टर्कीमा विपक्षी नेता गिरफ्तारीपछि एर्दोगानविरुद्ध विशाल प्रदर्शन

काठमाडौं ।  इस्तानबुलका मेयर तथा विपक्षी नेता एकरेम इमामोग्लुको गिरफ्तारीपछि टर्कीभर विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीले सडक, विश्वविद्यालय र मेट्रो स्टेशनहरूमा सरकार विरोधी नारा लगाइरहेका छन् । धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको पनि रिपोर्ट आएको छ । प्रतिक्रियास्वरूप सरकारले देशको सबैभन्दा ठूलो शहर इस्तानबुलमा ४ दिनका लागि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको […]

Mar 20, 2025 - 10:09
 0
टर्कीमा विपक्षी नेता गिरफ्तारीपछि एर्दोगानविरुद्ध विशाल प्रदर्शन

काठमाडौं ।  इस्तानबुलका मेयर तथा विपक्षी नेता एकरेम इमामोग्लुको गिरफ्तारीपछि टर्कीभर विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीले सडक, विश्वविद्यालय र मेट्रो स्टेशनहरूमा सरकार विरोधी नारा लगाइरहेका छन् ।

धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको पनि रिपोर्ट आएको छ । प्रतिक्रियास्वरूप सरकारले देशको सबैभन्दा ठूलो शहर इस्तानबुलमा ४ दिनका लागि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ । यससँगै धेरै सडक र मेट्रो लाइनहरू पनि बन्द गरिएको छ ।

प्रहरीले १०० जनाभन्दा बढीलाई पक्राउ गरेको छ । यसमा धेरै नेता र पत्रकार छन् । २२ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति एर्दोगानविरुद्ध यो सबैभन्दा ठूलो प्रदर्शन मानिन्छ ।

भ्रष्टाचारको आरोपमा पक्राउ परेका इमामोग्लु (५४ वर्ष) आधुनिक टर्कीका संस्थापक मुस्तफा केमाल पाशाको पार्टी रिपब्लिकन पिपुल्स पार्टी (CHP) का नेता हुन् । उनलाई मार्च २३ मा राष्ट्रपतिको उम्मेदवार घोषणा गरिने तयारी थियो, तर त्यसअघि नै उनलाई भ्रष्टाचार र आतङ्कवादी सङ्गठनलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको हो ।

इमामोग्लुविरुद्ध दुईवटा आरोप लगाइएको छ,  नगरपालिकाले जारी गरेका केही टेन्डरमा पत्रकार र व्यवसायीसहित जम्मा १०० जना आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्का गरिएको छ भने उनी र अन्य छ जनामाथि कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लाई सहयोग गरेको आरोप लगाइएको छ । टर्किएले यसलाई आतङ्कवादी सङ्गठन मान्छ ।

इमाम्लुको पार्टी सीएचपीले गिरफ्तारीको निन्दा गर्दै यसलाई ‘अर्को राष्ट्रपति विरुद्धको विद्रोह’ भनेको छ । प्रमुख विपक्षी दल- रिपब्लिकन पिपुल्स पार्टी (CHP) का नेता ओजगुर ओजेलले विपक्षी दलहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

ओजेलले भने, “इमामोग्लुको गिरफ्तारी भएपनि अझै पनि राष्ट्रपतिको उम्मेदवार बनाइनेछ ।” गिरफ्तारीपछि सामाजिक सञ्जालमा मानिसहरूले विपक्षी दललाई राष्ट्रपति चुनाव बहिष्कार गर्न अपिल गरे । उनले भने, “अब देशमा निष्पक्ष र लोकतान्त्रिक चुनाव सम्भव छैन ।” साथै, टर्की सरकारले विपक्षीका सबै आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्‍यो र देशको न्यायपालिका स्वतन्त्र रहेको बताएको छ ।

इमामोग्लुको गिरफ्तारी हुनुभन्दा पहिले इस्तानबुल विश्वविद्यालयले उनको डिग्री रद्द गरेको थियो । यसले उनको उम्मेदवारीमाथि शङ्का उत्पन्न भएको छ । टर्कीको संविधानअनुसार राष्ट्रपति बन्न उम्मेदवारले उच्च शिक्षा पूरा गरेको हुनुपर्छ । यदि अदालतले आफ्नो निर्णय परिवर्तन गरेन भने उनलाई राष्ट्रपति चुनाव लड्नबाट प्रतिबन्ध लगाइनेछ ।

