अन्तर्राष्ट्रिय महिला दिवसमा मंगलाका महिलाहरुलाई उद्घोषण तालिम

म्याग्दी । मंगला गाउँपालिका म्याग्दीको आयोजनामा शनिवार बाबियाचौरमा महिलाहरुलाई लक्षित गरी उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता तथा सशक्तिकरण’ भन्ने मूल नारासहित ११५औं अन्तर्राष्ट्रिय महिला दिवस–२०८१ को अवसरमा तालिम सञ्चालन गरिएको हो ।

Mar 9, 2025 - 01:14
 0
अन्तर्राष्ट्रिय महिला दिवसमा मंगलाका महिलाहरुलाई उद्घोषण तालिम

म्याग्दी ।

मंगला गाउँपालिका म्याग्दीको आयोजनामा शनिवार बाबियाचौरमा महिलाहरुलाई लक्षित गरी उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता तथा सशक्तिकरण’ भन्ने मूल नारासहित ११५औं अन्तर्राष्ट्रिय महिला दिवस–२०८१ को अवसरमा तालिम सञ्चालन गरिएको हो ।

ग्रामीण भेगका महिलाहरुलाई उद्घोषण तालिम सिकाएर बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले एकदिने उद्घोषणकला तालिमको आयोजना गरिएको मंगला गाउँपालिकाले जनाएको छ । तालिममा उद्घोषण, उद्घोषण गर्ने कला, उद्घोषणको परिचय, उद्घोषकले ध्यान दिनुपर्ने विषयवस्तु, उद्घोषकले गर्न नहुने कुराहरु, भाषणकला, औपचारिक कार्यक्रम सञ्चालन गर्ने तरिका, सम्बोधनलगायत विषयहरुमा सहजीकरण गरिएको थियो । 

तालिमको प्रशिक्षक तथा पत्रकारद्वय कृष्णबहादुर जिसी र प्रताप बानियाँले उद्घोषण सम्बन्धी विषयमा आधारित रहेर प्रशिक्षण दिनुभएको थियो । मंगला गाउँपालिकाको पाँचवटा वडाका विभिन्न टोल र वस्तीबाट ६८ जना महिलाहरुले सहभागिता जनाएको कार्यक्रममा सहभागीहरुलाई माईक्रोफोन समातेर कार्यक्रम सञ्चालन गर्न, स्वागत र शुभकामना मन्तव्य व्यक्त गर्नका लागि प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिमका सहभागीहरुले उद्घोषणकला तालिम व्यवहारिक भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएका छन् । 

तालिमको मंगला गाउँपालिका–२, बाबियाचौरकी ज्येष्ठनारी ७४ वर्षीया रत्नकुमारी खत्री र मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा ज्येष्ठनारी खत्रीलाई गाउँपालिकाको तर्फदेखि उपाध्यक्ष क्षत्रीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रम मंगला गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख महिला विकास निरीक्षक अनिताकुमारी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 

कार्यक्रमको समापन गर्दै मंगला गाउँपालिकाका उपाध्यक्ष क्षत्रीले अन्तर्राष्ट्रिय महिला दिवस सन् १९०८ मार्च ८ मा अमेरिकामा महिलाहरुले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलव पाउनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित संघर्ष गरेकाले सोही दिनको सम्झनामा हरेक वर्ष दिवस मनाउँदै आइएको बताउनुभयो । उहाँले महिलाहरुलाई सक्षम र सबल बनाउन गाउँपालिकाको तर्फदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागी महिलाहरुले नृत्य प्रस्तुत गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register