दीपेन्द्रको सनकले मच्चाएको दरबार हत्याकाण्ड

काठमाडौं । अमेरिका जाने तयारीमा थिए तत्कालीन युवराजधिराज दीपेन्द्र शाहका अंगरक्षक(एडीसी) राजकुमार कार्की । २१ जेठ (आइतबार) २०५८ अमेरिका जानका लागि उनले दीपेन्द्रसँग बिदा पनि मागिसकेका थिए । शुक्रबार (१९ जेठ) अमेरीकी दूतावासमा कागजी काम सकेर उनी घरमा मात्र के आइपुगेका थिए, देवयानीको फोन आयो । फोनमा देवयानीले भनिन, ‘हि इज नट फिलिङ वेल, एकपटक […]

Jun 2, 2025 - 11:36
 0
दीपेन्द्रको सनकले मच्चाएको दरबार हत्याकाण्ड

काठमाडौं । अमेरिका जाने तयारीमा थिए तत्कालीन युवराजधिराज दीपेन्द्र शाहका अंगरक्षक(एडीसी) राजकुमार कार्की । २१ जेठ (आइतबार) २०५८ अमेरिका जानका लागि उनले दीपेन्द्रसँग बिदा पनि मागिसकेका थिए । शुक्रबार (१९ जेठ) अमेरीकी दूतावासमा कागजी काम सकेर उनी घरमा मात्र के आइपुगेका थिए, देवयानीको फोन आयो । फोनमा देवयानीले भनिन, ‘हि इज नट फिलिङ वेल, एकपटक अफिस गएर बुझ्नु न ।’

कार्कीले आफू विदामा रहेको सुनाए । कार्कीलाई थाह थियो, हरेक महिनाको अन्तिम शुक्रबार दरबारमा राजपरिवारका आफन्त र नातेदारको पार्टी हुन्छ । त्यही पार्टीमा दीपेन्द्रले धेरै रक्सी खाए कि भन्ने शंका लाग्यो कार्कीलाई । तर, दीपेन्द्रकी प्रेमिकाले नै फोन गरेर दीपेन्द्रका बारेमा बुझ्न भनेपछि कार्कीले ड्युटीमा रहेका एडीसी गजेन्द्र बोहोरालाई फोन गरे । गजेन्द्र बोहोराले दीपेन्द्र कोठामा आएर सुतेको सुनाए । यति सुनेपछि कार्की ढुक्क भए ।

तर, देवयानीले नै फोन गरेको हुँदा उनी दरबारका एडीसीहरूलाई भेट्ने बहाना बनाएर दीपेन्द्रको अवस्था बुझ्न भनेर दरबारतिर जान भनेर निस्किए ।

∞∞∞

१९ जेठ २०५८ तत्कालीन युवराजधिराज दीपेन्द्र अपराह्न चार बजे राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी हेर्न भनेर सातदोबाटोस्थित खेल मैदान पुगे । त्यहाँबाट फर्केर करिब साढे पाँच बजे उनी बुबा वीरेन्द्र शाह र आमा ऐश्वर्य शाहसँग चिया खान बसे । त्यसपछि वीरेन्द्र, ऐश्वर्य र दीपेन्द्र डिल्लीबजारमा रहेको वडागुरुज्यू नयनराज पाण्डेको घरमा गए ।

करिब एक घण्टा पाण्डेको घरमा बसेपछि उनीहरू त्यहाँबाट फेरि नारायणहिटी दबार फर्के ।

नारायणहिटीमा त्यो दिन राजपरिवारको पारिवारिक जमघट थियो । हरेक महिनाको अन्तिम शुक्रबार नारायणहिटी दरबारमा राजपरिवारका आफन्त, नातेदारको पार्टी हुन्थ्यो ।

पार्टी सुरु हुनुअगाडि नै दीपेन्द्र पार्टी हुने हल त्रिभुवन सदनमा पुगे । त्यहाँ पुगेर उनी स्नुकर खेल्न थाले । स्नुकर खेल्दाखेल्दै उनले एडीसी (बडीगार्ड) गजेन्द्र बोहोरालाई भनेर एक पेग ह्वीस्की मगाए । गजेन्द्र बोहोराका अनुसार उनले दीपेन्द्रलाई ‘फेमस ग्राउस’ नामको ह्वीस्कीको एक पेग दिएका थिए ।

पौने आठबजेतिर पार्टीमा पुगेका पारस शाहका अनुसार दीपेन्द्र उनी पुग्दा नै ‘झ्याप’ भइसकेका थिए । दीपेन्द्रले ८ बजेर १९ मिनेटमा एडीसी गजेन्द्र बोहोरालाई फोन गरे, १८ सेकेण्डको यो कुराकानीमा दीपेन्द्रले चुरोट मागेका थिए ।

