पाटन अस्पतालले बीमा नियमावली नमान्दा रोकियो नवजात शिशुको उपचार 

काठमाडौं । पाटन अस्पतालले स्वास्थ्य बीमा सुविधा प्रयोग गरी उपचार गर्न नमान्दा दुई दिने नवजात शिशुको उपचार रोकिएको छ । स्वास्थ्य बीमासम्बन्धी नियमावलीअनुसार अस्पतालले आमाको नाममा रहेको बीमाबाट नवजात शिशुको उपचार गर्नुपर्ने ऐन छ । तर, पाटन अस्पतालका बीमासम्बन्धी विभाग प्रमुख प्रकाश थापा र प्रशासनमा कार्यरत तीर्थ भुजेलले सोझै यी नियमावलीलाई  अस्वीकार गरेपछि उपचार रोकिएको नवजात […]

Feb 12, 2025 - 14:39
 0
पाटन अस्पतालले बीमा नियमावली नमान्दा रोकियो नवजात शिशुको उपचार 

काठमाडौं । पाटन अस्पतालले स्वास्थ्य बीमा सुविधा प्रयोग गरी उपचार गर्न नमान्दा दुई दिने नवजात शिशुको उपचार रोकिएको छ ।

स्वास्थ्य बीमासम्बन्धी नियमावलीअनुसार अस्पतालले आमाको नाममा रहेको बीमाबाट नवजात शिशुको उपचार गर्नुपर्ने ऐन छ । तर, पाटन अस्पतालका बीमासम्बन्धी विभाग प्रमुख प्रकाश थापा र प्रशासनमा कार्यरत तीर्थ भुजेलले सोझै यी नियमावलीलाई  अस्वीकार गरेपछि उपचार रोकिएको नवजात शिशुका बुवा सुरज आचार्यले बताए ।

स्वास्थ्य बीमासम्बन्धी नियमावली २०७५ ले नवजात शिशुको उपचार नविकरण नगरेसम्म बिमितको सदस्यता बहाल रहने अवधिसम्म उपचार गर्नुपर्ने भनेको छ ।

नियमावलीको परिच्छेद ४ को नियम १७ को उपनियम ३ मा भनिएको छ, ‘कुनै बिमितको सदस्यता सक्रिय रहेको अवधिभित्र शिशु जन्मिएमा नवजात शिशुलाई बिमितको सदस्यता बहाल रहने अवधिसम्मको लागि थप योगदान रकम नलिई सेवा प्रदान गर्नु पर्नेछ ।’ तर, पाटन अस्पतालको अटेरीपनले एक नवजात शिशु उपचारबाट वञ्चित भएका छन् ।

घटना के थियो ?

सुत्केरी व्यथाले च्यापेपछि रश्मि सापकोटा गत शुक्रबार राती १० बजे पाटन अस्पतालमा भर्ना भइन् । गर्भवती भएदेखि नै उनी नियमित चेकअपको लागि पाटन अस्पताल जाने गरेको उनका श्रीमान्  सुरज बताउँछन् ।

सुरजका अनुसार रश्मिको शनिबार बिहान ८ बजे सामान्य डेलिभरी भएको थियो । तर, आमाको दूध नआएपछि बच्चा भोकायो । सुरज भन्छन्, ‘आमाको दूध आएन, बच्चा भोकाएर रुन थाल्यो । बच्चालाई ज्वरो आएपछि डाक्टरहरूले डिस्चार्ज नगर्न सुझाव दिनुभयो ।’

डाक्टरले सुरजसँग बच्चालाई ज्वरो आएको भन्दै नर्सरीमा सिफ्ट गरेर उपचार गर्नुपर्छ भनेका उनको भनाइ छ । त्यसका लागि प्रशासनमा जाँदा भर्नाका लागि पैसा डिपोजिट गर्न भनियो । सुरजले बीमा नियमावलीअनुसार आमाकै बीमाबाट भर्ना गराई पाउँ भन्दै अस्पताल प्रशासनलाई प्रस्ताव गरे । तर, उनको प्रस्ताव सोझै अस्वीकार भयो ।

