बारम्बार ‘हाउगुजी’ र अन्ततः ‘जोकर’ बन्न अभिशप्‍त ज्ञानेन्द्र शाहको नियति

अहिलेका जस्ता मोटरसाइकल र्‍याली यस अघि पनि भएकै हुन् । ‘राजा भनेको कस्तो हुँदो रहेछ’ भन्ने उत्सुकता र रोमाञ्चकताले रमिता हेर्न आउने भीडले राजतन्त्र फकाई दिँदैन । साँच्चै सडकबाट निर्णायक सङ्घर्ष र छिनोफानो गर्नुपर्ने अवस्था आयो भने गणतन्त्रवदीहरू मात्र हातमा दही जमाएर बस्दैनन् ।

Mar 10, 2025 - 08:30
 0
बारम्बार ‘हाउगुजी’ र अन्ततः ‘जोकर’ बन्न अभिशप्‍त ज्ञानेन्द्र शाहको नियति

गणतन्त्र आएको १७ वर्ष लाग्यो । तर, अझै बेलाबेला ‘राजतन्त्र’ फर्किने ‘हौवा’ वा ‘हाउगुजी’ चलिरहन्छ । जस्तो कि यो हप्ता फेरि एकपटक त्यस्तै भयो । आइतबार पोखराबाट काठमाडौं फर्किएका ज्ञानेन्द्र शाहलाई एउटा झुन्डले एयरपोर्टबाट लगेर नारायणहिटीमा राख्ने भन्दै हल्ला चलाइयो । कतिपयलाई त साँच्चै हो कि भन्ने भ्रम पनि पर्‍यो । तर, यो हौवा हौवामै सीमित भयो । अन्ततः शाह ‘जोकर’ झैँ नारायणहिटी हैन, निर्मल निवासतिरै गए । 

यसरी राजा फर्किने हाउगुजी सृजना गर्न थालिएको पनि १७ वर्ष नै लाग्यो । हरेक वर्ष जस्तो ‘राजावादी’ भनिने एउटा समूहले यस्तै हाउगुजी सृजना गर्दछ र अन्ततः ज्ञानेन्द्र शाहलाई ‘जोकर’ बनाएर आफ्नो राजनीतिक अभिष्ट सिद्ध गर्दछ ।

हौवा– एक काल्पनिक जीव जो विशेषतः कथाकुथुङ्ग्रीका पात्र हो । कसैलाई तर्साउन, धम्क्याउन, डर देखाउन वा अनावश्यक जिद्दीबाट रोक्न ‘हौवा’ को कथा हालिन्छ । हाउगुजी देखाएर तर्साइन्छ । देशमा मौलाउँदै गएको दलतन्त्र, गुटतन्त्र, लुटतन्त्र र नेताराजलाई तर्साउन यो हौवा केही क्षण काम लाग्छ । अन्ततः जस्ताको त्यस्तै । सामसुम र फास्स न फुस्स हुन्छ ।

हौवा यथार्थमा कस्तो हुन्छ कसैलाई थाहा छैन । सम्भवत त्यस्तै हुन्छ जस्तो कथा सुनाउनेले चित्रण गर्दछ । जिद्दी, पिराहा वा रुन्चे बच्चालाई चुप लगाउन हौवाको कथा भन्ने प्रचलन पुरानो हो । हामी सबै कुनै न कुनै प्रकारका भूतप्रेत, पिशाच, राक्षस, कथित बोक्सीका कथा सुन्दै हुर्केका हौँ । पक्कै यस्ता कथाले डर सृजना गर्छन् । तर, डरले कुनै दिगो समाधान भने दिँदैन ।तर्साएर मात्र दलपतिहरूलाई तह लगाउन र देशलाई सही बाटोमा हिँडाउन सकिँदैन ।

ज्ञानेन्द्र शाह कुनै बेला ‘हौवा’ हैन, साँच्चैका ‘राजा’ थिए । त्यो पनि एकपटक हैन– दुईदुई पटक । दुवै पटक उनी राजा हुने प्रक्रिया अप्राकृतिक थियो । नेपालको शाहवंशको मात्र हैन, संसारका अधिकांश राजतन्त्रात्मक प्रणालीको मुख्य विशेषता जेठो छोरो राज्य प्रमुखको उत्तराधिकार हुने हो ।