चुरोट लिएर पुगे दीपेन्द्रका सहयोगी (अर्दली) रामकृष्ण केसी । केसी र गजेन्द्रका अनुसार दीपेन्द्रलाई दिइएको चुरोटमा गाँजा भरिएको थियो । केसीका अनुसार उनले दीपेन्द्रलाई ५/६ वटा गाँजा भरिएको चुरोट दिएका थिए । केसीले दिएको वयानअनुसार दीपेन्द्रले दिउँसो द’ई बजेतिर नै केसीलाई गाँजा र चुरोट दिएर भरेर राख्नू भनेका थिए ।

दीपेन्द्रका एडीसी गजेन्द्र बोहोरा र राजकुमार कार्कीका अनुसार दीपेन्द्र गाँजा, चरस खाने गर्थे । कार्कीका अनुसार पछिल्लो एक/डेढ वर्षयता दीपेन्द्रको गाजाँ खाने रफ्तार बढेको थियो । दीपेन्द्र सार्वजनिक समारोहमै गाँजा तान्थे ।

बुबा वीरेन्द्रपछि राजा हुने लाइनमा रहेका दीपेन्द्र आफूले रोजेकी केटीसँग विवाह गर्न नपाएका कारण तनावमा थिए । सार्वजनिक भएका विवरणअनुसार दीपेन्द्रको प्रेमसम्बन्ध थियो देवयानी राज्यलक्ष्मी राणासँग । उनी देवयानीसँग नै विवाह गर्न चाहान्थे । तर, दीपेन्द्रकी आमा ऐश्वर्य भने छोराको विवाह देवायनीसँग गराउने मुडमा थिइनन् ।

पार्टीमा पनि दीपेन्द्रले पारसँगआफ्नो विवाहकै कुरा गरेका थिए । परासका अनुसार दीपेन्द्रले उनीसँग भनेका थिए, ‘मुमासँग पनि कुरा गरेँ, हजुरमुमासँग पनि कुरा गरेँ नहुने भयो । अब म बुबासँग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु ।’

पारसका अनुसार दीपेन्द्रले आफ्नो विवाहको तनाव एक वर्षअगाडि नै सुनाएका थिए । २०५७ को असार १३ गते आफ्नो जन्मदिनको पार्टीमा नै दीपेन्द्रले देवयानीसँग विवाह नगराउने मुडमा आफ्नी आमा रहेको सुनाएका थिए । दरबारका सैनिक सचिव तथा दीपेन्द्रका एडीसी रहिसकेका विवेक कुमार शाहको किताब ‘मैले देखेको दरबार, सैनिक सचिवको संस्मरण’ अनुसार १३ असार २०५७ को पार्टीमा दीपेन्द्रको आफ्नी आमासँग भनाभन नै भएको थियो ।

१९ जेठ शुक्रबारको पार्टीमा सबैजना आफन्ती आउँदासम्म दीपेन्द्र झ्याप भइसकेका थिए । पारसका अनुसार पार्टी सुरु हुनुअगाडि नै दीपेन्द्र झ्याप भएर लडे । अनि पारसलगायत चार जनाले दीपेन्द्रलाई उनको कोठामा पुर्‍याएर सुताए ।

कोठामा पुगेपछि दीपेन्द्रले देवयानीलाई फोन गरे । पूर्वप्रधानन्यान्याधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनअनुसार दीपेन्द्रले सुरुमा ८ बजेर १२ मिनेटमा देवयानीलाई फोन गरी एक मिनेट १४ सेकेण्ड कुराकानी गरे । त्यसपछि ८ बजेर २५ मिनेटमा देवयानीले दीपेन्द्रलाई फोन गरेर ४ मिनेट १४ सेकेण्ड कुराकानी भयो । त्यसपछि फेरि ८ बजेर ३९ मिनेटमा दीपेन्द्रले देवायनीलाई फोन गरे । यो फोनमा ३२ सेकेण्ड मात्र कुराकानी भयो ।

यो फोनमा देवयानी र दीपेन्द्रबीच के कुराकानी भयो त ?

