‘ओलीको तबला’ बजाइरहेका बालेन !

बालेनका एकपछि अर्को 'फायर' किन ओलीविरुद्ध नै ? स्वाभाविक जिज्ञासा उठ्छ नै । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह भन्छन्, "ज-जससँग विवाद भएको छ, उनीहरू सबै महानगरको काम गर्ने ठाउँमा ठोकिन आएका हुन् ।"

Sep 8, 2024 - 15:07
 0
‘ओलीको तबला’ बजाइरहेका बालेन !

काठमाडौं । २०७९ असार ३० गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेकपा (एमाले) का अध्यक्ष केपी शर्माको निजी निवास बालकोट पुगेका थिए । बालेनलाई ओलीले बधाई मात्रै दिएनन्, उपहारमा तबलासमेत दिए ।

एमाले सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईका अनुसार बालेनलाई ओलीले दिएको तबलाको अर्थ ‘करुणा, प्रेम र सद्भाव’ हो । २०८१ जेठ २२ गते संसद्‌मै उभिएर भट्टराईले उपहार तबलाको स्मरण गर्दै बालेनलाई संयमता नगुमाउन आग्रह गरे ।

बालेनलाई ओलीले जतिबेला तबला उपहार दिए, त्यसबेलासम्म यी दुईको सम्बन्ध ठीकठाक नै थियो । तर, त्यसको ठीक दुई महिनापछि उनीहरूबीच सम्बन्ध बिग्रन थाल्यो । २०७९ भदौ ९ गते बालेनले एमालेनिकट व्यवसायी द्विराज शर्माको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाए ।

एमालेका केशव स्थापित, कांग्रेसकी सृजना सिंहलगायतलाई फराकिलो मतान्तरले पछाडि पारेर काठमाडौं महानगरपालिकाका मेयर निर्वाचित भएका बालेन अलिक अगावैदेखि ‘डोजर क्रान्ति’ मा लागेका थिए । त्यही मेसोमा पर्‍यो एमालेनिकट व्यवसायी द्विराज शर्माको अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना ।

डोजर चल्दैगर्दा द्विराज शर्मा र बालेनबीच नोकझोक र मुखामुख नै भएको थियो । तर, पछि त्यो मुखामुख एमाले र बालेनको तहमा देखा पर्‍यो । त्यो क्रम अहिलेसम्मै जारी छ । पछिल्लोसमय त त्यो मुखामुख अझ सशक्त देखिन्छ ।

थापाथली सुकुम्वासी वस्ती प्रकरण, न्यूरोड फुटपाथ विस्तार प्रकरण, गिरीबन्धु टी-स्टेट प्रकरण, एमाले सांसद रेखा शर्मा प्रकरण हुँदै महानगरभित्रका नदी किनारका दायाँ-बायाँ २०/२० मिटरको जमिनभित्र संरचना बनाउन पाइने कि नपाइने भन्ने प्रकरणसम्म आइपुग्दा एमाले-बालेन बझान अझ भएको छ ।

अब यो क्रम कहाँसम्म पुग्छ, देखिएला नै । तर, बालेनका एकपछि अर्को ‘फायर’ किन ओलीविरुद्ध नै ? स्वाभाविक जिज्ञासा उठ्छ नै । जबकि ओलीभन्दा फरक हुन नसकेका नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालहरू पनि विवाद र अनियमितताबाट पर छैनन् । तर, बालेनको ‘फायर’ किन ओली या उनको पार्टी एमालेविरुद्ध मात्रै ?

यहाँ एउटा तर्क गर्न सकिन्छ कि ओली अहिले प्रधानमन्त्री छन्, त्यसैले बालेनले उनी, उनको पार्टी र सरकार प्रमुखका रूपमा उनले गरेका निर्णयहरूमाथि प्रश्न उठाउन स्वाभाविक हो ।

तर, कतिपयले यसलाई बालेनले राजनीतिक रूपमा एमालेलाई क्षति पुर्‍याउन खोजेको रूपमा अर्थ्याएका छन् । उनीहरूको अर्थ्याइँ छ कि २०८४ को निर्वाचनअगावै बालेनले पार्टी गठन गर्दैछन्, त्यसका लागि सबैभन्दा बढी सङ्गठित सदस्य भएको एमालेलाई क्षति पुर्‍याउन चाहन्छन्, ताकि त्यहाँबाट विमुख युवापुस्ता आफूतिर आऊन् !

