असफल ‘पुराना’ र अराजक ‘नयाँ’को दुश्चक्रबाट मुक्ति खोजिरहेको देश

नेपालमा ‘कम्युनिष्ट प्रोजक्ट’ फेल भयो । न एमालेले सक्यो, न माओवादीले, न अब कसैले सक्दछ । तर, अब के गर्ने ? त्यसको उत्तर उनी हामीबाट चाहिरहेका थिए । उनका छोरा दिनेश भन्दै थिए, "बुबाहरूको जुनी त्यसैमा गयो । मलाई त अब ‘बालेन’बाहेक कुनै नेतामा आशा छैन । तुरुन्तै अर्का स्थानीय अर्जुनले आशङ्का गरे, के बालेन ‘हाम्रो मान्छे’ होलान् र ?

Sep 19, 2024 - 10:52
 0
असफल ‘पुराना’ र अराजक ‘नयाँ’को दुश्चक्रबाट मुक्ति खोजिरहेको देश

यो हप्ता ३ दिन पूर्वी नेपालतिर थियौँ । विशेषतः उदयपुर, सुनसरी र सिरहामा भेटघाट, बैठक, अन्तर्क्रिया र नागरिक संवाद गरियो । यी कार्यक्रममा व्यक्त नागरिक चिन्ताले पूर्वको आम मनोदशा र सोचको साङ्केतिक चित्र दिन्थ्यो । ‘पूर्व’ को मात्र हैन, सम्भवत: देशकै मनोदशालाई सङ्केत गर्दथ्यो ।

लाग्थ्यो— मनिस अब वितृष्णा, निराशा र अविश्वासको सङ्कटबाट एक खुड्किलोमाथि उक्लिन खोज्दैछन् । पुरानालाई गाली गर्दागर्दा मान्छे थाकेका छन् । गाली गर्ने शब्द समाप्त भएका छन् । गालीले ती ‘सुध्रिनेवाला’ छैनन् भन्ने बोध भएको छ ।

‘सुध्रिने कि सक्किने’ भन्ने बहस निष्कर्षमा पुगेको भान हुन्छ । कसैका पृष्ठपोषण, आलोचना र सुझावले कोही सुध्रिनेवाला छैन भन्ने निष्कर्षतिर समाज अभिमुख छ ।

अर्कोतिर कथित नयाँ भनिएकाहरूको अराजकता, छुद्रता, कृत्रिमता, सत्तालिप्सा, बेइमानी, ठगी, हिरोइज्म, हुङ्कार, डाको र रडाकोले कुनै सार्थक परिणाम दिएको छैन । यसकोणबाट पनि मानिस आजित हुँदै गएका छन् । असफल र असान्दर्भिक भएका ‘पुराना’, अराजक र अवसरवादी ‘नयाँ’ दुवैको दुश्चक्रबाट अब बाहिर निस्कन पर्दछ भन्ने सोच बलियो हुँदै गएको छ ।

गाली, आरोप र आलोचना समस्याको सही समाधान हैन, अब सृजनशील विमर्श सुरुवात हुनै पर्दछ । नागरिक जागरण र सार्थक हस्तक्षेपको प्रक्रिया चाहिन्छ भन्ने बुझाइले घर बनाउन थालेको छ ।

सृजनशील विमर्शको पहिलो प्रश्नलाई संश्लेषण गर्दा केही भएन भनौँ केही त भयो तर, भयो भनौँ के भयो ? हुन सक्ने देखियो ।

जस्तो कि हिजोको तुलनामा आज शिक्षाको व्यापक विकास भयो । स्कूल, कलेज पर्याप्त खुले । साक्षरता दर बढ्यो । विचार अभिव्यक्तिका लागि आम सञ्चारमाध्यमको विस्तार भयो । तर, के यी प्रयासमा गुणस्तर, लागत परिणाम सन्तुलन, मानवीय तथा सामाजिक विकास लक्षित छ ? छैन भने भएको के हो ? नमिलेको के हो ?

स्वास्थ्य सेवाको विस्तार पनि नभएको हैन । तर, यो कि यति धेरै महङ्गो भयो, जनताको आयस्तरभन्दा असाध्यै महङ्गो, सर्वसाधारणको पहुँचभन्दा बाहिर गयो ? सडक त बने, बन्दैछन् । तिनको गुणस्तर र नियमन कस्तो छ ? किन दैनिक जसो दुर्घटना हुन्छ र देशमा मृत्युको पहिलो ठूलो कारण नै सडक दुर्घटना बन्न पुगेको छ ?

