कसरी जुट्ला देउवा र थापा-शर्माबीच सहमति ? 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच पटक-पटक छलफल भयो तर, सहमति जुट्न सकेको छैन । २०८० फागुन ७ गते सुरु भएर १० गते सकिएको महासमिति बैठकबाट पारित थापाको राजनीतिक प्रस्ताव र शर्माको समसामयिक प्रस्ताव अहिले पार्टीभित्र चर्चामा छ । थापाको ‘प्री-इलेक्सन कोलिसन’ अर्थात् निर्वाचनपूर्वको गठबन्धन र शर्माको […]

Aug 30, 2024 - 04:43
 0
कसरी जुट्ला देउवा र थापा-शर्माबीच सहमति ? 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच पटक-पटक छलफल भयो तर, सहमति जुट्न सकेको छैन ।

२०८० फागुन ७ गते सुरु भएर १० गते सकिएको महासमिति बैठकबाट पारित थापाको राजनीतिक प्रस्ताव र शर्माको समसामयिक प्रस्ताव अहिले पार्टीभित्र चर्चामा छ ।

थापाको ‘प्री-इलेक्सन कोलिसन’ अर्थात् निर्वाचनपूर्वको गठबन्धन र शर्माको ‘एक्जिट पोलिसी’ अर्थात् बहिर्गमनको नीतिमाथि अहिले कांग्रेसभित्र चर्चाको विषय बनेको छ ।

संस्थापन पक्ष थापा-शर्माको यो प्रस्ताव सच्याएर लिएर जान चाहन्छ भने संस्थापइतर पक्ष जस्ताको त्यस्तै पारित गर्न चाहन्छ । अहिले देउवाले थापा-शर्मासँग यही विषयमा चरणबद्ध रूपमा छलफल गरिरहेका छन् तर, सहमति भेटिएको छैन ।

देउवाले यसअघि थापा-शर्मासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकलाई बूढानीलकण्ठ बोलाएर सहमति जुटाउन कोसिस गरेका थिए तर, सफल भएनन् ।

देउवाले दुवै प्रस्तावलाई सच्याएर जानुपर्ने सुझाव दिएका थिए तर, थापा-शर्माले आफ्नो अडान छाडेका थिएनन् । यसपछि सहमति जुटेन । अर्को दिन उनीहरूबीच मध्यमार्गी बाटोबाट विषय टुङ्ग्याउने सहमति भएको थियो ।

यसमा थापा-शर्माले आफूहरूको प्रस्तावमा भाषा सम्पादन भए पनि मर्म मर्न नदिने अडान राखेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले भने, “विषय टुङ्ग्याउनुपर्ने नै हो । यसका लागि मध्यमार्गी बाटोबाट गएर टुङ्ग्याउने भन्नेबारे कुरा भएको छ तर, विषय जे हो, त्यसको मर्मचाहिँ मर्नुभएन ।”

यसमा सभापति शेरबहादुर देउवाको पनि सहमति रहेको उनीनिकट नेता मीन विश्वकर्मा बताउँछन् । “मध्यमार्गी बाटोमा गएर त्यस विषयलाई टुङ्ग्याउने सोचमा सभापति हुनुहुन्छ । बहुमतले अस्वीकृत गरेर जानेबारे सोच्नुभएको छैन उहाँले । सहमतिका साथ नै अगाडि बढ्न खोज्नुभएको छ । बहुमत-अल्पमत गरेर जान खोज्नुभएको छैन,” उनले भने ।

त्यसो त देउवा थापा-शर्माको प्रस्तावलाई अस्वीकृत गरेर जान चाहँदैनन् । थापा-शर्मासँग खासगरी युवाहरूको लोभलाग्दो आकर्षण रहेको कुरा देउवालाई राम्रोसँग थाहा छ । र, अहिले उनीहरूको प्रस्तावलाई बहुमत लगाएर जाँदा त्यो आकर्षण विकर्षणमा परिणत हुने भय देउवालाई छ । यसकारण उनी बहुमत लगाएर जाने सोचमा छैनन् ।