ज्ञानेन्द्र शाह माहिला नाति वा छोरा थिए । राजा त्रिभुवनको माहिला नाति, राजा महेन्द्रका माहिला छोरा । २००७ सालको कार्तिकमा उनी बुबा महेन्द्र शाहभन्दा अगाडि नै ‘बेबी किङ्ग’ बने ४ वर्षको उमेरमा ।

यो बिल्कुलै एक अस्वाभाविक र कृत्रिम प्रक्रिया थियो । राजा त्रिभुवन सपरिवार देश छोडेर भारत पलायन भएका थिए । मोहन शमशेरले कारणवश छुटेका माहिला नाति ज्ञानेन्द्र शाहलाई राजा बनाए । २००७ साल कार्तिक २२ गतेदेखि पौष २३ सम्म ६२ दिन उनको पहिलो शासनकाल मानियो ।

२००७ सालको घटनाक्रममा उनलाई आरोपित गर्नुपर्ने कुनै कारण छैन । उनी नाबालक थिए । त्यतिखेरका राजनीतिक घटनाक्रमका न उनी जानकार थिए न रहर, इच्छा, योजना वा दाबीले राजा भएका थिए । उनको व्यक्तिगत जीवनका लागि यो एक नियति वा विसङ्गति– ‘एब्सर्डिटी’ थियो । दर्शनशास्त्रमा ‘एब्सर्डिज्म’ का अनेक व्याख्या छन् । तीमध्ये सबैभन्दा लोकप्रिय अर्थ हो– अनिच्छित यथार्थ । कसैले नचाहेर पनि यदाकदा कुनै कुरा हुन्छ, त्यो परिणाममा सुखद वा दुखद दुवै ठहरिन सक्दछ भने त्यो ‘विसङ्गति’ हो ।

ज्ञानेन्द्र शाहको दोस्रो पटकको राज्यारोहण पनि बिल्कुलै अप्राकृतिक थियो । इतिहासमा विरलै हुने पारिवारिक हत्याकाण्डमा उनी र उनको परिवार भने सकुशल बाँचेको थियो । दाजु वीरेन्द्रको परिवारका सबै र भाइ धीरेन्द्रको परिवारका केही मारिएका थिए । तर, ज्ञानेन्द्र शाहको परिवार भने सकुशल थियो । 

दार्शनिक अल्बर्ट कामुका अनुसार विसङ्गति एक अस्तित्वगत यथार्थ हो । यो स्वयं सृष्टि र प्रकृतिमै छ र मान्छेको जीवनमा पनि बारम्बार घटित हुन्छ– नियति बनेर ।

यसो भनौँ ज्ञानेन्द्र शाह पहिलोपटक नियति वा प्राकृतिक विसङ्गतिले ‘कृत्रिम राजा’ बन्न पुगेका थिए । राजतन्त्रको सामान्य सिद्धान्तभन्दा विपरित पिताभन्दा अघि नै राजा त्यो पनि बाल्यकाल मै ।

ज्ञानेन्द्र शाहको दोस्रो पटकको राज्यारोहण पनि बिल्कुलै अप्राकृतिक थियो । इतिहासमा विरलै हुने पारिवारिक हत्याकाण्डमा उनी र उनको परिवार भने सकुशल बाँचेको थियो । दाजु वीरेन्द्रको परिवारका सबै र भाइ धीरेन्द्रको परिवारका केही मारिएका थिए । तर, ज्ञानेन्द्र शाहको परिवार भने सकुशल थियो । 

यो अविश्वसनीय घटनाक्रमपछिका दिनमा उनी करिब ७ वर्ष राजा भए । २०६१ माघ १९ देखि २०६३ बैशाख ११ गतेसम्म त उनले देशको मन्त्रिपरिषद्को अध्यक्ष अर्थात एक प्रकारले कार्यकारी प्रधानमन्त्री भएर प्रत्यक्ष शासन नै गरे ।

तर, उनको प्रत्यक्ष शासनकालमा पनि दरबार हत्याकाण्डबारे कुनै छानबिन भएन । त्यति ठूलो हत्याकाण्डमा कसैलाई ज्यानमुद्दा लागेन । कसैलाई अदालतको कठघरामा उभ्याइएन । कोही जेल जान परेन । पालेको हाँस, कुखुरा, कुकर बिरालो मर्दा पनि खोजीनीति हुन्छ । कोही न कोही त दोष मानिन्छ ।

