आपका शीर्ष नेताको जेल यात्राले आतिशीलाई खुल्यो मुख्यमन्त्रीको बाटो, यस्तो छ विगत

आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुनेछिन् । उनीअघि पूर्व विदेशमन्त्री सुष्मा स्वराज र शीला दीक्षितले यो पद सम्हालेका थिए । दिल्लीको शिक्षामन्त्री समेत रहेकी आतिशीलाई आम आदमी पार्टीका वरिष्ठ नेताहरूमध्ये एक मानिन्छ ।

Sep 17, 2024 - 08:32
 0
आपका शीर्ष नेताको जेल यात्राले आतिशीलाई खुल्यो मुख्यमन्त्रीको बाटो, यस्तो छ विगत

काठमाडौं । आम आदमी पार्टी आपको सरकारमा महत्वपूर्ण पदमा रहेकी आतिशी मार्लेना भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने तय भएको छ ।

अरविन्द केजरीवालको निवासमा भएको विधायक दलको बैठकमा आपका सबै नेताहरूले आतिशीको नाम अनुमोदन गरेका थिए ।

योसँगै आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुनेछिन् । उनीअघि पूर्व विदेशमन्त्री सुष्मा स्वराज र शीला दीक्षितले यो पद सम्हालेका थिए ।

दिल्लीको शिक्षामन्त्री समेत रहेकी आतिशीलाई आम आदमी पार्टीका वरिष्ठ नेताहरूमध्ये एक मानिन्छ । आतिशीले सामाजिक कार्यकर्ताका रूपमा सार्वजनिक जीवन सुरु गरेकी थिइन् ।

पछि उनले आम आदमी पार्टीबाट आफ्नो राजनीतिक करियर सुरु गरिन् । आतिशी हाल दिल्लीको कालकाजी विधानसभा क्षेत्रबाट विधायक हुन् ।

उनले दिल्ली सरकारको शिक्षा विभागसँगै पीडब्ल्यूडी, संस्कृति र पर्यटन मन्त्रीको रूपमा काम गरिसकेकी छिन् । आतिशीलाई मुख्यमन्त्री अरविन्द केजरीवालको निकटस्थका रुपमा चिनिन्छ ।

प्रारम्भिक जीवन र शिक्षा

आतिशीको जन्म ८ जुन १९८१ मा दिल्लीमा भएको थियो । उनका आमाबाबु विजय सिंह र तृप्ता वाही दिल्ली विश्वविद्यालयका प्राध्यापक थिए ।

उनले स्प्रिंगडेल्स स्कूल, दिल्लीबाट आफ्नो स्कूली शिक्षा पूरा गरिन् र त्यसपछि दिल्लीको सेन्ट स्टीफन्स कलेजबाट इतिहासमा स्नातक डिग्री हासिल गरिन् ।

त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयमा चेभेनिङ छात्रवृत्तिमा प्राचीन र आधुनिक इतिहासमा स्नातकोत्तर गरिन् ।

राजनीतिक करियर

सन् २०१२ मा भ्रष्टाचार विरोधी आन्दोलनमा प्रवेश गर्नेमध्ये एक थियो, आम आदमी पार्टी । पार्टीलाई आज यो स्थानमा पुर्‍याउन आतिशीको ठूलो योगदान छ । उनले पूर्वी दिल्लीबाट सन् २०१९ को लोकसभा चुनाव लडिन् तर, हारिन् ।

सन् २०२० मा उनी कालकाजी विधानसभा क्षेत्रबाट चुनाव जितिन् र विधायक बनिन् । यसपछि दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया जेल गएपछि उनी शिक्षामन्त्री बनेकी थिइन् ।

शिक्षामन्त्री बनेपछि दिल्लीको शिक्षा प्रणालीमा महत्वपूर्ण सुधार गरेकी छन् । उनले मनिष सिसोदियाको सल्लाहकारको रूपमा पनि काम गरिन् र शिक्षा नीतिहरू निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिन् ।

अतिशीको नेट वर्थको बारेमा कुरा गर्दा चुनावी शपथ पत्र अनुसार १.४१ करोडको सम्पत्ति छ । सन् २०२० को दिल्ली विधानसभा चुनावमा उनले निर्वाचन आयोगसमक्ष सम्पत्ति विवरण पेश गरेका थिइन् ।

उनले आफूसँग करिब ३० हजार नगद रहेको र बैंक निक्षेप र एफडी जम्मा १ करोड २२ लाख रहेको बताइन् ।

