यो बिदाइ होइन, हार्दिक धन्यवाद हो – मोन्टी देशाई

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले भावनात्मक शैलीमा आफ्नो कार्यकालका लागि धन्यवाद दिएका छन् । आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत मोन्टीले नेपाली क्रिकेटसँगको आफ्नो आफ्नो २ वर्षको कार्यकालको दौरान संगालेका यादहरु स्मरण गर्दै सम्पूर्ण नेपाली समर्थक, खेलाडी र नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिएका छन् । उनले यस स्टेटसको सुरुवातमा नै ‘यो […]

Feb 2, 2025 - 04:39
 0
यो बिदाइ होइन, हार्दिक धन्यवाद हो – मोन्टी देशाई

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले भावनात्मक शैलीमा आफ्नो कार्यकालका लागि धन्यवाद दिएका छन् ।

आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत मोन्टीले नेपाली क्रिकेटसँगको आफ्नो आफ्नो २ वर्षको कार्यकालको दौरान संगालेका यादहरु स्मरण गर्दै सम्पूर्ण नेपाली समर्थक, खेलाडी र नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिएका छन् ।

उनले यस स्टेटसको सुरुवातमा नै ‘यो बिदाइ होइन, हार्दिक धन्यवाद हो’ भनेका छन् ।

‘१० जनवरी २०२३ मा मैले नेपाल क्रिकेट संघ (क्यान)सँग अवसरलाई अंगालेँ । नेपाल क्रिकेटमा स्थायी छाप छोड्ने आशाका साथ, उत्साह र उद्देश्यका साथ अज्ञात यात्रामा पाइला चालेँ, ’ प्रशिक्षक देशाईले लेखेका छन् ।

विगत २ वर्षको कार्यकालमा संगालेका यादहरुलाई उल्लेख गर्दै प्रशिक्षक देशाईले भनेका छन्, ‘यी दुई वर्ष अविस्मरणीय रहे, जसमा अमूल्य क्षणहरू र साझा उपलब्धिहरू संकलन भए । टीयू मैदानमा भएको एसिया कप छनोट, जहाँ समर्थकहरू रुखमा चढे, छातामुनि उभिए र मुलपानीमा विश्वकप छनोटको त्यो उर्जाले भरिपूर्ण माहोलले नेपालको क्रिकेट प्रेम र दृढता परिभाषित गर्‍यो ।’

‘यस यात्रामा उचार–चढावहरू रहे, र व्यवस्थापन, चयनकर्ता, खेलाडीहरू, प्रशिक्षकहरू, अधिकारीहरू, स्कोररहरू, ग्राउन्ड्सम्यानहरू, क्यामेराम्यानहरू, कमेन्टेटरहरू, र मेरा कप्तान रोहित पौडेलसँग आफ्नो सानो भूमिका खेल्न पाएकोमा म खुसी छु, ’ उनले थपेका छन्, ‘हरेक व्यक्तिले आफ्नो तर्फबाट योगदान दिनुभयो र हामीले बनाएको आत्मीय सम्बन्धलाई म अत्यन्त कदर गर्छु।’

प्रशिक्षक देशाईले खेलाडी, सहयोगी स्टाफ, क्रिकेट समर्थक, व्यवस्थापन र नेपाली जनतालाई फरक-फरक रुपले धन्यवाद दिएका छन् ।

खेलाडीहरू लाई लक्षित गर्दै उनले लेखेका छन्, ‘तपाईंहरू लाखौं नेपालीको सपना बोकेर खेलिरहनुभएको छ। सँधै नम्र रहनुहोस्, वान बल ब्याटलको मानसिकता अपनाउनुहोस्, र सधैं आफ्ना दायरालाई बढाउँदै लानुस्, सम्बन्धमा बनिएको ह्याप्पी ड्रेसिङ रुमको सिदान्त, खुलेपन, एकता, र उत्तरदायित्वको संस्कृति तपाईंहरूको सबैभन्दा ठूलो शक्ति हुनेछ।’

हरेक खेलका लागि आफ्नो योगदान पुर्याउने सहयोगी स्टाफबारे प्रशिक्षक देशाई लेख्छन्, ‘पर्दा पछाडिबाट तपाईंकै अथक मेहनत हाम्रो सफलता पछाडिको मुख्य आधार रह्यो। मैले राखेका उच्च अपेक्षाहरू उत्कृष्टताका लागि मात्र थिए। मेरो यात्रामा सधैं साथ दिनुभएकोमा धन्यवाद।’

समर्थकहरूलाई पुन: उनले नेपाली क्रिकेटको शक्तिको रुपमा व्याख्या गरेका छन् । ‘तपाईंहरूको अविचल समर्थन नै हाम्रो सबैभन्दा ठूलो शक्ति रह्यो। कृपया, यो टिममा विश्वास राख्दै निरन्तर समर्थन गरिरहनुहोस्, ’ उनले अनुरोध गरेका छन् ।

उनले नेपाली व्यवस्थापनलाई धन्यवाद दिँदैँ क्रिकेटको आधार तयार भइसकेको बताएका छन्। उनले भनेका छन्, ‘नेतृत्व गर्ने अवसर दिनुभएकोमा धन्यवाद। आधार तयार भइसकेको छ, एकता कायम राख्नुहोस् र नेपाललाई गौरवान्वित बनाइरहनुहोस्।’

र, अन्तिममा प्रशिक्षक देशाईले नेपाललाई आफ्नो घरभन्दा टाढाको घरको रुपमा सम्बोधन गरेका छन् । उनले लेखेका छन्, ‘नेपाल मेरो घरबाट टाढाको घर बनेको छ। यहाँ क्रिकेट मात्र खेल होइन, यो भावनात्मक रूपमा यो देशलाई एकतामा बाँध्ने सूत्र हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register