राज परिवारका त्यत्रा सदस्य मारिँदा भुस्याहा कुकर मर्दा जति पनि मूल्य रहेन । न हत्यारा पत्ता लाग्यो न घटना के भएको हो भन्ने बारे मान्छेले अहिलेसम्म राम्ररी थाहा पाएका छन् ।

एकातिर तिनै राजावादी भनौँ वा ज्ञानेन्द्र शाहका समर्थक भन्छन् कि त्यो कुनै भयानक ठूलो षड्यन्त्र थियो । त्यति भलाद्‌मी स्वभावका दीपेन्द्र शाहले त्यो गराएकै हैन । अर्कोतिर तिनै भन्छन् कि त्यो हत्याकाण्ड थियो । त्यसो भए हत्यारा को थियो ? कि तत्कालीन राजारानी वीरेन्द्रऐश्वर्य शाह मरेका वा मारिएकै हैनन् ? के नारायणहिटी हत्याकाण्ड पनि काल्पनिक हो ? ‘हौवा’ जस्तै ।

सामान्यतः षड्यन्त्र त्यसैले गर्दछ जसलाई षड्यन्त्रपछि फाइदा हुन्छ । दरबारको चार किल्लाभित्र सेनाको परमाधिपति भएर बसेको व्यक्ति र परिवारमाथि षड्यन्त्र गर्ने र त्यति ठूलो हत्याकाण्ड मच्चाउने क्षमता कुन अर्को नेपालीसँग थियो वा होला ?

यदि विदेशीले गराएको हो भने राजा वा मूल शासक भएका बेलामा त्यसको छानबिन र पर्दाफास गर्नु ज्ञानेन्द्र शाहको पहिलो कर्तव्य हुन्थ्यो । तर, उनले त्यस्तो कुनै प्रयत्न गरेनन् । यो पनि छैन, त्यो पनि छैन । यो पनि हैन, त्यो पनि हैन, हो के त ? फेरि ठूला कुरा तिनैको छ ।

ज्ञानेन्द्र शाहजस्तै त्रिभुवन, महेन्द्र वा वीरेन्द्र शाह पनि कुनै लोकतान्त्रिक राजा थिएनन् । ती पनि सधैँ ‘संवैधानिक राजतन्त्र’ को सीमाभित्र बसेका हैनन् । तर, तिनको पालामा राजतन्त्र किन समाप्त भएन ? ज्ञानेन्द्र शाहकै पालामा किन भयो ?

बद्लिएको युग र नागरिक चेतनाको कुरा, माओवादी जनयुद्ध लगायतका सङ्घर्षको पाटो, आजित भएका तत्कालीन ७ दलको मनोदशा एकातिर छ तर, यो आलेखमा म ज्ञानेन्द्र शाहमाथि नै केन्द्रित हुन चाहन्छु ।

वीरेन्द्र र ज्ञानेन्द्र शाह, दीपेन्द्र र पारस शाहको चरित्रमा त्यो भिन्नता प्रष्ट देखिन्छ । राजा भइसके पछि शक्तिको अभ्यास गर्ने लालसा अक्सर सबै जसोमा हुन्छ । तर, अर्गानिक राजा र राजकुमारहरूलाई त्यसको सीमा र मर्यादा पनि थाहा हुन्छ । आफ्ना कर्तव्य र हितहरूको कडी पनि थाहा हुन्छ । शक्ति सन्तुलनको अनुमान हुन्छ । परिवेश र परिस्थितिको आकलन हुन्छ ।

राजतन्त्र ज्ञानेन्द्र शाहकै पालमा अन्त्य हुनुका अरु पनि कारण थिए तर, मुख्य कारण भने ‘प्राकृतिक वैधता’ (अर्गानिक लिजिटिमेसी) को अभाव थियो । अरु खासमा एक प्रणाली अन्तर्गत राजा भएका थिए । तर, ज्ञानेन्द्र शाह कुनै प्राकृतिक वा मौलिक राजा थिएनन् । उनी ‘छोरो राजा’ हैन, ‘भाइ राजा’ थिए । ‘भाइ राजा’ हरूको इतिहास अक्सर यस्तै दुर्भाग्य र विसङ्गतिले भरिएको हुन्छ ।

किनकि, तिनमा राजा अर्थात् राज्य प्रमुखको कर्तव्य, सीमा र मर्यादाबारे गहिरो आत्मानुभूति र ज्ञान नै हुँदैन । तिनको शिक्षादीक्षा नै राजा हुनका लागि भएको हुँदैन । के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्नेबारे तिनको मानसिकता नै बनेको हुँदैन । राजनीतिक शक्ति सन्तुलनको सही अनुमान पनि तिनीहरूसँग हुँदैन ।

