अनलाइन ठगको फन्दामा परेर गयो जमुनाको ज्यान, बनौँ होसियार

काठमाडौं । जमुना रसाइलीको जीवन ठीकठाक चलिरहेको थियो । ३ वर्षको छोरा, सासु, ससुरा र देवरसँग रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ८ मा जमुनाको सानो संसार थियो । श्रीमान रोजगारीको लागि भारत गएका थिए । श्रीमानकै कमाइले जमुनाको घर व्यवहार चलेको थियो । भारतमा रहेका श्रीमानसँग कुराकानी गर्न भनेर जमुनाले फेसबुक र ह्वाट्सएप चलाउँथिन् । तर, ह्वाट्सएपमा आएको एउटा […]

Feb 11, 2025 - 12:39
 0
अनलाइन ठगको फन्दामा परेर गयो जमुनाको ज्यान, बनौँ होसियार

काठमाडौं । जमुना रसाइलीको जीवन ठीकठाक चलिरहेको थियो । ३ वर्षको छोरा, सासु, ससुरा र देवरसँग रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ८ मा जमुनाको सानो संसार थियो ।

श्रीमान रोजगारीको लागि भारत गएका थिए । श्रीमानकै कमाइले जमुनाको घर व्यवहार चलेको थियो । भारतमा रहेका श्रीमानसँग कुराकानी गर्न भनेर जमुनाले फेसबुक र ह्वाट्सएप चलाउँथिन् । तर, ह्वाट्सएपमा आएको एउटा फोनले ठीकठाक चलिरहेको जमुनाको जीवनको लय बिथोल्यो । अन्तमा उनलाई आत्महत्यासम्म पुर्‍यायो ।

सानीभेरी गाउँपालिका-८ का वडासचिव मन्जित खड्काकाअनुसार जमुना ३ वर्षीया छोरासँगै सासू, ससुरा र देवरलाई हेरेर बसेकी थिइन् ।

घरधन्दाबाट समय निकालेर उनी फेसबुक र टिकटक ‘स्क्रोल’ गर्थिन् । बेलाबखत टिकटकमा भिडिओ पनि बनाउँथिन् ।

सामान्य लेखपढ गर्नसक्ने जमुनाको ह्वाट्सएपमा एउटा फोन आयो । श्रीमानबाहेक अरुको हम्मेसी फोन नआउने ह्वाट्सएपमा अपरिचित नम्बरबाट फोन आएपछि जमुना छक्क परिन् । फोन उठाएपछि उताबाट आवाज आयो, “तपाईं जमुना बोल्नुभएको हो ?”

उनले ‘हो’ भन्न नपाउँदै उताबाट आवाज आयो, “तपाईं एकदमै भाग्यमानी हुनुहुँदोरहेछ । तपाईंको नाममा ठूलो धनराशीको चिट्ठा परेको छ ।” जमुनाले पत्याइनन् ।

वडा सचिव खड्काकाअनुसार जमुनालाई फोन गर्ने व्यक्तिले करिब ८ लाख धनराशी र विभिन्न महङ्गो सामानको चिठ्ठा परेको प्रलोभन देखाएको थियो । 

त्यसपछि ती अपरिचित व्यक्तिले जमुनालाई विश्वास दिलाउन बारम्बार फोन, म्यासेज गर्न थाले । बारम्बार फोन र म्यासेज आउन थालेपछी जमुनाको मन लोभियो । चिठ्ठा परेको ८ लाख रुपैयाँ आएपछि “यसो गरौला उसो गरौँला” भन्दै कल्पिन थालिन्, जमुना ।

चिठ्ठाको ८ लाख रुपैयाँ पाएपछि श्रीमान र परिवारलाई ‘सरप्राइज’ दिने सोच बनाइन् उनले । त्यसैले उनले आफूलाई चिठ्ठा पर्‍यो भन्दै आएको फोनका बारेमा कसैलाई सुनाइनन्

