कांग्रेस-एमालेलाई प्रचण्डले भने : सङ्ख्याको भ्रममा नपर्नुस्, बंगलादेशबाट सिक्नुस्
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा ठूलो असन्तोष रहेको भन्दै यसले व्यवस्था नै संकटमा पर्ने सम्भावना देखिएको बताएका छन् । ‘यो सम्मानित संसदमा मैले पटकपटक भनिरहेको छु, आमजनतामा ठूलो निराशा र मोहभङ्ग छ, ठूलो असन्तोष छ । यो संसदसहित हामी सबै दल जनताको ठूलो निगरानीमा छौं । नेपाली कांग्रेस र नेकपा एमालेका […]
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा ठूलो असन्तोष रहेको भन्दै यसले व्यवस्था नै संकटमा पर्ने सम्भावना देखिएको बताएका छन् ।
‘यो सम्मानित संसदमा मैले पटकपटक भनिरहेको छु, आमजनतामा ठूलो निराशा र मोहभङ्ग छ, ठूलो असन्तोष छ । यो संसदसहित हामी सबै दल जनताको ठूलो निगरानीमा छौं । नेपाली कांग्रेस र नेकपा एमालेका साथीहरुलाई मेरो अनुरोध छ, जनता अहिलेको राजनीतिक शैलीसँग, चरित्रसँग, व्यवहारसँग रिसाएको छ ।’ प्रचण्डले भने, ‘प्राविधिकरुपमा तपाईहरु ठूला हुनुहोला तर, जनतासँगको तपाईँहरुको सम्बन्ध एकदमै कमजोर भएको छ । जनतामा ठूलो असन्तोष, घृणा र आक्रोश छ । लोकतन्त्रको सर्भिसिंगबिना अब जनतालाई आश्वस्त गर्न सकिँदैन ।’
संसदमा आज विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले देशको अवस्था बंङ्गलादेश र श्रीलंकाको जस्तो हुन सक्ने भन्दै चिन्ता जनाएका छन् ।
‘यही भएर हामीले सुशासनको एउटा अभियान सुरु गरेका थियौं, त्यसलाई तपाईहरुले भत्काइसक्नुभयो । दुई ठूला पार्टी मिलेर बेथिति थप्दै जाँदा कतै यो व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने मेरो चिन्ता छ । सत्तासीन साथीहरुलाई मेरो अनुरोध छ, संख्याको भ्रममा नपरौं, सत्यसँग साक्षात्कार गरौं । धेरै टाढाका, अघिका, इतिहासका ठूला शिक्षा म भन्दिनँ, छेवैका श्रीलंका र बंगलादेशका घटनाबाट सिकौं ।’
उनले दुई तिहाईको घमण्डबाट बिउँझन र जनताको विवेकको अवमूल्यन नगर्न समेत चेतावनी दिए ।
अगाडि उनले भने, “श्रीलंकामा राजापाक्षेजी सङ्ख्याको सङ्कटले बाहिरिनुभएको हो ? होइन । बंगलादेशी पार्लियामेन्टलाई त अवामी लिग र त्यही गठबन्धनको एकलौटी प्रतिनिधित्वको वन पार्टी पार्लियामेन्ट भनिन्थ्यो । त्यो थियो, अस्ति जनवरीको निर्वाचनको परिणाम, हाम्रोभन्दा तेह्र महिना कान्छो । तपाईंहरू जोडतोडको दुईतिहाइको घमण्डमा हुनुहुन्छ भने यो घमण्डबाट बिउँझनोस् । जनताको विवेकको अवमूल्यन नगर्नोस् ।”
What's Your Reaction?