सुरज भन्छन्, ‘मैले नियमअनुसार आमाको स्वास्थ्य बीमाबाटै नवजात बच्चाको उपचार हुन्छ भन्दा उहाँहरूले मान्नुभएन,’ उनले थपे, ‘मैले नियमावलीमा भएको अधिकार नपाउने हो भने कारण खुलाएर पेइङमा भर्ना गर्नुपर्छ भन्दा पनि उहाँहरूले आमाको बीमाबाट बच्चाको उपचार गर्न मिल्दैन भन्नुभयो ।’

नियमसंवत शिशुको उपचार गराउनुको सट्टा सुरजलाई बीमासम्बन्धि विभाग प्रमुख प्रकाश थापाले नै अस्पतालको नियम चित्त नबुझे बीमा बोर्डमा गएर निवेदन दिनु भनेको उनले नेपालभ्युजलाई जानकारी दिए ।

निरीह बन्यो स्वास्थ्य बीमा बोर्ड

सुरज आफ्नो समस्या जस्ताको तस्तै लिएर स्वास्थ्य बीमा बोर्ड पुगे । तर त्यहाँ पनि उनको समस्या सम्बोधन भएन । उल्टै, बोर्डबाट केही गर्न नसकिने बरु पाटन अस्पतालबाट डिस्चार्ज भएर अर्को अस्पताल सर्नु भन्ने गैर जिम्मेवार जवाफ सुरजले पाए ।

‘सूचना अधिकारी विकेश मल्लले यस विषयमा केही गर्न सक्दैनौँ बरु कान्ति बाल अस्पताल जानुहोस् त्यहाँ हामी भनिदिन्छौं भन्नुभयो,’ सुरजले सुनाए ।

पाटन अस्पतालका प्रशासन प्रमुख भुजेल बोर्डको फितलो नियमकै कारण आफूहरूले सेवाग्राहीलाई सेवा दिन नसकेको बताउँछन् । स्वास्थ्य बीमा बोर्डले बिमीत आमाबाट जन्मने नवजात शिशुलाई बिमितको सूचीमा राखिने नियम नबनाएको कारण यो समस्या आएको प्रमुख भुजेलको भनाइ छ ।

‘बिमीत व्यक्तिलाई बोर्डले कार्ड दिन्छ र उ लिस्टेड हुन्छ तर, नवजात शिशु लिस्टेड हुँदैन । समस्या यहीँ छ । लिस्टेड नभएकोलाई बीमा सुविधा दिनु हाम्रो सिस्टमले दिँदैन,’  अस्पतालका प्रशासन प्रमुख भुजेलले भने ।

बिमीत व्यक्तिकै भुक्तानी लिन बोर्डले निकै झुलाउने भएकाले सूचीमै नभएकाको भुक्तानी बोर्डले कुनै हालतमा नदिने भएकाले नवजात बच्चा यो सेवाबाट वञ्चित भएको उनको प्रष्टीकरण छ ।

उनी भन्छन्, ‘उहाँको बच्चालाई बीमाबाट उपचार गराउँदा भोलि आफैंले पैसा तिर्नपर्छ भनेर कर्मचारीहरू मान्नुभएन ।’ अस्पताल प्रमुख भुजेल बोर्डलाई यस विषयमा पटकपटक ध्यानाकर्षण गराए पनि चासो नदेखाएको भन्दै गुनासो गरे ।

‘यस्तो समस्या आइरहेको छ, यसको समाधान निकाल्न पर्याे भनेर बीमा बोर्डको अध्यक्षलाई पटकपटक भनेँ । उहाँले हुन्छ, हुन्छ गरिहालौँ भन्नुभयो तर, काम गर्नुभएन । अहिले त उहाँको कार्यकाल नै सकियो,’ उनले भने ।

सुरजले हाल बोर्डमा निवेदन त दिएका छन् तर, खर्चको अभावमा उनको बच्चाको भर्ना भएको छैन । सुरज भन्छन्, ‘ऋण, सापट मागेर बच्चाको चेकजाँच भने गराइराखेको छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register