सहकारी प्रकरण : विदेश फरार २७ जनाको खोजबिन गर्न समितिको निर्देशन

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको  संसदीय छानबिन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको  समितिको बैठकले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी), भरत महर्जनसहितका २७ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन […]

Sep 13, 2024 - 17:28
 0
सहकारी प्रकरण : विदेश फरार २७ जनाको खोजबिन गर्न समितिको निर्देशन

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको  संसदीय छानबिन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको  समितिको बैठकले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी), भरत महर्जनसहितका २७ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए  ।

सभापति थापाले पहिलो बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिनेबारेमा महत्त्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूची, छलफलको योजना, वित्तीय विश्लेषणको बारेमा जानकारी, त्यसउपर छलफल, प्रस्तुत तथ्य तथ्यांकमा छलफल र प्रस्तुतीकरणको शैली ढाँचामा गर्ने छलफललाई व्यवस्थित गर्ने निर्णय भएको बताए । यस्तै दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जिबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरूको बारेमा सरकारले खोजबिनका सन्दर्भमा के–के प्रगति हासिल भयो भनेर जानकारी लिएको उनले बताए ।

थापाले गृह मन्त्रालयले पहल गरेर नेपाल प्रहरीका दुई जना अधिकृतलाई मलेसिया पठाएको र त्यहाँ आवश्यक समन्वय र कोसिस गरेको जानकारी पाएको पनि बताए । उनले राजनीतिक नेतृत्व तहमा कुरा भइसकेको विषय भएकाले प्रहरी र इन्टरपोलको माध्यमबाट गरिने विषय भन्दा फरक स्थितिमा रहेको भन्ने जानकारी गृह मन्त्रालयले दिएको बताए । विदेश फरार हुनेमा २५ जना रहेकोमा आज पुनः दुई जनालाई थप गरी (सूर्यदर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन बचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापा) गृह मन्त्रालयलाई पत्राचार गरिएको बताए ।

नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग जस्ता कामहरू गर्ने र विदेशमा गएर सुरक्षित हुने खालको जुन प्रवृत्ति बढिरहेको र यसकाप्रति समितिमा गम्भीर चिन्ता व्यक्त गरिएको उनले बताए । उनका अनुसार सरकारलाई यस सम्बन्धमा आवश्यक संयन्त्र, अनुसन्धानको सामर्थ्य, गोपनीयता, अनुसन्धानसँग सम्बन्धित समग्र सरकारको प्राथमिकतामा पनि विशेष ध्यान दिन आग्रह गरिएको छ ।

समितिको प्रतिवेदनको कामलाई अन्तिम रूप दिन शनिबार पुनः बैठक बस्ने पनि उनले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register