को बन्ला नयाँ पोप ?

काठमाडौं । पोप फ्रान्सिसको अवस्था अझै पनि गम्भीर छ । गत फेब्रुअरी १४ देखि अस्पताल भर्ना भएका पोपलाई लामो समयसम्म श्वासप्रश्वासमा समस्या भएको र रगत चढाउनुपर्ने अवस्था आएको द होली सीले जनाएको छ । सन् २०१३ देखि क्याथोलिक चर्चका प्रमुख रहेका अर्जेन्टिनी धर्मगुरुलाई सुरुमा ब्रोन्काइटिसका कारण रोमको जेमेली अस्पतालमा भर्ना गरिएको छ । मिडिया रिपोर्टमा […]

Feb 25, 2025 - 05:40
 0
को बन्ला नयाँ पोप ?

काठमाडौं । पोप फ्रान्सिसको अवस्था अझै पनि गम्भीर छ ।

गत फेब्रुअरी १४ देखि अस्पताल भर्ना भएका पोपलाई लामो समयसम्म श्वासप्रश्वासमा समस्या भएको र रगत चढाउनुपर्ने अवस्था आएको द होली सीले जनाएको छ ।

सन् २०१३ देखि क्याथोलिक चर्चका प्रमुख रहेका अर्जेन्टिनी धर्मगुरुलाई सुरुमा ब्रोन्काइटिसका कारण रोमको जेमेली अस्पतालमा भर्ना गरिएको छ ।

मिडिया रिपोर्टमा मिर्गौला फेल हुने लक्षणहरू पनि देखिएको उल्लेख छ । यस्तो अवस्थामा स्वास्थ्यका कारण उनले पदबाट राजीनामा दिन सक्ने अनुमान गरिएको छ ।

यदि पोप फ्रान्सिसले आफ्नो पदबाट राजीनामा दिए भने उनको स्थानमा नयाँ पोप कसरी चयन हुनेछ ? जानौँ –

पोपको मृत्युपछि अर्को पोपको दाबेदारको बारेमा कुनै आधिकारिक घोषणा हुँदैन । नयाँ पोप चयन गर्ने प्रक्रियालाई ‘पापल कन्क्लेभ’ भनिन्छ । जब पोपको मृत्यु हुन्छ वा राजीनामा दिन्छन्, क्याथोलिक चर्चका कार्डिनलहरूले नयाँ पोप चयन गर्छन् ।

कार्डिनलहरू उच्च पूजारीहरूको समूह हो । उनीहरूको काम पोपलाई सल्लाह दिनु हो । हरेक पटक यी कार्डिनलहरू मध्येबाट पोप निर्वाचित हुन्छन् । पोप बन्न कार्डिनल हुनु आवश्यक नभए पनि आजसम्मका सबै पोप निर्वाचित हुनुअघि कार्डिनल भइसकेका थिए ।

सम्मेलनको पहिलो दिन विशेष प्रार्थना सभाबाट सुरु हुन्छ । प्रार्थनाको समयमा सबै कार्डिनलहरू एउटै कोठामा भेला हुन्छन् । यसमा प्रत्येक कार्डिनलले सुसमाचार अर्थात् पवित्र पुस्तकमा हात राखेर शपथ लिन्छन् कि यस चुनावसँग सम्बन्धित कुनै पनि जानकारी अरू कसैलाई कहिल्यै प्रकट गर्नेछैनन् ।

यसपछि कोठा बन्द गरिन्छ र त्यसपछि गोप्य रूपमा मतदान प्रक्रिया सुरु हुन्छ । प्रत्येक कार्डिनलले कागजको टुक्रामा आफ्नो रोजाइको नाम लेख्छन् । यसपछि तिनीहरूलाई एउटा प्लेटमा राखिन्छ । यसपछि तीन जना अधिकारीहरूले तिनीहरूलाई गणना गर्छन् । मतदानपछि सबै मतपत्रहरू जलाइन्छ ।

मतदान सकिएपछि परिणाम जनाउन सेतो वा कालो धुवाँ दिइन्छ । कालो धुवाँको अर्थ नयाँ पोपको बारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन । नयाँ पोप निर्वाचित हुँदा सेतो धुवाँ निस्कन्छ ।

पोप बन्न किन दुई तिहाइ मत आवश्यक

सन् ११५९ को चुनावमा दुई पोप एकैसाथ निर्वाचित भए । अधिकांश कार्डिनलहरूले कार्डिनल रोलान्डोलाई पोप अलेक्ज्याण्डर तृतीयको रूपमा निर्वाचित गरे । उही समयमा कार्डिनलहरूको सानो समूहले मोन्टिसेलीलाई पोप भिक्टर-४ को रूपमा निर्वाचित गर्‍यो ।

सानो गुटका पोपलाई राजा फ्रेडरिक बारबोसाको समर्थन थियो । यस्तो अवस्थामा पोप अलेक्ज्याण्डर-३ ले आफ्नो धेरैजसो समय रोम बाहिर बिताउनुपर्‍यो । यसैबीच कम समर्थन भएका पोप रोममै रहे । यो विवाद सन् ११६४ मा पोप भिक्टर चतुर्थको मृत्युपछि मात्र समाप्त भयो ।

