सन् २०२४ मा नेपाली खेलकुद : महिला खेलाडी अब्बल, पुरुष टोली औसत

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसारअनुसार सन् २०२४ को अन्त्यसँगै बुधबारदेखि २०२५ को आगमन भएको छ । सन् २०२४ मा विभिन्न क्षेत्रमा झैँ खेलकुदमा पनि धेरै उतारचढाव आए । यो वर्ष नेपाली महिला टोली फुटबल र भलिबलमा फाइनलमा पुगेर पनि उपाधि विमुख भयो । पुरुष क्रिकेट टोलीले टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपनि कुनै जित निकाल्न सकेन । […]

Jan 1, 2025 - 06:35
 0
सन् २०२४ मा नेपाली खेलकुद : महिला खेलाडी अब्बल, पुरुष टोली औसत

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसारअनुसार सन् २०२४ को अन्त्यसँगै बुधबारदेखि २०२५ को आगमन भएको छ । सन् २०२४ मा विभिन्न क्षेत्रमा झैँ खेलकुदमा पनि धेरै उतारचढाव आए । यो वर्ष नेपाली महिला टोली फुटबल र भलिबलमा फाइनलमा पुगेर पनि उपाधि विमुख भयो । पुरुष क्रिकेट टोलीले टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपनि कुनै जित निकाल्न सकेन । यद्यपि नेपालले उपाधिका हिसाबले आंशिक उपलब्धि हासिल गरेको छ । विशेषगरी महिला खेलाडीहरू अब्बल सावित भए । महिला खेलाडीले यूएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा स्वर्ण र पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेका छन् । नेपाली पुरुष टोलीहरूले भने औसत उपलब्धि हासिल गरेका छन् । समग्र अन्तराष्ट्रिय खेलमा नेपालले कुन खेलमा कस्तो प्रभाव पार्‍यो ?  यसबारे विस्तारमा जानौँ ।

कराते 

यूएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले १ स्वर्ण र १ रजत जितिन् ।

१९औं एसियाडकी रजत विजेता एरिकाले २१ वर्षमुनीको इलिटतर्फ महिला ६८ केजीमाथिको तौल समूहमा स्वर्ण जितेकी हुन् ।

एरिकाले क्यानडाकी खेलाडीमाथि ९–० को एकतर्फी जित हासिल गरेकी थिइन् । यस्तै, सिनियर इलिटको ६८ केजीमाथि भने एरिका फाइनलमा अमेरिकी खेलाडीसँग पराजित भइन् । फाइनलमा एरिका ३–२ ले पराजित हुँदै रजतमा सीमित भइन् ।

यसअघि १९औं एसियाली खेलकुदको करातेमा एरिकाले रजत पदक जितेर इतिहास बनाएकी थिइन् ।

चीनको हान्जाउमा भएको प्रतियोगिताको एसियन खेलकुदको फाइनलमा उनी कजाकिस्तानकी वेरुल्त्सेवा सोफियासँग हारेपछि स्वर्ण पदक जित्नबाट चुकेकी थिइन् ।

एरिका एसियाली खेलकुदमा रजतपदक जित्ने नेपालको दोस्रो खेलाडी बनिन् । यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

एरिकाले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितिन् । चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई रजत पदक दिलाइन् ।

यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेका थिएनन् । एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन् ।

उनले प्री–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरुत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० ले सहजै हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।

तेक्वान्दो

नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्यपदक जितिन् ।

पेरिस पारालिम्पिक २०२४ मा तेक्वान्दोको के ४४ क्याटेगोरीमा महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा उनले कास्यपदक जितेकी हुन् ।

मारिजा मिचेभसँग १५–८ ले पराजित हुँदा पलेशा कास्य पदकमा सीमित भइन् । योसँगै नेपालका लागि पारालिम्पिकमा पदक जित्ने उनी पहिलो खेलाडी बनिन् ।

पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध पाँच अङ्कको अग्रता लिँदालिँदै उनी चुक्न पुगिन् ।

उनले सो खेल १०–८ ले गुमाएकी थिइन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई हराएर उनले कास्य जितिन् ।

भलिबल

काभा वुमन्स भलिबल नेसन्स लिग

काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उपविजेता बन्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भएको फाइनलमा नेपाल छिमेकी भारतसँग ३–२ को सेटमा पराजित भयो ।

 

निर्णायक पाँचौँ सेटमा नेपालले कमजोर खेल देखाउँदा उपविजेतामै सीमित बन्यो ।

भारतलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने अवसर नेपालले गुमायो । यद्यपि, नेपालले लिग चरणको खेलमा भारतलाई हराउँदै इतिहास बनायो । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा नेपाली महिला टोलीले भारतमाथि निकालेको सो पहिलो जित थियो ।