वीरेन्द्र र ज्ञानेन्द्र शाह, दीपेन्द्र र पारस शाहको चरित्रमा त्यो भिन्नता प्रष्ट देखिन्छ । राजा भइसके पछि शक्तिको अभ्यास गर्ने लालसा अक्सर सबै जसोमा हुन्छ । तर, अर्गानिक राजा र राजकुमारहरूलाई त्यसको सीमा र मर्यादा पनि थाहा हुन्छ । आफ्ना कर्तव्य र हितहरूको कडी पनि थाहा हुन्छ । शक्ति सन्तुलनको अनुमान हुन्छ । परिवेश र परिस्थितिको आकलन हुन्छ ।

ठीक यही कुरा ज्ञानेन्द्र शाह र पारस शाहमा थिएन र अहिले पनि छैन । किनकि यी राजा र राजकुमार हुन बनेका मानव नै थिएनन् । यिनको मानसिकता र चरित्र नै त्यसरी निर्मित भएन । तसर्थ, यिनका पालामा पुर्खौली शासनसत्ता गुम्यो ।

वीरेन्द्रभन्दा ज्ञानेन्द्र बढी बुद्धिमान, कुशल र चातुर्ययुक्त राजा थिए भनेर यो दुनियाँमा कसैले पत्याउँदैन । तर, ज्ञानेन्द्र शाहले वीरेन्द्रलाई व्यङ्ग्य गर्दै ‘आफू दाजुजस्तो टुलुटुलु हेर्ने राजा नहुने, देखिने राजा हुने’ बताएका थिए ।

ज्ञानेन्द्र शाहले यो बिर्सेका थिए कि ‘टुलुटुलु हेर्ने राजा हुनु’ वीरेन्द्रको अज्ञानता वा कायरता थिएन बरु उनको ‘बुद्धिमत्ता र रणनीतिक कदम’ थियो । राजतन्त्र बचाउने एक मात्र उपाय यही हो भनेर उनले बुझेका थिए । एक्काईसौँ शताब्दीमा राजतन्त्रको सीमा बुझेरै उनले ‘संवैधानिक राजा’ हुन स्वीकार गरेका थिए ।

ठीक यही कुरा बुझ्न नसक्दा वा नचाहँदा ज्ञानेन्द्रको पालामा २४० वर्षको वंश समाप्त भयो । उनी दाजु वीरेन्द्रले स्वीकार गरिसकेको संवैधानिक राजतन्त्रको सीमाभित्र बस्न चाहेनन् । निरङ्कुश राजा हुने उनको अपरिपक्व कदमले चौतर्फी सङ्कट सृजना गर्‍यो । उनी आफैँ त्यसको घानमा परेर अन्ततः ‘जोकर’ सावित भए ।

उनी दाजुजस्तो हैन, पिता महेन्द्रजस्तो राजा हुन चाहन्थे । तर, पिता, दाजु र आफूबीचको देशकाल, परिवेश र परिस्थितिको भिन्नता के हो ? पारस शाहबाट त यस्तो अपेक्षा नै कसैले गरेको, राखेको थिएन । ज्ञानेन्द्रमा पनि त्यो परिपक्वता र दूरदर्शिता थिएन ।

राजनीतिका केही सार्वभौम नियम हुन्छन्, केही परिस्थितिजन्य । खासमा महेन्द्र शाहले जुन जोखिम लिए, त्यसबाट पनि उनको व्यक्तित्व, परिवार, वंशीय राजतन्त्र र देशलाई नाफाभन्दा बढी नोक्सानी नै भएको थियो ।

अल्पायुमै हृदयघात भएर बित्नुको कारण सायद उनको मनमा कुनै न कुनै प्रकारले गल्तिबोधको भावना, पश्चाताप, दबाब र तनाव थियो होला, जो उनी सार्वजनिक रुपमा भन्न सक्दैनथे ।  जननिर्वाचित प्रधानमन्त्रीलाई लामो समय जेलमा राखेर निरङ्कुश राजतन्त्रलाई निष्कण्टक राख्ने उनको आकाङ्क्षा उनको जीवनकालभरि जसोतसो चल्यो, त्यो पनि अल्पायुमै बितेको कारणले मात्र । लामो बाँचेका भए महेन्द्र आफैँ कुन न कुनै नयाँ बोध र मोडमा पुग्न बाध्य हुने थिए ।