त्यसबेलादेखि पोपको निर्वाचन प्रक्रियामा परिवर्तनहरू गरियो । सबै कार्डिनलबीच ठूलो सहमति सुनिश्चित गर्न, पोपको निर्वाचनको लागि दुई तिहाइ बहुमत आवश्यक पर्दछ । एउटा उम्मेदवारले दुई तिहाइ मत प्राप्त नगरेसम्म मतदान प्रक्रिया धेरै पटक दोहोरिन्छ ।

तीन दिनको मतदानपछि यदि कुनै पोप निर्वाचित भएन भने मतदान एक दिनको लागि रोकिन्छ । यदि ३३ राउन्डपछि पनि कोही छनोट भएन भने नयाँ नियमअन्तर्गत शीर्ष-२ दाबेदारहरू बीच प्रतिस्पर्धा हुन्छ ।

सबैभन्दा लामो समयसम्म चल्ने पोप चुनाव १३औं शताब्दीमा भएको थियो । त्यसपछि पोपको लागि मतदान नोभेम्बर १२६८ देखि सेप्टेम्बर १२७१ सम्म भयो । चुनाव यति लामो हुनुको वास्तविक कारण आन्तरिक कलह र बाह्य हस्तक्षेप भएको बताइएको छ । यसपछि बन्द कोठामा मतदान सुरु भयो । यसपछि सन् १७४० मा पोपको निर्वाचन ७ महिना लाग्यो ।

२१औं शताब्दीमा हालसम्म पोपको निर्वाचनका लागि २ वटा सम्मेलन भइसकेका छन् । पोप बेनेडिक्टलाई निर्वाचित गर्न ४ दिन र पोप फ्रान्सिसलाई निर्वाचित गर्न ५ दिन लाग्यो ।

पोप बन्नको लागि उम्मेदवार पुरुष र क्याथोलिक क्रिश्चियन हुनुपर्छ । पोप १२० कार्डिनलहरूद्वारा निर्वाचित हुन्छन् । पोपको मृत्यु वा राजीनामाको समयमा तिनीहरू सबैको उमेर ८० वर्षभन्दा कम हुनुपर्छ । जनवरी २२, २०२५ सम्म विश्वभर २५२ कार्डिनलहरू छन् । यी मध्ये १३८ कार्डिनलहरू ८० वर्ष मुनिका छन् । हाल यी १३८ जनामध्ये १२० जना कसरी छनोट हुनेछन् भन्ने कुरा स्पष्ट छैन ।

नयाँ पोपका ४ ठूला दाबेदार

पिएट्रो पारोलिन, इटाली

जन्म: १७ जनवरी १९५५ (७० वर्ष)

पोप फ्रान्सिसको उत्तराधिकारीको लागि कार्डिनल पिएट्रो पारोलिन सबैभन्दा अगाडि छन् । उनी सम्मेलनमा सबैभन्दा उच्च श्रेणीका कार्डिनल हुन् र सन् २०१३ देखि भ्याटिकनको विदेश सचिव छन् । उनले आफ्नो करियर भ्याटिकनको कूटनीतिक शाखामा बिताएका छन् ।

जसरी सन् २०१३ मा अमेरिकी महादेशबाट एक कार्डिनललाई पोप बनाइएको थियो, यस पटक अफ्रिका, एसिया वा अन्य कुनै महादेशबाट एक कार्डिनललाई मौका दिन सक्ने अनुमान छ । यस्तो अवस्थामा युरोपको पोरोलिनको स्थिति कमजोर हुनेछ ।

कार्डिनल पिटर टर्क्सन, घाना

जन्म: अक्टोबर ११, १९४८ (७६ वर्ष)

टर्क्सन अफ्रिकी महादेशबाट आएका हुन् र नयाँ पोप बन्ने बलियो दाबेदार हुन् । सामाजिक न्याय, जलवायु र गरिबी निवारणसम्बन्धी उनका विचारहरू पोप फ्रान्सिसका नीतिहरूसँग मेल खान्छ ।

टर्क्सन ७६ वर्षका छन्, जुन नयाँ पोप बन्नको लागि धेरै पुरानो मानिन्छ । यद्यपि, अन्तिम पटक फ्रान्सिस पोप बन्दा उनको उमेर ७७ वर्ष थियो ।

लुइस एन्टोनियो ट्यागल, फिलिपिन्स

जन्म: जुन २१, १९५७ (६७ वर्ष)

लुइस ट्यागललाई ‘एसियाका फ्रान्सिस’ भनेर चिनिन्छ । उनको करिश्माई व्यक्तित्व र युवाहरूमाझ लोकप्रियताले उनलाई बलियो दाबेदार बनाउँछ । यदि उनी पोप बने भने उनी एसियाबाट पहिलो पोप हुनेछन् ।

कसै-कसैले उनलाई धेरै उदारवादी ठान्छन्, जुन रूढिवादी कार्डिनलहरूलाई मन नपर्न सक्छ ।

कार्डिनल माटेओ जुप्पी, इटाली

जन्म: अक्टोबर ११, १९५५ (६९ वर्ष)

जुप्पी इटालीका एक प्रभावशाली कार्डिनल हुन् र पोप फ्रान्सिसको सबैभन्दा नजिकको मानिन्छन् । जुप्पीलाई भ्याटिकन सिटीले युक्रेन र पूर्व राष्ट्रपति जो बाइडनलाई भेट्नसहित धेरै विश्वव्यापी भ्रमणहरूमा पनि पठाएको छ ।

इटालीबाट लगातार पोप निर्वाचित गर्दा आलोचना हुन सक्छन् । पिएट्रो पारोलिन जस्तै उनको दाबी कमजोर हुन सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register