सामाजिक र मानवीय विकासका अन्य क्षेत्रमा जस्तै प्रश्नहरू सार्वजनिक बौद्धिक बहस र राजनीतिमा पनि एक खुड्किलोमाथि गएका छन् । मान्छेलाई लागिरहेको छ कि बौद्धिक विमर्श र राजनीतिक प्रयास दुवै सार्थक र परिणामदायी भइरहेका छैनन् ।

बौद्धिक विमर्शले समुचित मार्गदर्शन दिन सकिरहेको छैन । ज्ञान उत्पादनको प्रक्रियालाई सार्थक र सन्तोषजनक बनाउन सकिरहेका छैनौँ । हिजोका ज्ञान, विश्लेषण र बुझाइले नपुग भएको छ । तर, नयाँ ज्ञान र संश्लेषण के हो ? समाज झुक्किएको छ ।

उदाहरणका लागि; सिरहाको गोलबजारबाट उत्तरमा एक गाउँ छ— लालपुर । १ गते साँझ हामी त्यहाँ पुग्दा ८२ वर्षीय रामजी यादव भेट भए । उनी ‘कोअर्डिनेसन केन्द्र’ कालीन ‘कमरेड बादल’ रहेछन् । सीपी मैनाली, माधवकुमार नेपाल, झलनाथ खनाल, मणिलाल राई, रामचन्द्र यादव, मदन भण्डारीआदि व्यक्तित्व र तिनका भूमिगत नाम यद्यपि उनलाई कन्ठस्थ थिए । उनी अझै ‘वान् एरिया, वान् युनिट, वान् स्वायड र वान् एक्सन’ को फर्मुला बताउँदै थिए । ‘नोस्टाल्जिया’ बडो गजबको रहेछ उनको ।

तर, सँगसँगै यो भन्न कुनै हिच्किचाहट थिएन उनमा कि नेपालमा ‘कम्युनिष्ट प्रोजक्ट’ फेल भयो । न एमालेले सक्यो, न माओवादीले, न अब कसैले सक्दछ । तर, अब के गर्ने ? त्यसको उत्तर उनी हामीबाट सुन्न चाहिरहेका थिए ।

उनका छोरा दिनेश यादव भन्दै थिए, “बुबाहरूको कुरा यस्तै हो । उहाँहरूको जुनी त्यसैमा गयो । मलाई त अब ‘बालेन’बाहेक कुनै पार्टी र नेतामा आशा छैन । तुरुन्तै अर्का स्थानीय अर्जुन थपलिया अघि सर्दै आशङ्का गर्दछन्, के बालेन ‘हाम्रो मान्छे’ होलान् र ?

यो ‘हाम्रो मान्छे’ भित्र एक व्यापक अवधारणा लुकेको हुन्छ । थपलिया ठान्दछन् कि ‘बालेन शैली’ शहरिया गरिब र भुइँ मान्छेहरूलाई दु:ख दिने एक नयाँ शासक र नयाँ शोषकको शैली हो । त्यस्तो मान्छे कसरी ‘हाम्रो मान्छे’ हुन सक्दछ ?

उनी प्रष्ट भाषामा तर्क गर्दछन्, “भुइँमान्छे बिना शहर कसरी चल्छ ? महानगर कसरी चल्छ ? फोहोर सफा गर्ने मजदुर, प्लम्बर, इलेक्ट्रिसियन, धनीका महल ठड्याउने निर्माण मजदुर धादिङमा बास बसेर काठमाडौंलाई सेवा देलान् ? गरिबमैत्री सोच खै ?”

काठमाडौंका बालेनको कुरा छोडौँ, आफ्नै शहर गोलबजारका ‘कम्युनिष्ट मेयर’ को व्यवहारले उनीहरू आजित थिए । केही दिनअघि मात्र नगरपालिकामा भ्रष्टाचार भएको समाचार लेखेको निहुँमा मध्यरातको २ बजे दुई गाडी गुन्डा आएर थपलियाको घरमा ढुङ्गामुढा गरेका थिए । झिङ्गटीले छाएको उनको घरको छानामा ढुङ्गा, बोलत र लाठीहरू जस्ताको त्यस्तै थिए । झिङ्गटी फुटेका थिए । टर्चलाइटले त्यो छानो देखाउँदै उनले भने, “के यही हो लोकतन्त्र ?”