समूह चरणमा नेपालले इरानसँगको खेल गुमाउँदा शीर्ष स्थानमा रहने मौका भने गुमाएको थियो । तर, सेमिफाइनलमा इरानसँग भिडेर नेपालले बदलामा मात्र लिएन फाइनलमा समेत स्थान पक्का गर्न सफल भयो ।

महिला भलिबल टोलीले पछिल्लो पाँच वर्षमा दुई अन्तर्राष्ट्रिय उपाधि जितेको छ । तर, ती दुबै उपाधि विदेशी भूमिमा जितेकाले नेपालका लागि घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय उपाधि उचाल्ने अवसर थियो, जसमा नेपाल चुक्यो ।

काभा यू–२० पुरुष भलिबल : नेपाल उपविजेता

यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भयो । श्रीलङ्काको कोलम्बोमा सम्पन्न फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएर उपविजेतामा बन्यो ।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउँदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसैगरी नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमेनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।

श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको सो प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्कमेनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए ।

पुलिस बन्याे काभा महिला भलिबल क्लब च्याम्पियन

नेपाल पुलिस क्लब काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जित्न सफल भयो ।

माल्दिभ्सको मालेमा भएको फाइनलमा नेपालको पुलिस क्लबले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गर्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो ।

अपराजित रहँदै फाइनल पुगेको पुलिसलेले फाइनलमा पनि सोझो सेटको जित हासिल गरेको थियो । पुलिसकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

काभा बिच भलिबल च्याम्पियन 

नेपाली महिला जोडी काभा बिच भलिबल च्याम्पियनसिपको च्याम्पियन बन्यो ।

भुटानको राजधानी थिम्पूमा भएको च्याम्पियनसिपको फाइनलमा उज्वेकिस्तानलाई २–० को सोझो सेटमा हराउँदै कमला पुन‌ र मनीषा चौधरीको‌ जोडी च्याम्पियन बनेको हो । नेपालले २१–१७ र २१û१४ को जितसहित स्वर्ण पदक जितेको हो ।

यता, नेपालको पुरुष राष्ट्रिय जोडी भने काभा बिच भलिबल च्याम्पियनसिपमा दोस्रो भयो ।

माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडीले दोस्रो स्थान हासिल गर्‍यो ।

एथलेटिक्स

नेपाली अल्ट्रा धावक सुनमाया बुढाले अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितिन् ।

चीनमा भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्नै जितेकी हुन् । सुनमायाले ५ घण्टा ४० मिनेट ०३ सेकेण्डमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरिन् ।

पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइरहेकी छन् ।

फुटबल

नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता बन्यो । फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले पराजित भयो ।

दशरथ रङ्गशालमा लगातार दुई संस्करण र गृह मैदानमै तेस्रो पटक फाइनल खेलेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

तर, नेपालले फाइनलमा पुगेर हार व्यहोरेको पहिलाेपटक भने होइन । यससँगै नेपाल साफ महिला च्याम्पियनसिपमा ६ पटक फाइनल पुगेर पराजित हुन पुगेकाे हाे ।

हालसम्म विभिन्न अन्तर्राष्ट्रिय १२ प्रतियोगितामा नेपाल फाइनल पुग्यो । यद्यपि, हरेक पटक उपविजेतामा सीमित भएकाे छ ।

नसाफ महिला च्याम्पियनसिपमा बलियाे टाेली भारतलाई टाइब्रेकरमा हराउँदै नेपाल फाइनलमा पुगेकाे थियाे ।

दशरथ रङ्गशालामा भएको सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै नेपाल फाइनलमा स्थान पक्का गरेको थियो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट भएको थियो ।

पेनाल्टीमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्कीले गोल गरे ।

यद्यपि, भारतसँगको खेल तनावपूर्ण भएको थियो । १ घण्टाभन्दा लामो समय रोकिएर पुन: सुरु भएको खेलमा नेपालले पुनरागमन गरेको थियो ।

त्यसअघि ७१औं मिनेटमा संगीता बासफोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

त्यसपश्चात भारतीय खेलाडी सेलिब्रेसनमै रहँदा रेफ्रीको अनुमतिमा नेपालले बल सञ्चालन गरेर गोल गरेको थियो । सावित्राको बलमा प्रीति राईले गोल गरेकी थिइन् । तर, रेफ्रीले सो गोललाई मान्यता दिएनन् ।

