सूर्यज्योतिमा बीमा गर्नेलाई उल्टै दुःख, सकेसम्म दिँदैन दाबी ! ‘सुशासनको धोती खुस्कियो !’ (भिडियो ब्रिफिङ)

काठमाडौँ । के तपाईंले सूर्य ज्योति लाइफ इन्स्योरेन्समा बीमा गर्नुभएको छ ? छ भने आज तपाईंका लागि शुभ खबर छैन । तपाईंलाई केहि भईहाल्यो भने भरथेग गर्छु भनेको कम्पनीले तपाईंलाई बीमा दाबी रकम सजिलै दिनेवाला छैन । तपाईंले कम्पनीले दाबी दिएन भनेर बीमा प्राधिकरण गुहार्नुपर्ने हुनसक्छ । प्राधिकरणले दाबी भुक्तानीको कागज पुग्छ, भुक्तानी देऊ भन्यो […]

Feb 9, 2025 - 04:24
 0
सूर्यज्योतिमा बीमा गर्नेलाई उल्टै दुःख, सकेसम्म दिँदैन दाबी ! ‘सुशासनको धोती खुस्कियो !’ (भिडियो ब्रिफिङ)

काठमाडौँ । के तपाईंले सूर्य ज्योति लाइफ इन्स्योरेन्समा बीमा गर्नुभएको छ ? छ भने आज तपाईंका लागि शुभ खबर छैन । तपाईंलाई केहि भईहाल्यो भने भरथेग गर्छु भनेको कम्पनीले तपाईंलाई बीमा दाबी रकम सजिलै दिनेवाला छैन । तपाईंले कम्पनीले दाबी दिएन भनेर बीमा प्राधिकरण गुहार्नुपर्ने हुनसक्छ । प्राधिकरणले दाबी भुक्तानीको कागज पुग्छ, भुक्तानी देऊ भन्यो भनेपनि कम्पनी बरु अदालत जान्छ, तपाईंलाई भुक्तानी दिनेवाला छैन । अदालतले भनेपछि बल्ल उसले भुक्तानी दिनेछ । यसको मतलव, सूर्यज्योतिमा बीमा गर्नु अगाडि तपाईंले प्रिमियम रकमको मात्र होइन, प्राधिकरण जाने समय, अदालत जाने समय, बाटो खर्च, वकिलको फिससमेत जगेडा राख्नुपर्ने हुनसक्छ ।अनि, के तपाईं सूर्य ज्योति लाइफमा बीमा गर्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने आजको यो कार्यक्रम तपाईंकै लागि हुन सक्छ । सूर्यज्योति कस्तो कम्पनी हो र बीमितलाई कुन हदसम्मको दुःख यो कम्पनीले दिन्छ भन्ने तथ्य आज तपाईंले सुन्नैपर्छ । अनि, के तपाईं आफूलाई सूर्यज्योति लाइफको इमान्दार कर्मचारी सोच्नुहुन्छ ? त्यसो हो भने आज तपाईंले छातीमा हात राखेर, मुटुमा इमान सम्झेर यो कार्यक्रम हेर्नुपर्छ । एउटा पीडीतलाई आफ्नो कम्पनीले कुन हदसम्म दुख दिएको रहेछ भन्ने तथ्य तपाईंले बुझ्न आवश्यक छ ।

नेपालीहरु बीमा विशेषतः २ कारणले गर्छन्, एउटा बुझेरै बीमा गर्नुपर्छ भन्ने बुझेर । अर्को नजिकका आफन्त, काका, काकी, मामा माइजू, भतिज भतीजीहरु अभिकर्ता भएपछि उनीहरुको फलोअप र किचकिच सहन नसकेर लौ न त गर्दिउं भनेर । अरुका कुरा सुनेर बीमा गर्नेहरुले त एक दुई किस्ता प्रिमियम तिरेपछि सरेण्डर गरि नै हाल्छन्, बुझेरै गरेको बीमाको रकम पाउन पनि सूर्यज्योति लाइफ इन्स्योरेन्समा भने पिताजीको बिहे देखेजसरी तनावमा परिरहेका छन् बिमीतहरु । र आज हामी सूर्य लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले कुन हदसम्मको पीडा पाउँछन् भन्ने तथ्य देखाउँदैछौँ ।     