नारायणहिटी दरबार हत्याकाण्डले राजतन्त्र भित्रभित्रै कति कमजोर खोक्रो बनेको थियो, जनताको आँखामा यो कति बदनाम र अविश्वसनीय भएको थियो, ज्ञानेन्द्र शाहले त्यसको कुनै आकलन नै गर्न चाहेनन् । यस अर्थमा उनका ‘असोज १८’ र ‘माघ १९’ का कदम बिल्कुलै मुर्खतापूर्ण र आत्मघाती थिए ।

त्यसमाथि उनले डा. तुलसी गिरी र कीर्तिनिधि विष्टजस्ता असान्दर्भिक पात्रलाई अघि सारेर शासन गर्ने जुन डिजाइन बनाएन, त्यो त मुर्खताको पराकाष्ठा नै थियो । एक्काईसौँ शताब्दीका युवा, भूमण्डलीकृत र लोकतान्त्रिक अभ्यासको अनुभव हासिल गरिसकेका नेपाली नागरिकले ज्ञानेन्द्र शाह मोडेलको शासन स्वीकार गर्ने किमार्थ कुनै सम्भावना थिएन।

आज उनी यदाकदा ‘त्याग’ र ‘नासो’ को कुरा गर्छन् । कुन त्याग ? कुन नासो ? उनले जनआन्दोलन २०६२ ⁄ २०६३ माथि सकेसम्मको दमन गरेकै हुन् ? १० हजारभन्दा बढी राजनीतिक कार्यकर्ता र नागरिक अभियानकर्मीलाई महिनौँ लामो जेलमा थुनेकै हुन् । प्रेसमा सेन्सरसिप लगाएकै हुन् । प्रत्यक्ष शासन चलाएकै हुन् । कर्फ्यु लगाएकै हुन् । सेना र प्रहरीलाई गोली चलाउने आदेश दिएकै हुन् । मान्छे मारिएकै हुन् । भारतको मध्यस्थता र करण सिंहको प्रस्ताव आन्दोलनकारीले अस्वीकार गरेकै हुन् । फेरि कुन त्याग, कुन सम्झौता र कुन नासोको कुरा ?

जसरी स्वयं राजावादी पारस शाहको चरित्र, क्षमता र व्यक्तित्वबारे विश्वस्त छैनन्, पारसको चर्चा हुनेबित्तिकै ती विषयबाट भाग्छन्, त्यसैगरी ज्ञानेन्द्र शाहको अधिराजकुमारकालीन छवि पनि जनताको नजरमा स्वच्छ र विश्वासिलो थिएन ।

पञ्चायतकालको उत्तरार्धतिर ‘भूमिगत गिरोह’ सङ्गठित थियो भन्ने कुरा गणतन्त्रवादीको आरोप हैन । दरबारनिकट र बारम्बार प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको स्पष्टोक्ति हो । यो गिरोहले मूलतः गाजा, चरेस, हिरोइन, ब्राउनसुगर र मूर्तिको व्यापार गर्थ्यो ।

यस्तै घटना बाहिर ल्याएबापत पत्रकार पद्म ठकुराठीमाथि गोली हानिएको थियो । ठकुराठी आफैँ पञ्च, राजावादी र राष्ट्रिय पञ्चायतका सदस्य भइसकेका व्यक्ति थिए । उनले आज पनि यी कुरा निर्भिकतापूर्वक लेख्ने, बेल्ने गरेका छन् । उनका कयौँ भिडिओ अन्तर्वार्ता युट्युबमा सजिलै उपलब्ध छन् ।

यो भन्नै पर्ने हुन्छ कि यति धेरै असफलता, मूर्खतापूर्ण र आत्मघाती कदम तथा गलत निर्णयपछि पनि ज्ञानेन्द्र शाहले अनुभवबाट कुनै शिक्षा लिन चाहेको देखिन्न । विधिवत् जननिर्वाचित संविधानसभाको करिब सर्वसम्मतिले निर्णय गरेर विस्थापित भएको राजतन्त्रलाई पुनर्स्थापित गर्ने नाममा उनी जुन प्रकारको भीडतन्त्र प्रवर्द्धन गर्न खोज्दैछन्, त्यसले उनको र परिवारको बाँकी जीवनलाई कष्टकर र जोखिमपूर्ण बनाउने सम्भावना रहन्छ ।

