प्रदेश परामर्श समिति बैठकमा किरातीको फरक मतः ‘नेपाली मौलिकतामा समाजवाद’ प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश परामर्श समिति बैठकमा नेता सुदन किरातीले संगठन निर्माणका लागि फरक मत प्रस्तुत गरेका छन् । उदयपुरको बेलाका नगरपालिकामा आइतबारदेखि सुरु भएको बैठकमा किरातीले ‘नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन’ शीर्षकमा आफ्नो विचार राखेका हुन् । किरातीले अध्यक्ष प्रचण्डको नेतृत्वमा ‘देश महायात्रा’ सञ्चालन गरी विचारको विकास […]

Sep 8, 2024 - 10:59
 0
प्रदेश परामर्श समिति बैठकमा किरातीको फरक मतः ‘नेपाली मौलिकतामा समाजवाद’ प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश परामर्श समिति बैठकमा नेता सुदन किरातीले संगठन निर्माणका लागि फरक मत प्रस्तुत गरेका छन् ।

उदयपुरको बेलाका नगरपालिकामा आइतबारदेखि सुरु भएको बैठकमा किरातीले ‘नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन’ शीर्षकमा आफ्नो विचार राखेका हुन् ।

किरातीले अध्यक्ष प्रचण्डको नेतृत्वमा ‘देश महायात्रा’ सञ्चालन गरी विचारको विकास गर्ने प्रस्ताव गरेका छन् । उनको मुख्य जोड ‘प्रकृति र संस्कृति मैत्री नेपाली समाजवाद’ को विकासमा रहेको छ ।

यसका लागि उनले पार्टी कार्यकर्तालाई जनताको संस्कृति, इतिहास र दर्शन बारे गहन अध्ययन गराउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

किरातीको प्रस्तावमा स्थानीय सरकारमार्फत समाजवादको नमुना प्रस्तुत गर्ने र नेपाली चार ऋतुको आधारमा वार्षिक क्यालेन्डर सहित संगठन परिचालन गर्ने योजना समावेश छ । उनले वर्तमान समाजवादलाई ‘बरमझियाको असली बुढो बाजेको पेडा’ जस्तै भएको भन्दै आलोचना गरेका छन् ।

किरातीको यो प्रस्तावले नेपाली विशेषताको समाजवादको विकास गर्नुपर्ने र यसलाई आयात नगरी स्वदेशी रूपमा विकास गर्नुपर्ने धारणा प्रस्तुत गरेको छ ।

रिभर्स बिच रिसोर्टमा आइतबारदेखि सुरु भएको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, प्रदेशभरिका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको छ ।

किरातीले राखेका फरक मत 

अध्यक्ष कमरेड !

अहिलेको मूल आवश्यकता रणनीति र कार्यनीतिलाई मूर्त बनाउँदै नेपाली मौलिकतामा समाजवादी विचारको विकास गर्नु हो । आज हाम्रो समाजवाद बर्मझियाको असली बुढो बाजेको पेडा जस्तै भएको छ । सबै दलले समाजवाद भन्छन् तर कसको समाजवाद कस्तो हो, स्पष्ट छैन । त्यसैले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा “देश महायात्रा” सञ्चालन गरेर विचारको विकास गरौँ । त्यसले पार्टीभित्रको संगठनात्मक सङ्कट समाधान हुन्छ, नेतृत्व निर्माणको सवाल सम्बोधन हुन्छ र जनतामा पार्टीप्रति नयाँ किसिमबाट भरोसा निर्माण हुन्छ । त्यो काम सामूहिकतामा हुनुपर्छ, जनतामा आधारित हुनुपर्छ । त्यो अभियानलाई सफल बनाउन निम्न मौलिक विधि अपनाउन सकिन्छ :

१. विचार निर्माणका लागि पहिलो काम :

क) सिङ्गै सङ्गठन परिचालन गर्दै आजको नेपाली सामाजिक जनजीवनलाई बुझ्न अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा देश महायात्रा गरौँ ।

ख) नेपाली ऋतुलाई आधार मानेर हिमाल, पहाड र मधेसको संस्कृतिलाई मिहिन ढङ्गले बुझौँ ।

ग) प्रकृतिलाई बुझ्ने र व्यवहार गर्ने नेपाली जनता र सिङ्गो समाजको जीवनशैली, संस्कृति र चिन्तनलाई नजिकबाट बुझौँ ।

(घ) प्रगतिशील सामाजिक मूल्यमान्यताका आधारमा “प्रकृति र संस्कृति मैत्री नेपाली समाजवाद” को विकास गरौँ ।

२. विचार निर्माणका लागि दोस्रो काम :

(क) आम पार्टी पङ्क्तिलाई जनविश्वविद्यालमा अध्ययन गर्न गराउन पठाऔँ ।

(ख) जनताका संस्कृति, इतिहास, दर्शन, अनुभव, परम्परागत संस्थाहरू बारे गहिरो अध्ययन गरेर प्रगतिशील पक्षहरूलाई आधार मानी नेपाली समाजवादको जग बसाऔँ ।