भक्तपुरका अंगद खड्काले सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमा गरेका थिए । हुन त कुनै घातक रोग लाग्ला भनेर उनले बीमा गरेका थिएनन् । कसैले त्यसो सोचेर बीमा गर्दा पनि गर्दैनन् । तर रोग भनेको आखिर रोग न हो । दिन बिग्रिएपछि कसको के लाग्छ, उनलाई पनि घातक रोग लाग्यो । उनलाई घातक रोग लागेकै समयमा बीमाले भरथेग गर्नुपर्ने थियो, बीमा कम्पनी भएको नाताले जिम्मेवारी र इमान प्रस्तुत गर्नुपर्ने थियो । तर अहँ, ज्योतिलाइफ इन्स्योरेन्समा त्यस्तो भएन ।

आफुले गरेको बीमा रकम दाबी गर्दा कम्पनीले बीमा दाबी त दिएन नै उल्टै दिनुसम्म दुख दियो । सुरुमा कम्पनीका एजेन्टले बीमाका फाइदाबारे राम्रै पढाएका थिए, राम्रै आश्वासन देखाएका थिए । खड्काले पनि एजेन्टले भनेअनुसार नै बीमा गरे । तर, जब उनी थला परे, तीन वर्षसम्म कम्पनीले दाबी भुक्तानी दिएन ।

प्रिमियम लिने, अनि परेपछि दाबी भुक्तानी नदिने सूर्य ज्योतिको रबैयाको हद भएपछी पीडीत अंगद खड्का नियामक नेपाल बीमा प्राधिकरण पुगे । प्राधिकरणले केस हेर्यो, विवरण हेर्यो, कागज हेर्यो, मनसाय हेर्यो, सबै हेर्यो । सबै हेरेपछि बीमा प्राधिकरणलेसमेत खड्कालाई सूर्यज्योति लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी दिनुपर्ने ठहर गर्यो । यति भएपछि त खड्काले बीमाको रकम पाउनुपर्ने थियो । तर बीमाको रकम तिर्नुभन्दा सूर्य लाइफ इन्स्योरेन्स बीमाको दाबी तिर्दैनौं भनेर उल्टै प्राधिकरणलाईसमेत विपक्षी बनाएर अदालत गयो । अदालतले पनि कागज हेर्यो, विवरण हेर्यो, मनसाय हेर्यो सबै हेर्यो । सबै हेर्दा खड्काले बीमा दाबी रकम पाउनुपर्ने ठहर गर्दै आदेश दियो । अन्ततः खड्काले बीमा रकम त पाए, तर सजिलै पाउनुपर्ने रकम पाउन उनले प्राधिकरण हुँदै अदालतमा तारेख धाउनुपर्यो । अव घातक रोग लागेको शरीर बोकेर उनले त अदालत नै भए पनि धाउँछु भनेर अठोट गरे । सोच्नुस त, कम्पनीले दिन मिल्दैन भनेपछि त्यतिकै छोडिदिने कति होलान् ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट पीडीत बनेका व्यक्ति अंगद खड्का मात्र होइन, थुप्रै छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सले यसरी बीमा दाबी भुक्तानी नगरेका र गर्न मिल्दैन भनेका, प्राधिकरणको दिनु भन्ने निर्णय हुँदा पनि दिन्नौं भनेर अटेरी गर्ने अरु केस कति होलान् ? के अव सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमा गर्नु अघि प्राधिकरण जाने समय, अदालत जाने बाटो खर्च, वकिलको खर्च, सबै पहिला नै जुटाउनुपर्ने हो ?  प्राधिकरणमा पनि उजुरीका चाङ्ग छन् । तर बिचरा प्राधिकरण, सूर्य ज्योतिले आफुले भनेको माने पो ! उल्टै अदालत जान्छ, बिमितलाई दुख दिन्छ । बरु रवि लामिछानेलाई युवराज सफलले छोड्लान, बिमितलाई पैसा नदिन पाउँ भनेर सूर्यज्योति लाइफ अदालत धाउन छोड्दैन । अनि के गरुन् बिचरा विमितहरु ?   