भरत गुरुङ–डिबी लामा काण्ड, नमिता–सुनिता बलात्कार तथा हत्याजस्ता बग्रेल्ती काण्डबारे धेरै भनिरहनु ‘रच्छ्यान चलाई मुखमा छिटा’ भन्ने उखानजस्तो होला । स्वयं राजा वीरेन्द्र शाहलाई परिवारको कट्टरपन्थी खेमाले कति धेरै दबाब, दुख, हैरानी र सास्ती दिएको थियो, त्यसको बयान त्यतिखेरका निकटस्थहरूले गरेकै छन् । र ‘टुलुटुलु हेर्ने’ राजा भनेर ज्ञानेन्द्रले दाजुप्रति उनको मनमा दबेर बसेको असन्तोष, घृणा, प्रतिशोध प्रकट गरेकै हुन् ।

भाइहरूको ज्यादती हद भएपछि वीरेन्द्रले गुरुङ–लामालाई बर्खास्त गरेका थिए । यही रनाहामा धिरेन्द्र पद र देश छोडेर हिँडेका थिए । ज्ञानेन्द्र व्यापारतिर लागेका थिए । पञ्चायत बदनाम हुनुमा तत्कालीन अधिराजकुमारहरू र भूमिगत गिरोह जिम्मेबार थियो, जसले स्वयं वीरेन्द्र शाहलाई ठूलो नैतिक सङ्कटमा पारेको थियो ।

यो भन्नै पर्ने हुन्छ कि यति धेरै असफलता, मूर्खतापूर्ण र आत्मघाती कदम तथा गलत निर्णयपछि पनि ज्ञानेन्द्र शाहले अनुभवबाट कुनै शिक्षा लिन चाहेको देखिन्न । विधिवत् जननिर्वाचित संविधानसभाको करिब सर्वसम्मतिले निर्णय गरेर विस्थापित भएको राजतन्त्रलाई पुनर्स्थापित गर्ने नाममा उनी जुन प्रकारको भीडतन्त्र प्रवर्द्धन गर्न खोज्दैछन्, त्यसले उनको र परिवारको बाँकी जीवनलाई कष्टकर र जोखिमपूर्ण बनाउने सम्भावना रहन्छ ।

ज्ञानेन्द्र शाहले यो यथार्थ स्वीकार गर्नु उचित हुन्छ कि उनका लागि सत्तामा फर्किने सबै बाटा बन्द भइसकेका छन् । जस्तो कि–

एक– पृथ्वीनारायण शाह एक प्रकारको स्थानीय एकीकरण युद्धबाट सत्तामा आएका थिए– ज्ञानेन्द्र शाहले यस्तो युद्धको नेतृत्व गर्ने कुनै सम्भावना र परिस्थिति छैन । उनी कुनै बहादुर, पराक्रमी र योद्धा राजा हैनन् । तसर्थ गृहयुद्धको माध्यमबाट उनी सत्तामा आउन सक्दैनन् ।

दुई– जङ्गबहादुर राणा कोतपर्व जस्तो विभत्स हत्याकाण्ड रचेर सत्तामा आएका थिए । ज्ञानेन्द्र शाहले अर्को कोतपर्व गर्न सक्ने कुनै सम्भावना छैन ।

तीन– महेन्द्र शाहले निर्वाचित संसद् विघटन गरेर, सबैलाई जेल हालेर सत्ता हत्याएका थिए । राज्यसत्ताको पिरामिडमा सबैभन्दा सर्वोच्च पदमा हुनुको फाइदा उनलाई थियो । ज्ञानेन्द्र शाहले यो विकल्प प्रयोग गरिसकेका हुन् । असोज १८ र माघ १९ त्यसैको अभ्यास थियो । जो असफल भइसक्यो । र, यो विकल्प पनि उनका लागि बाँकी छैन ।

चार– कसै कसले भनेजस्तो सेना र प्रहरीले शसस्त्र विद्रोह गरेर ज्ञानेन्द्र शाहलाई स्थापित गरिदिन्छ भन्नु आफ्नै अज्ञानता र अनुभवहीनताको परिचय दिनु मात्रै हो । आजका सेना, प्रहरीको नेतृत्वले त्यसो गर्नुको चुनौतीलाई राम्ररी बुझ्छ । कसैका लागि आफ्नो जीवन, परिवार र करिअर हत्केलामा राखेर त्यति ठूलो जोखिम उठाउँछ भनेर सोच्नु नै मूर्खतापूर्ण छ ।

