कविता : खोला २
साँच्चै खोला झैँ त्यागी संसारमै कोही होला, नहोला ?
कुद्दै दौडँदै, बेतोड मार्दै
हिँडिरहेछ, बगिरहेछ–
वर्षौँदेखि, युगौँदेखि कहाँ, कसलाई भेट्न
भ्याउरे, सामरी वा धोबीखोला
होला, त्रिशूली वा बागमतीमा समाहित हुन
आफ्नै अस्तित्व मेट्न, पहिचान गुमाउन
आफ्नो परिचय हराएर
किन मन लागेको होला
नदीमा हेलिन
मनोहरा, हनुमन्ते, कर्मनशालाई
लुगा धोइरहेकाहरू, नुहाइरहेकाहरू
नाङ्गै, भुतुङ्गै पौडी खेलिरहेका किशोरहरू
वा यात्रुहरू, पथिकहरू, पर्यटकहरूमाझ
अमिट परिचय बोकेको सजीव जस्तो प्राणी भई
आत्मीयता साटिरहेको छ टुकुचै पनि
बात मारिरहेछ, गीत सुसेलिरहेछ
अनि बगिरहेछ, बगिरहेछ
परिचय हराउन आतुर भएर
पहिचान त्याग गर्न
हतार हतार लिखु र तादी पनि
कठै, बिलाउन खोजिरहेछन्
कोल्पु, महेश खोला,
या सलाँखु, फलाँखु,
या गमगाड र खत्याड खोला–
हाम्रो खोला, प्यारो खोला
साँच्चै खोला झैँ त्यागी
संसारमै कोही होला, नहोला ?
विदुर ८, बगुवाबजार, नुवाकाेट, हाल : बूढानीलकण्ठ १० बेख, निलाेपुल, कपन
What's Your Reaction?