यो घटनाले गाउँलेमा ठूलो त्रास र आक्रोश छाएको थियो । मान्छेहरू भन्दै थिए कि यो गुन्डागर्दीको लहरो सिधै प्रधानमन्त्री केपी ओलीसँग जोडिन्छ । गोलबजारका मेयर श्यामकुमार श्रेष्ठ एमाले नेता तथा क्षेत्रका सांसद लिलानाथ श्रेष्ठका भाइ हुन् । श्रेष्ठ अहिले एमालेको मधेस प्रदेश इन्चार्ज छन् र उनी प्रधानमन्त्री ओलीका निकटस्थ हुन् । कारण यही हो कि प्रहरीले ती गुन्डालाई अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन ।

मेयर श्रेष्ठले त्यस्तो गाउँ र परिवारमाथि आक्रमण गरेका थिए, जो उनकै पार्टीको स्थापनाकालीन इतिहाससँग जोडिएको थियो । ८२ वर्षीय रामजी यादवका अनुसार यही गाउँबाट तत्कालीन मालेको सर्रेअब्बास भूमिगत चौथो महाधिवेशनको तयारी भएको थियो ।

हामी त्यहाँ पुग्दा केही गाउँले भेला भएका थिए, तिनको आँखामा प्रष्ट सन्देश थियो, हिजो यिनै दल र नेतालाई साथ दिएकै हो, त्यसको गुनासो पनि छैन । त्यो एउटा कालखण्डको आवश्यकता थियो, अब यो ज्यादती सहन सकिँदैन, त्यो पनि प्रष्ट हो तर, विकल्प के हो ? देशको बौद्धिक वर्गले ‘वैकल्पिक विचार’ मा राम्रो काम गर्न नसकेको तिनको गुनासो छ ।

यो सत्य हो कि हामी देशका लागि चाहिने पर्याप्त ‘पब्लिक इन्टलेक्ट’ उत्पादन गर्न सकिरहेका छैनौँ । ‘एकेडमिक इन्टलेक्ट’ र ‘पब्लिक इन्टलेक्ट’ को भूमिकाबीच ग्याप छ । प्राज्ञिकहरू दल र नेताका चाकरजस्ता भएका छन् । विश्वविद्यालय बर्बाद छन् । शिक्षक र विद्यार्थी दुवै अर्थहीन युनियनबाजीले ग्रस्त छन् ।

समाजलाई बौद्धिक उज्यालो बाँड्नुपर्ने ‘गुरु’हरू दलका भातृसङ्गठनका सदस्य भएर दलको प्रचार गर्दछन् । नेताको प्रतिरक्षा र जयगान गर्दछन् । तिनले नयाँ ज्ञानको उत्पादन कसरी गर्लान् ? ‘राजनीतिक नियुक्ति’को लाइनमा उभिनुभन्दा माथि तिनको प्रयासको कुनै सान्दर्भिकता हुने देखिन्न ।

‘पब्लिक इन्टलेक्ट’का सीमा पनि मान्छेले देखेका छन् । कथित बौद्धिक र पढे-लेखेका भनेका नेताहरूले पनि सङ्गतिपूर्ण अभ्यास दिन नसकेको गुनासो छ । गाइघाटकी अञ्जना बस्नेत डा. बाबुराम भट्टराई र उनको नयाँ शक्ति बनाउने प्रयासलाई ‘एक बौद्धिक नेताको असफलता’ मान्दछिन् । नयाँ शक्ति, विवेकशील र विवेकशील साझाले दिएका धोका र असङ्गत अभ्यासको चोट र पीडा भोग्नेहरू पूर्वी नेपालमा कम छैनन् ।

ती अस्तिसम्म भन्दैथे, “नयाँ पनि उस्तै हुन् । त्यही नयाँ शक्ति, विवेकशील साझा जस्तै हुने हुन् । कसरी विश्वास गर्ने ? रास्वपा नयाँ भनेर आयो । यो त झन् खत्तम रहेछ । सहकारी ठगीमा संलग्नता देखिहालियो । स्वार्थबझान हुनेगरी दुई दुईपटकको सत्ता साझेदारी देखियो । कता गयो यिनको ‘नो नट अगेन ? उल्टै ‘क्लिन चीट’ रे ? बेइमानहरूको डाँको मात्रै ठूलो !”

