हामी डगमगाउँदैनौँ

अनेकन् चुनौतीका बाबजुद हामीले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न कुनै कसर बाँकी राखेका छैनौँ । आमसञ्चारको विश्वव्यापी मान्यतामा हामीले कसैसँग कुनै सम्झौता गर्ने छैनौँ ।

Sep 12, 2024 - 03:15
 0
हामी डगमगाउँदैनौँ

हाम्रो धर्म: निष्पक्ष, स्वतन्त्र र निर्भिक सञ्चारकर्म । नेपालभ्युज आजदेखि तीन पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । प्रथमतः यस सुखद अवसरमा प्रिय पाठक, स्रोता, दर्शक, विज्ञापनदाता, नेपालभ्युज टिम तथा सम्बद्ध सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

तपाईंहरूको शुभेच्छा, साथ र सहयोगले नै नेपालभ्युजको निरन्तरता, स्थायित्व र प्रगति सम्भव भएको हो । अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आत्मा हो । निष्पक्ष बिना सञ्चारमाध्यम अभिव्यक्ति स्वतन्त्रता निस्कन्टक रहन सक्दैन । ज्ञान र तर्कको आधार नभएको समाजले सही र गलतलाई भेद गर्न सक्दैन र निर्भिक सञ्चारमाध्यमले तथ्य र सूचना प्रवाह गरेर समाजलाई सही मार्गमा लान उत्प्रेरित गरिरहेको हुन्छ ।

लोकतन्त्र भनेको प्रकारान्तरले विवेकतन्त्र हो । सामूहिक विवेकको सत्प्रयासबाट अँध्यारोबाट उज्यालोतिरको यात्रा सहज र सम्भव हुन्छ । अँध्यारोमा  राष्ट्र बाँच्न सक्दैन । अन्धकारमा लोकतन्त्र फस्टाउन सक्दैन । विगत तीन वर्षमा हामीले नेपाली समाजका अँध्यारा पाटा मात्रै केलाएका छैनौँ, उज्याला भविष्यका बाटा पनि देखाउने प्रयत्न गरेका छौँ ।

नेपालभ्युजले आफ्नो नामअनुरूप समसामयिक घटनाक्रम र सार्वजनिक विमर्शका आयामबारे विश्लेषण, दृष्टिकोण र बहुपक्षीय जानकारी पस्किने प्रयत्न गर्दै आएको छ । साथै, खोजमूलक पत्रकारितामा हाम्रो विशेष जोड रहेको छ । आगामी दिनमा हामी यस्तो प्रयत्नलाई अझै प्रखर बनाउने छौँ ।

कोभिड १९ पछिको कठोर स्थितिमा हामीले नेपालभ्युजको सुरुवात गरेका थियौँ । त्यसैदेखि सुस्त भएको देश र विश्वकै अर्थतन्त्र अझै राम्ररी लयमा फर्किएको छैन । विज्ञापन बजार सङ्कुचित भएको छ । समग्र सञ्चार क्षेत्रमाथि नै विभिन्न तत्त्वले बेलाबेला अविश्वास र वितृष्णा सृजना गर्ने अवाञ्छित प्रयत्न गर्ने गरेका छन् । साथै सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चारमाध्यमले विश्वव्यापी चुनौती खेपिरहेको छ ।

त्यसले निष्पक्ष, स्वतन्त्र र निर्भिक सञ्चारकर्मका लागि समाज र राज्यका सबै अवयव सकारात्मक हुनु जरुरी छ । पत्रकार तथा रिपोर्टरको सुरक्षा यसको आधारभूत शर्त हो । समाचार लेखेकै भरमा पत्रकारमाथि अमर्यादित व्यवहार र आक्रमण गर्ने दुर्भाग्यपूर्ण स्थितिसमेत बेलाबेला हामीले सामना गरेका छौँ ।

तर, यसबाट हामी विचलित भएका छैनौँ । यस्ता अनेकन् चुनौतीका बाबजुद हामीले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न कुनै कसर बाँकी राखेका छैनौँ । आमसञ्चारको विश्वव्यापी मान्यतामा हामीले कसैसँग कुनै सम्झौता गर्ने छैनौँ । देश अब लोकतान्त्रिक स्थिरतासँगै सुशासन, सार्थक समावेशीता, सामाजिक न्याय र समृद्धिको युगतिर प्रवेश गर्नु पर्दछ भन्ने हाम्रो विश्वास छ ।

हामी बडो दृढ र स्पष्ट छौँ कि सञ्चारकर्म बृहत् राष्ट्रिय सङ्कल्प र ऐतिहासिक कार्यभार पूरा गर्ने साझा प्रयत्नको एक आयाम हो । आधुनिक, सुशासित, सभ्य, सुसंस्कृत र लोकतान्त्रिक राष्ट्रिय राज्य निर्माणको लक्ष्य पूरा भए सञ्चारकर्मले पनि आफ्नो कार्यक्षेत्रमा सहजतापूवक हुर्किने, खेल्ने, फूल्ने, फल्ने अवसर प्राप्त गर्न सक्दछ ।

सूचना प्रविधिमा आएका परिवर्तनसँगै सञ्चारकर्मका प्रवृत्तिमा पनि व्यापक परिवर्तन भएका छन् । आम डिजिटलीकरण, सामाजिक सञ्जाल र नागरिक पत्रकारिताजस्ता नयाँ आयामहरू उदित भएको यो युगमा व्यावसायिक सञ्चारकर्मको भविष्यबारे अनेक विमर्श, दृष्टिकोण र चिन्तासमेत मुखरित हुँदै गएका छन् ।

नेपालभ्युज मात्र यसबाट अछुतो रहन सक्दैन । हामीले यस्ता कतिपय चुनौतीको सामना गर्नुपर्ने छ । कतिपय विषयमा समयको प्रवाहसँगै सहज रूपमा समायोजित हुनुपर्ने छ ।

यी सबै परिस्थिति र चुनौतीको बीचमा पाठकहरूको इच्छा, चाहना र अभिरुचिअनुरूपका सामग्री उत्पादन गर्ने र पस्किने कुरामा हामी दृढ छौँ । सूचनाको सतही प्रवाह मात्र नभएर युगसापेक्ष ज्ञान उत्पादन र संश्लेषणमार्फत आम मार्गदर्शनलाई फराकिलो, उज्यालो वा स्पष्ट पार्ने कामलाई नेपालभ्युजले उत्तिकै महत्व दिनेछ ।

बितेका दिनमा जस्तै आगामी दिनमा पनि यहाँहरू सबैको साथ, सहयोग र शुभेच्छा पाइरहने अपेक्षा गरेका छौँ ।

धन्यवाद !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register