जब आतिशीले मन्त्री पद पाइनन्

सन् २०२० को विधानसभा चुनावपछि केजरीवालको मन्त्रिपरिषद्‌मा आतिशीसहित कुनै पनि महिलालाई स्थान दिइएन।  त्यतिबेला पार्टीका केही नेताहरुले अतिशीलाई मन्त्रिपरिषद्‌मा स्थान नदिएको भन्दै आलोचना गरेका थिए ।

यो चुनाव थियो जब आम आदमी पार्टीले ७० विधानसभा सीटमध्ये ६२ जित्यो । जसमध्ये ८ जना महिला विधायक थिए । तर, यसपछि पनि केजरीवालले आफ्नो मन्त्रीमण्डलमा एक जना महिला नेतालाई पनि स्थान दिएनन् ।

समयसँगै दिल्लीको राजनीतिक अवस्था पनि परिवर्तन भयो । मनिष सिसोदिया, सञ्जय सिंह र त्यसपछि अरविन्द केजरीवाल आफै जेल गएपछि आतिशीले सरकारदेखि पार्टीसम्मका मुद्दामा नेतृत्व लिने गरेको देखियो।

आतिशी सन् २०२३ मा पहिलो पटक केजरीवाल सरकारमा शिक्षामन्त्री बनेकी थिइन् ।

आतिशी कसरी आपको सम्पर्कमा आइन् ?

इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार आतिशीले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् । पछि आतिशीले चाइभेनिङ छात्रवृत्ति पनि प्राप्त गरिन् ।

पछि आतिशीले आन्ध्र प्रदेशको ऋषि भ्याली स्कूलमा बच्चाहरूलाई पढाइन् । उनी अर्गानिक खेती र शिक्षा प्रणालीसँग सम्बन्धित काममा सक्रिय भइन् ।

पछि आतिशी भोपाल आइन् । यहाँ उनले धेरै एनजीओमा काम गर्न थालिन् । यसै क्रममा उनी आम आदमी पार्टी र प्रशान्त भूषणको सम्पर्कमा आएकी थिइन् ।

आतिशी अन्ना आन्दोलनको समयदेखि संगठनमा सक्रिय छिन् र अहिले आम आदमी पार्टीको प्रमुख अनुहारमध्ये एक हुन्। आतिशी सन् २०१३ मा आम आदमी पार्टीमा प्रवेश गरेकी थिइन् ।

उनी सन् २०१५ देखि २०१८ सम्म दिल्लीका तत्कालीन शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारको रूपमा काम गरिरहेकी थिइन् ।

आम आदमी पार्टीको वेबसाइटमा दिइएको जानकारी अनुसार मनिष सिसोदियाको सल्लाहकार रहँदा उनले दिल्लीका सरकारी विद्यालयको अवस्था सुधार्ने, विद्यालय व्यवस्थापन समिति गठन गर्ने र निजी विद्यालयहरूलाई अनावश्यक रूपमा शुल्क बढाउनबाट रोक्न कडा नियम बनाउने काम गरेकी थिइन् ।

आतिशी पार्टीको राजनीतिक मामिला समितिको सदस्य पनि हुन् ।

दिल्ली सरकारमा अहिले अतिशीले राखेका विभागहरूमा शिक्षा, उच्च शिक्षा, प्राविधिक प्रशिक्षण र शिक्षा, सार्वजनिक निर्माण विभाग, ऊर्जा, राजस्व, योजना, वित्त, सतर्कता, पानी, जनसम्पर्क र कानून-न्याय समावेश छन्।

आतिशीका पति 

उनका पति पञ्जाबी राजपूत परिवारका प्रवीण सिंह हुन् । प्रवीण एक शोधकर्ता र शिक्षाविद् हुन् । उनी सद्भावना इन्स्टिच्युट अफ पब्लिक पोलिसी जस्ता संस्थासँग आबद्ध छन् ।

प्रवीण सिंहले आईआईटी दिल्लीबाट अध्ययन गरेका छन् र त्यसपछि आईआईएम अहमदाबादबाट पनि अध्ययन गरेका छन् । उनले करिब ८ वर्ष कर्पोरेट क्षेत्रमा काम गरे ।

भारत र अमेरिकाका कन्सल्टेन्सी फर्ममा पनि काम गरे । त्यसपछि उनी समाजसेवामा लागे । उनी सार्वजनिक स्थलमा विरलै देखिन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register