उदयपुरका युवराज पराजुलीले इटहरी बैठकमा भनेको कुरा बढो सान्दर्भिक लाग्छ । उनी भन्छन्, “यो देशको राजनीतिमा धोकैधोका भएको छ । त्यो पनि नेताहरू, शीर्ष नेताहरूबाटै । अहिलेका नयाँ हुन् कि पुरानाबाट केही हुँदैन भन्ने त प्रष्ट भइसक्यो । आजको मुख्य कुरा धोका नहुनु हो । धोका हुँदैन भन्ने ग्यारेन्टी हुने हो भने असफल पुराना र अराजक नयाँको पतन हुन कति दिन लाग्दैन ।”

रामजी यादव, अर्जुन थपलिया, अञ्जना बस्नेत र युवराज पराजुलीका अनुभूतिहरूको ‘सार्वजनिक प्राज्ञिक विमर्श’ कस्तो हुनुपर्दछ ? ठहर गर्न सजिलो छैन । हामी आज यस्तो कठिन मोड वा बिन्दुमा छौँ, न पुरानाहरूको असफलता र असान्दर्भिकतालाई साथ दिन सक्दछौँ, न नयाँहरूको धोका, छुद्रता र अराजकतालाई । अब धोका नहुने ग्यारेन्टी त्यस्तै एक जटिल माग हो । व्यक्तिगत तहमा त कसैले त्यस्तो प्रतिबद्धता गर्न सक्ला तर, आन्दोलन र इतिहासमा फेरि कहिल्यै धोका नहुने ग्यारेन्टी कसले कसरी गर्न सक्ला ?

शिक्षाविद् पाउलो फ्रेरीको एक प्रसिद्ध किताब छ— ‘पेडागोजी अफ अप्रेस्ड’ । यसमा उनी भन्छन् कि स्वतन्त्रता बनिबनाउँ अवस्थामा प्राप्त हुने चिज हैन, त्यो पीडितहरूको प्रतिरोध क्षमतास्तर हो । पीडितहरूमा जुनस्तरको प्रतिरोध क्षमता हुन्छ, त्यहीस्तरमा उनीहरूले स्वतन्त्रताको उपभोग गर्न सक्छन् ।

उनको अर्को निष्कर्ष छ, “शोषकको चाहनाले मात्र शोषण सम्भव हुँदैन, त्यसमा शोषितको शोषित नै रहने अवचेतनको चाहना पनि कारक हुन्छ । शोषित यसकारण शोषित रहन चाहन्छ कि उसमा ‘स्वतन्त्रताको भय’ हुन्छ । स्वतन्त्रताको उपभोग गर्न जुनस्तरको भयमुक्ति चाहिन्छ, जोखिम मोल्ने साहस चाहिन्छ, त्यसको अभावमा शोषितले बरु स्वतन्त्रताहीन जीवनमा नै सजिलो अनुभूति गर्दछ ।

फ्रेरीका यी निष्कर्ष आजको नेपालका लागि निक्कै सान्दर्भिक छन् । हाम्रो ‘विकल्प खोज’ को चाहना ‘स्वतन्त्रताको भय’ बाट मुक्त छैन । यस्तो भय राणा, शाह र पञ्च शासनकालमा अर्कै प्रकारको थियो । त्यतिखेर भौतिक आक्रमण र क्षतिको भय बढी थियो, आज मानसिक क्षतिको भय बढी छ ।

स्वतन्त्रता, समृद्धि र सुखको चाहना सजिलै पूरा भएको कुनै देश र कालखण्ड छैन । बौद्धिक मार्गदर्शनको क्षेत्रमा होस् वा राजनीतिक अभ्यासमा साँचो अर्थमा नयाँको खोज सधैँ जोखिमपूर्ण हुन्छ ।

क्राइष्टपछि क्रिश्चियनको जमात भयो । तर, क्राइष्ट आफैँचाहिँ क्रिश्चियन थिएनन् । क्रिस्नियानिटी जन्माएको मूल्यमा उनले सुलीमा चढ्नुपर्‍यो । बुद्ध आफैँ बौद्धमार्गी थिएनन्, बुद्धिज्म बनाउन उनले दरबार छोड्नुपर्‍यो । यी उदाहरणले के पुष्टि गर्दछन् भने ‘विचारको स्वतन्त्रता’ जोखिमहीन उपक्रम हैन । नयाँ विचारको अन्वेषणको मूल्य अन्वेषकले चुक्ता गर्नुपर्दछ र त्यो निकै महङ्गो हुन सक्दछ ।

