‘अन्तर्घात’ लाई लिएर कांग्रेसमा देउवा र खड्काको एउटै स्वर

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित समयमै भयो भने २०८२ को मंसिरमा सम्पन्न हुनेछ । विधानको सुविधालाई आधार बनाएर सर्‍यो भने २०८३ को मंसिरमा हुनेछ । पार्टीको महाधिवेशन आउन अझैं केही समय बाँकी रहे पनि भावी नेतृत्वको विषयलाई लिएर भने कांग्रेसमा बहस सुरू भइसकेको छ । कांग्रेसको भावी नेतृत्वलाई लिएर उसका परम्परागत समूहहरूमा व्यापक […]

Feb 3, 2025 - 12:51
 0
‘अन्तर्घात’ लाई लिएर कांग्रेसमा देउवा र खड्काको एउटै स्वर

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित समयमै भयो भने २०८२ को मंसिरमा सम्पन्न हुनेछ । विधानको सुविधालाई आधार बनाएर सर्‍यो भने २०८३ को मंसिरमा हुनेछ ।

पार्टीको महाधिवेशन आउन अझैं केही समय बाँकी रहे पनि भावी नेतृत्वको विषयलाई लिएर भने कांग्रेसमा बहस सुरू भइसकेको छ । कांग्रेसको भावी नेतृत्वलाई लिएर उसका परम्परागत समूहहरूमा व्यापक हेरफेरको सम्भावना बढ्दै गएको देखिन्छ ।

त्यसको कारण हो कुनै अप्रत्याशित कदम नउठाएको खण्डमा १५औँ महाधिवेशनमा शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुने छैनन् । विधानले तेस्रो कार्यकालको परिकल्पना नगरेको र देउवा आफैंले पनि उम्मेदवार नबन्ने घोषणा गरिसकेकाले कांग्रेसको भावी नेतृत्वमा नयाँ अनुहार आउने निश्चितजस्तै छ । यस्तो अवस्थामा भावी नेतृत्वलाई मध्यनजर गर्दै कांग्रेसका परम्परागत समूहहरू नयाँ समीकरण बनाउन लागेको देखिन्छ । यसैको असर १४औं महाधिवेशनमा देउवालाई साथ दिएका उपसभापति पूर्णबहादुर खड्का पनि सभापतिको उम्मेदवार बन्ने कसरत गरिरहेका छन् । तर कांग्रेस कार्यकर्तामाझ पछिल्लो समय देउवा र खड्काबीचको सम्बन्ध पहिलेजस्तै नरहेको चर्चा चल्न थालेको छ ।

तर लामो समयपछि सभापति देउवा र उपसभापति खड्का सोमबार एउटै मञ्चमा देखा परे र उस्तै अर्थ लाग्ने अभिव्यक्ति दिए । यसलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले पार्टी एकताबद्ध भएर अगाडि बढे पार्टीले एकल बहुमत ल्याउनसक्ने बताए ।

सभापति देउवाले सहज नभए पनि एक भएर हिँडे बहुमत ल्याउन सकिने विश्वास व्यक्त गरे । ‘कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ । हामीले तैपनि सबैभन्दा ठूलो पार्टी बनाएका छौं । भोलिका दिनमा बहुमत ल्याउन सकिन्छ । त्यसकारण भोलिका नेताहरु, जसले यो पार्टीलाई हाक्नुपर्नेछ, बनाउनुपर्नेछ, उहाँको काँधमा ठूलो जिम्मेवारी आएको छ,’ देउवाले भने, ‘पार्टीमा एकता जरुरी छ । सबैलाई साथ लिएर हिँड्न जरुरी छ । चुनौतीको सामना गर्न पनि एक हुनुपर्छ ।’

देउवाले अन्तरघातका कारण पार्टीले समस्या भोग्नु परेको भन्दै संविधानमा समावेशी समानुपातिक व्यवस्था भएकाले एकताबद्ध भएर अघि बढे सबभन्दा ठूलो पार्टी बन्ने बताए ।

‘अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन  गरेका छौँ, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ,’ उनले भने, ‘तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौँ । अझ पार्टीका सबै साथीहरूबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ।’

सोही कार्यक्रमलाई सम्बोधन गरेका कांग्रेस उपसभापति खड्काले पार्टीका नेताहरूलाई सार्वजनिक मञ्चमा विवादका कुराहरू नगर्न आग्रह गरे । ‘मञ्चमा कांग्रेसका नेताहरूले दोहोरी बन्द गर्नुपर्छ । मञ्चमा एकता, कोठाभित्र बहस छलफल गरौं । एकताबद्ध भएर अघि बढौं,’ खड्काले भने, ‘०८१ को अभियान चलाऔं, ०८२ को अभियान चलाऔं, ०८३ को अभियान चलाऔं, तीन वर्षको अभियानपछि ०८४ को आम अभियानमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन । रोक्यो भने कांग्रेसको वर्षौँदेखि अपराधपूर्ण अन्तर्घातले रोक्छ ।‘

उनले अन्तरघात कांग्रेसको महारोग भएको भन्दै यसलाई समाधान गर्न सके कांग्रेसले एकल बहुमत ल्याउनसक्ने दाबी गरे । खड्काले ०७९ सालको चुनावमा अरूसँग गठबन्धन गरे पनि पार्टीभित्रकै अन्तरघातको कारणले प्रदेशमा ४० र संघमा ३० सीट हारेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register