कुनै बेलाको ज्योति लाइफ इन्स्योरेन्स र सूर्यलाइफ इन्स्योरेन्स मिलेर बनेको कम्पनी हो सूर्य ज्योति लाइफ इन्स्योरेन्स । ज्योति लाइफ इन्स्योरेन्स त्यहि कर्मचारी हो, जसका कारिन्दा नक्कली सर्टिफिकेट काण्डमा फसेका थिए । अनि सूर्य लाइफ इन्स्योरेन्स त्यहि कम्पनी हो, जसले कम्पनीको नाम नै दुरुपयोग गरेर, रासिद छापेर देउसीका नाममा जनताबाट चन्दा उठाउँथे । सूर्यज्योति लाइफ इन्स्योरेन्सका अन्य हर्कतका नालीबेली यो छोटो कार्यक्रममा भनेर सकिंदैन । सूर्यज्योतिले दिएको दुख र उसले गरेका मनपरीका कहानी सुनाउने हो भने हामीलाई बटुल्न १ महिना लात्ग्छ, तपाईंलाई सुन्न १ हप्ता लाग्ला । अहिले त्यतातिर नलागौँ, तर केही प्रतिनिधि उदाहरण पक्कै दिनुपर्नेछ तपाईंलाई र भन्नुपर्ने र नियामक प्राधिकरणलाई, प्राधिकरणले भनेको नमान्ने, बिमितलाई समयमा बीमा दाबी भुक्तानी नदिनेलाई किन बीमाको कारोबार गरिरहन दिने ?   

अव एकछिन बीमितले पाएको पीडाको कुरा छोडेर सूर्यज्योति लाइफ इन्स्योरेन्स कसरी आफ्ना मान्छे भर्ती गर्ने केन्द्र बनिरहेको छ भन्ने तथ्य पनि हेरौँ । हाम्रो देश नै यस्तो छ, खेतबारीमा मनसुनको भर, जागिर खान भनसुनको भर । जनताका छोराछोरीलाई फलानो पढेको हुनुपर्छ, यति नम्बर ल्याएको हुनुपर्छ, अझ यति अनुभव भएको हुनुपर्छ भन्ने सूर्य ज्योति लाइफ इन्स्योरेन्सले आफ्ना मान्छेलाई त पढाई नै नपुगे पनि जागिरमा राख्ने रहेछ ।  कम्पनीमा आफ्ना मामा, अंकल, भिनाजु, काका, सानिमा, दाई वा यस्तै अरु नाता पर्ने कोही छैनन् भने त जागिर पाउनु त टाढाको कुरा दिएको आवेदन पनि हेर्दैनन् कम्पनीमा हाकिमहरु । नजिकको, चिनेको वा नाता पर्ने भए न योग्यता चाहिन्छ न त अनुभव । यो फेरी हामीले भनेको होइन, स्वयम् बीमा प्राधिकरणको अनुगमनमा देखिएको हो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्समा कर्मचारी नियुक्तिमा व्यापक चलखेल भएको सूचना पाएपछि प्राधिकरणले अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्राधिकरणले कम्पनीले संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को धज्जी उडाउँदै ब्रान्च मेनेजर, एरिया सेल्स मेनेजर र अफिसर पदमा शैक्षिक योग्यता र अनुभव नपुगेकालाई नियुक्ति दिएको फेला पारेको छ । प्राधिकरणका अधिकारीका अनुसार ब्रान्च मेनेजर, एरिया सेल्स मेनेजर र अफिसर पदका लागि शैक्षिक योग्यता स्नातक तह उतीर्ण गरेको हुनुपर्छ । तर, कम्पनीले प्लस टू मात्रै पास गरेकाहरुलाई अफिसरमा नियुक्ति दिएको छ । अझ त्यति मात्र होइन, कम्पनीले जागिरमा नियुक्त गरिसकेका केहीलाई अझै पनि नियुक्ति पत्र नदिएको र उनीहरुको शैक्षिक योग्यताको प्रमाण पत्र पनि पेश नगरेको तथ्य पनि प्राधिकरणले फेला पारेको छ । हुन त शैक्षिक योग्यता भए पो प्रमाण पत्र पेश गर्नु भने जस्तो पो हो कि ! खैर, सूर्यज्योति लाइफमा यस्तो चलिरहन्छ, जुन चल्नु हुँदैन, हुँदै हुँदैन ।

