मार्केट सेन्टिमेन्टः ओरालो बजारका सम्भावित कारणहरू…

काठमाडौँ । करिब दुई दिनमा सेयर बजार १९१ अङ्कले घटेको छ । बुलिस भनिएको मार्केटमा केहीदिन यता कारोबार रकम पनि घट्ने क्रममा छ । ३० अर्ब दैनिक कारोबारको कृतिमान बनाएको बजारमा आगामी दिनमा पनि यसरी नै कारोबार रकम बढ्ने अपेक्षा गरिएको थियो तर पछिल्लो केही दिन यता कारोबार रकम भने औसतमा २० अर्ब को हाराहारी […]

Aug 28, 2024 - 03:47
 0
मार्केट सेन्टिमेन्टः ओरालो बजारका सम्भावित कारणहरू…

काठमाडौँ । करिब दुई दिनमा सेयर बजार १९१ अङ्कले घटेको छ । बुलिस भनिएको मार्केटमा केहीदिन यता कारोबार रकम पनि घट्ने क्रममा छ । ३० अर्ब दैनिक कारोबारको कृतिमान बनाएको बजारमा आगामी दिनमा पनि यसरी नै कारोबार रकम बढ्ने अपेक्षा गरिएको थियो तर पछिल्लो केही दिन यता कारोबार रकम भने औसतमा २० अर्ब को हाराहारी पुग्न पनि गाह्रो रहेको छ। भनिन्छ कि सेयर बजार कहिले पनि एकरुपमा एकनासले बढ्दैन, बजार जसरी बढेको हुन्छ त्यसरी नै बीचबीचमा बजारलाई करेक्सनको पनि आवश्यकता पर्ने हुन्छ र ३०००को मनोवैज्ञानिक अङ्क छोएपछि बजारले विश्राम लिएको बुझ्न सकिन्छ ।

जुन रफ्तारले बजार २००० अङ्कबाट ३००० अङ्कसम्म पुगेको थियो । छिटै नै ३२०० अङ्क पनि पार गर्ने अनुमान लाइएको थियो । तर, सेयर बजार सोचेजस्तो निरन्तर बढ्ने भन्ने हुँदैन । विज्ञका अनुसार त्यसरी बढेको मार्केटलाई स्वस्थ वृद्धि पनि मानिँदैन । त्यसैले अल्पकालीन लगानीकर्ताले आफ्नो नाफा बुक गर्दा र एउटा ठूलो करेक्सन आउँछ भन्ने अपेक्षाकाबीच मार्केटमा केहीदिन यता राम्रै करेक्सन आइरहेको छ । सामान्यत ५० देखि १०० अङ्क घटेपछि अब फेरि बजार माथि उकालो लाग्छ भन्ने अनुमान गरेका लगानीकर्ताहरू बजारको लगातार घट्ने क्रम देखेर निराश हुन थालेका छन् ।

बैंकको घट्दो ब्याजदर, सेयर बजारप्रति सकारात्मक सरकार र सकारात्मक नीतिहरूकाबीच हाललाई बजार घट्नुपर्ने खासै ठूलो कारण छैन । तर, करेक्सन भने बजारको नियमित अंश हो । भनिन्छ, जति बजार करेक्सन भएर अगाडि बढ्छ त्यति नै बजार मजबुत हुने गर्छ । पछिल्लो बुलको अवस्थालाई नियाल्दा बजारले अलटाइम हाई बिन्दुमा पुग्नुअघि राम्रै करेक्सनको सामना गर्नु परेको थियो र हालको करेक्सनलाई पनि त्यसै रुपमा लिन सकिन्छ ।

आखिर किन निरन्तर घट्यो त सेयर बजार ?
सेयर बजार बढ्न वा घट्नलाई सबैभन्दा महत्वपूर्ण भूमिका डिमान्ड र सप्लाईले गर्ने गर्छ र साथै त्यो भन्दा महत्वपूर्ण कुरा लगानीकर्ताको सेन्टिमेन्टले गर्छ । त्यसैले सानोभन्दा सानो कुराले पनि बजारमा ठूलो असर पारेको देख्न सकिन्छ । कहिले संसदमा हुने सेयर बजारको बहस त कहिले सरकारको काम कारबाहीले पनि बजारलाई धेरै प्रभाव पार्ने गरेको छ । कुनै पनि समाचारको वैधानिकता पुष्टि हुनुअघि हल्लाकै भरमा पनि बजार बढ्ने अथवा घट्ने गरेको देखिएको छ ।

