मलेसियाका राजदूतको चर्तिकला, आफैँले तय गरेको कार्यक्रम स्थगित गर्न पठाउँछन् पत्र, छैन श्रमिकको वास्ता

काठमाडौं । मलेसियाको राजदूत नियुक्त भएका डा. नेत्रप्रसाद तिम्सिना कार्यकालको सुरुमै विवादमा पर्न थालेका छन् । रेडक्रसको अध्यक्ष हुँदाहुँदै राजदूत बनाउन नमिल्ने भनी उजुरी परेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा नियुक्त भएका उनले मलेसियामा श्रमिकको हकहितभन्दा अन्यत्रै ध्यान दिने गरेको आरोप लाग्ने गरेको छ ।   श्रमिकको अवस्था लगायतका विषयलाई बेवास्ता गर्ने गरेका राजदूत तिम्सिना आफूलाई […]

Feb 20, 2025 - 11:59
 0
मलेसियाका राजदूतको चर्तिकला, आफैँले तय गरेको कार्यक्रम स्थगित गर्न पठाउँछन् पत्र, छैन श्रमिकको वास्ता

काठमाडौं । मलेसियाको राजदूत नियुक्त भएका डा. नेत्रप्रसाद तिम्सिना कार्यकालको सुरुमै विवादमा पर्न थालेका छन् ।

रेडक्रसको अध्यक्ष हुँदाहुँदै राजदूत बनाउन नमिल्ने भनी उजुरी परेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा नियुक्त भएका उनले मलेसियामा श्रमिकको हकहितभन्दा अन्यत्रै ध्यान दिने गरेको आरोप लाग्ने गरेको छ ।  

श्रमिकको अवस्था लगायतका विषयलाई बेवास्ता गर्ने गरेका राजदूत तिम्सिना आफूलाई फाइदा हुने कार्यक्रममा मात्रै सहभागी हुने गरेका छन् । 

यो साता आयोजित गैरआवासीय नेपाली सङ्घ मलेसियाको कार्यक्रममा उनी अन्तिम समयमा उपस्थित भएनन् । बरु पत्र पठाएर कार्यक्रम नै स्थगित गर्न लगाए । 

सङ्घको नेतृत्वले पहिले राजदूतसँग परामर्श गरेर यही फेब्रुअरी १६ तारिख आइतबारका दिन राजदूतको स्वागत र नेपाली श्रमिकका अवस्थाबारे अन्तरक्रिया राखेको थियो । तर, सबै तयारी पुरा भइसकेपछि राजदूत तिम्सिनाले ‘आफू आउन नसक्ने भएकाले कार्यक्रम स्थगित गर्नु’ भन्दै पत्र पठाए ।

एनआरएनए समन्वय परिषद् मलेसियाले विज्ञप्ति नै निकालेर अन्तिम समयमा राजदूतले आउन नसक्ने बताउँदा निराश भएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजदूतज्यूकै सल्लाह र खाली समयअनुसार कार्यक्रमको मिति, समय र स्थान तय गरियो, होटलमा बुकिङ गरियो, सहभागीलाई निमन्त्रणा पठाइयो, ब्यानर तथा पोस्टर तयार गरेर प्रचारप्रसार पनि गरियो । तर, कार्यक्रमको सम्पूर्ण तयारी भइसकेपछि राजदूतज्यूले व्यस्तताको कारण आउन नसक्ने भनेर पत्र पठाउनुभयो । यसले हामीमात्रै होइन मलेसियामा रहेका सबै नेपाली समुदायलाई निराश बनाएको छ । ‘

राजदूत तिम्सिनाले सुरुवातदेखि नै एनआरएनए मलेसियालाई बेवास्ता र उपेक्षा गर्ने गरेको धेरैको गुनासो छ । पहिले आफैँले सहमति दिएर कार्यक्रमको सबै तयारी पुरा भइसकेपछि अन्तिम समयमा स्थगित गर्न लगाएपछि राजदूत तिम्सिनाविरुद्ध अहिले नेपाली समुदायमा आक्रोश देखिन्छ ।

मलेसियामा रहेका नेपाली श्रमिकका नेताहरूले पनि राजदूत तिम्सिना आफूलाई फाइदा हुने कार्यक्रममा राति अबेरसम्म लट्ठ परेर नाच्दै बस्ने तर, आवश्यक कार्यक्रममा भने यसैगरी अनुपस्थित हुने गरेको आरोप लगाएका छन् ।

एनआरएनए मलेसियाले स्थगित भएको कार्यक्रम राजदूतको स्वागतका लागि मात्र नभएर श्रमिकको अवस्था, नेपाल मलेसिया सम्बन्ध, भावी योजना लगायतका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसर पनि रहेको जनाउँदै आगामी दिनमा राजदूतबाट यस्तो नदोहोरिने विश्वास व्यक्त गरेको छ । 

कूटनीतिक क्षमता नभए पनि प्रधानमन्त्री ओलीको निकटताका कारण तिम्सिनाले राजदूतको पुरस्कार पाएका थिए । त्यसअघि ओलीले उनलाई रेडक्रसको अध्यक्ष मनोनीत गरेका थिए । रेडक्रसको अध्यक्ष हुँदा पनि उनी बारम्बार विवादमा आउने गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register