तर, राजनीतिक विश्लेषक तथा स्तम्भकार डम्बर खतिवडा भने त्यो मान्न तयार छैनन् । उनको विचारमा बालेनले पार्टी गठन गरे सबैभन्दा बढी राजनीतिक घाटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हुनेछ ।

“एमाले, कांग्रेस, माओवादी वा अरु दलहरूलाई सामान्य घाटा होला तर, यदि बालेनले पार्टी गठन गरे भने सबैभन्दा बढी राजनीतिक घाटा रास्वपाले सहनुपर्छ,” खतिवडा भन्छन्, “किनकि रास्वपामा धेरै नेताहरू बालेनहरूकै स्वतन्त्र लहरअन्तर्गत जितेका हुन् ।”

त्यसो त ओली, उनको पार्टीका नेता/सांसद तथा उनले प्रधानमन्त्रीका रूपमा गरेका निर्णयहरूमाथि प्रश्न गर्ने अधिकार बालेनले मात्रै होइन, जोसुकै नागरिकले राख्दछ । तर, बालेनचाहिँ किन ओलीमा मात्रै केन्द्रित ? के बालेनले उठाएका विषयहरू अनावश्यक हुन् ? त्यसो होइन तर, उनी आफ्नो कार्यक्षेत्र भुलेर किन सङ्घीय सरकारको नेतृत्वकर्ता दल र त्यसका नेतामाथि मात्रै प्रश्न उठाइरहन्छन् ? यसको अन्तर्यमा के छ ?

खतिवडा भन्छन्, “अरु कुरा स्वाभाविक नै हुन् । खाली कति मात्रै हो भने बालेन आफ्नो कार्यक्षेत्र भुलेर ओलीमाथि मात्रै किन प्रश्न उठाउँछन् भन्ने हो । अन्यथा ति जायज विषयहरू हुन् । यसलाई एप्रिसियट नै गर्नुपर्छ ।”

निर्वाचित भएको केही महिनापछि एमालेविरुद्ध शृङ्खलाबद्ध ‘फायर’ खोल्दै आएका बालेनले ओलीबाट लिएको तबला कसरी राखेका छन्, बेलाबखत बजाउँछन् कि बजाउँदैनन्, बजाए कुन तालमा बजाउँछन् थाहा छैन । तर, एमाले-बालेनबीचका शृङ्खलाबद्ध विवाद र नोकझोकबारे कतिपयले स्वादिलो जोक बनाउन थालेका छन्— बालेनले ओलीको तबला बजाइरहेका छन् ।

तर, बालेनका निकटस्थ भने मेयरले एमाले या ओलीविरुद्ध फायर नखोलेको जिकिर गर्छ । बरु महानगरले काम गर्ने ठाउँमै एमाले ठोकिन आएको तर्क बालेन सचिवालयको छ ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह भन्छन्, “ज-जससँग विवाद भएको छ, उनीहरू सबै महानगरको काम गर्ने ठाउँमा ठोकिन आएका हुन् ।”

प्रमुख स्वकीय सचिव शाहको दाबी यो पनि छ कि बालेन पार्टी गठन गरेर अगाडि बढ्दैनन् । उनी जनताको म्यान्डेडअनुरूप मात्रै अगाडि बढ्नेछन् । त्यसो त अपुष्ट स्रोतहरू बालेनले २०८४ सालको निर्वाचनअगावै पार्टी गठन गर्ने उल्लेख गर्छन् ।

जे होस्, अहिल्यै धेरै केही भन्न सकिन्न । यतिचाहिँ हो कि बालेनले पार्टी खोल्नुपर्छ भन्ने युवा जमातको सङ्ख्या बढ्दो छ । त्यो जमात ०८४ को निर्वाचनसम्म कुन रूपमा अगाडि आउँछ, हेर्दै जाउँला । बालेनको कदम के रहन्छ ? तर,  प्रतिकात्मक रूपमा भन्दा बालेन अहिलेलाई ओलीको तबला बजाउनमै व्यस्त छन् ।

  • सम्बन्धित सामग्री

एमालेविरुद्ध शृङ्खलाबद्ध ‘हमलाकर्ता’ बालेन पार्टी बनाउँदैछन् ? 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register