सुरक्षा परिषद्को सदस्य बन्न सहयोग गर्न जर्जियाकी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मनालोसँग भारतको राजधानी नयाँ दिल्लीमा छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबीच बुधबार बिहान सो भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरूमा […]

Mar 19, 2025 - 05:41
 0
सुरक्षा परिषद्को सदस्य बन्न सहयोग गर्न जर्जियाकी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मनालोसँग भारतको राजधानी नयाँ दिल्लीमा छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबीच बुधबार बिहान सो भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरूमा कुराकानी भएको पराराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।

त्यस भेटका अवसरमा मन्त्री डा. राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्यलगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि आग्रह गरिन् ।

साथै मन्त्री राणाले कृषि, जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन लगायतका क्षेत्रमा नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गरेकी थिइन् ।

साथै मन्त्री राणाले भेटमा नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरूको सामना गरिरहेको जानकारी गराएकी थिइन् । आफूहरूले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि सहयोग अपेक्षित रहेको उनको भनाइ थियो ।

त्यसैगरी मन्त्री राणाले फिलिपिन्सका विदेशमन्त्री मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताइन् । फिलिपिन्स र नेपालबीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register