वीर अस्पताल सुधारका लागि स्वास्थ्यमन्त्री पौडेलले बनाए कार्यदल

काठमाडौं । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रीत भएर उपलब्ध जनशक्ति तथा स्रोतसाधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ । यसैगरी, नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका […]

May 14, 2025 - 07:14
 0
वीर अस्पताल सुधारका लागि स्वास्थ्यमन्त्री पौडेलले बनाए कार्यदल

काठमाडौं । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् ।

वरिष्ठ चिकित्सक डा मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रीत भएर उपलब्ध जनशक्ति तथा स्रोतसाधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ ।

यसैगरी, नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका लागि उपलब्ध उपकरणको अहिलेको अवस्था मूल्यांकन गर्दै सुधार गर्ने उपाय सुझाउन पनि कार्यदललाई भनिएको छ ।

तीन सदस्यीय कार्यदलमा विज्ञका रुपमा दीपकमोहन भट्टराई तथा डा सुरेश तिवारी सदस्य छन् ।

कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानका सुझाव दिन पनि कार्यादेश दिइएको छ । यसैगरी वीरलाई डिजिटलाइज गर्न देखिएका कठिनाइबारे सुझाव दिँदै भावी योजनासमेत प्रस्ताव गर्न कार्यदललाई कार्यादेश प्रदान गरिएको छ ।

मन्त्री पौडेलले वीरअस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मतका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिन सहजीकरण गरेका थिए । फलस्वरुप अहिले धेरै उपकरण निकै कम खर्चमा मर्मत भएर सेवा दिइरहेका छन् ।

मन्त्री पौडेल नेतृत्वमा आएयता वीर अस्पतालमा दुई सिफ्टमा ओपीडी सञ्चालनका अतिरिक्त भएका सेवाहरूमा समेत धेरैले सेवा लिन सक्ने वातावरण तयार भएको छ ।

सीटीस्क्यान, एमआरआई आदिले अधिक क्षमतामा सेवा दिइरहेका छन् । मन्त्रीले पठाएको नौ बुँदे सुधार सुझावपछि अनलाइनमार्फत टिकट लिने प्रबन्ध गरिएको छ ।

यसलाई अझ प्रभावकारी बनाउन मन्त्री पौडेलले वीरलाई डिजिटलाइजेसनमा लैजान प्रयास गरिरहेका छन् ।

अस्पतालका निर्देशक डा दिलिप शर्माले कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान प्रयास गरिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register