । स्रोत भन्छ, “पक्राउको उचित मेसो मिलाइँदैछ ।”

पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले लालबन्दी सर्लाहीमा आफूले बिहीबारका लागि तय गरेको र्‍याली र कार्यक्रम बिथोल्न सरकारले आफूविरुद्ध पक्राउ पुर्जी गरेको आरोप लगाएका छन् ।

आफ्नो पक्षको जनलहर देखेर कार्यक्रम बिथोल्न सरकारले आफूविरुद्ध षड्यन्त्र गरेको बताएका उनले बिहिबार विज्ञप्ति जारी गरेर सोही कुरा दोहोर्‍याएका छन् ।

बुधबार पत्रकार सम्मेलनमा गिरफ्तारी दिने बताएका उनले बिहीबार भने पक्राउ पुर्जी खारेजीको माग गरेका छन् । आफूले जनताको पक्षमा आवाज उठाएको कारण सरकारले पक्राउ गर्न खोजेको प्रसाईंको दाबी छ ।

प्रसाईंले चरित्र हत्या गरेको भन्दै यसअघि साइबर ब्यूरोमा उजुरी परेको थियो । सोहीअनुसार विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न पक्राउ पुर्जी जारी गरिएको बताइएको छ ।

के थियो प्रसाईंको कसूर ?

प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी हुनुको पछाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाको हात छ । उनैले प्रसाईंविरुद्ध जाहेरी दिएकी थिइन् ।

युट्यूब च्यानललाई अन्तर्वार्ता दिँदै प्रसाईंले सङ्ग्रौलामाथि आपत्तिजनक लाञ्छना लगाएका थिए । केही समयअघि कान्तिपुरको मास्टर हेड दुरुपयोग गर्दै एउटा ‘फेक न्यूज’ भाइरल बनाइएको थियो । ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला सङ्ग्रौला…’ भन्ने टाइटल राखेर उनको तस्वीरसहित फोटोशप गरिएको उक्त सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए ।

यसपछि गरिएको ‘फ्याक्ट चेक’बाट कान्तिपुरले यस्तो शीर्षकमा कहिल्यै समाचार नछापेको प्रमाणित भइसकेको छ । सोही विषयमा अन्तर्वार्ता लिने दुई युट्यूबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।

अन्तर्वार्तामा प्रसाईंले ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला…’ भनेका थिए ।

प्रसाईंविरुद्ध जाहेरी दिने रास्वपा नेतृ सङ्ग्रौलाले भने आफ्नो चरित्रहत्या गरेकाले जाहेरी दिएको बताएकी छन् ।  “खुलेआम चरित्र हत्या गरेर, वेश्या बनाएर, मानवताविरुद्ध अपराध गरेकाले पक्राउ पुर्जी जारी भएको हो । पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनुपर्छ, त्यो दुर्गा दाइलाई राम्रोसँग थाहा छ ।”

प्रसाईंले किन गरे ज्वालाको चरित्रहत्या ?

दुर्गा प्रसाईंले ज्वालालाई बदनाम गर्न खोज्नुको कारण हो— उनले सामाजिक सञ्जालमा राखेको एउटा भिडिओ ।

गत साउनमा ज्वालाले आफ्नो फेसबूकमा प्रसाईंले दुबईमा मृत्युदण्डबाट जोगाएर नेपाल फर्काएको भनिएका युवक पहलमान थापाका आफन्तको पत्रकार सम्मेलनको भिडिओ राखेकी थिइन् ।

ती युवकले पत्रकार सम्मेलन गर्दै आफ्नो जीवन रक्षामा दुर्गाले एक रुपैयाँ पनि सहयोग नगरेको बताएका थिए । तर, दुर्गा प्रसाईंले आफूले मृत्युदण्डबाट बचाएर युवकलाई स्वदेश ल्याएको दाबी गर्दै आएका छन् । वास्तवमा उनले झुटो प्रचार गरिरहेका थिए ।

त्यही विषयमा लेख्दा प्रसाईंले उद्धार गरेको भनेर फेसबूकतिर बधाई खाइरहेका थिए । त्यसबारे ज्वालाले भण्डाफोर गरेपछि प्रसाईंले ज्वालाको चरित्रहत्या गरेका थिए ।

प्रसाईंका कारण आफ्नो चरित्र हत्या भएको र मानप्रतिष्ठामा गम्भीर चोट परेको भन्दै उजुरी दिएपछि ब्यूरोले निगरानी बढाएको हो ।

कहिले पक्राउ पर्लान् प्रसाईं

पक्राउ अनुमति माग्ने प्रहरीको साइबर ब्यूरोले भने पक्राउ गर्ने विषयमा अनविज्ञता प्रकट गरेको छ । प्रवक्ता एसपी दीपकराज अवस्थी पक्राउ पुर्जीबारे आफूलाई केही जानकारी नभएको बताउँछन् ।

“दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको मेरो जानकारीमा छैन । यो विषय कसरी बाहिर आयो । अनुसन्धानको विषयमा हामीले पक्राउ पुर्जी जारी भयो भन्न नै मिल्दैन । सोधपुछका लागि बोलाउँदा आउनुभएन भने हामीले नियन्त्रणमा लिनुपर्ने पनि हुन सक्छ तर, अहिले यो मेरो नलेजमा छैन ।”

अरू के-के छन् प्रसाईंविरुद्ध मुद्दा ?

हातहतियार मुद्दा विचाराधीन रहेकै बेलामा प्रसाईंविरुद्ध अर्काे साइबर क्राइम मुद्दा पनि थपिएको छ । तर, उनी पक्राउ परेमा अरू मुद्दाको समेत चाङ लाग्ने देखिन्छ ।

केही महिनाअघि उनका दुई निजी सुरक्षागार्ड हतियारसहित सर्वोच्च अदालत छिर्ने क्रममा पक्राउ परेका थिए । उनले लाइसेन्स लिएको देखिए पनि हतियार भने त्योअनुसारका थिएनन् ।

आफूलाई जनताको सेवक भन्न रुचाउने उनको समूहले कालोमोसो दलेको भन्दै एकजना पूर्वडीएसपीले समेत उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा हालेका छन् ।

केही व्यापारीले समेत प्रसाईंविरुद्ध चरित्र हत्याको उजुरी दिनसक्ने बताइएको छ । प्रसाईंले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा ‘माडबाडी’ भनेर व्यवसायीको नामै लिँदै विभिन्न आरोप लगाउने गर्थे ।

त्यसो त प्रसाईं आफैँ युट्यूबर बोकेर हिँड्छन् । समुदायले फर्काएको युवक (पहलमान मगर) लाई उद्धार गरेर ल्याएँ भन्दै उनी जस लिन अगाडि सर्छन् । यस्तै फन्डा गरेर प्रसाईंले सामाजिक सञ्जालमा केही भुइँमान्छेका समर्थन पाउन सफल भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register