सेना प्रहरी अब निर्वाचित नागरिक सरकार अधिनस्थ भइसकेको छ । यसको नेतृत्वमा अब हिजोजस्तो निश्चित कुलिन र सभ्रान्त परिवारका सदस्य हैन, आम नागरिकबाट आएका पात्र छन । गणतन्त्रको अर्थ र महत्त्व तिनले नबुझ्ने कुरै छैन ।

पाँचौँ– कुनै विदेशी शक्तिले आएर ज्ञानेन्द्र शाहलाई नेपालको राजा बनाइदिने विश्व परिस्थिति र परिवेश छैन । हुन्थ्यो त सी चिनफिङ र नरेन्द्र मोदी एक दशकभन्दा बढी समयदेखि चीन र भारतको सत्तामा छन्, भइसक्थ्यो । त्यो हुँदैन । अमेरिकाका ट्रम्पले नेपालको सत्ता राजनीति उलटफेर गर्ने र ज्ञानेन्द्र शाहको पक्ष लिने कुनै सम्भावना छैन ।

विश्व परिवेश शाहको पक्षमा छ भन्ने केही राजावादीको उत्ताउलो तर्क आत्मरति मात्रै हो । ट्रम्पको उदयपछि विश्व राजनीति अपूर्वानुमानीय छ । त्यसले भारत र चीन, मोदी र सी दुवैमाथि नयाँ दबाब सृजना गरेको छ । तिनका आफ्नै समस्या र चुनौती छन्, नेपालको घटनाक्रम र कथित राजतन्त्र फिर्तीसँग तिनलाई बाल मतलब छैन ।

छैटौँ– तरिका राजावादी दल, शक्ति र समूहले संसद्मा दुईतिहाइ बहुमत हासिल गरेर संविधान संशोधन गर्नु हो । नेपालको राजनीतिक शक्ति सन्तुलन, सङ्गठनात्मक वर्चश्व र मतदान प्रवृत्तिका आधारमा विश्लेषण गर्दा यो असम्भव कुरा हो । यहाँ कुनै एक राजनीतिक शक्तिले सामान्य बहुमत ल्याउने अवस्था त छैन, राजावादी शक्तिले दुईतिहाइ बहुमत कम्तिमा केही दशक सम्भव छैन ।

राप्रपा भन्ने पार्टी बनेको ३५ वर्ष भयो । त्यसको सङ्गठन, नेतृत्वको अवसरवाद, विग्रह, विभाजन, सामाजिक वर्चश्वको सीमा र हैसियत सबैले देखे, बुझेकै कुरा हो । रवीन्द्र मिश्र, दुर्गा प्रसाईं र ज्ञानेन्द्र शाहीजस्ता नयाँ पुस्ताका केही अवसरवादी थपिदैमा राप्रपा निर्णायक राजनीतिक शक्ति बन्न सक्दैन ।

अस्ति भर्खरै मङ्सिरमा भएको स्थानीय तह उपनिर्वाचनबाट त्यसको जनमतको पछिल्लो सीमा सजिलै आकलन गर्न सकिन्छ ।

सातौँ र अन्तिम उपाय– त्यही सडक आन्दोलन र प्रदर्शनको आशा हो । तर, आजसम्मका प्रदर्शनको चरित्र र सहभागिताले राजतन्त्र फिर्ता गर्ने ल्याकत राखेको छैन । मानौँ सोमबारको प्रदर्शनमा १० हजार नै मानिस थिए, त्यो गणतन्त्रले थेग्न नसक्ने ठूलो जनमत हैन । देशमा गणतन्त्र आउँदा कम्तीमा १ करोड मानिस सडकमा थिए । काठमाडौं चक्रपथमा मात्रै १० लाखभन्दा बढी मानिस प्रतिदिन हुन्थे ।

सबैलाई राम्रो सम्झना छ कि २४० वर्षे राजतन्त्रात्मक शासनका यी सबै समस्या अहिलेभन्दा पनि खराब हालत र विकराल अवस्थामा थिए । दलहरूले गरिबी हटाउन नसकेका हुन् । गरिबीको सृजना त राजतन्त्रमै भएको हो । नेताहरूले अन्याय, अत्याचार र विभेद समाप्त गर्न नसकेका हुन् । तर, यी रोगको उत्पत्ति पनि राजतन्त्रकालमै भएको हो । कुशासन र भ्रष्टाचार राजतन्त्रमा पनि थियो, अहिले पनि छ । राज्यको चरित्र राजतन्त्रकालमै बनेको हो, दल र नेताहरूले त्यसलाई बदल्न नसकेको सत्य हो ।