सूर्यज्योतिमा यस्तै जथाभावी भएर हुन सक्छ, डेपुटी सीइओ पवन खड्काले कम्पनी छोडेका छन् । प्रिमियम लिने, दाबी भुक्तानी नदिने पाप आफूलाई पनि लाग्न सक्छ कि भनेर हो कि धेरै राम्रा अभिकर्ताले, कर्मचारीले अझ कतिपय प्रदेशमा त प्रमुखले नै कम्पनी छोडेको । राम्रा कर्मचारीले मात्र होइन, सूर्यज्योति लाइफमा बीमा गरेका बिमितहरुले भकाभक पोलिसी सरेन्डर गरिरहेका छन् । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म) सूर्यज्योति लाइफ इन्स्योरेन्समा २ हजार ४ सय ८८ जनाले ३२ करोड ६४ लाख रुपैयाँ रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । यीमध्ये धेरैले सूर्यज्योतिबाट आफु ठगिएको र ठगिने महसुस गरेर नै पोलिसी सरेन्डर गरेका छन् । कतिपयले त अदालत जाने, प्राधिकरण धाउने समय र पैसा नहुन सक्छ भनेर सूर्यज्योतिको विकल्प खोजेका छन् । र पनि के गर्नु, बीमितको पैसा तिर्दिन भन्ने हाकिम छन्, कर्मचारी धेरै हाकिमका आसेपासे र योग्यता नै नपुगेका छन्, अभिकर्ता कम्पनीको पारा देखेर हैरान छन्, राम्रा कर्मचारीले कम्पनी छोडेका छोड्यै छन्, अनि मिडियामा कम्पनीका हर्कत छताछुल्ल भएपछि कम्पनी आफु सुध्रनुको सट्टा बीमितलाई गुण्डाजस्तो लाग्ने, दुख बिसाउन गयो, जुँगा मटारेर उल्टै थर्काएर फर्काउने, व्यक्ति लगाएर आफ्ना पकेटका मिडियामा नियम मिचेर खण्डन गर्ने जागिर खाईरहेका छन् । अनि बिचरो प्राधिकरणको के कुरा गर्नु ? कहिलेकाहीं त प्राधिकरणलाई नै लाग्दो हो, हामीले सूर्यज्योतिलाई नियमन गर्ने हो कि सूर्यज्योतिले प्राधिकरणलाई । प्राधिकरणले सूर्यज्योतिलाई निर्देशन दिने हो कि प्राधिकरणलाई सूर्यज्योतिले । खै के खै के । त्यतिकै प्राधिकरणको जागिर कमजोर नियामकमा बसेर घाम ताप्ने मेलो कहाँ भएको हो र ?       

हामीले सूर्यज्योति लाइफ इन्स्योरेन्स खत्तम छ, यहाँ बीमा गर्नु नै हुँदैन, यो कम्पनी एक नम्बरको फटाहा छ, प्रिमियम धुत्छ, पीडा थुपार्छ मात्र, भन्न खोजेको होइन, सबै कर्मचारी आसेपासेकै गोडा मोलेर जागिर खाएका छन् भनेको त झनै होइन, सूर्यज्योतिमा केही राम्रा, अब्बल र इमानदार कर्मचारी पनि छन्, धेरै इमानदार अभिकर्ता पनि छन्, केहिको बीमा रकम बेलैमा दिएको पनि छ यो कम्पनीले । तर बीमा गर्ने एकले दुख पाउँदा त्यसको असर बीमा क्षेत्र प्रति नै हुन्छ । बीमा सचेतनाले यस्तै घटनाका कारण हावा खान्छ । अनि सूर्यज्योतिले गरेको जस्तो रबैयाले बीमितको भुक्तानीको टुंगो प्राधिकरणले समेत गर्दैन, अदालत धाउन तयार हुनुपर्छ बिमित भन्ने भाष्यलाई झन् बल दिन्छ । (भिडियो)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register