यता जमुनाले ८ लाखको सपना देखिरहँदा उता ह्वाट्सएपमा फोन गर्ने ती ‘स्क्यामर’ भने आफ्नो खास योजनामा लागिसकेका थिए । कथित चिठ्ठाको ८ लाख दिने नभई जमुनाबाटै पैसा असुल्ने योजना थियो, ‘स्क्यामर’को

फेरि ह्वाट्सएपमा फोन आयो, जमुनालाई लाग्यो अब त ८ लाख पाइने भयो । तर, विभिन्न बहाना बनाउँदै स्क्यामरले चिठ्ठाको ८ लाख पाउनका लागि पहिले केही रकम दिनुपर्ने बताउन थाल्यो । 

८ लाखको लोभमा जमुना केही रकम पठाउन तयार भइन् । श्रीमानले पठाएको रकम परिवारको खानपानमै ठिक्क हुन्थ्यो,  त्यसैले पठाउने रकम कसरी जम्मा गर्ने भनेर उनलाई चिन्ताले सताउन थाल्यो ।

                                    जमुना ३ वर्षिय छोरासँग

ऋण खोजेर स्क्यामरलाई

८ लाख पाउने लोभमा जमुनाले पटकपटक गरेर तीन लाख रुपैयाँ ‘स्क्यामर’लाई पठाइन । रकम पठाउँदासम्म उनलाई आफू ठगिएको थाहापत्तो थिएन ।

‘स्क्यामर’ले बैङ्कको क्यूआर जमुनालाई पठाएको थियो । त्यसमै उनले रकम हाल्थिन् । जमुनाका दाइ (Kazi Himal) ले फेसबुकमा लेखेका छन्, “कहिले ५५ हजार, कहिले २० हजार त कहिले ४५ हजार पैसा माग्दा मैले किन चाहियो यति धेरै पैसा भनेर सोधेँ । चाहिएको छ मात्रै भनेर कुनै कारण खुलाइनन् ।”

आफन्तसँग ऋण गरेर ‘स्क्यामर’को खातामा हाल्दासम्म जमुनाले पैसा माग्नुको कारण कसैलाई भनिनन् ।

पैसा हाल्न ढिला गर्नेबित्तिकै स्क्यामरले जमुनालाई फोन गरेर धम्क्याउन थाल्थ्यो । जमुनाका दाइकाअनुसार ‘स्क्यामर’ले पुलिस केस गर्दिन्छु भन्दै धम्कीसमेत दिएको पाइयो ।

जमुनाले सरसापट र गरगहना बेचेर पटकपटक गरी ३ लाख रकम ‘स्क्यामर’को खातामा पठाइन् । त्यसपछि ‘स्क्यामर’ले जमुनाको फोन नलाग्ने बनायो अर्थात ‘स्क्यामर’ सम्पर्कविहीन भयो । 

अनि बल्ल जमुना छाँगाबाट खसेझैँ भइन् । उनको होसहवास उड्यो । उनले अहिले आएर आफू आफू ठगिएको चाल पाइन् । यतिन्जेलसम्म उनले ३ लाख रुपैयाँ गुमाइसकेकी थिइन् ।

जमुनासँग ‘स्याकमर’को फोन नम्बरबाहेक अरु केही थिएन । त्यही फोन नम्बर पनि नलाग्ने भइसकेको थियो ।

के गर्ने कसो गर्ने केही सोच्नै नसकेपछि अन्ततः उनले सबै कुरा भारतमा रहेका आफ्ना श्रीमानलाई सुनाइन् । श्रीमानले पनि ‘जे हुनु भइसक्यो म कमाएर तिरौँला’ भनेर आश्वासन दिए ।

श्रीमानले ढाडस दिएपनि जमुना भने तनावमा पर्न थालिन् । श्रीमानले जति सम्झाउँदा पनि जमुनाले मानिनन् ।

उनले फोनमा रुँदै श्रीमानलाई भनिन्, “छोरालाई राम्रोसँग पाल्नुहोला ।” यति भनेर उनले फोन राखिन् । र, त्यसपछि उनी सम्पर्कविहीन भइन् ।

वडा सचिव खड्काकाअनुसार उनी २४ माघको राति घरबाट निस्केकी थिइन् । अर्को दिन घर नजिकै जङ्गलमा झुन्डिएको अवस्थामा फेला परिन् । २७ माघमा जमुनाका श्रीमान विनोद विक भारतबाट आइपुगे ।

उनले जिल्ला प्रहरी कार्यालयमा ठगी र आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले घटनाको अनुसन्धान गरिरहेको छ ।

ठगीबाट कसरी बच्ने ?

