रास्वपामा सुनुवाइ भएनन् सुमनाका सवाल, नाम मात्रैको सहमहामन्त्री परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिएकी छन् । सुमनाले पार्टी अध्यक्ष रवि लामिछाने पक्राउ पर्नु अगाडि नै सहमहामन्त्री पदबाट राजीनमा दिएकी थिइन् । रास्वपा स्रोतअनुसार उनले लामिछानेसँग सल्लाह गरेरै पद त्याग्ने निर्णय गरेकी थिइन् । तर, चैत २२ मा लामिछाने पक्राउ परेपछि उनको राजीनामाको विषय […]

Apr 17, 2025 - 08:19
 0
रास्वपामा सुनुवाइ भएनन् सुमनाका सवाल, नाम मात्रैको सहमहामन्त्री परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिएकी छन् ।

सुमनाले पार्टी अध्यक्ष रवि लामिछाने पक्राउ पर्नु अगाडि नै सहमहामन्त्री पदबाट राजीनमा दिएकी थिइन् । रास्वपा स्रोतअनुसार उनले लामिछानेसँग सल्लाह गरेरै पद त्याग्ने निर्णय गरेकी थिइन् । तर, चैत २२ मा लामिछाने पक्राउ परेपछि उनको राजीनामाको विषय रोकिएको थियो ।

त्यसो भए किन दिइन् त राजीनामा ?

नेपालभ्युजलाई सुमनाको राजीनामा पत्र प्राप्त भएको छ । सुमनाले राजीनामा पत्रमा आफूले सहमहामन्त्री पद त्याग गर्नुको कारण खुलाएकी छन् ।

सहमहामन्त्री भएपनि पदाधिकारीसँग सल्लाह नगरीकनै पार्टीमा महत्वपूर्ण निर्णय हुने गरेको, महत्वपूर्ण निर्णय पार्टी बाहिरबाट थाहा पाउनुपर्ने अवस्था आएपछि पदको वजन महसुस नगरेको उनले राजीनामा पत्रमा लेखेकी छन् ।

उनले पद त्याग गर्नुको कारणबारे लेखेकी छन्, ‘पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय पदाधिकारी भएरसमेत पार्टीसम्बन्धी महत्वपूर्ण विषय तथा निर्णय आधिकारीक स्रोतबाट नभइ अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ ।’

सहमहामन्त्रीका रूपमा विभिन्न मुद्दामाथि पार्टीमा छलफल गर्न खोज्दा पार्टीले वास्ता नगरेको उनले गुनासो गरेकी छन् । कालिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्यु र त्यसपछिका घटना क्रममका विषयमा सदन अवरुद्ध गरौँ भन्दा पार्टीले सुनेको नसुन्यै गरेको उनको गुनासो छ ।

उनले पदबाट राजीनामा दिनुपर्ने कारणमा लेखेकी छन्, ‘कैयौँपटक विभिन्न विषयमा बैठक बसौँभन्दा समेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरुद्ध गरौँ भन्दा पनि नसुनिनेसमेत अवस्था देखेँ ।’

सहमहामन्त्री जस्तो महत्वपूर्ण पदलाई पार्टीले हलुका रूपमा लिएको गुनासो गर्दै उनले लेखेकी छन्, ‘यसकारण यस्तो महत्वपूर्ण पद अब चाहिँ यसरी हलुका नलिदिनुहुन पनि आग्रह गर्छु ।’

कर्मकाण्डी तरिकाले बैठक बस्ने गरेको, बैठकमा बोल्ने क्रममा पनि पदाधिकारी, उमेरजस्ता विषयलाई धेरै महत्व दिने गरिएको उनको गुनसो छ । यसबाहेक ‘एक व्यक्ति एक पद’को अवधारणा लागू गर्न पनि राजीनामा दिनुपरेको उनले बताएकी छन् ।

सांसदका रूपमा आफूले गर्ने काम गरिरहेको बताउँदै उनले लेखेकी छन्, ‘पार्टीको सहमहामन्त्रीको रूपमा पार्टी सङ्गठन निर्माणलगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव छैन ।’

रास्वपाले जनताको अपेक्षा पूरा गर्न नसकेको पनि उनले आफ्नो राजीनामा पत्रमा लेखेकी छन् । उनले भनेकी छन्, ‘मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ, तर दलको प्रस्तुति सोचेजस्तो सशक्त नभएको गुनासोसँग मिश्रित ।’

रास्वपामाथि लागेको ‘सहकारी ठग’को दाग मेटाउन रास्वपाले प्रतिसोध साँधेको तर्क मात्र गरेको बताउँदै उनले यो तर्क पर्याप्त नभएको पनि उल्लेख गरेकी छन् ।

रास्वपाप्रतिको आफ्नो प्रतिबद्धतामा कुनै हेरफर हुन नदिने वाचा गर्दै उनले लेखेकी छन्, ‘पार्टीको जिम्मेवारीबाट मुक्त भएपछि सांसदको भूमिका अझ सशक्त रुपमा अघि बढाउने छु ।’

आफूले अर्को पद नताकेको प्रष्ट्याउँदै उनले लेखेकी छन्, ‘मैले पार्टीमा अन्य कुनै पद ताकेर यो पद त्याग गरेकी हैन । म एक व्यक्ति एक पदलाई पूर्ण रूपमा अङ्गिकार गरी सांसद रहेसम्म केन्द्रीय सदस्यबाहेक पार्टीको अन्य पदमा दाबेदारी पेस गर्ने छैन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register