तालिबानको कठोर कानून : महिलालाई चर्को बोल्न निषेध, पुरुषले कपाल काट्न र टाई लगाउन नपाउने

नयाँ कानून अनुसार जीवित प्राणीको तस्वीर बनाउन वा प्रकाशन गर्न पनि प्रतिबन्ध लगाइएको छ । जीवित प्राणीको मूर्ति खरिद बिक्री गर्न पनि पाइनेछैन । कारमा पुरुष र महिला सँगसँगै बस्न प्रतिबन्ध लगाइएको छ । पुरुषलाई महिलाको शरीर र अनुहार हेर्न निषेध गरिएको छ ।

Aug 29, 2024 - 09:03
 0
तालिबानको कठोर कानून : महिलालाई चर्को बोल्न निषेध, पुरुषले कपाल काट्न र टाई लगाउन नपाउने

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले महिलामाथि विभिन्न प्रतिबन्ध लगाउन नयाँ कानून ल्याएको छ ।

यसअन्तर्गत महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध गरिएको छ । महिलालाई सार्वजनिक स्थानमा अनुहार छोप्न आदेश दिइएको छ ।

महिलाका सम्बन्धमा बनेको यो नयाँ कानूनलाई तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेका छन् । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी मोरालिटी मन्त्रालयलाई दिइएको छ ।

यो कानूनबाट कसैलाई पनि छुट नहुने मन्त्रालयले जनाएको छ । कानूनअनुसार मोरालिटी प्रहरीले सार्वजनिक स्थानमा कसले के लगाएको छ भनेर जाँच गर्नेछ ।

तर, मोरालिटी मन्त्रालयले शरिया कानूनको आधारमा यी प्रावधान कार्यान्वयन गर्दै आएको छ । यसलाई पालना नगरेको भन्दै यसअघि हजारौं जना पक्राउ परेका छन् ।

तालिबानका अनुसार यी नियम इस्लामको शरिया कानूनी प्रणालीको आधारमा बनाइएको हो । यसलाई कार्यान्वयन गर्ने काम मोरालिटी प्रहरीले गर्नेछ ।

तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले सन् २०२२ मा नै यस सम्बन्धमा आदेश दिएका थिए तर, अब यसलाई औपचारिक रूपमा कानूनको रूप दिइएको छ ।

महिलामाथि कानूनले के-के प्रतिबन्ध लगाएको छ ?

  • महिलाले आफ्नो पूरै शरीर ढाक्नुपर्ने ।
  • सार्वजनिक स्थलमा महिला चुपचाप बस्नुपर्ने ।
  • सार्वजनिक स्थान र घरमा ठूलो स्वरमा गाउन र पढ्न निषेध ।
  • अरू पुरुषबाट शरीर र अनुहार लुकाउनुपर्ने ।

नयाँ कानूनमा महिलाबाहेक पुरुषमाथि पनि विभिन्न प्रतिबन्ध लगाइएको छ । पुरुषलाई महिलाको शरीर र अनुहार हेर्न निषेध गरिएको छ । महिलालाई पनि त्यसै गर्न उर्दी जारी गरिएको छ ।

पुरुषले शरियाअन्तर्गत कपाल राख्नुपर्ने र टाई लगाउन प्रतिबन्ध लगाइएको छ । यसैलाई ध्यानमा राख्दै तालिबानले धेरै ठाउँमा पुरुषको दाह्री काट्न र कपाल काट्न प्रतिबन्ध लगाएको छ । तालिबानले यो शरियाअन्तर्गत रहेको दाबी गरेको छ ।

मोरालिटी प्रहरीको काम के ?

अफगानिस्तानको मोरालिटी पुलिसले नयाँ कानून सबै ठाउँमा पालना भइरहेको छ वा छैन हेर्नेछ । प्रहरीको काम कानून मिच्नेलाई अदालतमा पुर्‍याउने पनि हो । हिबतुल्लाह अखुन्दजादाको समर्थन भएकाले नैतिक प्रहरीको शक्ति पहिलेभन्दा बढी छ ।

यस्तो अवस्थामा महिला र पुरुषले नयाँ कानूनको व्यवस्थाको पालना गर्ने दायित्व मोरालिटी प्रहरीको हुनेछ । साथै, मोरालिटी पुलिसले ट्याक्सी चालकलाई बुवा र दाजुभाइ जस्ता पुरुष आफन्तसँग नआएका महिलालाई लैजानबाट रोक्न सक्छ ।

यो अवधिमा महिलाले हिजाब पनि लगाउनु पर्नेछ । यसका साथै कारमा पुरुष र महिला सँगसँगै बस्न पनि प्रतिबन्ध लगाइएको छ ।

नयाँ कानूनमा के-के छन् व्यवस्था ?

नयाँ कानून अनुसार जीवित प्राणीको तस्वीर बनाउन वा प्रकाशन गर्न पनि प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा कुनै पंक्षी, जनावर वा परिवारका सदस्यको तस्वीर बनाउन प्रतिबन्ध लगाइएको छ । नयाँ नियम अनुसार जीवित प्राणीको मूर्ति खरिद बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ ।

कानूनअनुसार मोरालिटी प्रहरीले रेडियो र टेप रेकर्डरमा पनि कडा निगरानी राख्नेछ । शरिया कानूनअनुसार गीत बजाउनु हराम हो । यसबाहेक कुनै पनि जीवित प्राणीमाथि बनेको फिल्म हेर्न प्रतिबन्ध लगाइएको छ ।

कस्तो सजाय हुनेछ ?

यदि कुनै व्यक्तिले कानून उल्लङ्घन गरी निन्दनीय कार्य गर्दछ (तालिबानका अनुसार) भने, उसलाई जरिबाना र तीन दिनसम्म जेल हुन सक्छ ।

धेरैले यी नयाँ कानूनको आलोचना गरिरहेका छन् । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहायता नियोगका प्रमुख रोजा ओतुनबायेभाले दशकौंको युद्ध र सङ्कटपछि अफगानिस्तानका जनता अझ राम्रोका हकदार रहेको बताइन् ।

तालिबानले यो कानून लागू गर्न पछि हट्ने छैन । तर, अफगानिस्तानको राजधानी काबुललगायत देशका केही भागमा यो कानून व्यवस्थित रूपमा लागू भएको छैन ।

मोरालिटी मन्त्रालयसँग सम्बन्धित एक स्रोतका अनुसार उनीहरू कानूनका प्रावधानहरू कार्यान्वयन गर्ने ढाँचामा काम गरिरहेका छन् ।

कानून तर्जुमा र कार्यान्वयनमा थप स्पष्टता आउने भए पनि देशका अन्य भागमा भने धेरै प्रावधान लागू भइसकेका छन् ।

तालिबान सरकारले गत वर्ष शरिया कानूनको पालना नगरेको भन्दै मोरालिटी पुलिसले १३ हजारभन्दा बढी व्यक्तिलाई अस्थायी रूपमा हिरासतमा लिएको बताएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register