हालका वर्षमा नेपालमा अनलाइन ठगीका घटना तीव्र रूपमा बढिरहेका छन् । विशेषगरी सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत ठगीका घटना बढेका छन् ।
साइबार ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दीपकराज अवस्थीकाअनुसार यस्ता ठगी गर्नेहरू प्राय: जसो सीमापारी आधारित रहेर हुने गर्दछ । यस्ता घटनाबारे अनुसन्धान गर्दा एकाध घटनाबाहेक प्राय: जसो ‘अपरेट’ गर्ने व्यक्ति सीमापारबाट गरेको पाइएको उनले बताए ।
अवस्थीकाअनुसार एकै दिनमा पनि अनलाइन ठगीसम्बन्धी ४०/५० वटा निवेदन आउने गरेको छ । यो आर्थिक वर्षमा ठगीका घटना १० हजार ६ सय दर्ता भएको छ भने यसमध्ये अनलाइन ठगीको घटना ४ हजार ६ सय रहेका छन् ।
उनले भने,“अनलाइन ठगीका घटनाहरूले भयावह रूप लिइरहेको छ । यसलाई कम गर्नको लागि व्यक्ति आफैँ नै सजग रहनुपर्छ ।” यस्ता घटनाहरू लिएर सामान्य देखि माननीय, डाक्टर, नर्सहरू र वकिलसम्म पनि आउने गरेको उनको भनाइ छ ।

ठगले लोभलाग्दो अफर दिने गर्छन् । चिठ्ठा जितेको, ठूलो धनराशी प्राप्त गर्न सकिने वा सामानमा भारी छुट पाइनेजस्ता झुटो आश्वासन दिन्छन् । तर, रकम प्राप्त गर्न शुल्क तिर्नुपर्ने बताउने गर्छन् । प्रलोभनमा परी कतिपयले ठगलाई पैसा पठाउँछन्, र रकम पठाइसकेपछि ती ठग सम्पर्कविहीन हुने, ब्लक गर्ने गर्दछन् ।

ठगले आफूलाई व्यावसायिक व्यक्ति, सरकारी अधिकारी, वा सहयोगी साथीको रूपमा चिनाउने गर्छन् । उनीहरूको विश्वासमा परी निर्दोष व्यक्ति ठगिन्छन् ।

अवस्थीकाअनुसार ठगीका यस्ता घटनाहरूबाट जोगिनका लागि ह्वाट्सएपमा आउने नचिनेको नम्बरबाट आउने फोन कलको रेस्पोन्स नगर्ने हो । सामाजिक सञ्जालमा पनि कोही नचिनेको व्यक्तिसँग साथी नबन्ने, कसैले फोन गरेर तपाईंको मोबाइल नम्बरमा प्राप्त भएको ओटीपी नम्बर मागेमा सो व्यक्तिलाई त्यो नम्बर उपलब्ध नगराउन अवस्थीको सुझाव छ ।
ओटीपीबाहेक उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्म मिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उनी बताउँछन् ।
“चिट्ठा जितेको वा ठूलो धनराशी पाउने जस्ता प्रस्तावहरू सामान्यतया ठगीका माध्यम हुन् । सजिलो तरिकाले पैसा कमाउन सकिँदैन भनेर बुझ्नुपर्छ”, उनले भने । अपरिचित व्यक्तिको नम्बरबाट आएको फोन नउठाउने, अपरिचितसँग साथी नबन्ने, कसैले यस्तो प्रलोभन देखाएमा वास्ता नगर्ने गरेमा यस्ता घटनाहरूबाट बच्न सकिने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register