एर्दोगानका उम्मेदवारलाई पराजित गरेपछि लोकप्रिय इमामोग्लु

उनी राष्ट्रपति एर्दोगानको प्रशासनविरुद्ध एक बलियो विपक्षी अनुहारको रूपमा उभिएका छन् । घरजग्गा व्यवसायमा हात हालेर उनी ४३ वर्षको उमेरमा राजनीतिमा लागे । उनी CHP पार्टीको तर्फबाट बेइलिकदुचु जिल्लाको मेयर निर्वाचित भए ।

सन् २०१९ सम्म इमामोग्लु देशमा धेरै लोकप्रिय थिएनन् । तर, सन् २०१९ को इस्तानबुल मेयरको चुनावमा राष्ट्रपति एर्दोगानका समर्थित उम्मेदवारलाई पराजित गरेपछि उनी अत्यन्तै प्रसिद्ध भए । यस चुनावमा उनले ४१ लाख मत पाए र १३ हजार मतले जिते । यद्यपि, उनी एक महिनाभन्दा कम समयको लागि मेयर रहे ।

अनियमितताको आरोप लागेपछि निर्वाचन अधिकारीहरूले चुनाव रद्द गरे र उनलाई पदबाट हटाइदिए । पुनः निर्वाचनको आदेश दिइयो । यसपछि जुन २०१९ मा फेरि चुनाव भयो, जसमा उनले आफ्ना प्रतिद्वन्द्वी उम्मेदवारलाई लगभग ८ लाख मतले पराजित गरे । उनको जितले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता दियो ।

मेयर बनेपछि उनले शहरको पूर्वाधारमा व्यापक रूपमा काम गरे । यसले उनको छविलाई अझ राम्रो बनायो । सन् २०२३ को राष्ट्रपति चुनावमा एर्दोगान विरुद्ध प्रतिस्पर्धा गर्ने इमामोग्लु अग्रपङ्क्तिमा थिए, तर विपक्षी गठबन्धनले कमल किलिकदारोग्लुलाई रोज्यो । सन् २०२४ को इस्तानबुल मेयरको चुनावमा एर्दोगान समर्थित उम्मेदवारलाई हराएर उनी फेरि एक पटक मेयर बने ।

एर्दोगान समर्थित उम्मेदवारलाई लगातार तेस्रो पटक पराजित गर्नु इमामोग्लुको लागि ठूलो उपलब्धिको रूपमा हेरिएको थियो । साथै, टर्कीका धेरै राजनीतिक विज्ञहरूले यसलाई ‘एर्दोगनको अहिलेसम्मकै सबैभन्दा खराब हार’ भनेका थिए ।

वास्तवमा इस्तानबुल त्यहीँ हो, जहाँ एर्दोगान हुर्केका थिए । यहाँबाट उनी पहिलो पटक मेयर बने । यस्तो अवस्थामा उनको पार्टीका उम्मेदवारको हार ठूलो धक्का थियो । इमामुलुको विजयपछि उनलाई अर्को राष्ट्रपतिको रुपमा हेरिएको छ ।

यस्तो अवस्थामा इमामुलको गिरफ्तारीलाई एर्दोगानसँग जोडेर हेरिएको छ । टर्कीमा सन् २०२३ मा राष्ट्रपति चुनाव भएको थियो, जसमा एर्दोगानले लगातार तेस्रो पटक जित हासिल गरे । अर्को चुनाव सन् २०२८ मा हुँदैछ ।

देशको संविधानअनुसार कोही पनि चौथो पटक राष्ट्रपति बन्न सक्दैन । यद्यपि, आलोचकहरू भन्छन्, “एर्दोगानले अर्को कार्यकाल खोज्न संविधान परिवर्तन गर्न सक्छन् । यसका लागि देशमा समयभन्दा अगाडि नै चुनाव गराउन सकिन्छ ।”

एर्दोगानले गत वर्ष आफ्नो सबैभन्दा खराब चुनावी हार व्यहोरेका थिए । देशभरि भएका स्थानीय निकायको चुनावमा एर्दोगानको सत्तारुढ दल – एके पार्टीको गढ मानिने टर्कीका ठूला शहर र नगरपालिकाहरूमा विपक्षी CHP पार्टीले जित हासिल गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register