नेता विश्वकर्माले भने, “सभापतिजी पेलेर अगाडि बढ्ने सोचमै हुनुहुन्न । उहाँले राम्रोसँग सहमति जुटाएरै जाने सोचमा हुनुहुन्छ ।”

देउवा थापाको भन्दा पनि शर्माको प्रस्तावसँग डराएका छन् । शर्माको प्रस्तावमा दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रावधान छ । उनले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटक मात्रै बन्न पाउने प्रावधान आफ्नो प्रस्तावमा राखेका छन् ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ।

यदि बिनासंशोधन शर्माको प्रस्ताव पारित भएको खण्डमा त्यो लागू हुने र आफूसहित पार्टीका धेरै नेताहरू एक्जिट हुनुपर्ने भय देउवालाई छ । त्यसैले उनले प्रस्ताव सच्याउन चाहेका छन् । तर, थापा-शर्माले भाषा सम्पादन भए पनि मर्म सम्पादन हुन नहुने अडान राखेका छन् ।

थापा-शर्मासँग सहमति नजुटेपछि देउवाले केन्द्रीय समिति बैठक ४ दिन उता सारेका छन् । केन्द्रीय समिति बैठक १२ गते बोलाइएको थियो तर, थापा र शर्माको प्रस्तावमाथि सहमति नजुटेपछि बैठक ४ दिन सारिएको छ ।

ध्यानमा सङ्गठन राख्ने कि सत्ता ?

संस्थापनइतर पक्षले भने महामन्त्रीद्वय थापा-शर्माको प्रस्तावलाई संशोधन गरेर संस्थापन पक्ष सत्ताकेन्द्रीत हुन खोजेको आरोप लगाएको छ ।

संस्थापनइतर पक्षका एक नेता भन्छन्, “अब सत्तामा होइन, सङ्गठनमा फोकस हौँ भन्ने महामन्त्रीद्वयको प्रस्तावको सार हो तर, त्यसलाई असफल बनाएर अगाडि जाने संस्थापन पक्षको जोड देखिन्छ । यसरी हुँदैन भन्ने हाम्रो बुझाइ हो ।”

तर, संस्थापन पक्षले भने महामन्त्रीद्वयको प्रस्ताव व्यवहारिक नहुने तर्क गर्छन् । यसअघि बसेको केन्द्रीय समिति बैठकमा नेताहरू कृष्ण सिटौला, विजयकुमार गच्छदार, विमलेन्द्र निधीहरूले पनि यही विषय बोलेका थिए । त्यसैले प्रस्तावमा आवश्यक संशोधन आवश्यक हुने उनीहरूले बताएका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक ।

संस्थापनइतर पक्षबाट प्रतिनिधित्व गर्ने उपसभापति धनराज गुरुङ भने महासमिति बैठकबाट पारित भएको प्रस्तावलाई अहिले आएर महामन्त्रीद्वयको प्रस्तावलाई व्यक्तिगत जस्तो बनाइएको बताउँछन् ।

उनले भने, “प्रस्तावमाथि महासमिति बैठकमा पारित हुनुअगावै छलफल हुनुपर्थ्यो तर, त्यसबेला यसलाई कसैले ठूलो रूपमा लिएनन् । प्रस्ताव राम्रोसँग पढियो जस्तो पनि लागेन । अहिले महामन्त्रीद्वयको प्रस्तावलाई व्यक्तिगत जस्तो बनाइयो ।”

जे होस्, अहिलेसम्म महामन्त्रीद्वय थापा-शर्माको प्रस्तावमाथि कुनैखाले सहमति जुटेको छैन । त्यसमा भाषिक सम्पादन/संशोधन हुने भनिएको छ । त्यसमा सभापति देउवासँगै महामन्त्रीद्वय थापा-शर्माको सहमति रहेको छ । कसरी संशोधन हुन्छ, हेर्न बाँकी छ । तर, सहजै हुने सम्भावना भने देखिँदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register