स्थिर सरकारमाथि आशंका
परराष्ट्र मन्त्री आर्जु राणाको भारत भ्रमण लगत्तै सरकार परिवर्तनसम्बन्धी चलेको हल्लाले पनि बजारलाई ठूलो असर गरेको छ । जबकि सो कुरामा कुनै सत्यता नभएको कांग्रेस तथा एमालेका शीर्ष नेताहरुले पुष्टि गरिसकेका छन् । सेयर बजारले निकै रुचाएको व्यक्ति अर्थमन्त्री विष्णु पौडेलको आगमनपछी निरन्तर बढेको बजारमा सरकार ढल्ने हो कि भन्ने त्रासले लगानीकर्ता केही विचलित भएको आंकलन गर्न सकिन्छ । जबकि सरकार ढाल्ने कुरालाई स्वयं प्रतिपक्षका नेताहरुले समेत खण्डन गर्दै आएका छन् । अझ माओवादी अध्यक्ष प्रचण्डले त हामीलाई सरकारमा जान कुनै हतार र लालच छैन भनी रोस्टमबाटै बोलेका छन् ।

नाडा अटोमोबाइल प्रदर्शनी
त्यस्तै, मङ्गलबारबाट सुरु भएको नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनीले अर्थात् नाडाले गर्दा पनि बजार केही हदसम्म घटेको हुन सक्छ । पछिल्लो समयको तथ्याङ्क हेर्दा पनि नाडा बजार सुरुसँगै सेयर बजारबाट लगानीकर्ताहरु सेयर बेचेर गाडी किन्ने हुँदा पनि बजार केही हदसम्म घट्न सक्ने लगानी विशेषज्ञहरूको भनाइ छ । विलासिताको सामान किन्न लगानीकर्ताहरू बजारकै भर पर्ने हुनाले पनि केही लगानीकर्ता ठूलो रकमको सेयर बेचेको कारण पनि बजारमा सेलिङ प्रेसर आएको अनुमान गर्न सकिन्छ ।

नजिकिँदै गएको चाडपर्व
नेपालमा साउन सकिएसँगै चाडपर्वहरूको सुरुवात हुन थालेको छ । चाडपर्व र सेयर बजारको ठिक उल्टो नाता हुने गरेको छ । चाडपर्वको लागि रकम जोहो गर्नुपर्ने हुनाले पनि बजारलाई केही असर गरेको अनुमान गर्न सकिन्छ । यद्यपि दशैँ तिहारजस्ता महानचाड आउन केही समय बाँकी रहे तापनि चाडपर्वहरू सुरु भएको माहोलले पनि बजार घटाएको आकलन गर्न सकिन्छ ।

नाफा सुरक्षित
बजार घट्ने धेरै कारणहरूमध्ये सबैभन्दा महत्वपूर्ण कारण भनेको नाफा सुरक्षित गर्ने प्रक्रियाले गर्दा हो । २००० अङ्कबाट मार्केट ३००० अङ्कसम्म पुग्दा केही नाफा कमाएका लगानीकर्ताहरुले नाफालाई सुरक्षित गर्नलाई सेयर बेचेको कारण पनि मार्केटमा सेलिङ प्रेसर धेरै आएको छ । जस्तोसुकै मार्केट बुल भएता पनि, सेयर मार्केटमा नाफा समयमै सुरक्षण गर्न सकिएन भने कमाइसकेको नाफा पनि गुमाउने डर हुनाले नाफा बुक गर्नु पनि मार्केटमा अपरिहार्य हुन्छ । अझ अल्पकालीन लगानीकर्ताले त थोरै नाफा भएपनि बुक गरेर अगाडि बढ्ने रणनीति बनाएका हुन्छन् । त्यसरी नै लगानीकर्ताले नाफा सुरक्षण गर्न सेयर बेचेको कारण बजारमा केही दिन यता विक्रेता हावी भएका हुन्। जसको नतिजा स्वरूप बजार ओरालो लागेको हो ।

अब के होला ?
सेयर बजार अनिश्चितताको बजार हो । यसमा किताबी नियम अनुसार चल्ने भन्ने हुँदैन करिब एक हजार अङ्क बढेको बजारले लगभग २०० भन्दा बढी अङ्क को करेक्सन गरिसकेको हुनाले अब यतिमै रोकिन्छ वा अझ केही अङ्कको करेक्सन को सामना गर्नुपर्ने हुन्छ भन्ने कुरामा लगानीकर्ता पर्ख र हेर को रणनीति अपनाउनुपर्ने हुन्छ । सेयर बजारका केही विज्ञहरू घटेको बजारलाई बजार पस्ने मौकाको रुपमा पनि लिने गरेका छन् ।

-मोनिष पोखरेल, बैंकर (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register