बेलायतमा प्रा. सुवेदीको उद्घोष-पाश्च्यात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप छ

लन्डन- प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको सम्मानमा बेलायतको म्यानचेस्टर विश्वविद्यालयले एक सम्मेलन गरेको छ । उक्त सम्मेलनमा बोल्दै प्राध्यापक सुवेदीले पाश्च्यात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप रहेको एक विश्लेषण प्रस्तुत गरे । उनले भने – ‘शान्तिका अग्रदूत गौतम बुद्धको समयमा नै एक किसिमको संसदीय अभ्यास प्रचलनमा थियो र हिन्दु र बुद्ध धर्मका ग्रन्थहरुमा मानिसको व्यक्तिगत स्वतन्त्रताको […]

Mar 3, 2025 - 11:17
 0
बेलायतमा प्रा. सुवेदीको उद्घोष-पाश्च्यात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप छ

प्रा. सुवेदी

लन्डन- प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको सम्मानमा बेलायतको म्यानचेस्टर विश्वविद्यालयले एक सम्मेलन गरेको छ ।

उक्त सम्मेलनमा बोल्दै प्राध्यापक सुवेदीले पाश्च्यात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप रहेको एक विश्लेषण प्रस्तुत गरे । उनले भने – ‘शान्तिका अग्रदूत गौतम बुद्धको समयमा नै एक किसिमको संसदीय अभ्यास प्रचलनमा थियो र हिन्दु र बुद्ध धर्मका ग्रन्थहरुमा मानिसको व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिएको थियो।’

प्राचीन समयमा पूर्वीय सभ्यता पाश्च्यात्य सभ्यता भन्दा निकै अगाडि रहेको र पूर्वीय दर्शनका केहि मूल्य र मान्यताहरुले पाश्च्यात्य दर्शनलाई प्रभावित गरेको उनले बताए ।

‘त्यसैले पूर्वीय सभ्यता र पाश्च्यात्य सभ्यता मा कुन राम्रो हो भन्ने वहसमा लाग्नु भन्दा दुवै सभ्यताका राम्रा कुरा समावेश गरि एउटा सिंगो मानव सभ्यता विकास गर्दै लान सकिए संसारमा सबैको भलो हुनेछ’- उनको निष्कर्ष थियो। 

बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा लब्ध–प्रतिष्ठित प्राध्यापकहरुले आफ्नो विधामा जीवनभर दिएको उत्कृष्ट योगदानको कदर गर्दै त्यस्ता प्राध्यापकको सम्मानमा एक ग्रन्थ प्रकाशन र सम्मेलन गर्ने परम्परा छ । बेलायतको प्राज्ञिक क्षेत्रमा यो एक असाधारण र बिरलै रूपमा गरिने सम्मान हो। त्यसलाई परम्परागत अंग्रेजी भाषामा फेस्टेश्रीफ्ट (Festschrift) भन्ने गरिएको छ ।

यस्तो सम्मेलनमा उक्त प्राध्यापकको सुपरिवेक्षणमा विद्यावारिधि गरेका संसारभर छरिएका प्राज्ञिक सन्ततिहरु र सहकर्मी प्राध्यापकहरु जम्मा भइ उनलाई सामूहिक सम्मान, उक्त ग्रन्थ समर्पण गर्ने, प्रवचन राख्ने र रात्रीभोज आयोजना गर्ने प्रचलन छ।

यसै परम्परा अनुसार प्रा सुवेदीको सम्मानमा म्यानचेस्टर विश्वविद्यालयमा आयोजना गरिएको एक समारोहमा बेलायतका दुई अंग्रेज महिला प्राध्यापक डा लुइसा आश्ली र डा निकी बटलरले प्रकाशन गरेको ‘अन्तरराष्ट्रिय रूपमा मानव अधिकार कार्यान्वयनमा देखिएका समस्या र तिनको समाधान’ पुस्तक उनीहरुले प्रा सुवेदीलाई अर्पण गरे।

त्यसपछि उक्त ग्रन्थ लिड्स विश्वविद्यालयका भूतपूर्व डीन प्राध्यापक स्टेफेन व्हिटलीले लोकार्पण गरे र प्राध्यापक सुवेदीले मानव अधिकार र अन्तरराष्ट्रिय कानूनमा दिएको योगदानबारे प्रकाश पारेका थिए।

उक्त समारोहमा डा निकी बटलर र डा लुइसा आस्लिले प्रा सुवेदीको असाधारण बुद्धिमत्ता र उनले संसारलाई दिएको योगदानबाट आफूहरु प्रभावित भएर उक्त ग्रन्थको लेखन र सम्पादन गरेको बताए।

उक्त दुई अंग्रेज महिला प्राध्यापकहरुले प्राध्यापक सुवेदीको सुपरिवेक्षणमा दश–पन्ध्र वर्ष अघि विद्यावारिधि गरेका थिए र उनीहरुले अहिले आफ्ना गुरुको सम्मानमा उक्त ग्रन्थ लेखन र सम्पादन गरेका हुन् ।

बेलायतको प्रतिष्ठित प्रकाशन गृह राउटलेजले उक्त ग्रन्थ प्रकाशन गरेको हो । उनीहरु मध्ये डा निकी बटलर म्यानचेस्टर विश्वविद्यालयमा प्राध्यापक भएकीले उनले उक्त कर्यक्रम आफ्नै विश्वविद्यालयमा आयोजना गरेकी हुन्।

उक्त सम्मेलन समाप्तिपछि प्रा सुवेदीको सम्मानमा एक रात्री भोज आयोजना गरिएको थियो। 

प्राध्यापक सुवेदीको सुपरिवेक्षणमा २३ देशका ४० जना विद्यार्थीले विद्यावारिधि गरेका छन् । उनी आफैंले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि गरेका हुन् । उनले १२ वटा ग्रन्थ र ६० भन्दा बढी प्राज्ञिक लेख संसारभरिका उत्कृष्ट जर्नलमा प्रकाशन गरेका छन् ।

सुवेदीले लिड्स विश्वविद्यालयमा सन् २००४ देखि र अक्सफोर्ड विश्वविद्यालयमा सन् २०१६ देखि प्राध्यापन गर्दै आएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register