राजदरबार हत्याकाण्ड भएपछि देवयानी उपचारका लागि भनेर भारत गइन् । उनले भारतबाट नै दरबार हत्याकाण्ड उच्चस्तरीय छानबिन समितिलाई बयान दिइन् । देवयानीका अनुसार दीपेन्द्रले उनलाई फोनमा आइतबारदेखि हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा देवायानीलाई पनि आउन भनेर आग्रह गरेका थिए । मोबाइलमा कुरा नबुझिएपछि दीपेन्द्रले फोन काटे ।

यसपछि देवयानीले दीपेन्द्रलाई फोन गरिन् । दीपेन्द्रको फोन नउठेपछि स्वत: डाइभर्ट भएर दीपेन्द्रका एडीसी राजकुमार कार्कीकहाँ पुग्यो । कार्की आइतबार अमेरिका जाने तयारीमा थिए । कार्कीले फोन उठाएपछि देवयानीले भनिन्, ‘सरकारलाई अलिक जाँड लागेको जस्तो छ, अफिस गइकन एकचोटी हेर्नू न । हि इज नट फिलिङ वेल ।’

देवयानीले यति भनेपछि विदामा भए पनि कार्की नरायणहिटी जान भनेर हिँडे ।

त्यो फोनमा दीपेन्द्रले देवयानीलाई भनेका थिए, ‘भोलि बिहान मात्र तीमिलाई फोन गर्छु, गुडनाइट, अब म सुत्न लागेको छु है, म भोलि बिहान फोन गर्छु गुडनाइट ।’

देवयानीका अनुसार फोनमा दीपेन्द्रको बोली लरबराएको थियो । त्यही कारण उनले एडीसीलाई फोन गरेर दीपेन्द्रको कोठासम्म जान भनिन् ।

देवयानीले रुँदै, रुँदै समितिलाई दिएको वयानमा भनेकी छिन्, ‘सरकारको स्वर लर्बबराइबक्सिरहेको थियो । सरकारको गाथमा आराम छैन, कि के भयो भनेर एडीसीलाई कन्ट्याक गर्दाखेरी माथि खोपीमा जानुहुन्छ कि ? भनेर मैले रिक्वेस्ट मात्र गरेको हुँ ।’

यता कोठामा रहेका दीपेन्द्रले आफ्ना सहयोगी रामकृष्ण केसीलाई बोलाए । केसीले दीपेन्द्रको लुगा खोलिदिए । लुगा फुकालेपछि दीपेन्द्र वाथरुम छिरेर ‘वमिट’ गर्न थाले ।

अनि केही बेरमा कम्ब्याट (आर्मी) लुगा लगाएर काँधमा बन्दुक बोकेर दीपेन्द्र कोठाबाट बाहिरिए । केसीले दीपेन्द्रलाई सोधे, ‘सरकार इर्मेजन्सी ब्याग चाहिन्छ कि ?’

दीपेन्द्रले ‘पर्दैन’ भने । इर्मेजन्सी ब्यागमा रेनकोट, चिपिस्टिक, वेदरप्रुफ ज्याकेट, ब्याट्री हुन्थ्यो ।

कम्ब्याट ड्रेसमा हातहतियार भिरेर दीपेन्द्र बाहिर निस्केको जानकारी ड्युटीमा रहेका एडीसी गजेन्द्र बोहोरालाई दिन भनेर केसी एडीसी अफिसतिर हिँडे । अफिसमा गजेन्द्र बोहोरा, राजकुमार कार्कीलाई पर्खिरहेका थिए ।

देवयानीको फोन आएपछि कार्कीले ड्युटीमा रहेका बोहोरालाई फोन गरेर, ‘के छ ?’ भन्दै सोधेका थिए । बोहोराले ठीक छ भन्ने जवाफ फर्काएपछि कार्कीले आफू दरबार आउन लागेको सुनाए । बोहोराले पनि ‘आउनुहोस् सबै एडीसी यतै छौँ’ भनेका थिए ।

रामकृष्ण केसी बोहोराको अफिस नपुग्दै गोली चलेको आवाज आयो । गोली चलेको आवाज सुनेपछि केसी बोहोराको अफिस नगइकन डरले लुके ।

दीपेन्द्र हातहतियारसहित पार्टी भइरहेको ठाउँमा पुगे र पहिलो राउण्ड सिलिगंमा फायर गरे, दोस्रो र तेस्रो राउण्ड उनले बुबा वीरेन्द्रलाई हाने । गोली लाग्ने बित्तिकै वीरेन्द्र भूइँमा लडे, भूइँमा लडेका वीरेन्द्रलाई उठाउन गइन्, छोरी श्रृति । श्रृतिलाई पनि गोली हाने दीपेन्द्रले । त्यसपछि दीपेन्द्रले राजदरबारमा नरसंहार मच्चाए । अन्तमा आफैँलाई गोली हाने ।

