जसलाई महिला दिवसले छोएन !

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो । झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुङ्गा, बालुवा र […]

Mar 9, 2025 - 00:57
 0
जसलाई महिला दिवसले छोएन !

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो ।

झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुङ्गा, बालुवा र माटोको काममा नै उनको समय बित्ने गर्छ । दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहानबेलुकाको गर्जो टार्दै आएको उनले बताइन् । तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा उठाउँदै गरेको अवस्थामा भेटिनुभएकी कुमालले भनिन्, ‘महिला दिवस हामीजस्ता दुःखीका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात । यो त राम्रो कमाउने र रमाउनेका लागि हो ।’

यस्तै डुम्रेकी रमिता विकको पनि उस्तै समस्या छ । तानसेनमा तरकारी र फलफूल बेचेरै उहाँले दैनिकी गुजारिरहेकी छिन् । ‘बिहानै गाउँमा गई तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि म डोको बोकेर निस्कन्छु,’ शनिबार नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी नै हो ।’

तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आएकी घोरबण्डाकी ४९ वर्षीया मीना कुमाल सधैँजस्तै शनिबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किइन् । कुमाल तानसेनका किराना पसलमा भारी बोक्ने काम गर्छिन् । ‘भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ,’ कुमालले भनिन् ।

यस्तै, तानसेन अर्चेलेकी सुमित्रा पुन पनि तानसेनमै ज्याला मजदुरी गर्दै आएकी छिन् । कैलाशनगरमा बारी खन्दै गरेको अवस्थामा भेटिएकी उनले अन्तरराष्ट्रिय महिला दिवसबारे सुनेकी छैनन् । ‘हामीलाई त कामबारे मात्रै थाहा छ,’ उनले भनिन् । महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउँछिन् । दिवसका बारेमा आफूलाई पूर्ण रूपमा जानकारी नभएको भन्दै थप्छिन्, ‘महिला दिवसमा सबैले मीठो मसिना खाने र रमाइलो गरेर मनाउँछन् होला, खै हाम्रो त कमाइ केही छैन, के खानु के रमाउनु रु एक दिन काम नगरे साँझ चुलो बल्दैन ।’

जिल्लामा सयौँ महिला मजदुर दैनिक मजदुरी गर्दै आएका छन् । शनिबार देशैभर विभिन्न कार्यक्रम गरी एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइरहँदा जिल्लाका अधिकाङ्श मजदूरी गर्ने महिलालाई भने यसले छोएन । श्रमिक महिला सधैँजस्तै भारी बोकिरहेका छन् । एक दिन काम नगर्दा उनीहरूलाई हातमुख जोर्न मुस्किल पर्छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register