त्यसको विरोधमा नेपाली खेलाडीले मैदान छाडे । लामो समय खेल रोकियो । निर्णयको लगातार विरोध गरेपनि अन्तिममा नेपाली खेलाडी मैदानमा प्रवेश गर्न तयार भए ।

दोस्रो हाफले ल्याएको दोस्रो मौकालाई पूर्ण रुपमा सदुपयोग गर्दै उच्च मनोबलका साथ नेपाली टोली मैदानमा उत्रियो । लगत्तै सावित्रा भण्डारीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

१० खेलाडीमा सीमित भएको नेपाली टोलीले दोस्रो हाफमा जित मात्र हासिल गरेन भारतमाथि दबाब पनि सिर्जना गरेकाे थियाे । जसको मुख्य पात्र बनिन् – सावित्रा । रेखा पौडेलले २ पहेलो कार्ड प्राप्त गर्दा नेपाल १० खेलाडीमा सीमित भएको थियो ।

गोलकिपर अन्जना राना मगर नेपालका लागि स्थापन्न खेलाडीको रुपमा मैदानमा प्रवेश गरिन् । उनको उत्कृष्ट प्रर्दशनपश्चात नेपालले जित आफ्नो पक्षमा ल्यायो ।

क्रिकेट

टी-२० विश्वकप 

टी-२० विश्वकप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भयो ।

नेपाल बंगलादेशसँग २१ रनले पराजित भयो । यससँगै १० वर्षपछि विश्वकप खेलेको नेपालले एउटै जित हासिल गर्न असफल सकेन । १०७ रनको समान्य लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि नेपाल सन् २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको थियो ।

समूह चरणबाट बाहिरिँदा नेपालको सुपर–८ को सम्भावना मात्र समाप्त भएन अर्को अवसर पनि गुमायो ।

अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा सुपर–८ मा पुग्ने टोलीलाई सन् २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर थियो । अब २०२६ को विश्वकप खेल्न नेपालले छनोट चरण पार गर्नुपर्ने छ ।

सुपर–८ मा पुग्ने भारतबाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाएका छन् । सुपर-८ बाहेक आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् । भारत र श्रीलंका आयोजक हुन् । उनीहरु सोझै पुगेका छन् ।

त्यसपछि सुपर-८ मा पुगेका अमेरिका, अफगानिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज, दक्षिण अफ्रिका पनि सोझै छनोट भएका छन् । अब इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, बङ्गलादेश र स्कटल्यान्डमध्ये दुई टोली सोझै विश्वकपमा पुग्नेछन् ।

महिला यू-१९

नेपालको यू–१९ क्रिकेट टोलीले सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा स्थान सुरक्षित गर्‍यो ।

आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

यसलगत्तै मलेसियामा भएको एसीसी यू–१९ महिला एसिया कपमा पनि सहभागी भयो । नेपाल त्यसमा सुपर-४ सम्ममा पुगेको थियो । अन्तिम तथा निर्णायक खेलमा बङ्गलादेशसँग ९ विकेटले पराजित हुँदै नेपाल फाइनलमा पुग्नबाट वञ्चित भएको थियो ।

पुरुष यू-१९

एसियाली क्रिकेट परिषद् (एसीसी)को आयोजनामा यूएईमा जारी पुरुष यू–१९ एसिया कप–२०२४ सहभागी भयो तर, मात्र एक खेलमा जित हासिल गर्‍यो ।

एसिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जित हासिल गरेको थियो । नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको थियो ।

नेपालले पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरिएको थियो ।

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली यूएई गएको थियो । जसको उप–कप्तानमा अर्जुन कुमाल थिए । यस्तै, टोलीको प्रमुख प्रशिक्षक शक्ति गौचन र सहायक प्रशिक्षक धीरेन्द्र चन्द रहेका थिए ।

ब्लाइन्ड टी–२०

ब्लाइन्ड टी–२० विश्वकप क्रिकेटमा नेपालको यात्रा धेरै अगाडि बढ्न सकेन । सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै विकेट नगुमाइ पूरा गरेको थियो ।  पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ९४ रन बनाएको थियो ।

यसअघि लिग चरणमा पाकिस्तानले नेपाललाई १० विकेटले पराजित गरेको थियो । नेपाल श्रीलङ्कासँग ७० रनले र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो ।

अर्को खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको थियो । नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको थियो ।

नेपालले लिग चरणमा २ जित र ३ पराजयपश्चात सेमिफाइनलमा स्थान पक्का गरेको थियो । ब्लाइन्ड क्रिकेट टी-२० विश्वकपमा नेपाल पहिलो पटक सेमिफाइनल पुगेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register