हतियारका सौखिन, गाजाँका पारखी

दीपेन्द्रका एडीसीहरूले दिएको वयानअनुसार दीपेन्द्र हातहतियारका सौखिन थिए । गाँजाका पारखी थिए । दीपेन्द्रका एडीसी गजेन्द्र बोहोराका अनुसार उनी पार्टीहरूमा गाँजा, चरेस खान्थे । अर्का एडीसी राजकुमार कार्कीका अनुसार उनी नयाँ हतियार आउनासाथ मगाइहाल्थे । आफैँ टेस्ट फायर गर्थे । नयाँ हतियार पनि मन परेपछि आफैँ राख्थे । दरबार हत्याकाण्ड हुनु एक/डेढ वर्षयता उनको गाँजा र चरस खाने मात्र बढेको थियो । दीपेन्द्र पार्टी र सार्वजनिक रूपमै गाँजा, चरस खान्थे ।

दरबारका सैनिक सचिव तथा दीपेन्द्रका एडीसी रहिसकेका विवेककुमार शाहको किताब ‘मैले देखेको दरबार, सैनिक सचिवको संस्मरण’ अनुसार दीपेन्द्र बाल्यकालदेखि नै चुरोट खान्थे । शाहका अनुसार दीपेन्द्र बाल्यकालदेखि नै उपद्रो गर्ने, हठी र परपीडक थिए ।

शाह लेख्छन, ‘परेवालाई गुलेली हान्ने । गुलेली लागेर परवा भुइँमा खस्दथ्यो, अनि परेवा मरेको छैन भने त्यसलाई झनै दुःख दिएर मार्ने गरिबक्सन्थ्यो । उडिरहेको कागलाई गोली हानेर झार्ने । जिउँदो मुसा समाउने र पुच्छरमा आगो लगाएर छाडिदिने, त्यसलाई तड्पाइ-तड्पाई मार्ने ।’ सैनिक सचिव शाहका अनुसार दीपेन्द्रको दोहोरो छवि थियो, दरबारभित्र नराम्रो दरबार बाहिर राम्रो ।

उनी लेख्छन्, ‘दरबाभित्र एकदम नराम्रो, हठी, अनुदार उच्छृखंल र कसैलाई नटेर्ने । बाहिर भने उदार, खुला, जनतासँग घुलमिल हुने छवि ।’

∞∞∞

२०५४ सालमा बेलायतमा पढ्न गएपछि दीपेन्द्रको देवयानीसँग भेट भयो । त्यहीँबाट उनीहरूबीच प्रेम बस्यो । सैनिक सचिव शाहका अनुसार दरबार हत्याकाण्ड हुनुभन्दा एक वर्षअगाडि नै दीपेन्द्रले देवयानीसँग गोप्य रूपमा विवाह गर्न खोजेका थिए । समितिलाई दिएको वयानमा देवयानीले आफ्नो र दीपेन्द्रको सम्बन्धबारे रुँदै भनेकी थिइन्, ‘व्यक्तिगत हो त्यसको बारे म कुरा गर्न चाहाँदिनँ..।’

१९ जेठको घटना हुनु एक/डेढ महिनाअगाडि ऐश्वयले दीपेन्द्रलाई आफूले भनेको नमाने युवराजधिराजबाट हटाउने धम्की दिएकी थिइन् । आमाले त्यस्तो धम्की दिएपछि दीपेन्द्रले सैनिक सचिव शाहलाई एकपटक भनेका थिए, ‘इफ आई डु नट बिकम किङ, नोबडी क्यान बिकम ।’

∞∞∞

देवयानीको आग्रहमा कार्की नारायणहिटी दरबार पुग्दा नारायणहिटी सुनसान जस्तै थियो । कार्की सरासर आफ्नो कार्यालयमा गएर लुगा फेर्न थाले । लुगा फेर्दै गर्दा अर्का एडीसी गजेन्द्र बोहोराले कार्कीलाई बोलाएर बाहिर ताने ।

बाहिर दीपेन्द्रको गाडी उभिएको थियो । गाडीभित्र रग्ताम्मे दीपेन्द्र थिए । कार्की गाडीभित्र बसिनसक्दै रगताम्मे भएका निराजनलाई पनि गाडिमा हालियो । त्यसपछि गजेन्द्र बहोराले गाडी चलाएर छाउनी अस्पताल पुर्‍याए । चालक छेउको बायाँ सिटमा थिए पारस शाह । गाडीभित्रको अवस्था सम्झिन्छन् कार्की, ‘निरजान सरकार त केही बोलिबक्सेको थिएन । अनि युवराज सरकारचाहीं हाँ, हाँ गरिबक्सेको थियो । सास फेरिबक्सेको थियो ।’

अस्पतालको ओछ्यानमै राजा घोषित भएका दीपेन्द्रलाई २२ जेठमा मृत घोषित गरियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register