मानौँ कि तपाईं बुद्धिष्ट हुनुहुन्छ । नयाँ ज्ञान खोज्दै हुनुहुन्छ । तपाईंले खोजेको नयाँ ज्ञानले बुद्धिज्मलाई सिद्ध गरेन भने के गर्नुहुन्छ ? अब मानसिक भय उत्पन्न हुन्छ । बरु नयाँ ज्ञान खोज्दिनँ तर, बुद्धिज्म खण्डित नहोस् भन्ने भाव पैदा हुन्छ । बुद्धिज्मप्रतिको मोह पैदा हुन्छ । ठीक यस्तै कुरा हो, पुराना विचारप्रतिको मोह कायम राखेर नयाँ विचारको खोज हुनै सक्दैन ।

अक्सर मानिस आज पुरानाप्रतिको मोह कायम राखेर नयाँ खोज गर्न चाहन्छन् । तिनको तर्क हुन्छ— नयाँको जन्म पुरानाकै गर्भबाट हुन्छ, जैविक हिसाबले यो तर्क ठीकै होला । बच्चा आमाकै गर्भबाट जन्मिने हो । तर, वैचारिक विकास क्रम ठीक त्यस्तै हुँदैन । यो पुरानाको प्रतिस्थापन पनि हो । तर, प्रतिस्थापन भयले ग्रस्त नयाँको खोज आज ठूलो समस्या बनेको छ । धोकाको मनोवैज्ञानिक आधार यही हो ।

कथित कांग्रेस-कम्युनिष्टजस्ता शास्त्रीय दलहरू आज पुरानोप्रतिको मोहको कारणले बाँचेका छन् । सफल र सान्दर्भिक भएर हैन । त्यही पुरानोप्रतिको मोह र निर्णायक सम्बन्ध विच्छेदको अभावमा कथित नयाँ दलहरू आज एकपछि अर्को धोका साबित भएका छन् ।

जब ज्ञानलाई बारम्बार दोहर्‍याइन्छ, त्यो ज्ञान रहँदैन । कि त्यो शास्त्र बन्छ, कि त्यो सम्प्रदाय बन्छ, कि त्यो सीप बन्छ तर, ज्ञान रहँदैन । जसले क्राइष्टलाई बारम्बार दोहोर्‍याए, त्यो क्रिश्चियानिटी बन्यो, सम्प्रदाय बन्यो । जसले मार्क्सलाई बारम्बार दोहोर्‍याए, त्यो मार्क्सवाद बन्यो, शास्त्र बन्यो । जसले मार्कोनीको रेडियो बनाउने तरिकालाई बारम्बार दोहोर्‍याए, त्यो रेडियो इन्जिनियर वा मेकानिक्स बन्यो, त्यो सीप बन्यो । यी सबै उदाहरण ज्ञानका उत्पादन हैनन्, पुनरावृत्ति मात्रै हुन् ।

राजनीति पनि ठीक त्यही हो, गोलबजारको गुुन्डागर्दी मण्डलेतन्त्रको पुनरावृत्ति हो । ठीक यही चरित्रका मान्छेलाई सोभियत सङ्घमा ‘न्यूमेन क्लातुरा’ भनिन्थ्यो । कसैले ‘लालफित्ताशाही’ भने । कसैले ‘नवीन वर्ग’, ‘नवसम्भ्रान्त’, ‘नवउत्पीडक’ ‘नवशोषक’ भने । ‘लाल मण्डलेतन्त्र’ पनि उपयुक्त संज्ञा नै हो ।

ओलीको सरकार गोलबजार, लालपुरका जनताका लागि ‘लाल मण्डलेतन्त्र’ हो । कुनै बेला यही लालपुर ‘कोके’ र ‘माले’ को गढ वा ‘लालकिल्ला’ थियो । आज केपी ओली, लिलानाथ श्रेष्ठ र श्यामकुमार श्रेष्ठहरू हिजोका आफ्नै समर्थक र भोटरमाथि शक्तिको उन्मादमा अत्याचार र उत्पीडन गर्दैछन् ।

