टान निर्वाचन : २२ बुँदे घोषणापत्रसहित पाण्डे समूह उत्रियो चुनावी मैदान, यस्ता छने एजेन्डा

काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिका लागि सागर पाण्डे नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । आगामदी भदौ १७ गते हुन लागेको चुनावका लागि बिहीबार मनोनयन दर्ता गरी पाण्डे समूह चुनावमा होमिएको हो । पाण्डे समूहले बिहीबार पत्रकारको आयोजना गरेर आफ्ना एजेन्डाहरू सार्वजनिक गरेको छ । […]

Aug 29, 2024 - 14:27
 0
टान निर्वाचन : २२ बुँदे घोषणापत्रसहित पाण्डे समूह उत्रियो चुनावी मैदान, यस्ता छने एजेन्डा

काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिका लागि सागर पाण्डे नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

आगामदी भदौ १७ गते हुन लागेको चुनावका लागि बिहीबार मनोनयन दर्ता गरी पाण्डे समूह चुनावमा होमिएको हो । पाण्डे समूहले बिहीबार पत्रकारको आयोजना गरेर आफ्ना एजेन्डाहरू सार्वजनिक गरेको छ ।

आगामी दुईवर्षे कार्यकालका लागि हुने नयाँ कार्यसमितिको अध्यक्षमा सागर पाण्डेसहित १७ जना उम्मेदवारहरूको प्यानल बनेको छ । पाण्डेसँग प्रतिस्पर्धा गर्न राजेन्द्र सापकोटा नेतृत्वको अर्काे प्यानल पनि चुनावी मैदानमा उत्रिसकेको छ ।

पत्रकार सम्मेलनका क्रममा अध्यक्ष पदका प्रत्यासी पाण्डेले आफ्नो समूह जुझारु र व्यवसायिक रहेको जिकिर गरेका छन् । आफूहरूले सार्वजनिक गरेको २२ बुँदे घोषणापत्र कसैले लेखिपठाएको वा घोकेर नआएको भन्दै उनले ट्रेकिङ व्यवसायलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने अनुभवका आधारमा तयार पारेको बताए ।

पाण्डे समूहले घोषणापत्रमा ट्रेकिङ व्यवसायीहरूका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने उल्लेख छ ।

यसैगरी टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने, करसम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरी कार्यान्वयन गराउने, पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिने पनि घोषणापत्रमा जनाइएको छ ।

पाण्डे समूहले जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिक रूपमा उठान गरिने उल्लेख गरेको छ भने पर्यटन ऐनलाई समयसापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने र अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने पनि योजना बनाएको छ ।

सागर पाण्डे समूहद्वारा आयोजित पत्रकार सम्मेलन ।

नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गर्ने, एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरूसँग सहकार्य गरिने पाण्डे प्यानलको घोषणापत्रमा उल्लेख छ । यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गर्ने, पर्यटनसम्बद्ध अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने, पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गर्ने, कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गर्नेदेखि पर्यटन बोर्डमा पर्यटन सङ्घसंस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्ष पदका प्रत्यासी पाण्डेले आफू ३० वर्षदेखि पर्यटन क्षेत्र र ट्रेकिङ पेशामा आबद्ध रहेकाले ट्रेकर्सहरूको समस्या र समाधानबारे स्पष्ट रहेको दाबी गरे । उनले आफ्नो समूहका अन्य उम्मेदवारहरू पनि सोही प्रकारको व्यवसायमा दक्षता हासिल गरेका र अनुभवी रहेको बताएका छन् ।

पाण्डे समूहले आफूहरूलाई व्यवसायिक र समावेशी समूह भएकोसमेत दाबी गरेको छ । “हाम्रो उम्मेदवारी टानमा भइरहेको सिण्डीकेटविरुद्ध हो । हामी कुनै राजनीतिक दलको सम्झौतामा बाँधिएका छैनौँ,” अध्यक्ष पदका प्रत्यासी सागर पाण्डेले भने, “हाम्रो पार्टी भनेकै पर्यटन हो, हाम्रो पार्टी भनेकै टान हो ।”

विपक्षीको समूहका उम्मेदवारहरू व्यवसायभन्दा पनि राजनीतिबाट प्रेरित रहेको पाण्डेको आरोप छ । तसर्थ, पर्यटन व्यवसायीहरूले आफूलाई नै मत दिने विश्वास व्यक्त गर्दै आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन् ।

पत्रकारसँगको प्रश्नोत्तरका क्रममा अध्यक्ष पदका प्रत्यासी पाण्डेले टानको निर्वाचन खर्चिलो भएको अनुभूति सबै पर्यटन व्यवसायीहरूले गरिरहेकाले टान निर्वाचनलाई मितव्ययी बनाउन एजेण्डा नै बनाएको बताए । त्यसैले पनि पाण्डे नेतृत्वको प्यानल निरन्तरताको क्रमभङ्गता भएको उनको दाबी छ।

पाण्डे समूहमा वरिष्ठ उपाध्यक्षका लागि चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षका लागि दावा लामा तामाङ, द्वितीय उपाध्यक्षका लागि निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा डम्बर अधिकारी उम्मेदवार रहेका छन् ।

यस्तै सदस्यहरूमा सृष्टि भण्डारी, अम्बिर गुरुङ, माधवकुमार धमला, विनोद कुमार तामाङ, मेरे कार्की, होम बहादुर विश्वकर्मा, शिवप्रसाद शिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमी (भोटे) उम्मेदवार रहेका छन् ।

यो समूहलाई नेपाली कांग्रेसको संस्थापनइतर समूह, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) सहित स्वतन्त्र व्यवसायीहरूको समर्थन रहेको बताइन्छ ।

अध्यक्षका लागि राजेन्द्र प्रसाद सापकोटा उम्मेदवार रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र प्रसाद सुवेदी रहेका छन् । यस्तै सचिवमा रिन्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले, सहकोषाध्यक्षमा लाक्पा रिन्जी शेर्पाको उम्मेदवारी रहेको छ ।

यस्तै सदस्यहरूमा पवित्रा तामाङ, सागर राई, सुमन अर्याल, विश्व दाहाल, दिनेश तिम्सिना, राजु गुरुङ, छप्ते लामा, भुवनबहादुर खड्का दावा लामा रहेका छन् । यो समूहलाई कांग्रेसको संस्थापन पक्ष र एमालेको समर्थन रहेको बताइएको छ ।

देशभर २४ सयभन्दा बढी ट्रेकिङ कम्पनीहरू दर्ता भई सञ्चालनमा छन् । कम्पनी दर्ता गरी टान निर्वाचनमा मतदान गर्नयोग्य मतदाताहरूको सङ्ख्या १ हजार ४ सय ३८ छन् । यी मतदाताहरूले सन् २०२४ देखि ०२६ सम्मका लागि आफ्नो छाता सङ्गठनको नेतृत्व चयन गर्न लागेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register