(ग) समाजवाद “ल्याउने” (आयात) गर्ने होइन, समाजवादमा “पुग्ने”हो भने नेपाली विशेषताको समाजवादको “विकास” गरौँ ।

३. विचार निर्माणका लागि तेस्रो काम :

(क) विश्व साम्राज्यवादका बहुमुखी सामर्थ्य र कमजोरीलाई गहिरोसँग अध्ययन गरौँ र नेपाली समाजवाद त्यसभन्दा कुन अर्थमा उन्नत हुनेछ भनेर स्पष्ट पारौँ ।

४. अन्तिम काम : विचारको संश्लेषण गरौँ ।

(क) जनताबाट आएका ज्ञानहरू र विश्व साम्राज्यवाद सम्बन्धी अध्ययनका आधारमा नेपाली समाजवादी विचारको संश्लेषण गरौँ । ख) समाजवाद सम्बन्धी जनताले बुझ्ने भाषामा “अहिले यति गर्न सक्छौँ अथवा चाहन्छौँ” र “पछि यति गर्नेछौँ” भनेर हाम्रो पार्टीको नीति तथा कार्यक्रम प्रस्ट पारौँ ।

५. स्थानीय तहः समाजवाद निर्माणको जगः

हाम्रो पार्टीको नेतृत्वमा रहेको स्थानीय तहको सरकारलाई प्रयोग गरेर समाजवादको नमुना प्रस्तुत गरौँ । स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा रहने भएकोले जनताकै अपनत्व र स्वामित्व पनि हुने गर्छ त्यसैले यो स्वतः प्रभावकारी हुन्छ साथै त्यहीँबाट नेपाली समाजमैत्री समाजवादको विकास गर्न सकिन्छ र जनतालाई पार्टीप्रति गोलबन्द गर्न सम्भव हुन्छ ।

६. सङ्गठन परिचालन : समाजभन्दा पर रहेर मानिसलाई कुनै पनि मूल्य मान्यतामा डोर्‍याउन सकिँदैन ।

नेपाली समाजले कतिपय मान्यताहरू भू–बनोट, वातावरण र ऋतुकालीन श्रमसँग निर्माण गरेको पाइन्छ । त्यसैले नेपाली चार ऋतुको आधारमा वार्षिक क्यालेन्डर सहित बाह्रै महिना संगठनलाई परिचालन गरौँ

क ) वसन्त अभियान (चैत्र–वैशाख–जेष्ठ) भरि सृजनाको काम गर्ने ।

(ख) वर्षा अभियान (असार–साउन–भदौ) विचार निर्माण सँगै श्रम गर्ने; बाढी, पहिरो, राहत, उद्धार, पुर्स्थापनाबारे जनसचेतनाका काम गर्ने । ग) शरद अभियान (असोज–कार्तिक–मङ्सिर) आन्तरिक तयारीसँगै चाडबाडसँग सम्बन्धित सामाजिक क्रियाकलाप र शुभकामना आदानप्रदान गर्ने ।

(घ) शिशिर अभियान (पुस–माघ–फागुन) वार्षिक पार्टी कामको आन्तरिक तयारी, हिमपात, शीतलहरबाट बच्ने सचेतना जगाउने र न्यानो कपडा बाँड्ने सामाजिक सेवा जस्ता काम गर्ने ।

(ङ) पार्टी कार्यकर्ता र नेताहरू संगठक मात्र नभएर निरन्तर विचार निर्माणको लागि अनुसन्धानकर्ताका रूपमा पनि विकास गराउनुपर्छ ।

(च) पार्टीको आमनीति सापेक्षिक कार्यक्रम अन्तर्गत वडा स्तरसम्मको कमिटीलाई नीतिको आधारमा कार्यक्रम बनाउन स्वतन्त्रता प्रदान गर्ने । यसरी पार्टी कामलाई व्यवस्थित गर्दा एकातिर वर्ष दिनको कार्यक्रम अगाडि नै निर्धारित हुन्छ र “माथि” बाट के आउँछ भनेर तल्लो कमिटीले बाटो हेरिरहनु पर्दैन । अर्कोतिर, कार्यक्रम बनाउने अधिकार दिँदा रचनात्मक प्रतिस्पर्धा हुन्छ र नयाँ नयाँ सिर्जनाको जन्म हुन्छ । स्वयम् कमिटी र कमिटीका नेता हर समय नयाँ नयाँ विषय सोच्नु बाध्य हुन्छ । परिणामको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ । छ) सार्वजनिक संस्था र स्थलहरूको सुधार गर्ने जिम्मेवारी लिएर फिल्डमा जाऔँ । स्थानीय पार्टी परिचालन गरेर (विद्यालय, स्वास्थ्य चौकी र हाटबजार आदी)मा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी व्यापक सुधार ल्याऔँ । हाम्रा काम देखेर मानिसहरू आफै पार्टीप्रति आकर्षित होउन् । अब सदस्यता जबरजस्ती दिने होइन, आफै सदस्यता लिन आउनेखालको पार्टी बनाऔँ ।

२२ भदौ २०८१

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register