स्वाभाविक छ, ‘लाल मण्डलेतन्त्र’ ले मानिसको मनोविज्ञानलाई नयाँ ढङ्गले उद्धेलित गर्दैछ । तर, तिनको मनोबनोट अश्वस्त छैन कि बालेन्द्र शाह, हर्क सम्पाङ र रवि लामिछानेहरू त्यसको उपचार हुन् । समाधान हुन् ।

नयाँ भनिएकाहरू समस्याको सामधानभन्दा बढी आफैँ समस्या त हैनन् ? यो प्रश्न अझ गहिरो छ । मान्छेले छोटो समयमै प्रियतावाद र नायकत्ववादका समस्यासमेत बुझ्न थालेजस्तो छन । सिद्धान्तबाट यसलाई बुझाउन गाह्रो थियो । रवि, बालेन र हर्कहरूले व्यवहारबाट बुझाइदिए । तर, आम मनोविज्ञानको अबको प्रवृत्ति के हुन्छ ? त्यसको पूर्वानुमान र सार्थक हस्तक्षेप अझै सहज छैन ।

दार्शनिक युजे कृष्णमूर्तिले मानव मस्तिष्कको बनोटबारे निकै गहिरो अध्ययन गरेका थिए । त्यो कुनै जैविक वा स्वास्थ्य विज्ञानसँग आधारित अध्ययन थिएन । त्यो ‘एक्सपेरिमेन्टल’(प्रयोगिक) हैन, ‘एक्सपेरियन्स्ड’ (अनुभविक) थियो ।

जति नै वस्तुगत यथार्थको कुरा गरे पनि ‘सत्यवादी हुँ’ भने पनि आफूलाई न्यायप्रेमी दाबी गरे पनि मान्छे स्वार्थ (इन्ट्रेष्ट), अहम् (इगो) र बुझाइ (अन्डरस्टान्डिङ) बाट सञ्चालित हुने प्राणी हो भन्ने उनको ठहर थियो । उनको विचारमा सत्यनिष्ठा सर्वाधिक धेरै भनिने र असाध्यै कम अभ्यास गरिने मानसिक प्रवर्ग हो ।

मान्छेको सोच्ने तरिका, निर्णय लिने प्रक्रियामा आ-आफ्ना स्वार्थ, अहम् र बुझाइको प्रभाव हुन्छ । यिनले मानिसको मनभित्र अनेक प्रकारका विश्वास पैदा गर्छन्, ग्रन्थी निर्माण गर्दछन् । ती वास्तविकताचाहिँ नहुन सक्छन् । मानव जीवनको सबैभन्दा ठूलो अन्तर्विरोध के हो भने मान्छेले जेलाई विश्वास गर्छ, त्यसैलाई सत्य ठान्छ, जेलाई सत्य ठान्छ, त्यसैलाई विश्वास गर्छ । तर, उसको विश्वास र सत्यबीच कल्पनाबाहिरको ठूलो खाँडल हुन सक्छन् ।

सत्य (ट्रूथ) को सम्बन्ध संज्ञान (नोइङ) सँग हुन्छ, विश्वास (विलिभिङ) सँग हैन । अर्थात् मानव मस्तिष्कमा दुई खण्ड छन् । संज्ञानसँग सम्बिन्धत सृजनशील खण्ड (क्रियेटिभ माइन्ड) र विश्वाससँग सम्बन्धित अनुलिपि खण्ड (फोटोकपी माइन्ड)।

महाआख्यान, आस्था र विश्वासमा आधारित राजनीति हिजोको समस्या थियो । यो पुरानाको शास्त्रवादको समस्या हो । आस्था, विश्वास र विचारप्रतिको क्रमभङ्गता प्रियतावाद र नायकत्ववादको कारण हो र यो कथित नयाँको अराजकता, अवसरवाद, असन्तुलन र विवेकहीनताको समस्या हो ।

लाग्छ— समाज अब विस्तारै संज्ञानतिर जाँदैछ, उसले आफ्नो मस्तिष्कको सृजनशील खण्डको प्रयोग गर्न खोज्दैछ । असफल र असान्दर्भिक भएका पुराना र अराजक र अवसरवादी नयाँहरूको दुश्चक्रबाट देशले मुक्ति खोज्दैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register