नेपाल प्रहरीले भन्याे - शरणार्थी प्रकरणमा आईजीपीलाई विवादमा तान्नु निन्दनीय
काठमाडौं । नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरकाे नाम जाेडिएकाे विषयमा आपत्ति जनाएकाे छ ।
शरणार्थी प्रकरणमा आईजीपीकै भूमिका शंकास्पद भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएकाे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले बुधबार निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।
'कुनै आधार, तथ्य र प्रमाण विना अपराध अनुसन्धान जस्तो संवेदनशिल विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ, कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ'- विज्ञप्तिमा लेखिएकाे छ ।
यस प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कपाेकल्पित समाचार बनाई आरोपीत भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रहरी सदैव संविधान, कानुन र संगठनको आफ्नै मूल्य-मान्यतामा अडिग रही दोषी नछुटुन, निर्दोष नफसुन भन्नेमा सचेत र प्रतिबद्ध रहेकाे विज्ञप्तिमा उल्लेख छ । अपराधी जोसुकै होस उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार, तथ्य प्रमाण बिना नै महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको प्रहरीकाे ठहर छ ।
नागरिकलाई सत्यतथ्य सूचना गर्नुपर्ने दायित्व भएका सञ्चारमाध्यमले अनुसन्धानजस्ताे गम्भीर विषयमा विशिष्टता र संवेदनशिलतालाई ध्यान दिनुपर्नेमा सुनियाेजित तरिकाले भ्रामक समाचार लेख्नु दु:खद भएकाे उल्लेख गर्दै प्रहरीले उक्त समाचारकाे खण्डन गरेकाे छ । 'अत: कुनै तथ्य प्रमाणबिना अनुमानका आधारमा कपाेकल्पित र सतही रुपमा आएकाे उक्त भ्रामक रुपमा आएकाे उक्त भ्रामक र नियाेजित समाचारले प्रहरी महानिरीक्षक र समग्र नेपाल प्रहरीकाे विश्वसनियता र छविमाथि गम्भीर आँच पुगेकाे हुँदा नेपाल प्रहरी उक्त समाचारकाे खण्डन गर्दछ'- विज्ञप्तिमा लेखिएकाे छ ।
यस प्रकरणमा अनुसन्धान जारी रहेकाे, कैयाैं व्यक्ति अनुसन्धानकाे दायरामा रहेकाे र यस्ता समाचारले प्रहरीकाे मनाेबलमा असर पर्ने उल्लेख गर्दै प्रहरीले तथ्यहिन र भ्रामक सामग्री प्रचार प्रसार नगर्न सबैमा अनुराेध गरेकाे छ ।
What's Your Reaction?