त्यसो भए कथित राजावादी आन्दोलनको बाटो, भविष्य र उपयोगिता के त ? त्यही भीडतन्त्रको अभ्यास । हाहाहुहू, कोलाहल, प्रोपोगण्डा, हौवा, हाउगुजी र आत्मरति । मौसमी उत्तेजनाको राजनीति । अहिले जुन हल्लीखल्ली छ । अहिलेका जस्ता मोटरसाइकल र्‍याली यस अघि पनि भएकै हुन् । ‘राजा भनेको कस्तो हुँदो रहेछ’ भन्ने उत्सुकता र रोमाञ्चकताले रमिता हेर्न आउने भीडले राजतन्त्र फकाई दिँदैन । साँच्चै सडकबाट निर्णायक सङ्घर्ष र छिनोफानो गर्नुपर्ने अवस्था आयो भने गणतन्त्रवदीहरू मात्र हातमा दही जमाएर बस्दैनन् । अहिले नपत्याएर, लोकतन्त्रले राजनीतिक अभ्यास गर्ने स्पेस राजावादीलाई पनि दिने भएर मात्र स्थिति मुठभेडमा नगएको हो ।

यस्तो हौवा– ५–७ प्रतिशत राजतन्त्रप्रति झुकाव राख्ने मतको एकीकरण गरी राजनीतिक भविष्यको खोजी गरिरहेका करिअरिष्टहरूलाई काम लाग्ला तर, ज्ञानेन्द्र शाहलाई त्यसले अन्ततः फाल्तु जोकर नै सिद्ध गर्दिन्छ ।

यो मान्न सकिन्छ कि गणतन्त्रको स्थापनापछि पनि देशले अपेक्षित प्रगति गर्न सकेको छैन । राजनीतिक दलका मुख्य नेताहरू दिनप्रतिदिन स्वार्थी, भ्रष्ट, अवसरवादी र अविश्वसनीय हुँदै गएका छन् । आर्थिक सङ्कट, कुशासन र भ्रष्टाचारले नागरिक आजित छन् । देशभित्र रोजगार, उद्यमशीलता, आयस्तर र जीवनको गुणस्तर बढ्न सकेको छैन । बढे पनि एकदमै सीमित र मात्रात्मक छ, गुणात्मक हैन ।

तर, सबैलाई राम्रो सम्झना छ कि २४० वर्षे राजतन्त्रात्मक शासनका यी सबै समस्या अहिलेभन्दा पनि खराब हालत र विकराल अवस्थामा थिए । दलहरूले गरिबी हटाउन नसकेका हुन् । गरिबीको सृजना त राजतन्त्रमै भएको हो । नेताहरूले अन्याय, अत्याचार र विभेद समाप्त गर्न नसकेका हुन् । तर, यी रोगको उत्पत्ति पनि राजतन्त्रकालमै भएको हो । कुशासन र भ्रष्टाचार राजतन्त्रमा पनि थियो, अहिले पनि छ । राज्यको चरित्र राजतन्त्रकालमै बनेको हो, दल र नेताहरूले त्यसलाई बदल्न नसकेको सत्य हो ।

यसको सीधा अर्थ हो कि दल र नेताहरूको असफलता, असक्षमता र अधमताको विकल्प राजतन्त्र हुन सक्दैन । हुने भए २४० वर्षमा हुन्थ्यो होला वा ज्ञानेन्द्र शाहको करिब ७ वर्ष लामो शासनमा देश स्वर्ग हुन्थ्यो होला, नागरिक आजित भएर उनैलाई सत्ताच्यूत गर्ने मनस्थितिमा पुग्ने थिएनन् होला ।

राजतन्त्र विकल्प हुँदै हैन, विकल्प त नागरिकतन्त्र हो । दलतन्त्र, नेतातन्त्रको समस्याबाट मुक्ति खोज्न राजतन्त्रतिर फर्किने हैन, नागरिकतन्त्रतिर अघि बढ्न पर्दछ । सृष्टिको सामान्य नियम हो– समाज पछाडि फर्किदैन, अघि बढ्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register